खाण छुट्ने देउवाको वचन : आधा बाँकी, आधा पूरा ! « Khabarhub

खाण छुट्ने देउवाको वचन : आधा बाँकी, आधा पूरा !


१५ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मंगलबार भैरहवामा नेपाली कांग्रेसको रुपन्देही जिल्ला अधिवेशनलाई सम्वोधन गर्दै सभापति शेरबहादुर देउवाले भनेका थिए, ‘अदालतमा विचाराधीन कुरामा बोल्न मिल्दैन तर खाणले न्याय पाउनेछन् ।’

सभापति देउवाले ‘न्याय’ शब्दको प्रयोग गरेर भन्न खोजेका थिए, खाण रिहा हुनेछन् । तर, शुक्रबार पाटन उच्च अदालतको आदेशले कांग्रेस नेताको ईच्छा आधा मात्र पूरा भयो, आधा बाँकी नै रह्यो ।

अब उच्च अदालतमा पुनः सुनुवाई हुँदा न्यायाधीशको बहुमत जुटे खाण ३० लाख रुपैयाँ धरौटीमा छुट्ने छन् । विपक्षमा बहुमत जुटे उनी नक्कली शरणार्थीको मुद्दा टुंगो नलाग्दासम्म कारगारमै रहनेछन् ।

नक्कली शरणार्थी प्रकरणमा घुस खाएको अभियोगमा समातिएका पूर्वगृहमन्त्री खाणलाई रिहा गराउन कांग्रेस नेताहरुले भरमग्दुर प्रयास गर्दै आएका छन् । सभापति देउवाको अभिव्यक्ति पनि त्यसैको एउटा उदाहरण हो । तर, उच्च अदालतका दुईमध्ये एकजना न्यायाधीशले अडान राखिदिँदा खाण छुट्न सकेनन् ।

यो पनि…..

के अब बालकृष्ण खाण रिहा होलान् त ? या उनी पुर्पक्षका लागि थुनामै रहलान् ? यो अदालतमा विचाराधीन विषय हो । तर, उनको रिहाइका लागि कांग्रेस नेताहरुले गरेको प्रयास भने कतै छिपेको छैन ।

यसअघि कांग्रेस केन्द्रीय कार्य समितिको बैठकमा बोल्ने अधिकांश नेताले खाणलाई थुनामुक्त गरिनुपर्ने आवाज उठाएका थिए । पार्टीमा देउवाका विश्वासपात्र मानिने खाणको गिरफ्तारीलाई लिएर कांग्रेस नेताहरु सत्ता साझेदार माओवादीका गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग चिढिएका थिए ।

नक्कली शरणार्थीको अनुसन्धान प्रहरीमै रहेका बेला पनि मुद्दा कमजोर बनाउने प्रयास पनि नभएको होइन । यसक्रममा श्याम ज्ञवाली लगायतका प्रहरी अधिकारीलाई सरकारले सरुवा नै गरेको थियो । तर, काठमाडौं जिल्ला अदालतमा मुद्दा पुगिसकेपछि राजनीतिक हस्तक्षेपको सम्भावना कमजोर बन्यो ।

काठमाडौं जिल्ला अदालतले खाणसमेतलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्न गत असार १ गते आदेश गरेको थियो । त्यो आदेश बदरको माग गर्दै प्रतिवादीहरुले असार महिनामै उच्च अदालतमा विभिन्न चरणमा निवेदन दिए । यसवीचमा उच्च अदालतबाट खाणलाई जेलमुक्त गराउने कांग्रेस नेताहरुको चाहना झण्डै–झण्डै पूरा हुने स्थितिमा पुगेको छ ।

नेपाल सरकारका पूर्वसचिव टेकनारायण पाण्डे र एमाले नेता एवं पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई समेत थुनामै पठाउन सहमत देखिएका उच्च अदालतका न्यायाधीशहरु बालकृष्ण खाणको हकमा राय बाझिने स्थितिमा पुग्नुले अब उनी थुनामुक्त हुने ‘लुप होल’ खडा भएको छ ।

तथापि, अदालतले के गर्छ, विचाराधीन विषयमा मिडियाले बोल्न मिल्दैन । खाण धरौटीमा रिहा हुने वा थुनामै रहने सम्भावना ५०–५० छ ।

