दिनभर आज : यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचार | Khabarhub Khabarhub

दिनभर आज : यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचार


२० चैत्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : 7 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

आज दिनभर उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता, सरकारका सय दिनको उपलब्धि सार्वजनिक, मिटरब्याज पीडितको समस्या समाधान गर्न छानबिन आयोग गठन, रविमाथि मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णयविरूद्ध सर्वोच्चमा रिट दर्ता, राष्ट्र बैंकले २८ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्दै,थप ७६ जनामा कोरोना संक्रमण पुष्टिलगायत समाचारले प्रमुख स्थान पाए ।

यी हुन् आज दिनभरका मुख्य समाचारहरू :

उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता

आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि निर्धारण भएको निर्वाचन कार्यक्रमअनुसार आज उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम तीन वटै निर्वाचन क्षेत्रमा शान्तिपूर्णरूपमा सम्पन्न भएको छ ।

चितवन जिल्ला निर्वाचन क्षेत्र नं २, तनहुँ जिल्ला निर्वाचन क्षेत्र नंं १ र बारा जिल्ला निर्वाचन क्षेत्र नं २ मा हुने उपनिर्वाचनका लागि सम्बन्धित निर्वाचन क्षेत्रमा यही चैत १८ गते स्थापना भएका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गरिएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालकाअनुसार चितवन जिल्ला निर्वाचन क्षेत्र नं २ मा २४ जना, तनहुँ जिल्ला निर्वाचन क्षेत्र नं १ मा नौ जना र बारा जिल्ला निर्वाचन क्षेत्र नं २ मा ३६ जना उम्मेदवारले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । मनोनयन दर्ता गराउनेमा ३३ जना दलको तर्फबाट र ३६ जना स्वतन्त्र गरी जम्मा ६९ जना उम्मेदवार रहेका छन् ।

सरकारका सय दिनको उपलब्धि सार्वजनिक

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले १०० दिनको उपलब्धि सार्वजनिक गरेको छ । ३७ बुँदामा समेटिएको उक्त ‘उपलब्धि’ मा अर्थतन्त्रदेखि शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउनेसम्मका विषय समेटिएका छन् ।

खेलाडीलाई प्रोत्साहन र पुरस्कृत गरिने कार्यलाई सरकारले उपलब्धिका रूपमा लिएको छ ।

शान्ति प्रक्रियाका बाँकी काम र सङ्क्रमणकालीन न्यायलाई चाँडै टुङ्ग्याउने विषयलाई सरकारले उच्च प्राथमिकतामा राखी काम गरेको जनाएको छ । त्यसैगरी अर्थतन्त्र सुधारका लागि प्रयत्न भएको सरकारले जनाएको छ ।

मिटरब्याज पीडितको समस्या समाधान गर्न छानबिन आयोग गठन

सरकारले मिटरब्याज पीडितको समस्या समाधान गर्न छानबिन आयोग गठन गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले मिटरब्याज पीडितको समस्याबारे छानबिन गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा आयोग गठन गर्ने निर्णय भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

शनिबार गृह मन्त्रालयमा सरकार र आन्दोलनरत मिटरब्याज पीडित सङ्घर्ष समितिबीच भएको पाँचबुँदे सहमतिमा मिटरब्याज पीडितको समस्या समाधानका लागि सरकारले आयोग गठन गर्ने सहमति भएको थियो । सरकारका प्रवक्ता शर्माले भनिन्, “आजको मन्त्रिपरिषद्को मुख्य निर्णय देशमा देखिएको मिटरब्याज पीडितको समस्या समाधान गर्नेतर्फ केन्द्रित छ, त्यो विषयमा छानबिन गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा आयोग गठन गर्ने निर्णय गरेको छ ।”

तीन सदस्यीय छानबिन आयोगको सदस्यमा उत्तमराज सुवेदी र गणेशबाबु अर्याल छन् । आयोगलाई तीन महिनाभित्र प्रतिवेदन पेश गर्ने समयावधि तोकिएको छ । प्रवक्ता शर्माले भनिन्, “आयोगको क्षेत्राधिकारलाई ठोस र मूर्तरूपमा मिटरब्याज पीडितको समस्या पहिचान गर्न र वास्तविक पीडितको आधिकारिक आँकडा तत्कालै ल्याउने गरी आयोगलाई अधिकार दिइएको छ ।”

उनले मिटरब्याज पीडितको समस्या समाधान गर्न आयोगको कार्यालय जनकपुरमै राखिने र अब मिटरब्याज पीडित काठमाडौँसम्म धाइरहनु नपर्ने प्रष्ट पारिन् । शनिबार उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा मिटरब्याजीले निरक्षर, गरिब तथा आर्थिकरूपले अप्ठ्यारो परिस्थितिमा रहेका व्यक्तिसँग उच्च ब्याजदरमा ऋण असुल्ने, वास्तविक लेनदेनभन्दा बढीको तमसुक कागजात बनाउने, ऋणीको जायजेथा आफ्नो कब्जामा लिने तथा ऋणको दुश्चक्रमा फसाई विभिन्न ढङ्गले शोषण गरेको भन्ने समस्या समाधानका लागि जाँचबुझ आयोग गठन गर्न नेपाल सरकारसमक्ष सिफारिस गर्ने दुवै पक्षबीच सहमति भएको थियो ।

