मैले दन्त चिकित्सा विदेशमा पढेकी हुँ। विदेशमा पढ्न जाँदा नेपालमा बीडीएस थिएन। भर्खरै सुरु हुँदै थियो। त्यसैले मैले इन्डियामा गएर बीडीएसको कोर्स लिएँ। मास्टर्स पनि नेपालमा थिएन। सरकारको छात्रवृत्तिमा पहिलो पटक मैले विदेश गएर पढ्ने मौका पाएँ। अहिले आफ्नै देशमा बीडीएसको ११ वटा कलेज र एमडीएसका आठ वटा जति कलेज भइसकेका छन्। अहिले दन्त चिकित्सामा एकदमै सुधार भएको देखिन्छ।
पहिलाभन्दा अहिले दन्त चिकित्सक जनसंख्याको अनुपात पनि धेरै राम्रो छ। जस्तो डब्लूएचओले हामीलाई १.७५०० भनेको छ। नेपालमा पर्याप्त छ। तर यो केन्द्रीकृत देखिन्छ। काठमाडौंमा हेर्ने हो भने यो अन्य तुलना भन्दा पनि बढी छ। काठमाडौँ बाहिर जाने हो भने त्यो पुग्दैन। त्यो चाहिँ केन्द्रीकृत भएर बसेको छ। अहिले हरेक घरको छेउमा नै एउटा दन्त क्लिनिक हुन्छ। त्यो एउटा बाध्यता पनि हो। दन्त चिकित्सा पढेर ११ वटा कलेजबाट आएको जनशक्तिले के गर्ने भन्ने प्रश्न पनि आउँछ। वर्षमा चारदेखि पाँच सय दन्त चिकित्सक निस्किन्छन्। उहाँहरू काहा जाने भन्दा आफ्नै घर नजिकै क्लिनिक खोल्नुहुन्छ। डेनटिस धेरै हुँदा बजारमा सस्तोका लागि प्रतिस्पर्धा भएको पनि देखिन्छ। यसले गुणस्तरमा सम्झौता भएको देखिन्छ। यो राम्रो होइन।
हामीले दन्त चिकित्सक मान्छे त भइहाल्यो तर हामी दन्त चिकित्सकका लागि आवश्यक सामान हुन्छ। सामान जति महंगो हुन्छ क्वालिटी पनि त्यति नै राम्रो हुन्छ। सस्तो सामानले पनि उपचार गर्न सकिन्छ। तर गुणस्तरमा सम्झौता गर्नु हुँदैन। अहिले प्रतिस्पर्धा हुँदा नेपालको दन्त चिकित्साको गुणस्तरमा सम्झौता भएको म पाउँछु।
संघीय सरकार भएपछि राम्रो हुने क्षेत्र मैले धेरै देखेको छु। अब हरेक प्रदेशमा स्थानीय स्तरमा उपचार हुनेगरी सरकारले दन्त चिकित्सकको पनि दरबन्दी बढाएको छ। दर त्यो दरबन्दी पर्याप्त छैन। अब केन्द्र सरकारले भन्दा स्थानीय तहदेखि नै यसको व्यवस्थापन र माग गर्नुपर्छ जस्तो लाग्छ। अहिले म वीर अस्पतालमा कार्यरत छु। यो अस्पतालमा दन्त चिकित्सा अन्य मेडिकल क्षेत्रमा अलिकति सानो भएको हो कि जस्तो लाग्छ। किनकी दन्त चिकित्सामा पनि धेरै विधा हुन्छ।
धेरैले दाँत नै त हेर्ने हो भन्नुहुन्छ। तर त्यो होइन। दन्त चिकित्सामा आफ्नै ९ वटा विधा छन्। वीर अस्पताल भनेको सरकारी अस्पताल हो। यहाँ दन्त चिकित्साको एउटा मात्र विभाग छ। जब कि त्यहाँ मास्टर गरेकैहरु हरेक युनिटमा विभाजित भएर काम गरिरहेका छौँ। त्यहाँ विभाग खोल्न नसक्ने अवस्था छ। तर, बिरामी चाहिँ त्यो आधारमा भएनन्। बिरामीको दरलाई हेर्ने हो भने डेनटलमा पनि धेरै चाप छ। हामीले सबैलाई सेवा दिन सकेका छैनौं। हाम्रो पनि कोहीआउनु भयो भने एक महिनाभित्र उहाँलाई उपचार गर्न पाए हुन्थ्यो भन्ने हुन्छ। तर, त्यो सम्भव भइराखेको हुँदैन। उहाँहरुलाई समय दिनै गाह्रो हुन्छ।
