समाचार

नवलपुरकाे नगर अस्पतालमा आँखा उपचार केन्द्र सञ्चालन

By खबरहब

November 02, 2023

नवलपुर– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–११ भेडाबारीस्थित गैँडाकोट नगर अस्पतालमा आँखा उपचार केन्द्र सञ्चालनमा आएको छ ।

नगर अस्पतालमा सञ्चालनमा आएको आँखा उपचार केन्द्र नेपाल नेत्रज्योति सङ्घ, हीरालाल सन्तुदेवी प्रधान नेत्र विज्ञान अध्ययन संस्थान (भरतपुर आँखा अस्पताल) चितवन र गैँडाकोट नगरपालिकाद्वारा सञ्चालन गरिएको हो ।

भरतपुर आँखा अस्पतालका अध्यक्ष जयराम श्रेष्ठले आँखा अस्पतालले भरतपुरमा अत्याधुनिक शल्यचिकित्सा भवन निर्माण गर्न लागिएको जानकारी दिए ।

भरतपुर आँखा अस्पतालका निवर्तमान अध्यक्ष कृष्णराज धरेलले उपचारकै कारण कसैले आँखाको ज्योति गुमाउन नपरोस् भन्ने उद्देश्यका साथ सेवा थालिएको बताए ।

बुधबार नै सुरु गरिएको निःशुल्क आँखा शिविरमा दुई सय १९ जनाले आँखा जाँच गराएका छन् । शिविरमा १४ जनामा मोतिविन्दु, सात जनाको आँखामा मासु पलाएको, १९ जनामा आँखा चिलाउने, आँसु आउने समस्या र १९ जनामा चस्मा लगाउनुपर्ने समस्या भेटिएको भरतपुर आँखा अस्पतालका नेत्र सहायक सुवास सापकोटाले जानकारी दिए ।

यसैबीच, अस्पतालको भीमराज उषामाया पाठक आँखा बैंक नानी सङ्कलन केन्द्रमा एक हजार दुई सय ९२ जनाले आँखा दान गर्ने इच्छा पत्र पेश गरेका छन् ।

हालसम्म २५ जनाले आँखाको नानी दान गरेका छन् । हालसम्म अस्पतालबाट एक सय ३१ जनाको आँखाको नानी प्रत्यारोपण गरिएको आँखा बैंकका संयोजक छाँया श्रेष्ठले जानकारी दिइन् ।

विसं २०७४ मा स्थापना भएको बैंकले पहिलो पटक २०७५ सालमा गैँडाकोट–२ मा ८४ वर्षीय कलाधर गौतमको आँखाको नानी सङ्कलन गरेको थियो ।