केरा खेतीबाट मनग्य आम्दानी « Khabarhub

केरा खेतीबाट मनग्य आम्दानी


१९ चैत्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


333
Shares
  • change font
  • change font
  • change font

गलेश्वर-  पूर्वतर्फ फर्किएको चिटिक्कको गाउँ केराका घारीले छेकेर देखिँदैनन् घर । करेसाबारीदेखि खेतबारीका गह्रा र पाखो जमिन तथा सडकका छेउछाउमा केरैकेराको गाउँको रूपमा पहिचान बनाएको म्याग्दीको बेनी नगरपालिका–२ खबरा ।

सदरमुकाम नजिकै पर्ने खबरा र बगरफाँटमा गाउँभरी विस्तार गरिएको केराखेतीबाट यहाँका किसानले मनग्ये आम्दानी गर्न सफल भएका छन् । खबराका एक सय ६० घरधुरी र बगरफाँटका १८ घरधुरीका किसानले व्यावसायिक रूपमा गरेको केरा खेतीबाट दुई गाउँका किसानले वार्षिक डेढ करोड रुपैयाँ आम्दानी गर्दै आएका छन् ।

खबराका किसानले केरा खेतीबाट वार्षिक एक करोड रुपैयाँ गाउँमा भित्र्याउने गरेका छन् भने बगरफाँटका किसानले वार्षिक ५० लाख रुपैयाँको हाराहारीमा केरा बिक्री गर्ने गरेका छन् । यी दुई गाउँ पछिल्लो समय केरा गाउँको रूपमा चिनिन थालेका छन् ।

व्यापारीहरू केरा बगानमै आएर खरिद गर्ने गरेको खबराका किसान शोभत शर्मा सापकोटाले बताए । यहाँका किसानले १२ वर्षदेखि व्यावसायिक रूपमा केरा खेती गर्दै आएका छन् । ‘बजारमा ‘खबराको केरा’ को ब्राण्ड नै बनेको छ । मैलै १० वर्षदेखि केरा खेती गर्दै आएको छु । केरा खेतीबाट राम्रो आम्दानी हुन थालेपछि अहिले गाउँका धेरैजसो किसान यसैमा संलग्न हुन थालेका छन्’, उनले भने ।

खेतबारी, पाखा, कान्ला र खोल्सा सबैतिर केरा खेतीले छपक्कै ढाकेको किसान चन्द्रबहादुर कार्कीले बताए । यस क्षेत्रमा केरा खेतीको सुरुवात २४ वर्षअघि मानबहादुर थापा र चन्द्रबहादुर कार्कीले गरेकाे स्थानीय बताउँछन् ।

थापा र कार्कीले सुरु गरेको केरा खेती १२ वर्षदेखि व्यवसायिक बन्दै गएको स्थानीयको भनाइ छ । अहिले गाउँ नै ढाक्ने गरी खेती गरिएको स्थानीय तेजेन्द्रबहादुर कार्कीले बताए । अन्य खेतीभन्दा केरा खेतीबाट राम्रो आम्दानी हुने भएपछि खबरा र बगरफाँटका किसान आकर्षित भएका उनको भनाइ छ । खबराका प्रत्येक घरधुरीले व्यावसायिकरूपमा हजारी जातको केराको खेती गरेका छन् । यहाँका किसानले वार्षिक एक करोड रुपैयाँ भन्दा बढी आम्दानी गर्ने गरेका कार्कीले बताए ।

स्थानीय शोभित सापकोटाले १० वर्षदेखि व्यावसायिक केरा खेती गरेर गाउँमा पक्की घर बनाएका छन् । करिब १६ रोपनी जमिनमा लगाएको केराबाट वार्षिक १० लाख रुपैयाँ आम्दानी हुने गरेको उनले बताए ।  परम्परागत खाद्यबालीको विकल्पका रूपमा खेतबारीमा व्यावसायिक केरा खेती गर्न थालेपछि खबरावासीको आर्थिक अवस्थामा निकै सुधार आएको सापकोटाको भनाइ छ ।

थोरै लगानीमा छिटो आम्दानी गर्न सकिने, बजार नजिक र अन्य बालीको तुलनामा सजिलो भएकाले केरा खेतीतर्फ किसान आकर्षित भएका हुन् । बिरुवा रोपेको दुई वर्षमा पसाउन थाल्ने र पसाएको पाँच महिनामा बिक्रीका लागि तयार हुन्छ । उत्पादन भएको केरा नजिकैको बेनी बजारमा सहजै बिक्री हुन्छ ।

