६ महिनामा एक पटक दाँतको जाँच अनिवार्य गर्नुपर्छ « Khabarhub

६ महिनामा एक पटक दाँतको जाँच अनिवार्य गर्नुपर्छ

दाँतको हेरचाह बिहानदेखि बेलुकासम्म कसरी गर्ने ?


१५ कार्तिक २०८०, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

चिसो मौसम बढेसँगै धेरैमा दाँतको समस्या देखापर्छ। चिसो बढ्दै जाँदा केही चिसो खाने कुराहरू खाँदा दाँत सिरिङ-सिरिङ हुने, चिसो पानी तथा गुलियो वस्तु खाँदा दाँत दुख्ने लगायतका समस्या देखा पर्छन्। यस्तो समस्यालाई चिकित्सकीय भाषामा हाइपर सेन्सिटिभिटी भन्ने गरिन्छ। हाइपर सेन्सिटिभिटी एक किसिमको दुखाइ हो, जुन दाँतको बीचको तह डेन्टिन देखिएर हुने गर्दछ। दाँतको बाहिरी भागलाई इनामेल भनिन्छ। इनामेलभन्दा भित्रको भाग डेन्टिन हो। सबैभन्दा भित्रको भागलाई पल्प भनिन्छ। विभिन्न कारणबस इनामेल खिइँदा डेन्टिन देखिन्छ र सिरिङ-सिरिङ हुन्छ। एसिड भएको खानेकुराको सेवन, पेटको समस्याले गर्दा अमिलो पानी आउँछ। जसले दाँतको इनामेल खियाउँछ। दाँत किराले खायो भने पनि सिरिङ-सिरिङ गर्ने समस्या आउँछ। कस्तो व्यक्तिलाई हुन्छ दाँतमा सिरिङ-सिरिङ ? दाँत सिरिङ सिरिङ हुँदा के गर्ने ? यी र यस्तै विषयमा आधारित रहेर खबरहबका लागि दन्त रोग विशेषज्ञ डा. रितु श्रेष्ठसँग गरिएको कुराकानीको सम्पादित अंश :

चिसो मौसम बढेसँगै किन दाँतको समस्या बढ्छ ?
चिसोमा हुने हावापानीको कारणले गर्दा दाँतमा धेरै समस्या देखिएको हो। चिसोले नै दाँताको समस्या बढेको भन्न चाहिँ मिल्दैन। जाडोमा पानी र हावा धेरै नै चिसो हुन्छ। त्यो दाँतमा पर्दा दाँत खिइएको वा किराले खाएको व्यक्तिमा सिरिङ सिरिङ हुने हुन्छ । दाँतमा समस्या जुनसुकै मौसममा देखिन्छ। तर चिसोमा महसुस हुने हो।

चिसो मौसममा दाँतमा सिरिङ सिरिङ बढी हुने कारण के हो ?
यो दाँतमा सिरिङ सिरिङ हुने ठुलो समस्या होइन। तर धेरै नै सिरिङ-सिरिङ भयो भने चाहिँ के कारणले भएको भनेर एक पटक जाँच गर्दा राम्रो हुन्छ। जाँच गर्दा साधारण समस्या रहेछ भने कुनै साधारण दन्त मञ्जनहरु प्रयोग गर्दा पनि निको हुन्छ।

चिकित्सकलाई भेटेपछि कारण पत्ता लगाएर उपचार गर्न सकिन्छ। चिसो मौसममा दाँतामा समस्या हुने होइन। धेरैले समस्या भएको महसुस भने चिसो मौसममा गर्छन्। चिसोमा हावा र पानी धेरै चिसो हुने हुँदा मुखमा राख्दा चिसो हुन्छ र सिरिङ सिरिङ हुने हुन्छ। कसैको भरेको दाँत छ भने त्यो भरेको सामान र दाँत बिच टुक्रिने र झर्ने हुन्छ। त्यो गर्मीमा धेरै हुँदैन किनभने दाँत र बाहिरको वातावरणबिचको तापक्रम उस्तैउस्तै हुन्छ।

दाँतको ३ वटा तह हुन्छ। त्यसमा बाहिरको तहमा समस्या आयो भने कुनै दुखाई हुँदैन। तर बाहिरको तह बिग्रिएर भित्र पुग्यो भने सिरिङ-सिरिङ हुने हुन्छ। दाँतमा सिरिङ सिरिङ भयो वा अरू केही समस्या आयो भने दाँतको पहिलो तह बिग्रियो भनेर बुझ्दा हुन्छ।

सिरिङ सिरिङ भएर पनि अस्पताल नजाँदा कस्तो समस्या हुन्छ ?
कुनै पनि रोग लागेको समयमा उपचार गरिएन भने समस्या त निम्त्याउँछ। रोग भनेको सानोमा नै उपचार गर्दा राम्रो हुन्छ। रोग बढ्दै गएपछि निको हुँदैन। सानो सिरिङ-सिरिङ भएको छ भने उपचार गर्दा किराले थोरै खाएको हुनसक्छ। समयमै अस्पताल पुगे सामान्य उपचार लाग्छ। उपचार गर्न ढिलो भए जरादेखि नै उपचार गर्नुपर्छ। पैसा पनि धेरै खर्च हुन्छ। समयको पनि खर्च हुन्छ र आफूलाई पनि धेरै गाह्रो हुन्छ। त्यसैले दाँतको समस्या भनेको जति चाँडो उपचार भयो त्यति नै राम्रो हो। समस्या सामान्य हो या जटिल हो भनेर आफैले भन्न सकिँदैन। दाँतको उपचारका लागि समयमै अस्पताल जानुपर्छ।

