दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू | Khabarhub Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू


१७ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

दिनभर आजमा कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिए शपथ, माओवादी बैठकमा १८ जनाले राखे धारणा, विवादास्पद अभिव्यक्ति दिएर आलोचित अधिवक्ता पाण्डे पक्राउ, क्विन्टलका क्विन्टल सुन तस्करी हुँदा पनि कांग्रेसले केही नबोल्नु अचम्म रहेको अध्यक्ष ओलीको भनाइ, माओवादी केन्द्रका केन्द्रीय सदस्यसहित तीन जना एमाले प्रवेश लगायतका समाचारले प्रमुख स्थान पाए ।

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिए शपथ
कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनलाई बुधबार साँझ प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख परशुराम खापुङले शपथ गराएका हुन् ।

मा‌ओवादी केन्द्रका केन्द्रीय सदस्यसहित तीन जना एमाले प्रवेश

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्यसहित तीनजना नेकपा एमालेमा प्रवेश गरेका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले उनीहरुलाई आफ्नो पार्टीमा स्वागत गरेका छन् ।

विवादास्पद अभिव्यक्ति दिएर आलोचित अधिवक्ता पाण्डे पक्राउ
विवादास्पद अभिव्यक्ति दिएको आरोपमा अधिवक्ता भगवती पाण्डे पक्राउ परेकी छन् ।

टेलिभिजन अन्तरवार्तामा अधिवक्ता पाण्डेले दिएको अभिव्यक्तिविरुद्ध नेपाल तामाङ घेदुङको तर्फबाट कुमारसिंह घिसिङ र नेपाल मगर संघका ज्ञानेन्द पुनले जातीय भेदभाव तथा छुवाछुत गर्न नहुने कसुरमा जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएका थिए ।

माओवादी बैठक : १८ जनाले राखे धारणा
माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकको पहिलो दिन आज १८ जना केन्द्रीय सदस्यले आफ्नो धारणा राखेका छन्।

प्रज्ञाभवन कमलादीमा सुरु बैठकमा बोल्ने अधिकांश सदस्यले पार्टीलाई जीवन्तता दिन संगठन सुदृढीकरण गर्नुपर्ने धारणा राखेका थिए।

चितवनमा रास्वपाद्वारा निःशुल्क ‘ब्लु बस’ सञ्चालन
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं संघीय सांसद रवि लामिछानेले महिलाका लागि चितवनमा आजदेखि निःशुल्क ‘ब्लु बस’ सञ्चालनमा ल्याएको जानकारी दिएका छन् ।

सांसदमा निर्वाचित भएको एक सय दिन पूरा भएको सन्दर्भमा आज उनले ब्लु बस सञ्चालनले जिल्लावासी महिलालाई सहज हुने विश्वास व्यक्त गरे।

राष्ट्रिय एकता र स्वाधीनतालाई सुदृढ गर्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो नेतृत्वको सरकारले थालेका कामबाट जनतामा नयाँ आशा पलाएको बताएका छन् । आजदेखि सुरु भएको माओवादी केन्द्रको केन्द्रीय समितिको चौथो पूर्ण बैठकको शुभारम्भ गर्दै उनले जनतामा उत्पन्न भएको आशा र भरोसालाई सङ्गठनमा रुपान्तरण गर्नुपर्ने बताए ।

सबै प्रकारका नियुक्तिलाई समावेशी बनाउन सरकार प्रतिबद्ध 
परराष्ट्रमन्त्री एनपी साउदले सबै प्रकारका नियुक्ति समावेशी बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

बुधबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकमा राजदूत नियुक्तिका विषयमा जानकारी दिँदै मन्त्री साउदले संविधानको मर्म र भावनाअनुरुप सबै प्रकारका नियुक्तिलाई समावेशी बनाउन सरकार प्रतिबद्ध रहेको बताएका हुन् ।

निर्माणाधिन संसद भवनको प्रगतिप्रति सभामुख घिमिरे असन्तुष्ट

सभामुख देवराज घिमिरेले निर्माणाधिन संसद भवनको प्रगतिप्रति असन्तुष्टि जनाएका छन् ।

बुधबार सिंहदरबारमा निर्माणाधिन संसद भवनको प्रगतिबारे विशेष भवन निर्माण आयोजनाबाट जानकारी लिने क्रममा सभामुख घिमिरेले लक्ष्य अनुसार निर्माण कार्यले तीव्रता पाउन नसकेको भन्दै असन्तुष्टि जनाएका हुन् ।

