गिरिजा-ज्ञानेन्द्रको मन जितेका सूचीकार | Khabarhub Khabarhub

गिरिजा-ज्ञानेन्द्रको मन जितेका सूचीकार



लुगा सिलाउने कलको पाङ्ग्रासंगै उनको जीवन घुमेको सात ८ दशक नाघेछ । पुर्ख्यौली थातथलो काठमाडौँ । अधिकांश सन्तानको जीवन आरम्भ साउँ अक्षर घोकाइबाट शुरु हुन्छ । तर यी पात्रले स्कुलको अनुहार नै देखेनन् । क, ख, एबीसीडीसंग संगतै भएन ।  बरु १०–११ वर्षको बाल वयमै पिताजीको लुगा सिलाउने बिँडो थपक्कै समाए । उनका पिताजी महेश्वरबहादुर श्रेष्ठले ६ मध्ये बाँकी पाँच छोरालाई स्कुल पठाए । 

आफू अस्ताउँदो सूर्य हुँदा, सन्तान उदाउँदो सूर्य भएको हेर्ने चाहना राखे । तर किन किन यिनलाई बाह्रखरी अक्षरले पटक्कै तानेन । अक्षर छिचोल्ने उमेरमा त चिटिक्क मिलेका लुगा सिलाउने कालिगढ बनिसकेका थिए । कपडाको कोलाजमा धागोको रफू भर्ने सम्मोहन त्याग्न नसकेकै कारण आज उनी सीप साधकमा अनुवाद भए ।

कर्मका पुजारी रामकृष्ण श्रेष्ठ ती पात्र हुन, जसले सिलाएको दौरा सुरुवाल आङमा नहाल्ने थोरै उच्च नेता तथा प्रशासक होलान् । राजादेखि रंकसम्म उनका उपभोक्ता हुन् । पूर्वराजा ज्ञानेन्द्र, अधिराजकुमार धीरेन्द्र, युवराज पारसदेखि नवयुवराज हृदयन्द्रसम्म दरबारका तीनपुस्ताको दौरासुरुवाल उनले सिलाएका छन् । 

ज्ञानेन्द्र शाह राजा भएका बखत उनलाई दरबार बोलाइयो । जिउमा फिता तेस्र्याएर राजाको शरीर नापे । यसरी नाप्दा राजाको पदीय अदपले कत्ति पनि छोएन । अरु सामान्य ग्राहकजस्तै लाग्यो उनलाई । जब लुगा तयार गरेर बुझाउन उनी दरबार गए, राजाको प्रतिक्रिया थियो– नाईस । मुन्टो हल्लाएर त फर्किए, तर नाईस भनेको के हो ? बुझ्न सकेनन् । घरमा छोरीले नाईस भनेको  राम्रो हो भनेर अथ्र्याएपछि बल्ल उनले सन्तोषको सास फेरे । 

रामकृष्ण राजा मात्र होइन, गणतन्त्र नेपालको पहिलो राष्ट्रपति डा.रामवरण यादवको समेत दौरा सुरुवाल सिलाउने रुचिका पात्र हुन । उनैले सिलाएको दौरा सुरुवाल लगाएर यादवले राष्ट्रपतिको सपथ लिएका थिए । यो समय यसरी पनि स्मरणीय छ कि एकदिनमै दौरा सुरुवाल सिलाएर बुझाएका थिए । वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलको आङमा पनि रामकृष्णको सीपले घरजम गरेको छ ।

रामकृष्णले सिलाएको लुगा दौरा सुरुवाल कसका लागि प्रिय भयो भन्दा पनि कसका लागि भएन भन्ने हो । पञ्चायतका पिलर पूर्व प्रधानमन्त्री कीर्तिनिधि विष्टदेखि गणतन्त्र नेपालका पहिलो प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको समेत मन जित्न सफल भए । २०४८ सालमा पहिलोपल्ट प्रधानमन्त्री भएपछि कोइरालाले जीवनको अन्तिम घडीसम्म रामकृष्णले सिलाएको दौरा सुरुवाल लगाए । उनको विश्लेषण छ– गिरिजाप्रसाद मन जित्न गार्‍हो, मन जितेपछि शरीरको मासु काटेर दिन नहिच्किचाउने व्यक्ति हुन । आफूले सिलाएको राष्ट्रिय पोसाक लगाएको मानिस भ्रष्टाचारमा मुछिएको समाचार रामकृष्णका लागि प्रियकर लाग्दो रहेनछ । 

