काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई संविधानभन्दा माथि नठान्न चेतावनी दिएका छन्। उनले प्रधानमन्त्री संसद्प्रति पूर्ण रूपमा उत्तरदायी हुनुपर्ने भन्दै प्रतिनिधिसभामै उपस्थित भएर जवाफ दिनुपर्ने माग गरे।
मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै दुलालले प्रधानमन्त्री संसदबाटै जन्मिएको भएकाले सदनप्रति सम्मान देखाउनुपर्ने बताए। उनले प्रधानमन्त्रीलाई कम्तीमा एक मिनेट भए पनि रोष्ट्रममा उभिएर सम्बोधन गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गरे।
‘प्रधानमन्त्री संविधानभन्दा माथि छन् भन्ने मान्यता स्वीकार्य हुन सक्दैन। यदि त्यस्तो हो भने सदनलाई सरकारले जानकारी दिनुपर्छ,’ उनले भने, ‘प्रधानमन्त्रीले यही संसदबाट जन्मिएको हो। त्यसैले उनले एक मिनेट भए पनि रोष्ट्रममा उभिएर सदनलाई सम्बोधन गर्नुपर्छ।’
दुलालले प्रधानमन्त्री केवल सत्तापक्षको मात्र नभई विपक्षीको पनि प्रधानमन्त्री भएको उल्लेख गर्दै संसद्मा प्रश्नोत्तरका लागि नियमित उपस्थिति अनिवार्य हुनुपर्ने तर्क गरे। उनले संविधान र प्रतिनिधिसभा नियमावलीअनुसार प्रधानमन्त्रीको उत्तरदायित्वबाट कुनै छुट दिन नहुने बताए।
उनले सत्तापक्षले बहुमतको आधारमा विधेयक पारित गर्ने प्रवृत्तिप्रति पनि आपत्ति जनाए। बहुमतका आधारमा मात्रै प्रक्रिया अघि बढाउने हो भने संसदीय बहस र छलफलको औचित्यमाथि प्रश्न उठ्ने उनको भनाइ थियो।
‘विपक्षीको अवरोधबीच विधेयक पारित गरिएको उदाहरण छ। यदि सबै कुरा बहुमतले मात्रै हुने हो भने हामीले यो संसदमा किन बस्ने ?’ उनले प्रश्न गरे। उनले यस्तो अभ्यासले संसदीय प्रक्रिया कमजोर बनाउने चेतावनी दिए।

दुलालले संसद्मा आधा जनसंख्याको प्रतिनिधित्व विपक्षी बेञ्चले गर्ने भएकाले त्यसको आवाजलाई समान महत्व दिनुपर्नेमा जोड दिए। उनका अनुसार लोकतन्त्रमा बहुमत भए पनि जनमतको सम्पूर्ण प्रतिनिधित्व एक पक्षले मात्रै गर्दैन।
‘संसदीय व्यवस्थामा बहुमत वास्तविक जनमतको पूर्ण प्रतिनिधित्व होइन। आधा नागरिकको प्रतिनिधित्व प्रतिपक्षी बेञ्चले पनि गर्छ भन्ने हेक्का राख्नुपर्छ,’ उनले भने।
उनले सरकारलाई संविधान र नियमावलीको पालना गर्न चुनौती दिँदै प्रधानमन्त्रीलाई संसद्मा उपस्थित गराउने विषयलाई सामान्य प्रक्रियाको रूपमा लिनुपर्ने बताए।














प्रतिक्रिया