उनले संसद भवनको आर्थिक भार बढ्दै गएको अवस्थामा भौतिक निर्माण अवस्था कमजोर देखिएको जिकिर गरे ।

कोसीमा सभामुखबाट राजीनामा दिएका गौतम बने अर्थमन्त्री

कोसी प्रदेशमा मुख्यमन्त्री उद्धव थापासँगै तीन जना मन्त्रीले शपथ लिएका छन्। सभामुखबाट राजीनामा दिएका बाबुराम गौतम अर्थमन्त्री बनेका छन्।

गौतमले आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी सम्हालेका हुन्। कांग्रेसका प्रदीप सुनुवारले खानेपानी, सिचाइँ तथा ऊर्जा मन्त्रालय र एकीकृत समाजवादीका कमल जवेगुले भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी सम्हाल्ने भएका छन्।

क्विन्टलका क्विन्टल सुन तस्करी हुँदा पनि कांग्रेसले केही नबोल्नु अचम्म : ओली

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले क्विन्टलका क्विन्टल सुन तस्करी हुँदा पनि नेपाली कांग्रेसले केही नबोल्नु अचम्म भएको टिप्पणी गरेका छन् ।

तुल्सीलाल अमात्यको २६ औ स्मृति दिवसका अवसरमा बुधबार एमाले मुख्यालय च्यासलमा आयोजित कार्यक्रममा ओलीले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउन नमानेर नाइकेलाई बचाउने प्रयास भएको आरोप पनि लगाए ।

‘अधिकार हस्तान्तरण गर्ने विषयमा सङ्घ उदार हुनुपर्छ’

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले बजेट र अधिकार हस्तान्तरण गर्ने कुरामा सङ्घ उदार हुनुपर्ने बताएका छन् ।

राष्ट्रियसभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको आयोजनामा आज भएको तहगत सम्बन्ध र समन्वय विषयक प्रादेशिक अन्तरक्रियामा उनले संघीयताको मर्मविपरीत सङ्घमै अधिकार रोकेर राख्ने प्रवृत्ति हट्नुपर्छ भने।

प्रस्तावित छमध्ये तीन राजदूतको संसदीय सुनुवाइ पूरा
विभिन्न मुलुक र नियोगका लागि सरकारद्वारा प्रस्तावित छ राजदूतमध्ये तीन जनाको संसदीय सुनुवाइ पूरा भएको छ ।

संघीय संसद्, सार्वजनिक सुनुवाइ समितिको आजको बैठकमा न्युयोर्कस्थित नेपाली स्थायी नियोग, स्विट्जरल्यान्ड र फ्रान्सका लागि प्रस्तावित राजदूतको संसदीय सुनुवाइ भएको हो ।

महानगरद्वारा डेंगु नियन्त्रणका लागि अभियान सुरु

काठमाडौं महानगरपालिकाले डेंगु नियन्त्रणका लागि अभियान सुरु गरेको छ।

अभियान अन्तर्गत पहिलो दिन बुधबार सर्वसाधारणलाई डेंगु रोगका विषयमा माइकिङमार्फत जानकारी दिने, पानी जमेको स्थानमा लार्भा नष्ट गर्ने, सरसफाइ गर्ने, सफा गरिएका स्थानमा चुना छर्किनेलगायतका काम भएको महानगरले जनाएको छ।

प्रकाशित मिति : १७ श्रावण २०८०, बुधबार  ८ : ५८ बजे

गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीद्वारा सपथ

गण्डकी– गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले ऊर्जा, जलस्रोत तथा

टुँडिखेलमा बेरोजगारलाई थरीथरीका ‘अफर’

काठमाडौं– टन्टलापुर घाममा काठमाडौंको टुँडिखेलमा हातमा कागजको टुक्रा बोकेर लाइनमा

काठमाडौं उपत्यकासहितमा चर्को हावाहुरी, केही स्थानमा पानी पर्ने

काठमाडौं – काठमाडौं उपत्यकासहितका जिल्लाहरूमा चर्को हावाहुरी चलिरहेको छ ।

बाग्मती प्रदेशसभाका विषयगत समितिहरू सभापतिविहीन

बाग्मती– बाग्मती प्रदेशसभाअन्तर्गतको पाँचवटै विषयगत समिति लामो समयदेखि नेतृत्वविहीन छ