नौ सय खोला तरेर जाने बिर्सने पो हो कि, मलाई बिर्सने पो हो कि
नफर्केसम्म पर्खेर बस्छु, सम्झनाको दियो जलाई, बिर्सने पो हो कि !
घरदेश–परदेशमा नेपाली गीत सङ्गीतको मर्म उच्च छ । वास्तवमा परदेशिएका धेरै नेपालीहरूको भावना यस्तै यस्तै हुन्छ । चार दशकअघि लोक गायक बुद्धिकृष्ण लामिछानेले परदेशीको मन मस्तिष्कको भाव गीतमा समेटेका थिए– ‘पिँढीमा बसेर मेरै बाटो हेरेर मेरी आमा रुँदी हुन् मलाई सम्झेर ।’ पूर्वेली लोकलयमा गाइएको यो गीतले आज पनि उही गमक बोकिरहेको छ । आधा करोड बढी जनसंख्या विदेशमा रहेको र हजारौँ विदेशिने क्रममा रहँदा देशै विदेशिएको परिभाषा लाउनेको पनि कमी छैन । टाढाबाट हिमालको सौन्दर्य गाढा भएजस्तै परदेशिएपछि नोस्टाल्जिक हुनेहरूको भीड गीत सङ्गीतमा देखिनु स्वाभाविक हो ।
असंख्य परदेशी यस्ता गीत गुनगुनाउँदै मुटुमा गाँठो र आँखामा आँसु लिएर विदेशमा पसिना बगाइरहेका छन् । गायक लामिछानेकै भावलाई समेटेर गायकद्वय जयनन्द लामा र बलराम कार्कीले अर्को कर्णप्रिय गीत गुनगुनाएका छन्– ‘लाहुरेको हारेको कर्म’ जसको बोल सुन्दै धेरै लाहुरेहरूको गला अवरुद्ध हुन्छ ।
नेपाली गीत सङ्गीतको फाँटमा अजम्बरी बनिसकेका र परदेशी भाव छल्किएका यस्ता धेरै लोकगीतहरू छन् । नारायण रायमाझी र बिमाकुमारी दुराले गाएको ‘धन कमाउन म जान्छु विदेशमा’ बोलको पश्चिमेली लोकलय होस् या लक्ष्मण रायमाझीको सङ्कलनमा उनैले गाएको ‘मलाई लाग्यो रेलिमै दुश्मनको गोलीले’ भन्ने स्थानीय सुसेली, सबैमा घरदेशी परदेशी सबैको हृदय छुने शब्द र संगीत छाएको छ । ‘मेरा प्राय लोकगीतहरूमा परदेशीहरू रोएका हुन्छन्’ नारायण रायमाझी भन्छन् ।
प्रवासी कथा व्यथा उनिएको अर्को सदाबहार लोकगीत हो– झलकमान गन्धर्वको ‘ए बरै आमाले सोध्लिन् नि खै छोरा भन्लिन्, रनैमा पर्याे भन्दिए ।’ एउटा नेपाली लाहुर गएर लडाइँमा वीरगति प्राप्त गर्दाको प्रसङ्गमा गाइएको यो गीत नेपाली लाहुरे समाजमा ढुकढुकी नै सावित भएको छ । गन्धर्वले आजभन्दा ६ दशकअघि संकलन गरेको गण्डकीको स्थानीय झल्किने यस गीतले परदेशिएका धेरै नेपाली फौजी मुटुहरूलाई हल्लाइदिएको छ ।
जो कोही झलकमानको यो गीत सुन्दा एकाएक भावुक बन्न पुग्छन् । गन्धर्व लयमा गाउने अर्का गायक तीर्थबहादुर गन्धर्वले झलकमान पथलाई नै आत्मसात गरेका छन् । ‘परदेशमा जाँदैछु अब’ बोलको उनको गीतको संकलन प्याउलीदेवी गन्धर्वले गरेकी हुन् । अमर विरही गुरुङले संकलन गरेको र प्रेमराजा महतले गाएको ‘काँधैमा राइफल’ भन्ने गीतले पनि लाहुरेको मनको कुरा बोलिदिएको छ । तर अफशोच महत स्वयं परदेशिएका छन् ।
परदेशी कथा समेट्ने लोकगीतहरूले प्राय: नेपालमा बेरोजगार हुनुपर्दाको पीडा, ऋण थपिँदै जाँदाका छटपटी र विदेशिनुपर्ने बाध्यता देखाएको पाइन्छ । त्यसैगरी विदेशिएको प्रेम स्वदेश बोलाउने आग्रह गरिएको छ । ‘पाइन खबर, घर फर्की आउनुहोस् मेरो हजुर’ भन्ने बोलको गीतलाई धेरै नेपाली नारीले आफ्नो दिलको आवाज सम्झन्छन् ।
