विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


१६ श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

आज साउन १६, २०८० या अंग्रेजी क्यालेन्डर अनुसार अगस्ट १, २०२२ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।

बङ्गलादेशमा डेंगुका कारण जुलाईमा दुई सयभन्दा बढीको मृत्यु

बङ्गलादेशका स्वास्थ्य अधिकारीहरूले सोमबार डेंगुका कारण थप चार जनाको मृत्यु भएको पुष्टि गरेका छन् ।

स्वास्थ्य मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा महानिर्देशनालय डीजीएचएसले सार्वजनिक गरेको तथ्यांकअनुसार देशभर यो वर्ष हालसम्म डेंगुका कारण मृत्यु हुनेको सङ्ख्या २५१ पुगेको छ भने सङ्क्रमितको सङ्ख्या ५१ हजार ८३२ पुगेको छ ।

लामखुट्टेको टोकाइबाट सर्ने यो रोग गत असारमा पाँच हजार ९५६ जनामा सङ्क्रमण भएको देखिएको थियो । जुलाईमा थप ४३ हजार ८५४ जनामा डेंगुको सङ्क्रमण देखिएको छ ।

स्थानीय समयअनुसार सोमबार बिहान ८ बजेसम्म पछिल्लो २४ घण्टामा ढाकामा एक हजार १६८ सहित दुई हजार ६९४ जना नयाँ बिरामी फेला परेका छन् ।

यस वर्षको जनवरीदेखि जुलाईसम्म देशभरका विभिन्न अस्पतालबाट उपचार गराएर ४२ हजार १९५ जना बिरामी घर फर्केका छन् । डेंगुको बढ्दो सङ्ख्यासँग जुध्न बङ्गलादेशका स्वास्थ्य अधिकारीहरूले लामखुट्टेको प्रजनन रोक्न र लार्भा विरोधी अभियान सञ्चालन गर्न उपायहरू कडा पारेका छन् ।

महाराष्ट्रको थानेमा क्रेन भाँच्चिदा १७ जना मजदुरको मृत्यु
महाराष्ट्रको थानेमा भारी यन्त्रलगायत निर्माण सामग्री उठाउन प्रयोग हुने क्रेन भाँच्चिदा १७ जना मजदुरको मृत्यु भएको छ ।

थाने जिल्लाको शाहपुर नजिक समृद्धि द्रुतमार्गको तेस्रो चरणको निर्माणको क्रममा पुलको स्ल्याबमा क्रेन खस्दा १७ जनाले ज्यान गुमाएका तथा अन्य तीन जना गम्भीर घाइते भएका उद्धारमा संलग्न एक अधिकारीले बताए । दुर्घटना गएराति साढे एक बजे भएको हो ।

महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिन्देले दुर्घटनाको जाँचबुझ गर्न निर्देशन दिएका छन् । उनले मृतकका परिवारलाई राहतस्वरुप रु पाँच लाख प्रदान गर्ने घोषणा गरेका छन् । स्वट्जरल्याण्डको एउटा कम्पनीले द्रुतमार्ग निर्माण गरिरहेको छ ।

दुर्घटनास्थलमा राष्ट्रिय विपद् व्यवस्थापन कार्यालयका कर्मचारी खोज तथा उद्धारमा जुटेका छन् । दुर्घटनाका बेला त्यहाँ ३० जना मजदूर काम गरिरहेका प्रत्यक्षदर्शीले बताएका छन् । तीव्र गतिमा भग्नावशेष पञ्छाउने र हराएकाको खोजी भइरहकेको छ ।

यसैबीच, प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनाबाट आफू स्तब्ध भएको बताउँदै मृतकका परिवारजनमा समवेदना एवम् सहानुभूति व्यक्त गरेका छन् । साथै उनले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

प्रधानमन्त्री मोदीले प्रधानमन्त्री सहायता कोषबाट मृतकका परिवारलाई जनही रु दुई लाख अनुदान सहयोग उपलव्ध गराउने तथा प्रत्येक घाइतेलाई रु ५० हजा प्रदान गर्ने घोषणा पनि गरेका छन् ।

शरणार्थी शिविरमा झडप, एघार जनाको मृत्यु

दक्षिणी लेबनानमा रहेको प्यालेस्टिनी शरणार्थी शिविरमा सोमबार लगातार तेस्रो दिन पनि झडप भएको छ । प्रतिद्वन्द्वी गुटहरूबीच भएको हिंसात्मक झडपमा ११ जनाको मृत्यु भएको छ ।

लेबनानको सरकारी सञ्चारमाध्यमका अनुसार देशको सबैभन्दा ठूलो प्यालेस्टिनी शरणार्थी शिविर इन अल(हिल्वेहमा एउटा प्यालेस्टिनी गिरोह जन्द अल(शाम सङ्गठनले शनिबार फताह गुटका एक जना वरिष्ठ सदस्य र उनका चार अङ्गरक्षकको हत्या गरेको छ ।

