लुगा सिलाउने कलको पाङ्ग्रासंगै उनको जीवन घुमेको सात ८ दशक नाघेछ । पुर्ख्यौली थातथलो काठमाडौँ । अधिकांश सन्तानको जीवन आरम्भ साउँ अक्षर घोकाइबाट शुरु हुन्छ । तर यी पात्रले स्कुलको अनुहार नै देखेनन् । क, ख, एबीसीडीसंग संगतै भएन । बरु १०–११ वर्षको बाल वयमै पिताजीको लुगा सिलाउने बिँडो थपक्कै समाए । उनका पिताजी महेश्वरबहादुर श्रेष्ठले ६ मध्ये बाँकी पाँच छोरालाई स्कुल पठाए ।
आफू अस्ताउँदो सूर्य हुँदा, सन्तान उदाउँदो सूर्य भएको हेर्ने चाहना राखे । तर किन किन यिनलाई बाह्रखरी अक्षरले पटक्कै तानेन । अक्षर छिचोल्ने उमेरमा त चिटिक्क मिलेका लुगा सिलाउने कालिगढ बनिसकेका थिए । कपडाको कोलाजमा धागोको रफू भर्ने सम्मोहन त्याग्न नसकेकै कारण आज उनी सीप साधकमा अनुवाद भए ।
कर्मका पुजारी रामकृष्ण श्रेष्ठ ती पात्र हुन, जसले सिलाएको दौरा सुरुवाल आङमा नहाल्ने थोरै उच्च नेता तथा प्रशासक होलान् । राजादेखि रंकसम्म उनका उपभोक्ता हुन् । पूर्वराजा ज्ञानेन्द्र, अधिराजकुमार धीरेन्द्र, युवराज पारसदेखि नवयुवराज हृदयन्द्रसम्म दरबारका तीनपुस्ताको दौरासुरुवाल उनले सिलाएका छन् ।
ज्ञानेन्द्र शाह राजा भएका बखत उनलाई दरबार बोलाइयो । जिउमा फिता तेस्र्याएर राजाको शरीर नापे । यसरी नाप्दा राजाको पदीय अदपले कत्ति पनि छोएन । अरु सामान्य ग्राहकजस्तै लाग्यो उनलाई । जब लुगा तयार गरेर बुझाउन उनी दरबार गए, राजाको प्रतिक्रिया थियो– नाईस । मुन्टो हल्लाएर त फर्किए, तर नाईस भनेको के हो ? बुझ्न सकेनन् । घरमा छोरीले नाईस भनेको राम्रो हो भनेर अथ्र्याएपछि बल्ल उनले सन्तोषको सास फेरे ।
रामकृष्ण राजा मात्र होइन, गणतन्त्र नेपालको पहिलो राष्ट्रपति डा.रामवरण यादवको समेत दौरा सुरुवाल सिलाउने रुचिका पात्र हुन । उनैले सिलाएको दौरा सुरुवाल लगाएर यादवले राष्ट्रपतिको सपथ लिएका थिए । यो समय यसरी पनि स्मरणीय छ कि एकदिनमै दौरा सुरुवाल सिलाएर बुझाएका थिए । वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलको आङमा पनि रामकृष्णको सीपले घरजम गरेको छ ।
रामकृष्णले सिलाएको लुगा दौरा सुरुवाल कसका लागि प्रिय भयो भन्दा पनि कसका लागि भएन भन्ने हो । पञ्चायतका पिलर पूर्व प्रधानमन्त्री कीर्तिनिधि विष्टदेखि गणतन्त्र नेपालका पहिलो प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको समेत मन जित्न सफल भए । २०४८ सालमा पहिलोपल्ट प्रधानमन्त्री भएपछि कोइरालाले जीवनको अन्तिम घडीसम्म रामकृष्णले सिलाएको दौरा सुरुवाल लगाए । उनको विश्लेषण छ– गिरिजाप्रसाद मन जित्न गार्हो, मन जितेपछि शरीरको मासु काटेर दिन नहिच्किचाउने व्यक्ति हुन । आफूले सिलाएको राष्ट्रिय पोसाक लगाएको मानिस भ्रष्टाचारमा मुछिएको समाचार रामकृष्णका लागि प्रियकर लाग्दो रहेनछ ।
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग उनको हिमचिम पुरानै हो । गृहमन्त्री हुँदा देखि नै देउवाको शरीरमा रामकृष्णले सिलाएको दौरा सुरुवाल परेको हो । पाँचौ पल्ट प्रधानमन्त्रीको सपथमा समेत देउवा रामकृष्णले सिलाएको दौरा सुरुवालमा सजिनु भएको थियो । टीभीमा यस्तो दृश्य देख्दा रामकृष्णलाई पनि आनन्द लाग्दो रहेछ । कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्की मात्र हैन, उहाँका पिताजी कृष्णमोहन कार्की पनि रामकृष्णका विश्वासी हुनुहुँदो रहेछ । नेताहरु डा.रामशरण महत, बालकृष्ण खाँड, विक्रम पाण्डे, प्रेमबहादुर सिंहको शरीरका नापमा थुप्रै जोर दौरा सुरुवाल तयार भए ।
