सिजनल फ्लु अथवा मौसमी रुघाखोकी भनेको इन्फ्लुएन्जा भाइरसबाट लाग्ने संक्रामक रोग हो। इन्फ्लुन्जा भाइरस ए, बी, सी र डी गरेर चार प्रकारको हुन्छ। इन्फ्लुन्जा भाइरसका चार प्रकार मध्य ए र बी भाइरसले मानिसलाई बढी दुःख दिने गरेको पाइन्छ। सिजनल फ्लुका कारण ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्ने, थकाइ लाग्ने, घाँटी खसखसाउने समस्या लिएर अस्पताल जोनेको संख्या दैनिक रुपमा बढिरहेको छ। कोरोना भाइरस संक्रमणका प्रारम्भिक लक्षण तथा सामान्य रुघाखोकी वा मौसमी फ्लु भएर पनि अहिले उस्तैउस्तै लक्षण देखा पर्ने भएर धेरै जना अलमलिएका छन्। खासमा आफूलाई के भएको हो ? यसै विषयमा आधारित भएर जनरल फिजिसियन डा. रक्षा गौतमसँग खबरहबका लागि विना न्यौपानेले गरेको कुराकानीको सम्पादित अंशः
चिसो बढेसँगै सामान्य रुघाखोकी, मौसमी फ्लु, कोरोनाको संक्रमणसमेत भइराखेको छ, यसलाई कसरी बुझ्ने ?
धेरै मान्छे आफूलाई सामान्य रुघाखोकी, मौसमी फ्लु वा कोरोना के भएको भनेर अलमलमा हुनुहुन्छ। किनभने सबैको लक्षणहरू मिल्न जान्छन्। यो तीन वटा समस्या चिसोले गर्दा हुने होइन। चिसो र सुख्खा मौसममा भाइरस बढी बाँच्न सक्ने भएर यो रोग द्रुत गतिमा फैलिन्छ। यो राइनो भाइरसले गर्दा हुने हो। नेपालमा २०१६ मा मौसमी फ्लुको अध्ययन भएको थियो। त्यो अध्ययनमा पुस-माघ महिनामा र असार-साउनमा गरेर वर्षमा दुई पटक यो समस्या हुन्छ। यी महिनामा सुख्खा र चिसो बढी हुने हुन्छ। पुस-माघमा जाडो हुने र असार-साउनमा पानी परेकाले चिसो हुने हुँदा भाइरसको संक्रमण तीव्र गतिमा फैलिने हुन्छ। यसलाई मौसमी फ्लु भनिएको हो। त्यसैले मौसमी फ्लु भन्दैमा मौसम परिवर्तनसँग सम्बन्धित छैन भनेर बुझ्नुपर्छ। यो इन्फ्लुन्जाले गर्दा हुन्छ। कमन कोल्ड भनेको वर्षमा जुनै समयमा पनि हुनसक्छ। कोभिड भनेको त भाइरसले नै हुने हो। लक्षणको आधारले यो के हो भनेर बिरामीले थाहा पाउने भनेको ज्वरोले नै हो। ज्वरो छैन भने प्राय फ्लु वा कोभिड नभएको सम्भावना हुन्छ। तर पनि ओपीडीमा जाँच गर्नु राम्रो हुन्छ।
कस्तो लक्षण देखा पर्दा घरमा बस्ने र कस्तो लक्षण देखिए अस्पताल जाने ?
सबैभन्दा पहिला कोभिडको भ्याक्सिन लगाउने, भ्याक्सिन लगाएपछि संक्रमण हुँदैन भनेर ढुक्क नहुने। कोभिड र फ्लुले गाह्रो बनाउने भनेको निमोनियाले हो। कसैले पनि यो सामान्य हो, म सहन सक्छु भनेर बस्नु हुँदैन। तपाईंले सामान्य ठानेको समस्या जटिल बन्नसक्छ। सास फेर्न समस्या भएपछि धेरै नै गाह्रो भइसकेको हुन्छ। फ्लु जस्तै लक्षण भएको छ, चारदेखि पाँच दिनसम्म ज्वरो कम भएको छैन स्वाद छैन, दीर्घरोगी हुनुहुन्छ र भ्याक्सिन पनि लगाएको छैन भने त अक्सिजनको मात्रा हेरेर ९४ भन्दा तल झरेको छ भने तुरुन्त परामर्श लिनु पर्ने हुन्छ।
समयमा अस्पताल गएन भने पछि कस्तो जोखिम हुन्छ ?
