केएफडब्लूको सहयोगमा थानकोटमा प्रसूति विशेषज्ञ सेवा अस्पताल बन्ने | Khabarhub Khabarhub

केएफडब्लूको सहयोगमा थानकोटमा प्रसूति विशेषज्ञ सेवा अस्पताल बन्ने


१४ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जर्मन सरकारको आर्थिक एवं प्राविधिक सहयोगमा चन्द्रागिरि नगरपालिकामा प्रसूति विशेषज्ञ सेवा अस्पताल निर्माण हुने भएको छ । यसका लागि जर्मन विकास बैंक केएफडब्लूले बजेट निकासाको आवश्यक प्रक्रिया अगाडि बढाएको छ ।

चन्द्रागिरि– ४ स्थित थानकोटमा रु एक अर्ब लगानीमा निर्माण हुने अस्पतालका लागि जर्मन सरकारद्वारा परामर्शदाता तथा प्राविधिक छनोट भइसकेको छ । चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरी र केएफडब्लूका प्रतिनिधिमण्डल बीचमा सम्पन्न बैठकमा केएफडब्लू प्रतिनिधिले नगरप्रमुखलाई उक्त जानकारी गराएको हो । केएफडब्लूका प्रतिनिधिले अस्पताल बन्ने स्थानको स्थलगत अवलोकनसमेत गरेको नगरप्रमुख गिरीले जानकारी दिए ।

सो अवसरमा नगरप्रमुख गिरीले अस्पताल बनाउन नगरपालिकाले हालसम्म गरेको काम र अगामी दिनमा गर्नुपर्ने समन्वय र सहजीकरणबारे प्रतिनिधिलाई जानकारी गराएका थिए । नगरप्रमुख गिरीले अस्पताल बनाउन नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयबाट २३ रोपनी जग्गा प्राप्तिको प्रक्रिया टुङ्गो लगाइसकिएको केएफडब्लुका प्रतिनिधिलाई जानकारी गराएका थिए ।

सो अवसरमा उनले थानकोटमा नगरपालिकाले २५ श्ययाको ‘डायलासिस’ सेवासहितको अस्पताल बनाउन बोलपत्र प्रक्रिया सकेर निर्माण सुरु गरिसकेको बताए । अस्पतालको भवन करिब रु १९ करोडको लागतमा बन्न लागेको हो ।

बैठकमा प्रतिनिधिमण्डलले नगरप्रमुखलाई प्रसूति विशेषज्ञ अस्पताल बनाउन ‘केएफडब्लू’ बाट बजेट निकासाका लागि आवश्यक प्रक्रिया अगाडि बढ्न लागेको र जर्मन सरकारले परामर्शदाता तथा प्राविधिक पनि छनोट गरिसकेको जानकारी दिएको थियो । साथै यही साता नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र अर्थ मन्त्रालयसँग केएफडब्लूले थप सम्झौता प्रक्रिया अगाडि बढाउन लागेको जानकारीसमेत दिएको नगरप्रमुख गिरीले बताए । बैठकमा चन्द्रागिरि नगरपालिकाका प्रवक्ता कृष्णप्रसाद खड्गी तथा प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालको पनि सहभागिता थियो । विशेषज्ञ अस्पताल चार वर्षभित्रमा सम्पन्न हुने लक्ष्य राखिएको छ ।

नगरपालिकाको समन्वय र सहकार्यमा नेपाल सरकार र केएफडब्लूले विस्तृत आयोजना प्रतिवेदन डीपीआर तयार पारेका थिए । नगरप्रमुख गिरीले भने, “निर्धारित समयभित्र अस्पताल बनाउन नगरपालिकाले आवश्यक सहयोग र समन्वय गर्छ । यस क्षेत्रमा जनशक्ति, उपकरण र पूर्वाधारमा  अस्पताललाई उत्कृष्ट बनाउँछौँ । नगरवासीले चाहेको गुणस्तरीय सर्वसुलभ स्वास्थ्य सेवा सहजरुपमा उपलब्ध गराउन नगरपालिका प्रतिबद्ध छ । विशेषज्ञ अस्पताल बनेपछि यस क्षेत्रको स्वास्थ्य सेवामा नयाँ आयाम थपिनेछ ।”

विशेषज्ञ अस्पतालले काठमाडौँ जिल्लाका दक्षिण पश्चिम भेगका थानकोट, दहचोक, नैकाप, नयाँ भञ्ज्याङ, वाड भञ्ज्याङ, बलम्बु, महादेवस्थान, तीनथाना, सतुङ्गल, मातातीर्थ, मच्छेगाउँ र नैकाप पुरानो भञ्ज्याङ बासिन्दालाई विशेष सुविधा पुर्‍याउने लक्ष्य लिइएको छ । साथै धादिङ, मकवानपुर र नुवाकोट बासिन्दालाई पनि सहज विशेषज्ञ चिकित्सक सेवा पुर्‍याउने अपेक्षा गरिएको छ ।

विसं २०७६ वैशाख २८ देखि चन्द्रागिरि–४ थानकोटमा नै १५ श्ययाका अस्पताल सञ्चालनमा आइसकेको छ । प्रयोगशाला, आकस्मिक सेवा र बर्थिङ सेन्टरसहितको उत्कृष्ट  सेवा अस्पतालले प्रदान गरिराखेको छ । अस्पताललले पछिल्लो समय विशेषज्ञ मुटुरोग सेवा, परिवारनियोजन सेवा, ज्येष्ठ नागरिक, विपन्न तथा अपाङ्गता भएकालाई निःशुल्क सेवा प्रदान गरिराखेको छ ।

प्रकाशित मिति : १४ आश्विन २०८०, आइतबार  ६ : ३९ बजे

स्वास्थ्य मन्त्रालय र सडक विभागको भवनमा पनि आगजनी

काठमाडौँ – जेन-जी प्रदर्शन रोकिएपछि पनि अराजकता फैलाउँदै हिँडेको समूहले

सडकमा आयो सेना, उच्छृङ्खल गतिविधि भए खबर गर्न अनुरोध

काठमाडौँ – जेन-जी आन्दोलनले सरकारलाई बढारेपछि पनि मच्चिएको अराजकता नियन्त्रण

सशस्त्र प्रहरीले भन्यो – क्षति कम हुनेगरी परिचालित भयौँ, अब संयमता अपनाऔँ

काठमाडौँ – सशस्त्र प्रहरी बल नेपालले जेन-जी आन्दोलन क्रममा क्षति

एनसेलले दुई दिनका लागि कल, एसएमएस र इन्टरनेट निःशुल्क गर्‍यो

काठमाडौँ – टेलिकम सेवा प्रदायक एनसेलले दुई दिनका लागि भ्वाइस,

भक्तपुर कारागारबाट १४२ अपराधी र कैदी भागे

काठमाडौँ – भक्तपुर कारागारबाट १४२ जना अपराधी र कैदी भागेका