‘आउन कान्छा बसिदेउ राडीमा किन भुल्यौ घरको सम्झना’ यस्तै अर्को मन छुने गीत हो । गीतका स्रष्टाले परदेशिएका आफ्ना खसमलाई केही पो भएको छ कि भन्ने नारीहरूको मनभित्र कता कता लुकेको डरलाई पनि चित्रण गर्न खोजेको देखिन्छ ।
नेपाली समाजमा काग कराएकोलाई अशुभ सङ्केतका रुपमा लिएको पाइन्छ । बुद्धवीर लामाको रचनामा कुन्ती मोक्तानले गाएको ‘रुँदैछु म गैह्री खेतमा तिमी परदेशमा…, …आज बिहान कालो काैवा किन करायो, हुलाकीले ल्याको चिठी खोल्न डर लाग्यो भन्ने यस्तै भावभूमिका कोरिएका गीत हुन् । लोकगायक स्वर्गीय लोकबहादुर क्षेत्रीले गाएको आमा रुँदै गाउँबेंसी मेलैमा, छोरो रुँदै गोरखपुर रेलैमा बोलको गीतले पनि त्यतिकै मार्मिक भाव बोकेको छ । यसले स्वभावतः मुगलान पसेकाहरूको आत्मा बोलेको छ ।
परदेशीका कथाव्यथा बोकेका गीतमा कृष्ण गुरुङ र माया गुरुङले स्वर दिएको ‘आमा रुन्छिन् घरैको चोटामा, राम थापा र सुनीता सुब्बाको सुका पैसा पनि रहेन खल्तीमा र राजेन्द्र लम्सालले गाएको जान्छु विदेश सम्पत्ति कमाउन’ बोलका गीत चर्चित सिर्जनाभित्र पर्छन् । पछिल्लो समय हेमन्त रानाको ‘सुन साइँली….चालीस कटेसी रमाउँला’ बोलको गीतले परदेशी भावधारालाई ह्वात्तै माथि उचाल्यो ।
त्यसबाहेक दोहोरी र लोकगीतका क्षेत्रमा धेरै परदेशी रसका गीत समेटिए । लोकगायिका सत्यकला राईले गाएको धुरुधुरु रुवायो आईडी काडैले… गीतले विदेश मोहको क्रेजले पारेको सामाजिक विचलनलाई राम्रैसँग उजागर गर्याे ।
आधुनिक गायनमा प्रभाव
आधुनिक गीतमा परदेशी भाव नेपाली गीत संगीत भण्डारलाई खोतल्दै जाँदा लोकगीतमा मात्र नभएर आधुनिक गीतमा पनि परदेशी नेपालीको कथा विद्यमान रहेका छन् । स्वरसम्राट नारायणगोपाल र दिलमाया खातीको आवाजमा घन्किने बिछोडको पीडा नसकी खप्न दसैँको बेलामा भन्ने गीत अमर नेपाली गीतको कोशेढुंगा नै मानिन्छ । गीतकार रत्नशमशेर थापा भन्ने गर्थे– ‘मैल परदेशी भाव उजिल्याउन यो गीत लेखेको थिएँ ।’ आफ्नो खसम धन कमाउन विदेशिँदा पत्नीमा उत्पन्न हुने विरह भाव उतारिएको यो गीत लोचन भट्टराईले गाएकी हुन् ।
गीतकार तथा संगीतकार काजी गजमेहरले पनि यस्तै भाव कोरेका छन्– ‘असारै महिनामा पानी पर्याे रुझाउने, एक्लो यो मेरो मन कसरी बुझाउने ।’ छुप्याङ डुक्पाले गाएको यो गीत लोकप्रियताको उच्चकोटीमा छ । यस्तै महाकवि देवकोटाको प्रसिद्ध गीति खण्डकाव्यको एक अंशको रुपमा रहेको नारायणगोपालले गाएको ‘ईश्वर तैँले रचेर फेरि कसरी बिगारिस्’ गीत परदेशबाट फर्केको एक परदेशी घर आइनपुग्दै आफ्नी सङ्गिनी बितेको पीडा समेटिएको मार्मिक अभिव्यक्ति हो यो ।
