विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


१७ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : 5 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

आज साउन १७, २०८० या अंग्रेजी क्यालेन्डर अनुसार अगस्ट २, २०२२ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।

तनाव नबढाउन पुटिनलाई एर्दोगानको आग्रह
टर्किस राष्ट्रपति रेसेप तैयप एर्दोगानले आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिनलाई तनाव बढाउने कुनै पनि गतिविधि नगर्न आग्रह गरेका छन् ।

युक्रेनबाट खाद्यान्न ढुवानी हुने महत्वपूर्ण स्थानमा रुसले आक्रमण गरेपछि टर्किस राष्ट्रपतिले तनाव बढाउने गतिविधि नगर्न राष्ट्रपति पुटिनलाई टेलिफोन गरेर आह्वान गरेका हुन् ।

अनाज आपूर्ति हुने युक्रेनी बन्दरगाह तथा अन्य केन्द्रमा मस्कोले आक्रमण गरेर भौतिक संरचनामा क्षति भएपछि राष्ट्रपति एर्दोगानले खाद्यान्न आपूर्तिको सम्झौता शान्तिको सेतु भएको उल्लेख गर्दै उक्त सम्झौताको पालनमा जोड दिएको टर्किस राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

टर्किए र संयुक्त राष्ट्र सङ्घको मध्यस्थतामा युक्रेनलाई आफ्नो कृष्ण सागरमा रहेको बन्दरगाहबाट खाद्यान्न निर्यात गर्ने अनुमति दिएको थियो तर मस्कोले गत महिना त्यो समाप्त भएको घोषणा गरेको थियो । हिजोदेखि बन्दरगाहका भौतिक संरचनामा आक्रमण थालेको छ ।

फक्सकनले भारतमा थप लगानी गर्ने
विद्युतीय सामग्री तथा उपकरण उत्पादनका निम्ति विश्व प्रख्यात ताइवनी कम्पनी फक्सकनका प्रमुखले भारतमा थप लगानी गर्ने बताएका छन् ।

सूचना प्रविधिको क्षेत्रमा उपकरण उत्पादनमा नाम कमाएको उक्त कम्पनीले भारतको तमिलनाडुमा १६ अर्बको लागतमा विद्युतीय उपकरण बनाउने कारखाना खोल्न सहमति जनाएको दुई दिनपछि कम्पनीका प्रमुख योङ लिउबाट थप लगानीको प्रतिबद्धता सार्वजनिक भएको हो ।

फक्सकनले तमिलनाडुमा ‘इलेक्ट्रोनिक कम्पोनेन्ट’ उत्पादन गर्ने कारखानामा छ हजारभन्दा बढीले रोजगारी पाउने छन् । तमिलनाडु सरकारका एक जना वरिष्ठ अधिकारीका अनुसार राज्यको राजधानी चेन्नइ नजिकको कञ्चीपुर जिल्लामा कारखाना स्थापना गरिनेछ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले गत शुक्रबार गुजरातको गान्धीनगरमा फक्सकनका प्रमुख योङलाई स्वागत गर्दै ‘सेमिकण्डक्टर’ उत्पादन गर्ने कारखाना स्थापना गर्न आग्रह गरेका थिए । अधिकांश आधुनिक औद्योगिक प्रतिष्ठानदेखि कम्युटरलगायत यन्त्र तथा उपकरणका लागि आवश्यक पर्ने सेमिकन्डक्टर भारतजस्तो लोकतान्त्रिक मुलुकमा गर्नु फक्सकनका निम्ति लाभदायक हुने उनले बताएका थिए ।

संसारभरका लगानीकर्तालाई भारतमा चिप र सेमिकन्डक्टर बनाउने उद्योगमा लगानी गर्न आह्वान गर्दै त्यसबाट प्राप्त हुने अथाह लाभ उठाउन प्रधानमन्त्रीले आग्रह गरे । चिप र सेमिकन्डक्टर बनाउनु भारतको मात्र आवश्यकत नभएको उल्लेख गर्दै उहाँले विश्वलाई आवश्यक पर्ने विश्वसनीय चिपको आपूर्ति भारतबाट हुने बताए