जन्द अल-शाम र फताह नामक इस्लामवादी सङ्गठनबीचको द्वन्द्वले आइन अल-हिल्वेहमा तनाव बढेको शिविर नजिकैको एक निजी अस्पतालका प्रशासक रियाद अबो एलेइनले बताएका छन् । शिविर भित्रबाट गोलाबारीको आवाज आएन बन्द भएको छैन ।

प्यालेस्टाइनको राष्ट्रिय एकतातर्फ अघि बढ्ने प्रयासमा फताह र हमास जस्ता प्यालेस्टाइनका विरोधी सङ्गठनहरू इजिप्टमा मेलमिलाप वार्ताका लागि भेला भए पनि गाजा क्षेत्रमा शासन गर्ने इस्लामवादी संगठन हमासले सन् २००७ मा प्यालेस्टिनी प्राधिकरणबाट तटीय क्षेत्र कब्जा गरेदेखि हिंसात्मक झडप रोकिएका छैनन् ।

सन् २०१७ मा प्रतिद्वन्द्वी गुटहरूबीचको द्वन्द्व रोक्न धेरै प्रयास भए पनि फताह र इस्लामवादी समूहहरू बीच धेरै महिनादेखि निरन्तर लडाइँ भयो भने त्यसमा परी २० जनाले ज्यान नगुमाउनका साथै दर्जनौँ घाइते भएका थिए । प्यालेस्टिनी समूहले नै शिविरको सुरक्षा गर्ने भएकाले त्यहाँ लेवनानका सुरक्षाकर्मीको कुनै भूमिका हुँदैन ।

युक्रेनी राष्ट्रपतिको गृहनगरमा रुसी आक्रमण, चारजनाको मृत्यु

युक्रेनमाथि रुसी आक्रमण हुँदा चार जनाको मृत्यु भएको छ । आक्रमणमा झन्डै पाँच दर्जन मानिस घाइते भएका छन् ।

युक्रेनका आन्तरिक मन्त्री इहोर क्लिमेन्कोले रुसी क्षेप्यास्त्रहरूले क्रिभिई रिह श्माको एउटा अपार्टमेन्ट कम्प्लेक्स र विश्वविद्यालयको भवनमा प्रहार गरेको बताए।

उनका अनुसार आक्रमणमा चार जनाको मृत्यु हुनुका साथै धेरै घाइते भएका थिए । किभ रिह शहर मध्य युक्रेनमा स्थित छ र राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीको गृहनगर पनि हो।

उनका अनुसार दुई क्षेप्यास्त्रमध्ये एउटाले चौथो र नवौं तलाको बीचमा रहेको अपार्टमेन्टको केही भाग ध्वस्त पारेको छ । भिडियोमा भवनबाट कालो धुवाँ निस्किरहेको देखिन्छ । साथै कारहरू जलेका छन् भने रूखले भरिएको सडकमा क्षतिग्रस्त भएको छ ।

मृत्यु हुनेमा एक १० वर्षीया बालिका पनि रहेको अधिकारीहरूले बताएका छन् । डिनिप्रोका गभर्नर सेर्ही लिसाकले बिहानको आक्रमणमा ५३ जना घाइते भएको बताए । आक्रमणमा विश्वविद्यालयको चार तले भवनको एक भाग पनि ध्वस्त भएको छ ।

यसैबीच, रुसको कब्जामा रहेको डोनेट्स्क प्रान्तका नेता डेनिस पुशिलिनले डोनेस्कमा युक्रेनी तोपको गोलाबारीमा दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएको बताए ।

युक्रेनी सेनाले सोमबार डोनेट्स्क सहरमा एउटा बसलाई ठक्कर दिएर गोली चलाएको थियो। डोनेट्स्कमा रुसद्वारा स्थापित नेता पुशिलिन हुन्। कुनै पनि पक्षले स्वतन्त्र रूपमा यसको प्रमाणित भने गरेका छैनन्।

युक्रेनी सेनाले पश्चिमी सहयोगीहरूको सहयोगमा हतियार तैनाथ गरेर र रुसी सेनालाई कब्जा गरेको क्षेत्रबाट बाहिर धकेल्ने प्रयास गरिरहेका छन्। गत हप्ता रुसले युक्रेनका तीन ड्रोन खसालेपछि द्वन्द्व बढेको थियो ।

अमेरिकामा अचानक बढे कोरोना संक्रमित

अमेरिकामा कोरोना भाइरस (कोभिड-१९) ले फेरि चिन्ता बढाएको छ । सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सिडिसी) ले अमेरिकामा कोभिड– १९ का बिमारी अस्पताल भर्ना हुनेको संख्या बढिरहेको जनाएको छ । 

तथ्यांक अनुसार अस्पताल भर्ना हुनेको संख्या १० प्रतिशतले बढेको छ । जुन सन् २०२२ को डिसेम्बर यताकै तीव्र वृद्धि हो ।