‘धान, कोदो, मकै, गहुँभन्दा केरा खेतीबाट राम्रो आम्दानी गर्न सकिन्छ’, बबिता सापकोटाले भनिन्, ‘पाँच रोपनीमा केरा खेती गरेका छौँ । वार्षिक चार देखि पाँच लाखसम्म आम्दानी हुन्छ ।’

उनले १० वर्षदेखि केरा खेती गर्दै आएकी छिन् । छोराछोरी पढाउन र घर खर्च चलाउन कुनै समस्या नभएको उनको भनाइ छ । सापकोटाले भनिन्, ‘केरा बिक्री गरेर आएको पैसाले छोराछोरीलाई काठमाडौँ राखेर पढाउन पुगेको छ ।’

उनले उत्पादन भएको केरा घरबाटै बिक्री हुने बताइन् । सापकोटाले भनिन्, ‘केरा लिन बेनीदेखि व्यापारी घरमा आउँछन्, राम्रो कोसाको प्रतिदर्जन एक सय २० रुपैयाँमा बिक्री हुन्छ ।’

खबराका हरि कुँवरले पनि १० रोपनी जमिनमा केरा खेती गरेका छन् । केरा बिक्री गरेर वार्षिक छ लाख रुपैयाँ आम्दानी हुने गरेको उनले सुनाए । ‘राम्रो भयो भने केराको एक घारीमा सात सय देखि आठ सयसम्म कोसा हुन्छन्’, उनले भने, ‘एक घारीको चार हजार दुई सय रुपैयाँ सम्ममा बिक्री गरेको छु ।’

बेनी नगरपालिका–२ बगरफाँटका किसानले धान फल्ने खेतमा केरा खेती गरेका छन् । धान, गहुँ, मकै बालीको विकल्पमा यहाँका किसानले खेतका गह्रामा व्यावसायिक केरा खेती गरेर आयआर्जन गर्ने माध्यम बनाएका हुन् । अन्नबाली जस्तै धेरै मेहनत र श्रम खर्च गर्नु नपर्ने र आम्दानी पनि बढी हुने भएकाले धान फल्ने खेतमा केरा खेती गरिएको किसानले बताएका छन् ।

केही वर्ष अघिसम्म परम्परागत खाद्यान्न खेती हुने बगरफाँट अहिले केराको बगैँचामा परिणत भएको छ । अनुकूल हावापानी, वातावरण, बजारको सुविधा र छिटो आम्दानी गर्न सकिने भएकाले व्यावसायिक केरा खेतीतर्फ आकर्षण बढेको किसान खिमबहादुर कार्कीले बताए ।

उनले खेतका गह्रामा पाँच सय केराका बिरुवा लगाएका छन् । उनका अनुसार तीन सय केरा घरीले उत्पादन दिन थालेका छन् । किसान दुर्गाबहादुर थापाले पनि गुडुराको धान फल्ने चार रोपनी खेतमा केराका बिरुवा लगाएका छन्। खेती गर्न झन्झटिलो हुने, कम उत्पादन हुने, खर्च बढी हुने र काम गर्ने मान्छे पनि नपाइने हुँदा केरा खेती थालिएको उनले बताए ।

गत वर्षको जेठमा यहाँका किसानले करिब दुई हजार केराका बिरुवा लगाएका छन् । पाकेको केरा प्रतिदर्जन एक सय रुपैयाँका दरले बिक्री हुने गरेको छ । एउटै घारीबाट एक हजार कोसासम्म उत्पादन हुने गरेको किसानको भनाइ छ ।

प्रकाशित मिति : १९ चैत्र २०७९, आइतबार  ४ : २५ बजे

यस्तो देखियो बाढीले तहसनहस त्रिशूली बजार (तस्बिरहरू)

नुवाकोट- चीनको तिब्बत हुँदै भोटेकोसी नदीमा आएको बाढीले नुवाकोटको त्रिशूली

धिरज मगरको उपस्थितिमा निरजरा ब्युटी सलोनको १८ औं वार्षिक उत्सव कार्यक्रम

काठमाडौं – नायक धिरज मगरको विशेष उपस्थितिमा निरजरा ब्युटी सलोन

प्रतिनिधिसभामा रसुवा बाढीको बहस, छिटो नागरिकको उद्धार गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं– भोटेकोशी नदी रसुवामा आएको बाढीबाट प्रभावित क्षेत्रका सांसदहरुले छिटो

भोटेकोशी बाढी : रसुवाबाट मात्रै २६ प्रहरी सम्पर्कविहीन

काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा आज आकस्मिकरुपमा आएको बाढीमा परी २६

३९४ जना पर्यटक छैनन् सम्पर्कमा : पर्यटन विभाग

काठमाडौं– मानसरोवर र लाङटाङ क्षेत्रमा गएका ३९४ जना पर्यटक सम्पर्कविहीन