प्रमुख कार्यकारी अधिकृत योङले प्रधानमन्त्री मोदीको ‘मेक इन इन्डिया सेमीकन्डक्टर’ दुरदर्शी योजनाको सराहना गर्दै भारतसग साझेदारी गर्न तयार रहेको बताए । उनले भरपर्दो साझेदार भारतसँग सहकार्य एवम् साझेदारी गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले तीनदिने ‘सेमिकन इन्डिया’ सम्मेलनमा भाग पनि लिएका थिए ।

पाँच छिमेकीसँगको सिमाना खोलेको नाइजरको घोषणा

सैनिक विद्रोहको करिब एक सातापछि पश्चिम अफ्रिकी मुलुक नाइजरले पाँच छिमेकी देशसँगको सिमाना खोलेको छ । नाइजरले स्थल सिमानाका साथै हवाई सीमा पुनः खोलिएको सैन्य विद्रोहमा संलग्न एक जना जनलरलले राष्ट्रिय टेलिभिजनबाट घोषणा गरेका छन् ।

अल्जेरिया, बुर्किना फासो, लिबिया, माली र चाडसँगको भूमि र हवाई सिमाना पुनः खोलिएको ती सैनिक अधिकारीले घोषणा गरेका हुन् । गत बुधबार नाइजरका निर्वाचित राष्ट्रपति मोहम्मद बाजुमलाई अपदस्थ गरी देशको शासन व्यवस्था आफूले सञ्चालन गर्ने घोषणा राष्ट्रपतिका सुरक्षा प्रमुख जनरल अब्दुरहमान टियानीले गरेका थिए ।

जनरल टियानीले जहादीहरूद्वारा लामो समयदेखि चलिरहेको विद्रोह अन्त्य गर्न असफल भएको, भ्रष्टाचार र आर्थिक समस्या बढेका तथा सुरक्षा व्यवस्थामा भएको ह्रासलाई सम्बोधन गर्न सत्ता हातमा लिएको बताएका छन् ।

यसैबीच, लामो समयसम्म नाइजरलाई आफ्नो उपनिवेश बनाएको फ्रान्सले सैन्य विप्लव प्रभावित नाइजरबाट दुई सय ६२ जनालाई पेरिस पुर्‍याएको छ । नाइजरमा आफ्ना नागरिक असुरक्षित हुने भन्दै फ्रान्सले त्यहाँबाट उनीहरूलाई स्वदेश पुर्‍याएको हो । फ्रान्सका विदेशमन्त्री क्याथरिन कोलोनाले एक दर्जन बालबालिकासहित दुई सय ६२ जनालाई नाइजरबाट ल्याइएको बताए ।

पश्चिम अफ्रिकी राष्ट्रहरूको आर्थिक समुदाय, अफ्रिकी सङ्घ, युरोपेली सङ्घ, संयुक्त राष्ट्रसङ्घ, अमेरिका, जर्मनी, फ्रान्सलगायत अन्तर्राष्ट्रिय समुदायले सैन्य विप्लवको विरोध गर्दै वैधानिक राष्ट्रपति मोहम्मद बाजुमलाई पुनःस्थापना गर्न माग गरेको छ । साथै उनीहरूले बाजुम र उनका परिवारको सुरक्षाको माग गर्दै अविलम्ब रिहाइको माग गरेका छन् ।

आर्थिक समुदाय र अन्तर्राष्ट्रिय जगत्ले लोकतन्त्रको रक्षा गर्न तथा यस क्षेत्रमा लोकतान्त्रिक शासन व्यवस्थालाई सुदृढ बनाउन हरसम्भव प्रयास गर्ने नाइजेरियाका राष्ट्रपति एवम् पश्चिम अफ्रिकी राष्ट्रहरूको आर्थिक समुदायका अध्यक्ष बोला टिनुबुले एक विज्ञप्ति निकालेर बताएका छन् ।

भूपरिवेष्टित राष्ट्र नाइजर विश्वकै निर्धनतम राष्ट्रमध्येको एक हो । सन् १९६० मा फ्रान्सबाट स्वतन्त्र भएपछि चारपटक यस्ता विद्रोह भइसकेका छन् । राष्ट्रपति बाजुमविरुद्ध पनि दुई पटक विद्रोह भएको छ ।

जापान र दक्षिण कोरियामा गर्मीले बेहाल, १५ जनाको मृत्यु
यतिबेला विश्वका अधिकांश देशले प्राकृतिक विपत्तिको सामना गरिरहेका छन् । कतिपय ठाउँमा भारी वर्षा विपद्को कारण बनेको छ भने कतिपय ठाउँमा अत्यधिक गर्मीले मानिसको ज्यान गएको छ ।