दाँतमा सिमेन्ट भर्दा पछि गएर धेरै समस्या देखा पर्दछ भनिन्छ नि ?
दाँतमा सिमेन्ट भरेर बिग्रेको दाँतलाई उपचार गरेको हो। समस्या भएपछि कि त्यसलाई निकालेर फल्नु पर्यो कि त भर्नु नै पर्यो। हामीले जति नै गरे पनि किराले खाएको दाँतलाई पहिलाको जस्तो नै त बनाउन सक्दैनौँ। सिमेन्ट भरेपछि फेरि किरा लाग्दैन भन्न पनि सकिँदैन। राम्रोसँग सफा गरेन भने धेरै कडा खानाहरू खायो भने फेरि पनि किरा लाग्न सक्छ। त्यसैले दाँतको सुरुदेखि नै विशेष ख्याल गर्नुपर्दछ। आफ्नो पहिलाको प्राकृतिक दाँतमा त किरा लाग्छ भने भरेकोमा पनि लाग्नसक्छ। त्यसैले एक पटक भरेको दाँत अब केही हुँदैन भन्न सकिँदैन।

चिसोमा कस्तो लापरबाही गर्दा दाँतमा समस्या बढ्छ ?
दाँतमा कुनै समस्या वा लक्षण आयो भने त्यो आफै निको भएर कहिल्यै जाँदैन। हाम्रो शरीरको कुनै अंगमा लागेका कतिपय रोगहरू आफै निको भएर जान्छन्। तर दाँतमा त्यस्तो हुँदैन। जुन एक पटक किराले खाएको छ भने भर्नुपर्छ। दाँत नभर्ने भए फल्नै पर्छ। त्यसैले दाँतको मामलामा लापरबाही गर्नु हुँदैन। त्यसैले हरेक ६ महिनामा दाँतको जाँच गर्दा दाँतमा आउने धेरै समस्याबाट बच्न सकिन्छ।

दाँतको बिहान उठेदेखि बेलुका नसुत्दासम्म कसरी हेरचाह गर्ने ?
दाँतको हेरचाहमा सबैले राति सुत्नु भन्दा अगाडि दाँत मोलेर मात्र सुत्ने र बिहान कुल्ला मात्र गर्ने र नास्ता खाएपछि मात्र दाँत माझ्ने गर्नुपर्छ। दाँतको भित्र बाहिर र चबाउने तीन तिर राम्रोसँग दाँत माझ्ने गर्नुपर्छ। दुई वटा दाँतको बिचको भागमा ब्रसले सफा गरेर हुँदैन, त्यसको लागि बजारमा एउटा धागो जस्तो पाउँछ त्यो दिनमा एकपटक प्रयोग गर्नुपर्छ। धेरै गुलियो खाना नखाने, खानै परे मिलाएर खाने गर्नुपर्छ। धेरै साह्रो खाना नखाने, खाना खाएपछि कुल्ला गर्ने, पानी प्रशस्तमात्रामा खाने, बच्चालाई पनि बिस्कुटहरू अथवा अन्य टाँसिने खाना नदिनु राम्रो हुन्छ। बच्चालाई दूध खुवाएपछि कुल्ला गराउने गर्दा दाँतमा आउने समस्याबाट बच्न सकिन्छ।

प्रकाशित मिति : १५ कार्तिक २०८०, बुधबार  ७ : ०४ बजे

कांग्रेस विवादमा सहमति : नेता खड्कामाथिको स्पष्टीकरण फिर्ता लिने तयारी

काठमाडौँ– नेपाली कांग्रेसमा चर्किएको आन्तरिक विवादमा सहमतिको वातावरण बनेको छ

विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेजी सरकारको चरम अलोकतान्त्रिक कदम : प्रदीप ज्ञवाली

काठमाडौँ– नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेज

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न सरकारसँग जेनजी मुभमेन्टको माग

काठमाडौँ– जेनजी मुभमेन्ट नेपालले गृहमन्त्री सुधन गुरुङलाई तत्काल पदबाट बर्खास्त

सरकारी कर्मचारीले पाक्षिक रुपमा तलबभत्ता पाउने

काठमाडौँ– सरकारले अबदेखि राष्ट्रसेवक कर्मचारीहरूलाई पाक्षिक (अर्धमासिक) रुपमा तलबभत्ता उपलब्ध

भुइँमान्छेमाथि निर्मम बन्दै सरकार : गरिबको चमेली बोल्दिने कोही छैन !

काठमाडौं- सरकार सुकुम्बासी, सडक अतिक्रमण हटाउने र व्यवस्थित गराउने अभियानमा