रामेछापको अधिकांश झोलुङ्गे पुल जीर्ण, सम्बन्धित निकायलाई छैन चासो  | Khabarhub Khabarhub

रामेछापको अधिकांश झोलुङ्गे पुल जीर्ण, सम्बन्धित निकायलाई छैन चासो 


१७ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

मन्थली– पैदल यात्रालाई छोट्याउने साधनका रुपमा रहेका रामेछापका अधिकांश झोलुङ्गेपुल जीर्ण बन्दै गएका छन् । पुलका सामग्री नासिन र चोरिन लाग्दासमेत सम्बन्धित निकायलाई चासो छैन । 

आधुनिकतासँगै सडक र मोटर पुल निर्माणपछि सरकारले लाखौँ रुपैयाँ खर्चेर निर्माण गरेका यस्ता पुलको पछिल्लो समय प्रयोग पनि घट्दै गएको छ । विभिन्न नदीका प्रमुख घाट एवम् तत्कालीन अवस्थामा अत्यावश्यक भएका ठाउँमा निर्माण गरिएका झोलुङ्गेपुलको प्रयोग घटेसँगै तिनीहरूको संरक्षण र मर्मतसम्भारप्रति स्थानीय तह उदासीन भएका जनाइएको छ । 

दोलखा र रामेछापलाई जोड्नेमात्र नभई सगरमाथा आधार शिविर जाने पर्यटकलाई सुविधा पुर्‍याएको उत्तरी रामेछापको शिवालयस्थित झोलुङ्गेपुल हाल जीर्ण अवस्थामा छ । नजिकै अर्को मोटरेबल पुल निर्माणपछि उक्त पुलबाट आउजाउ गर्नेको सङ्ख्या घट्दो छ । तर स्थानीयवासीलाई भने यही पुलले गाउँघर र मेलापात जानआउन सहज बनाएको छ ।  

शिवालयमा भएका  पुलका पार्टपुर्जा खुस्किएका छन् । वर्षौंदेखि रङ्गरोगन नगर्दा पुलमा प्रयोग भएको फलाममा खिया लागेको छ । विसं २०४१ मा उक्त पुलको निर्माणपश्चात् त्यसैसँग जोडिएर शिवालय बजार विस्तार भएको थियो । पर्यटक नहुँदा बजारमा पनि चहलपहल घटेको छ ।  

यतिमात्र हैन पुलभन्दा माथिका डाँडाहरूमा सडक खनेर पुलको जगमा ढुङ्गामाटो फालिदिने गरेका कारण पनि पुलहरू जीर्ण बन्दै गएका हुन् । रामेछापमा शिवालयमात्र हैन, पहिले निकै महत्व बोकेका जिल्लाका अधिकांश झोलुङ्गेपुलहरु जीर्ण बनिरहेका छन् । 

पूर्वी जिल्ला भोजपुरदेखि काठमाडौँ आउजाउमा प्रयोग हुने मन्थली घाटमा २०३५ सालमा बनेको तामाकोशी नदीको पुल, रामेछापबाट सिन्धुलीको झाङ्गाझोली रातमाटा हुँदै भकुण्डे–बनेपा–काठमाडौँसमेत आउनेजाने गरिएको २०४१ सालमा (पुछिघाट, चैनपुरमा) बनेको सुनकोशी नदीको पुल भिरपानीको सित्खाघाटमा बनेको पुल र राणाकालमा निर्माण भएको रामेछाप र ओखलढुंगा जोड्ने लिखु खोलामा रहेको साँघुटारको पुलसमेत जीर्ण अवस्थामा छन् ।

यसबाहेक रामेछाप –सिन्धुली जोड्ने सुनकोशी नदीमा २०२८ सालमा निर्माण भएको धनेघाटको पुल, विसं २०२५ मा निर्माण भएको रामेछाप र सिन्धुली जिल्ला जोड्ने खुर्कोटकोपुल २०३६ सालमा निर्माण भएको काभ्रे र रामेछाप जिल्ला जोड्ने  लुभुघाटमा बनेको सुनकोशी नदीको पुल, तामाकोशी नदीमा रामेछापको आन्तरिक गाउँ जोड्ने २०२७ सालमा बनेको बान्द्रेको पुल  र २०२५ सालमा निर्मित अम्बासबेँसी खिम्ती जोड्ने तामाकोशी नदीको लगायतका जिल्लाका अधिकांश पुलहरू जीर्ण रहेका छन् ।   

रामेछाप नगरपालिकाका  प्राविधिक  हरिचन्द्र बरालका अनुसार टावरवाला पुल निर्माण गर्नप्रति मिटर ८० हजार रुपैयाँ लाग्छ । उक्त सबै पुलहरू करिब दुई सय मिटर हाराहारीका हुन् । हालको मूल्यमा एउटा पुल निर्माण गर्न कम्तीमा एक करोड ५० लाखभन्दा बढी खर्च लाग्ने गर्दछ ।  