यस सन्दर्भमा दक्षिण कोरिया र जापान चर्को गर्मीको लहरको चपेटामा परेका छन्। दक्षिण कोरियामा गर्मीका कारण १२ जनाको ज्यान गएको छ भने जापानमा विद्यालयबाट फर्कने क्रममा १३ वर्षीया बालिकाको गर्मीबाट मृत्यु भएको छ ।

दक्षिण कोरियाको योनहाप समाचार एजेन्सीले यो साता चर्को गर्मीका कारण ज्यान गुमाउनेमा ७० वर्षभन्दा माथिका पाँच जना किसान रहेको जनाएको छ ।

यसअघि गर्मीका कारण सात जनाको मृत्यु भइसकेको छ । पछिल्लो अवस्थालाई ध्यानमा राख्दै मंगलबार देशका अधिकांश भागमा गर्मीको लहरको चेतावनी जारी गरिएको थियो । समाचार अनुसार जुलाई महिनामा तापक्रम ४० डिग्री पुगेपछि मानिसहरू निकै चिन्तित भएका थिए ।

यस्तै मौसम जापानमा पनि छ । जसका कारण शुक्रबार १३ वर्षीया बालिकाको मृत्यु भएको थियो । मैनीचीको रिपोर्टका अनुसार उनी साइकलमा स्कूलबाट घर जाँदै थिइन्। त्यसपछि उनी बेहोस भइन् र फुटपाथमा लडेकी थिइन् । उनलाई अस्पताल लगिए पनि बचाउन सकिएन । अधिकारीहरूले बालिकाको मृत्यु हीटस्ट्रोकका कारण भएको दाबी गरेका थिए ।

योसँगै टोकियोमा एक वृद्ध दम्पती आफ्नै घरमा मृत फेला परेपछि शुक्रबारदेखि मृत्यु हुनेको संख्या तीन पुगेको छ । सहरको तापक्रम ३५ दशमलव ७ डिग्री पुगेका र वातानुकूलित नभएकाले उनीहरूको हीटस्ट्रोकबाट मृत्यु भएको प्रहरीले अनुमान गरेको छ ।

दुईवटा विश्वयुद्ध देखेका वृद्ध व्यक्तिको निधन
विश्वको सबैभन्दा वृद्ध व्यक्ति भनिने ब्राजिलका सुपरसेन्टेनेरियन जोसे पाउलिनो गोम्सको निधन भएको छ ।

ब्राजिलका स्थानीय मिडियाका अनुसार १२७ वर्षीय जोसे पाउलिनो गोम्सको कोरेगो डेल क्याफेस्थित आफ्नै घरमा निधन भएको हो । गोम्सको १२७ औं जन्मदिन भन्दा सात दिन अघि उनको निधन भएको हो ।

पेड्रा बोनिटाको रजिस्ट्री कार्यालयबाट गोम्सको विवाहको प्रमाणपत्र प्राप्त भएको छ। सन् १९१७ को विवाह प्रमाणपत्रका अनुसार गोम्सको जन्म ४ अगस्ट १८९५ मा भएको थियो।

यदि उनको उमेरको बारेमा उनको दाबी साँच्चै सही छ भने उनले दुवै विश्वयुद्ध र तीन विश्वव्यापी महामारीको घटनाहरूका पनि आफू बाँच्न सफल भएका थिए ।

गोम्सले जनावरहरूलाई पाल्ने काम गर्थे। उनले एक नम्र र सरल व्यक्तिको आफ्नो छवि सिर्जना गरेका थिए । उनले पुर्ण प्राकृतिक जीवनशैली बिताए। उनी औद्योगिक उत्पादनबाट टाढै रहे र ग्रामीण क्षेत्रका वस्तुलाई प्राथमिकता दिने गरेको थिए । उनको आहारमा स्थानीय रूपमा उब्जाइएको खानेकुरा समावेश थियो र उनी कहिलेकाहीं पिउने गर्थे।

उनका सात छोराछोरी, २५ नातिनातिना, ४६ पनाति पनातिना छन् ।

आङ साङ सूचीलाई ५ मुद्दामा माफी
म्यानमारमा सन् २०२१ मा भएको सैनिक विद्रोहपछि जेलमा परेकी नेतृ आङ साङ सूचीलाई माफी दिइएको छ ।