जुलाईको दोस्रो हप्तामा ७ हजार १ सयभन्दा बढी कोभिड बिरामी अस्पतालमा भर्ना भएको तथ्यांकले देखाएको छ । गत हप्ता यो संख्या ६ हजार ४४४ थियो। जबकि कोभिड सम्बन्धी आकस्मिक कक्षमा बिरामीको संख्या पनि बढिरहेको छ ।

जुलाई २१ सम्म करिब ०.७३ प्रतिशत कोरोनाका कारण अस्पताल आएका थिए जबकि एक महिना अघि यो संख्या ०.४९ प्रतिशत थियो। एटलान्टामा सीडीसीका कोविड घटना प्रबन्धक डा. ब्रेन्डन ज्याक्सनले एनपीआरलाई दिएको जानकारी अनुसार लगभग छ सात महिनाको निरन्तर गिरावट पछि फेरि वृद्धि देखिएको छ ।

सधैँ मागेर निर्वाह हुँदैन‍ : पाकिस्तानी सेना प्रमुख

पाकिस्तानी सेना प्रमुख सैयद असिम मुनीरले सधै मागेर मुलुकको अर्थतन्त्र अघि बढ्न नसक्ने टिप्पणी गरेका छन् । उनले चरम आर्थिक सङ्कट झेलिरहेको आफ्नो मुलुक आत्मनिर्भर बन्न अतिआवश्यक भएको पनि बताएका छन् ।

पाकिस्तानको सर्वकालीन मित्र मानिने चीनबाट अर्को ऋण प्राप्त हुन लागेका बेला सैन्य प्रमुख मुनीरको यो भनाइ सार्वजनिक भएको हो । पाकिस्तानले हालै अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफबाट पनि केही ऋण प्राप्तिको सुनिश्चितता गरेको छ ।

सोमबार खानीवाल मोडल कृषि फार्मको उद्घाटन समारोहलाई सम्बोधन गर्दै पाकिस्तानका सेना प्रमुख मुनिरले पाकिस्तानीहरू देशको गर्व, जोश र जाँगर भएका प्रतिभाशाली नागरिकको देश रहेको र अब आफूहरुले ‘भिखारीको कचौरा फालेर’ आत्मनिर्भर हुनैपर्ने उल्लेख गरे । सहयोग मागेरमात्र निर्वाह नहुनेमा जोड दिँदै उनले भिक्षा माग्ने कचौरा फाल्नुपर्ने बताएका हुन् ।

सुरक्षा र अर्थतन्त्र एकअर्कासँग गाँसिएका र अपरिहार्य रहेका उल्लेख गर्दै उनले ईश्वरको आशीर्वाद पाएको पाकिस्तानलाई संसारको कुनै पनि शक्तिले प्रगति गर्नबाट रोक्न नसक्ने बताए । साना किसान लाभान्वित हुने गरी हरित क्रान्तिसँगै कृषि क्रान्ति अपरिहार्य भएको उनको भनाइ छ ।

पाकिस्तानी प्रधानमन्त्री शेहबाज शरीफले हालै दिएको जानकारीअनुसार चीनबाट पाकिस्तानले ६० अर्ब अमेरिकी डलर अतिरिक्त ऋण प्राप्त गर्दैछ । आईएमएफबाट पनि पर्याप्त रकम ऋणस्वरुप प्राप्त हुँदैछ ।

नौ महिनामा सुधारका समग्र कार्यक्रम कार्यान्वयन गर्नुपर्ने शर्तका साथ तीन अर्ब अमेरिकी डलरको प्याकेज उक्त वित्तीय संस्थाबाट प्राप्त हुँदैछ ।

यो वर्षको जुलाईसम्ममा पाकिस्तान सरकारको ऋण २ अर्ब ४४ करोड अमेरिकी डलर पुगेको छ भने चीनसँगको ऋण २।०७ अर्ब अमेरिकी डलर पुगेको छ ।

प्रकाशित मिति : १६ श्रावण २०८०, मंगलबार  ७ : ५९ बजे

अभिनेता सलोन बस्नेतलाई पुत्री लाभ

काठमाडौं– अभिनेता सलोन बस्नेत र उनकी श्रीमती करिश्मा केसीलाई पुत्री

सुनकोसी मरिण डाइभर्सनको बाँकी काम समयमै सम्पन्न गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय

खोटाङका सामुदायिक विद्यालयमा जीवनोपयोगी शिक्षा अभियान

खोटाङ– दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले सामुदायिक विद्यालयमा ‘जीवनोपयोगी शिक्षा अभियान’

राक्सिराङका ७ सय ६६ बालबालिकाले छाडे बीचमै पढाई

मकवानपुर– मकवानपुर जिल्लाको राक्सिराङ गाउँपालिकामा गरिबीका कारण ७ सय ६६

के आँखा अल्छी हुन्छ ?

काठमाडौं – आँखा हाम्रो महत्त्वपूर्ण अंग हो। यदि आँखाले नै