संघीयताको  कार्यान्वयनसँगै पुल हेरालु र मर्मतसम्भारको काम स्थानीय सरकारको जिम्मामा गयो । उनका अनुसार जिल्लामा रामेछाप नगरपालिकाले मात्र पुल मर्मतसम्भारका साथै पुल हेरालुको व्यवस्था गर्दै आएको छ । अन्य निकायमा उक्त व्यवस्था छैन । ‘हामीले गत वर्षमात्र साँघुटार, नवलपुर र धनेघाट पुलको मर्मत गरेका छौँ’, उनले भने, ‘नगरपालिकाभित्र पुल हेरालुका रूपमा ११ जनालाई पारिश्रमिक दिएर जिम्मेवारी दिइएको छ । हेरालुले मासिक पाँच सय भत्ता पाउँछन् ।’

स्थानीयवासीलाई चासो छैन, पहुँचवालाहरू सडक मार्गको प्रयोग गर्न थालेपछि पुराना घाटहरूमा रहेका झोलुङ्गेपुलको संरक्षणमा कसैको चासो नगएको हो । लामो सयमदेखि मन्थली घाटको झोलुङ्गेपुल नजिक बसोबास गरिरहेका ओमबाबु पुरीले भने, ‘पहिले यही पुल नहुँदा हाम्रा कैयौँ पुर्खाले  बगेर ज्यान गुमाए । पुलले हामीलाई सहज बनायो तर अहिले सबैको हेलामा पर्‍यो ।’

स्थानीय तहको गठन नहुँदा जिल्लामा झोलुङ्गेपुलको रेखदेख र सामान्य खालका मर्मतसम्भार तत्कालीन जिल्ला विकास समितिले गर्दै आएको थियो । हरेक पुलमा पुल हेरालु राखिएका थिए । उनीहरूले पुल संरक्षण र हेरालुको काम गरेबापत न्यूनतम पारिश्रमिक पाउँथे । त्यसबाहेक पुलको मर्मतसम्भार स्थानीय विकास मन्त्रालयले गर्ने गरेको थियो । तत्कालीन जिल्ला विकास समितिले पनि पुल मर्मतमा पर्याप्त खर्च गर्ने गरेको पूर्वजिल्ला विसका समितिका सदस्य भुवनविक्रम घिमिरेले बताए । अहिलेका स्थानीय सरकार पुल मर्मतका लागि उदासीन रहेको पनि उनले गुनासो गरे ।  

जिल्लामा विभिन्न नदी र खोलामा गरी कूल एक सय ७७ झोलुङ्गेपुल छन् । तीमध्ये अधिकांश पुल टावर नभएका होचा (सस्पेन्डेड) छन् । टावरवालाभन्दा होचा खालका पुलहरु भने बढी जीर्ण छन् । यस्ता पुलकहरुको संरक्षण गरेर परम्परागत पुललाई जोगाई राखेर पछिल्लो पुस्तालाई झोलुङ्गेपुलको महत्वका बारेमा जानकारी दिइनुपर्ने, ऐतिहासिक रुपमा रहेका त्यस्ता पुलहरु कृत्रिम सम्पदाका रुपमा रहने हुँदा पनि यस्ता पुलहरुको संरक्षणमा सम्बन्धित निकायको ध्यान जानुपर्ने आवश्यकता रहेको मन्थली नगरपालिका–७ का स्थानीय  केदारप्रसाद ढुङ्गेलले बताए । 

प्रकाशित मिति : १७ श्रावण २०८०, बुधबार  १२ : ५० बजे

भक्तपुरका सार्वजनिक निकायमा ताडफोड र आगजनी

भक्तपुर – भक्तपुरमा आज भएको प्रदर्शनमा भक्तपुरको बालकोटस्थित नेकपा ९एमाले०

हिमाचल प्रदेशमा पहिरो जाँदा ५ जनाको मृत्यु, ३ जना घाइते

काठमाडौं – भारतको उत्तर राज्य हिमाचल प्रदेशमा ठूलो पहिरो जाँदा

जलेश्वरस्थित कारागारको पर्खाल भत्काएर ५७२ जना कैदी फरार

धनुषा – महोत्तरीको जलेश्वरस्थित कारागारको पर्खाल भत्काएर ५७२ जना कैदी

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा आक्रमण, पार्किङका गाडीमा आगजनी

काठमाडौँ – भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पनि प्रदर्शनकारीले आक्रमण गरेका

सार्वजनिक संरचनामा आन्दोलनकारीको आगलागी : सिंहदरबार जल्दै, अन्यत्र पनि नियन्त्रणमा आएन

काठमाडौँ – सार्वजनिक संरचनामा प्रदर्शनकारीले लगाएको आगो निभाउन सरकारी संयन्त्र