रुट कनालको विशेषज्ञ भएको आधारमा मेरो विभागमा रुट कनाल गर्न आउने बिरामीलाई ६ महिना पछिको समय लिनुपर्ने अवस्था छ। त्यो हामीले सुधार गर्न खोजेका छौँ। त्यसको सुधारका लागि म एक्लै भएर हुँदैन। जनशक्तिसँगै सहयोगी र दन्त सहायक चाहिन्छ।
दन्त सहायकको दरबन्दी पनि सरकारी स्तरबाट नै बढाउनु पर्दछ। नेपालमा यत्रो अस्पताल छन् । तर डेनटलको आफ्नै अस्पताल भनेर छैन। अस्पताल बनाउने भनेर कुरा भयो तर बनाउन सकिएन। हाम्रो यो राजनीतिसँग पनि जोडिएको छ। एउटा सरकारको नीति अनुसार कार्यक्रम डिजाइन गरेको हुन्छ। तर त्यो कार्यान्वयन नहुँदै सरकार फेरिएपछि त्यो कार्यक्रम हुँदैन। नयाँ सरकार आएपछि पुरानो लगानी, योजना सबै कार्यान्वयन नहुने मात्र होइन त्यसको नाममा खर्च मात्र हुन्छ। यसरी धेरै प्रणाली बिग्रेको जस्तो लाग्छ। राजनीतिक हस्तक्षेप अस्पतालमा हुनु हुँदैन भन्ने लाग्छ।
डेनटलमा मान्छेहरूको जागरूकता पनि कम छ। दाँत किराले खायो भने निकाल्नै पर्दछ। ३२ वटा छ एउटा निकालेर म मरिहाल्दिन भनेर बस्नु हुन्छ। जान्ने भनेको बिहान बेलुका ब्रस गर्ने मात्र हो। ब्रस गर्ने पनि तरिका हुन्छ भन्ने जानकारी छैन। जनचेतना एकदम छैन। दाँतको स्वास्थ्यबारे राम्रो जानकारी भयो भने समस्या रोक्न सकिन्छ।
जनचेतना राम्रो भएमा एकदमै सस्तो लेबलबाट दाँतको उपचार गर्न सकिन्छ। दाँतको स्वास्थ्यका विषयमा बालबालिकादेखि नै जानकारी हुनुपर्छ। पाठ्यपुस्तकमासमेत यसलाई समेट्नुपर्छ। त्यसरी जाने हो भने दाँतका बिरामी कम हुन्छन्। अगाडि नै सचेत भएमा उपचार गर्न पनि सजिलो हुन जान्छ।
धेरै कुराहरूमा बीमा भए जस्तै डेनटलमा पनि बीमा छ। तर निकाल्ने कुरामा मात्र यो लागू हुन्छ। अरू उपचार र भर्नु परेमा बीमाको काम हुँदैन। त्यसैले दाँत निकाल्दा निःशुल्क हुने र भर्नुपर्दा हजारौं खर्च हुन्छ भन्ने बुझाइ आम सर्वसाधारणमा रहेको छ। दाँत भर्ने सवालमा पनि बीमा कार्यान्वयन हुनुपर्छ। बीमाको व्यवस्था भए सामान्य किराले खाँदा पनि मान्छे जानकार भए अब भर्नुपर्छ भन्न थाल्छन्। जनचेतना राम्रो भएमा उपचारमा पनि सहज हुन्छ।
सरकारले चिकित्सा शिक्षामा राम्रो गरेको छ। एउटा सामान्य परीक्षा हुन्छ। त्यसमा आफ्नो प्रतिशत अनुसार जो जो सक्षम छन् उनीहरूले पढ्न पाउँछन्। दिएको छात्रवृत्ति पनि राम्रो छ। डेनटलमा हाम्रोमा मास्टर्स गर्न आउनेको संख्या राम्रो छ। तर यो सिट बढाउन पनि सकिन्छ। किनभने बीडीएस वर्षमा चारदेखि पाँच सय छ भने एमडीएस वर्षमा ५० जना जस्तो पास आउट भएको देखिन्छ।
(खबरहबले आयोजना गरेको ‘चिकित्सा शिक्षाको चुनौती र नेपालको स्वास्थ्य प्रणाली’ विषयक कार्यक्रममा डा ऋतु श्रेष्ठ ले राखेको धारणाको सम्पादित अंशः)
प्रस्तुति : पुष्पाञ्जली बस्नेत।
प्रतिक्रिया