उनको कामबाट खुसी भएर राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता विक्रम पाण्डेले त लुगा सिलाउने मेसिन समेत उपहार दिएका छन् । पूर्व अर्थमन्त्री शंकरप्रसाद कोइरालाले शाखा अधिकृत, सहसचिव, सचिव हुँदै मन्त्रीसम्म पुग्दा रामकृष्णको सीपमाया गरिरहनुभएको छ । अख्तियार दुरुपयोग आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई, पूर्व मुख्यसचिव डा.विमलप्रसाद कोइराला, सोमलाल सुवेदीलाई रामकृष्णको सीपले तान्यो ।
सचिव, सहसचिव र त्यसमुनिका पदाधिकारीको त नाम नामेसी उल्लेख गरेर साध्य छैन् । पूर्व आईजीपी अच्युतकृष्ण खरेललाई अहिले सम्म उनकै सीपले तान्छ । श्रेष्ठले सिलाएको दौरा सुरुवालले किन प्रसिद्धि पायो त ? अधिराजकुमार धिरेन्द्रलाई दौराको फेरो खुम्चिएको मन नपर्ने रहेछ । यसको उपचार खोज्न उनले आफ्नै अक्कल लगाएर बाक्लो कपडा प्रयोग गरे । यो पनि एउटा कारण हुनसक्ने भन्दै रामकृष्ण दावी गर्छन– ‘दौरामा बक्रम प्रयोग गर्ने म पहिलो व्यक्ति हुँ ।’ एक वर्षअघि प्रोस्टेटको अप्रेसनपछि भने उनी काममा सुस्ताएका छन् । त्यसमाथि कोभिडको संक्रमणले शरीर कमजोर बनेको छ । पारिवारिक दबाब र चिकित्सकले पनि धपेडी नगर्न सुझाएपछि रामकृष्ण सात दशकदेखि आफूले गरेको कर्म साधनाबाट अलग छन । तर शरीरले साथ दिए काम लुगा सिलाउँदा सिलाउँदै अन्तिम सास लिने धोको छ ।
वीरेन्द्र राजाका ज्वाईं गोरखशमशेर राणा, व्यवसायी प्रभाकर शमशेर राणा, खेलकुद क्षेत्रबाट पञ्चायत राजनीतिमा प्रभाव जमाएका शरदचन्द्र शाहलाई पनि रामकृष्णको सीपले खुसी बनायो । ग्राहकले भनेको नभएर आफूले दिएको समयमा काम सक्ने उनको बानी छ । कतिपय ठूला मानिस छिट्टै काम सक्न दबाब दिन्छन् । भाँचिन जान्ने, दोब्रिन नजान्ने रामकृष्ण टसको मस नभएपछि मन अमिल्याएर गएका पनि आफैं फर्किन्छन् । यो पङ्क्तिमा कलाकार मदनकृष्ण श्रेष्ठ चाहिँ अपवाद ठहरिएका छन् ।
मैतीदेवी चोकबाट पैदल ५ मिनेटको दूरी घट्टेकुलोतर्फ दक्षिण पश्चिम दिशामा रामकृष्णको चारतले घर छ । देउता विश्वासिला भए भक्तको खाँचो हुँदैन भन्ने पुष्टि घरको तेस्रो तलाको एउटा कोठामा बसेका रामकृष्ण दम्पत्तिको सीपले पुष्टि गर्छ । देशका धेरै ठूलाबडा उनकोमा आउँथे । राष्ट्रपति र प्रधानमन्त्रीबाहेक अरु भीआईपी उनकै घरमा पुग्थे । को को आए धेरैको त हेक्का नै छैन । अग्नि साक्षी राखी जग्गेको सात फेरोमा जन्म मरणको कसम खाने जोडी त धेरै भेटिएलान् ।
तर रामकृष्ण त्यो भाग्यमानी पुरुष हुन, जसले रातविहान कर्ममा छायाँ बनेर उपस्थित हुने सहधर्मिणीका रुपमा विष्णुमाया श्रेष्ठलाई पाएका छन् । विष्णुमाया सिर्जनाभित्रकी ती हिस्सा हुन, जो पतिको आधा कामलाई हातको सीपले विट मार्छिन् ।
परिवारको दालभात, डुकू यही पेसाबाट चलेको थियो । न पसल, न साइन बोर्ड तर तीन तलामाथि कहिल्यै कामको खाँचो भएन । ठूलो सपना पनि छैन, न त गुनासो नै छ । प्रत्येक दिन पशुपति दर्शन गरेर ६ बजे घर फर्किएपछि बूढाबूढी एकसाथ कर्ममा लिन हुने रुटिन बनेको थियो । सात छोरी छन् । सबैको घरजम भइसकेको छ । ज्वाईं नै छोरा समान भएकाले ती सन्तान लक्की सेभेन सावित भएका छन् ।
नातिको अनुहारमा भविष्य हेरेर रमाउनु यिनीहरूको नित्यकर्म हो । छोरा नभएकोमा पछुतो छैन । रामकृष्णको सेखपछि सीप पुस्तान्तरण नहुने लगभग निश्चित जस्तै छ । यसमा चित्त दुखाई छैन । बरु आफूले सिलाएको दौरा सुरुवाल लगाएका नेताले जनहितमा काम नगरेकोमा रामकृष्णको चित्त फाटेको छ ।
सबै ठूलाबडासँग समदूरीको सम्बन्ध राखेका उनले व्यक्तिगत फाइदाका लागि कसैसंग खुसामद गरेका छैनन् । बरु बगिरहने नदीजस्तै कर्मशील जीवनलाई निरन्तर अगाडि बढाइरहेका छन् । रामकृष्ण यस्ता नदी हुन, जहाँ लेउ लाग्ने कल्पनासम्म गर्न सकिदैन ।
प्रतिक्रिया