अब खाणलाई थुनामुक्त गराउनका लागि नेपाली कांग्रेसले सकेसम्म न्यायालयमाथि दबाव सिर्जना नगर्ला भन्न चाहिँ सकिँदैन । किनभने, विगतको परम्परा नै छ कि दलहरुले अदालतलाई सकेसम्म दबाव दिने गरेका छन् ।

कांग्रेसमा खाणको खाँचो

नेपाली कांग्रेसमा बालकृष्ण खाण पछिल्लो समय शक्तिशाली बन्दै आएका थिए । शेरबहादुर देउवा निकट रहेका उनलाई आगामी दिनमा देउवाको उत्तराधिकारीका रुपमा समेत कतिपयले हेर्न थालेका थिए ।

देउवा खेमाका पूर्णबहादुर खड्कासँगै खाण प्रतिस्पर्धी हिसाबले उदाउन थालेका थिए । एक समय देउवाका निकट मानिने विमलेन्द्र निधी, प्रकाशमान सिंहजस्ता नेताहरुलाई पछि पार्दै खाणले पार्टीमा आफ्नो पोजिसन बलियो बनाएका थिए ।

गत महाधिवेशनमा देउवाले सभापतिका दाबेदार प्रकाशमान, विमलेन्द्र लगायतका नेताहरुलाई ‘कन्भिन्स’ गर्न खाणलाई नै खटाएका थिए । यसले पनि खाण देउवाका विश्वासपात्र रहेको स्पष्ट हुन्छ ।

तर, एकाएक नक्कली शरणार्थी प्रकरणमा मुछिएपछि खाडको राजनीति संकटमा परेको छ । उनी पक्राउ परेपछि उनकी पत्नी मञ्जु खाण लगायतका नेताले सभापति देउवासँग गुनासो पोखेका थिए । खाणलाई देउवाले संरक्षण नगरेको उनीहरुको गुनासो छ ।

अब यो प्रकरणमा ३० लाख धरौटी राखेर खाण रिहा नै भइहाले पनि उनीमाथि लागेको दागका कारण आम जनमानसमा भने उनको छवि निकै पछिसम्म धुमिल भइरहने देखिन्छ । फौजदारी मुद्दा कायमै रहे आगामी चुनावमा पनि यसले उनको राजनीतिलाई ‘ब्रेक’ लगाइदिन सक्छ ।

तर, कारागारबाट बाहिर आएको अवस्थामा खाणले माओवादी–कांग्रेस सहकार्यमाथि प्रश्न उठाउने र कमसेकम गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग बदला लिने आकलन पनि कतिपय कांग्रेस नेताहरुको छ ।

सत्ता गठबन्धनभित्र खाण निकै शक्तिशाली नेता हुन् भन्नेमा विवाद छैन । यही भएर कांग्रेस नेताहरु अन्यलाई पुर्पक्षका लागि थुनामा पठाएरै भए पनि खाणलाई जेलबाट बाहिर निकाल्न प्रयासरत् छन् । कांग्रेस नेताहरुको यो चाहना आधा पूरा भएको छ, अब आधा बाँकी छ ।

प्रकाशित मिति : १५ मंसिर २०८०, शुक्रबार  ८ : ४९ बजे

प्रचण्ड भन्छन् : म्याजिक नम्बरका कुरा नगरौँ, रास्वपालाई हाम्रो शुभकामना छ

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले

निर्वाचनपश्चात् संविधानले सही बाटो समातेको छ : गृहमन्त्री

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा प्रतिनिधिसभा

मध्यपूर्वमा पानी जहाजमाथि आक्रमण हुँदा दुई भारतीयको मृत्यु

नयाँदिल्ली- मध्यपूर्वमा जारी युद्धका बीच व्यापारिक पानी जहाजमाथि भएका आक्रमणमा

इरानले अमेरिकामा हुने विश्वकप फुटबल नखेल्ने

तेहरान- जबर्जस्त युद्ध थोपरिएपछि इरानले अमेरिका, मेक्सिको र क्यानाडामा यही

ग्यासको अनावश्यक भण्डारण नगर्न र बिजुलीको खपत बढाउन निगमको आग्रह

काठमाडौं– नेपाल आयल निगमले पेट्रोलियम पदार्थ तथा ग्यासको आवश्यक परिमाणमा