म्यानमारकी नेतृ सूचीलाई १९ अपराधमध्ये ५ वटामा माफी दिइएको हो । उनलाई विभिन्न मुद्दामा दोषी ठहर गरी ३३ वर्षको जेल सजाय दिइएको छ ।

म्यानमारको सेनाले निर्वाचित नेतृ सूची र अन्य वरिष्ठ नेताहरूलाई पक्राउ गरी जेलमा राखेको थियो। ७८ वर्षीया सूचीलाई विभिन्न मुद्दामा ३३ वर्षको जेल सजाय सुनाइएको थियो ।

फेब्रुअरी १, २०२१ मा, सेनाले एक वर्षको लागि देशमा कूको कार्यान्वयन गरेको थियो। पछि यो आपतकाल लम्बियो र यो आपतकाल चौथो पटक फेरि ६ महिना थपिएको छ ।

अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पमाथि मुद्दैमुद्दा, बिहीबार अदालतमा हाजिर हुने
अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई सन् २०२० को निर्वाचन परिणाम उल्ट्याउन प्रयास गरेको आरोपमा विभिन्न ४ वटा अभियोग लगाईएको छ ।

४५ पृष्ठको अभियोगमा ट्रम्पविरुद्ध अमेरिकालाई धोका दिने षड्यन्त्र गरेको, आधिकारिक काम कारबाहीमा बाधा पुर्‍याएको, चुनावी परिणाम अनुमोदन गर्ने प्रक्रियामा अवरोधको प्रयास गरेको र जनताको अधिकारविरुद्धको षड्यन्त्र गरेको अभियोगपत्र दायर गरिएको हो ।

यी अभियोग सुनाउन वासिङ्टन डिसी अदालले ट्रम्पलाई भोलि अदालतमा हाजिर हुन भनेको छ । ट्रम्प जिल्ला न्यायाधीश तान्या चुटकन समक्ष हाजिर हुनु पर्नेछ ।

ट्रम्पमाथि आपराधिक अभियोग लगाइएको यो तेस्रो पटक हो । यसअघि ट्रम्पविरुद्ध गोप्य कागजातहरुको दुरुपयोग एवं व्यापार ठगीको आरोपमा मुद्दा चलिरहेको छ । आफ्नो बढ्दो कानूनी समस्याहरूको बावजुद राष्ट्रपति निर्वाचनको उम्मेदवारी दौडमा भने ट्रम्प अरुभन्दा अगाडि छन् ।

न्यूयोर्क टाइम्स र सिएनएन सर्वेक्षणले ट्रम्पलाई ५४ प्रतिशत समर्थनका साथ रिपब्लिकन उम्मेदवारीको दौडमा सबैभन्दा अगाडि देखाएको छ । अमेरिकी कानूनमा अपराधको आरोप लागेका व्यक्तिहरूलाई राष्ट्रपतिको उम्मेदवार हुन रोक्दैन ।

प्रकाशित मिति : १७ श्रावण २०८०, बुधबार  ८ : ०० बजे

जसपा फुटिसकेपछि अमेरिकाबाट मध्यराति आइपुगे उपप्रधानमन्त्री यादव

काठमाडौं – अध्यक्ष उपेन्द्र यादवले देश छाड्दा सग्लो रहेको जनता समाजवादी

सगरमाथामा क्षेत्रमा जलवायु परिवर्तनका अस्वाभाविक असर देखिँदै

सोलुखुम्बु – विश्वव्यापी तापक्रमको उच्च वृद्धिसँगै सगरमाथासहितका हिमालहरु चपेटामा पर्दै

हावाहुरीका कारण हवाई उडान प्रभावित

काठमाडौंं – सोमबार साँझ चलेको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट

इङ्ल्यान्ड ‘सि’सँग नेपाल पराजित

काठमाडौं – मैत्रीपूर्ण फुटबलमा नेपाल इङ्ल्यान्ड ‘सि’सँँग पराजित भएको छ

मोरङको पाथिभरा माता मन्दिरमा लाखबत्ती प्रज्वलन

मोरङ – पाथिभरा माता मन्दिरमा लाख बत्ती बालेर दिप प्रज्वलन