पहिला ज्वरो आएर निको हुन्छ र पछि फेरि ज्वरो आयो भनेर हाम्रोमा धेरै बिरामी आउनु हुन्छ। हामीले अक्सिजनको मात्रा हेर्दा घटेर ४० पुगिसकेको हुन्छ। यो अवस्थामा पनि बिरामी हिँडेर नै आउनु हुन्छ। त्यसैले बिरामी सिरियस भएर निमोनिया भइसकेको हुन्छ। तर बिरामीले थाहा पाएको हुँदैन। त्यस्तो अवस्थामा आएको बिरामीलाई हामीले अक्सिजन दिएर हुन्छ कि, भेन्टिलेटरमा राखेर हुन्छ कि उपचारको प्रयास गर्छौ। अस्पताल गएपछि निको हुन्छ भन्ने सबैको धारणा हुन्छ। तर जटिल निमोनिया भएपछि हाम्रो हातमा केही पनि छैन बिरामीको मृत्यु पनि हुनसक्छ। त्यसैले समयमा नै अस्पताल आएर परामर्श लिनु होला भन्न चाहन्छु।
यस्तो समस्या नदेखियोस् भनेर हामीले पहिला नै के के कुरामा ध्यान दिने त ?
कुनै पनि भाइरसबाट सर्ने रोगबाट बच्न हात धोइरहने, सफा रहने गर्नुपर्छ। कमन कोल्डको भ्याक्सिन हुँदैन, मौसमी रुघा खोकीको फ्लुको चाहिँ भ्याक्सिन हुन्छ। हामीले भदौ र असोजमा बिरामीलाई वर्षमा एक पटक लगाउनुहोस् भन्छौँ। यो लगाएर कुनै समस्या आउँदैन भन्ने त हुँदैन। तर ज्यानै गुमाउनु पर्ने अवस्था हुँदैन। कोभिडको पनि भ्याक्सिन नलाउने, हात धोइराख्ने, सामाजिक दूरी कायम गर्ने, रोगको विषयमा आत्तिने र मात्तिने गर्नु हुँदैन।
इन्फ्लुन्जाको भ्याक्सिन नेपालको सबै ठाउँमा छ ?
इन्फ्लुन्जा भ्याक्सिन यो नेपालको सबै ठाउँमा छ। यो लगाएर यान्टिबडी बन्न समय लाग्छ र यो भदौ-असोजमा लगाइन्छ। यो धेरै महंगो छैन, सबैले लगाउन सकिन्छ। ६ महिना भन्दा माथिका बालबालिका र गर्भवती महिलामा पनि यो सुरक्षित छ। यसको मूल्य १५ सय पर्छ।
भाइरसजन्य रोगबाट बच्ने कसरी ?
यस्ता रोग भाइरसको कारणले हुने हुँदा कुन रोग हो भनेर चिन्न गाह्रो हुन्छ। मौसमी रुघाखोकी मौसम परिवर्तन र चिसोले हुने भन्ने कुरा एकदम मिथ हो। कमन कोल्ड र कोभिडमा यान्टिबायोटिकको प्रयोग गरेर काम छैन। जाँच नगरी कुनै यान्टिबायोटिक प्रयोग गर्नु हुँदैन। बच्ने तरिका सजिलो छ। भ्याक्सिन लगाउने, सामाजिक दुरी कायम गर्ने गर्नुपर्छ।
-प्रस्तुति : पुष्पाञ्जली बस्नेत
प्रतिक्रिया