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग उनको हिमचिम पुरानै हो । गृहमन्त्री हुँदा देखि नै देउवाको शरीरमा रामकृष्णले सिलाएको दौरा सुरुवाल परेको हो । पाँचौ पल्ट प्रधानमन्त्रीको सपथमा समेत देउवा रामकृष्णले सिलाएको दौरा सुरुवालमा सजिनु भएको थियो । टीभीमा यस्तो दृश्य देख्दा रामकृष्णलाई पनि आनन्द लाग्दो रहेछ । कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्की मात्र हैन, उहाँका पिताजी कृष्णमोहन कार्की पनि रामकृष्णका विश्वासी हुनुहुँदो रहेछ । नेताहरु डा.रामशरण महत, बालकृष्ण खाँड, विक्रम पाण्डे, प्रेमबहादुर सिंहको शरीरका नापमा थुप्रै जोर दौरा सुरुवाल तयार भए । 

उनको कामबाट खुसी भएर राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता विक्रम पाण्डेले त लुगा सिलाउने मेसिन समेत उपहार दिएका छन् । पूर्व अर्थमन्त्री शंकरप्रसाद कोइरालाले शाखा अधिकृत, सहसचिव, सचिव हुँदै मन्त्रीसम्म पुग्दा रामकृष्णको सीपमाया गरिरहनुभएको छ । अख्तियार दुरुपयोग आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई, पूर्व मुख्यसचिव डा.विमलप्रसाद कोइराला, सोमलाल सुवेदीलाई रामकृष्णको सीपले तान्यो । 

सचिव, सहसचिव र त्यसमुनिका पदाधिकारीको त नाम नामेसी उल्लेख गरेर साध्य छैन् । पूर्व आईजीपी अच्युतकृष्ण खरेललाई अहिले सम्म उनकै सीपले तान्छ । श्रेष्ठले सिलाएको दौरा सुरुवालले किन प्रसिद्धि पायो त ? अधिराजकुमार धिरेन्द्रलाई दौराको फेरो खुम्चिएको मन नपर्ने रहेछ । यसको उपचार खोज्न उनले आफ्नै अक्कल लगाएर बाक्लो कपडा प्रयोग गरे । यो पनि एउटा कारण हुनसक्ने भन्दै रामकृष्ण दावी गर्छन– ‘दौरामा बक्रम प्रयोग गर्ने म पहिलो व्यक्ति हुँ ।’ एक वर्षअघि प्रोस्टेटको अप्रेसनपछि भने उनी काममा सुस्ताएका छन् । त्यसमाथि कोभिडको संक्रमणले शरीर कमजोर बनेको छ । पारिवारिक दबाब र चिकित्सकले पनि धपेडी नगर्न सुझाएपछि रामकृष्ण सात दशकदेखि आफूले गरेको कर्म साधनाबाट अलग छन । तर शरीरले साथ दिए काम लुगा सिलाउँदा सिलाउँदै अन्तिम सास लिने धोको छ ।

वीरेन्द्र राजाका ज्वाईं गोरखशमशेर राणा, व्यवसायी प्रभाकर शमशेर राणा, खेलकुद क्षेत्रबाट पञ्चायत राजनीतिमा प्रभाव जमाएका शरदचन्द्र शाहलाई पनि रामकृष्णको सीपले खुसी बनायो । ग्राहकले भनेको नभएर आफूले दिएको समयमा काम सक्ने उनको बानी छ ।  कतिपय ठूला मानिस छिट्टै काम सक्न दबाब दिन्छन् । भाँचिन जान्ने, दोब्रिन नजान्ने रामकृष्ण टसको मस नभएपछि मन अमिल्याएर गएका पनि आफैं फर्किन्छन् । यो पङ्क्तिमा कलाकार मदनकृष्ण श्रेष्ठ चाहिँ अपवाद ठहरिएका छन् ।