अघिल्लो पुस्ताका चर्चित गायक माणिक रत्नले गोपाल योञ्जनको संगीत र नगेन्द्र थापाको शब्दमा ‘जाँदैछु माया छाडी’ बोलको गीत गाएका छन् । यसमा पनि उही परदेशी संसार समेटिएको छ । तारादेवी र पुष्प नेपालीले गाएको ‘बिदा हुने भइगयो बेला’ होस वा एस के पहाडीको रचना र नातिकाजीको सङ्गीतमा तारादेवीको ‘चिठी किन लेख्यौ मलाई’ भन्ने दुवै गीतमा परदेशी भावना पाइन्छ ।
गायक शिवशङ्कर र तारादेवीले फर्केन उ म के भनुँ भन्दै राखेको सांगीतिक जिज्ञासामा गायिका तारादेवी अर्को गीतमार्फत जवाफ दिन्छिन्, नौसय खोला । गायिका पूर्ण सिंह आफ्नो स्वर मार्फत घर कहाँ हो परदेशी दाइ भन्दै एउटा अपरिचित परदेशीसँग प्रश्न उभ्याउँछन् । मनोज पाण्डेको संगीत दीपक सिलवालको रचना र सुनिता सुब्बाको स्वर रहेको बिरानो ठाउँमा शीर्षकको गीत र देविका प्रधानको स्वर, ललिजन रावलको रचना अनि नरेन्द्र प्यासीको सङ्गीतमा बज्ने एउटा ‘परदेशी आई सोध्यो’ गीत त्यतिकै चर्चित रहे । गीतकार श्रवण मुकारुङको ‘बाटो हेरे हुन्छ आमा’ गीत शम्भु राईले स्वरबाट सजाएका छन् ।
चलचित्रमा परदेश
परदेशी कथा व्यथा समेटेर नेपाली चलचित्रहरू पनि निर्माण भएका छन् । लाहुरे, देश परदेश, गोर्खा पल्टन, परदेशीजस्ता सिधै परदेश बोधक चलचित्रहरू निर्माण भएका छन् । चलचित्रका नाम मात्र होइन, गीतमा पनि परदेशी भाव उनिएका छन् । चलचित्र शान्तिदीपमा नातिकाजीको सङ्गीतमा बज्ने प्रकाश श्रेष्ठ र शम्भु राईको ‘आज लाहुरे घर फर्क्यो ’ भन्ने गीत छ । ‘फूलको थुङ्गा बगेर गयो गङ्गाको पानीमा’ ।
त्यस्तै गीत रत्नशमशेर थापाको सिर्जना, संगीत बल्लभको संगीत र सोनु निगमको उकाली ओराली गर्दै चलेको हो । अच्छा लेकिन लण्डनको चिसोले समाउला बोलको गीतमा शम्भुजित बाँस्कोटा र देविका प्रधानले गाएका छन् । परदेशी मायाले भन्ने बोलको गीत राजेशपायल र दीपा झाले ठुल्दाइमा स्वर दिएका छन् । चलचित्र परदेशीमा आरपी पन्तको शब्दलाई उमेश पाण्डे र ज्ञानु राणाको स्वर छ । नारायण रायमाझीको सङ्गीतमा ‘बिछोडको करौँतीले…’ र गोर्खा पल्टनको गीत ‘जाउँला रेलैमा सर्रर्र गोर्खा पल्टन गीतलाई दर्शक श्रोताले औधी रुचाएका छन् ।
प्रगतिशील गीतमा परदेश
देशको भूगोल र प्राकृतिक बनोटको गुणगान, बैँसालु माया पिरती र राजारानी, पञ्चायती व्यवस्थाको स्तुतिमा सीमित नेपाली सांगीतिक परम्परा मिचेर जनताको सुखदुःख, देशभक्ति र श्रमको महिमा आफ्नो सृजनामा समेट्दै तीसको दशकतिर संकल्प र बेदना नामक सांगीतिक समूह उदय भएका थिए ।
तिनले सिर्जना गरेका अधिकांश गीतहरू परदेश, प्रवास, गोर्खा भर्ती, लाहुरे र परदेशीका आफन्तहरूको अनुभूति समेटिएका छन् । स्वर्गीय गोकुल जोशीको शब्द र रामेशको संगीत भएको नमार गरिबलाई, नजाऊ अंग्रेजी पल्टनमा, जेबी टुहुरेको जान्न म त गोर्खा भर्ती मलाया छाउनीमा, शम्भु राईको संगीत र भक्त राईको शब्दमा देउरालीले बिर्सेको छैन, परदेशी दाजु तिमीलाई शीर्षकका गीत प्रचलित भए ।
प्रतिक्रिया