मैतीदेवी चोकबाट पैदल ५ मिनेटको दूरी घट्टेकुलोतर्फ दक्षिण पश्चिम दिशामा रामकृष्णको चारतले घर छ । देउता विश्वासिला भए भक्तको खाँचो हुँदैन भन्ने पुष्टि घरको तेस्रो तलाको एउटा कोठामा बसेका रामकृष्ण दम्पत्तिको सीपले पुष्टि गर्छ । देशका धेरै ठूलाबडा उनकोमा आउँथे । राष्ट्रपति र प्रधानमन्त्रीबाहेक अरु भीआईपी उनकै घरमा पुग्थे । को को आए धेरैको त हेक्का नै छैन । अग्नि साक्षी राखी जग्गेको सात फेरोमा जन्म मरणको कसम खाने जोडी त धेरै भेटिएलान् । 

तर रामकृष्ण त्यो भाग्यमानी पुरुष हुन, जसले रातविहान कर्ममा छायाँ बनेर उपस्थित हुने सहधर्मिणीका रुपमा विष्णुमाया श्रेष्ठलाई पाएका छन् । विष्णुमाया सिर्जनाभित्रकी ती हिस्सा हुन, जो पतिको आधा कामलाई हातको सीपले विट मार्छिन् ।

परिवारको दालभात, डुकू यही पेसाबाट चलेको थियो । न पसल, न साइन बोर्ड तर तीन तलामाथि कहिल्यै कामको खाँचो भएन । ठूलो सपना पनि छैन, न त गुनासो नै छ । प्रत्येक दिन पशुपति दर्शन गरेर ६ बजे घर फर्किएपछि बूढाबूढी एकसाथ कर्ममा लिन हुने रुटिन बनेको थियो । सात छोरी छन् । सबैको घरजम भइसकेको छ । ज्वाईं नै छोरा समान भएकाले ती सन्तान लक्की सेभेन सावित भएका छन् । 

नातिको अनुहारमा भविष्य हेरेर रमाउनु यिनीहरूको नित्यकर्म हो । छोरा नभएकोमा पछुतो छैन । रामकृष्णको सेखपछि सीप पुस्तान्तरण नहुने लगभग निश्चित जस्तै छ । यसमा चित्त दुखाई छैन । बरु आफूले  सिलाएको दौरा सुरुवाल लगाएका नेताले जनहितमा काम नगरेकोमा रामकृष्णको चित्त फाटेको छ । 

सबै ठूलाबडासँग समदूरीको सम्बन्ध राखेका उनले व्यक्तिगत फाइदाका लागि कसैसंग खुसामद गरेका छैनन् । बरु बगिरहने नदीजस्तै कर्मशील जीवनलाई निरन्तर अगाडि बढाइरहेका छन् । रामकृष्ण यस्ता नदी हुन, जहाँ लेउ लाग्ने कल्पनासम्म गर्न सकिदैन । 

प्रकाशित मिति : १४ आश्विन २०८०, आइतबार  ११ : ०९ बजे

डेढ वर्षपछि चीनद्वारा भारतमा राजदूत नियुक्त

काठमाडौं- करिब डेढ वर्षपछि चीनले भारतमा नयाँ राजदूत पठाउने तयारी

भैँसी पाल्ने किसानलाई गाउँपालिकाको अनुदान

पर्वत– जिल्लाको पैयुँ गाउँपालिकाले व्यावसायिक रूपमा भैँसी पाल्ने किसानलाई रु

‘सहकारी समस्यामा लेखा सुपरिवेक्षण समिति मुख्य जिम्मेवार’

काठमाडौं – सहकारी संस्थाहरूमा आन्तरिक लेखापरीक्षणको भूमिका रहेको लेखा सुपरिवेक्षक

‘खुजरे ब्रो’ हेरेर नीतिका बुबा आमाले के भने ?

काठमाडौं– मोडल नीति शाह डेब्यू फिल्म ‘खुजरे ब्रो’को प्रिमियर अघि हँसिलो मुद्रामा

मुग्लिन–पोखरा सडक : १३ वटा पक्की पुल निर्माण

तनहुँ– मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत पूर्वी र पश्चिम खण्डमा पुल निर्माण