साथै मिटरब्याज पीडितका नियमितरूपमा आउने उजुरी वा गुनासो सम्बोधनका लागि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समिति गठन गर्ने भनिएको थियो । त्यसैगरी मिटरब्याज अपराध नियन्त्रण सिफारिस कार्यदलको गत भदौ २७ को प्रतिवेदनमा उल्लेख भएका सिफारिसको शीघ्र एवं प्रभावकारी कार्यान्वयनका लागि सम्बद्ध निकायसँग आवश्यक समन्वय र सहजीकरण गर्ने सहमति भएको थियो ।

मिटरब्याज पीडित सङ्घर्ष समितिको नेतृत्वमा मिटर ब्याज पीडितले सहुलियत दरमा ऋणको व्यवस्था गर्नुपर्ने, मिटरब्याजीलाई कारबाही गर्नुपर्ने, मिटरब्याज विरुद्ध कानून निर्माण गर्नुपर्ने, तमसुक व्यवस्था खारेज गर्नुपर्ने, झुट्टा मुद्दामा गिरफ्तार गरिएका पीडितलाई रिहा गर्नुपर्नेलगायत माग राख्दै आन्दोलन गर्दै आएका थिए ।

कसैलाई धन, मन, पद, कद दिएर, लोभ्याएर देशको सामाजिक संरचना च्यात्ने प्रयास भयो : पूर्वराजा शाह

पूर्वराजा ज्ञानेन्द्र शाहले धन, पद, कद दिएर र लोभ्याएर देशको सामाजिक संरचना च्यात्ने प्रयास भइरहेको बताएका छन् ।

सुनसरीको इनरुवामा सोमबार आयोजित अभिनन्दन समारोहलाई सम्बोधन गर्दै उनले स्थिरता र स्थायित्व सही राज्यपद्धति, शान्ति एवं अनुशासनबिना हुन नसक्ने बताए ।

तर, कसैलाई धन, कसैलाई मन, कसैलाई पद र कसैलाई कद दिएर, लोभ्याएर देशको सामाजिक संरचना च्यात्ने प्रयास भइरहेको उनको भनाइ छ ।

परिवर्तन देखाउन अहिलेको कोरा र सतही फेरबदल आलटाल र टालटुलको प्रणालीले कुनै खदिलो परिणाम दिन नसक्ने बताउँदै पूर्वराजा शाहले व्यक्ति, परिवार, समूह, दल वा गुट उपगुटमा नअल्झी हामी र हाम्रो भन्ने राष्ट्रिय अवधारणालाई प्रवाह गर्न सक्नुपर्ने बताए ।

पत्रकार महिलालाई सूचना प्रविधिमैत्री बनाउनुपर्छ : मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले पत्रकार महिलालाई सूचना प्रविधिमैत्री बनाउनुपर्ने बताएकी छिन् ।

सञ्चारिका समूहको २६ औँ नीति तथा कार्यक्रम र बजेटमा नै सहभागी गराएर पत्रकार महिलालाई सूचना प्रविधिमैत्री बनाउनुपर्ने बताइन् । मन्त्री शर्माले भनिन्, ‘सरकार पत्रकार महिलाका विषयमा गम्भीर छ, के गरेर सहयोग गर्न सकिन्छ, सल्लाह गरेर अघि बढौँ ।’

उनले आमसञ्चार विधेयक सञ्चार मन्त्रालयले अधि बढाएर पत्रकारलाई तालिम दिनेखालको एकेडेमी निर्माण गर्ने र त्यसले महिलाको व्यावसायिकतामा सहयोग पुग्ने विश्वास व्यक्त गरीन् । कानूनमा बाध्यकारी व्यवस्था नभएसम्म महिलाले अवसर पाउने अवस्था नभएको उल्लेख गर्दै मन्त्री शर्माले महिलाको विकास भनेको समग्र मानवको विकास हुने बताइन् ।

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकारितामा महिलालाई टिकाइरहनका लागि चुनौतीपूर्ण भएको उल्लेख गर्दै पत्रकार महिलालाई सक्षम बनाउनुपर्ने बताए । उनले पत्रकारिताका महिलालाई टिकाइरहनका लागि नेतृत्व तहबाटै पहल गर्न जरुरी रहेको आवश्यकता औँल्याए ।

नेपाल पत्रकार महासङ्घका उपाध्यक्ष रमेश विष्टले महासङ्घ समावेशी संस्था भएको उल्लेख गदै महासङ्घमा १७ प्रतिशत महिला भएको बताए । उनले महिलालाई प्राथमिकतामा राखेर समान अवसर दिएको बताउँदै आगामी दिनमा पनि महिला पत्रकारलाई हरेक अवसर प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।

क्रियाशील पत्रकार महिला ९डब्लु डब्लु जे०का अध्यक्ष संगीता लामाले महिला पत्रकारको हकहित र व्यावसायिक सुरक्षाका लागि काम गरिरहेकोप्रति खुसी व्यक्त गरिन् ।

सञ्चारिका समूहका संस्थापक अध्यक्ष वन्दना राणाले धेरै दुःखले स्थापना गरेको संस्था यहाँसम्म आइपुग्दा धेरै काम भइरहेको र पत्रकार महिलाको अझ व्यावसायिकता विकास गर्नुपर्नेमा जोड दिइन् ।

सञ्चारिका समूहकि पूर्वअध्यक्ष बबिता बस्नेतले पत्रकार महिला ८८ प्रतिशत अनलाइन हिंसामा परेको अध्ययनले देखाएको बताउँदै पत्रकार महिलाको व्यावसायिक र पेसागत सुरक्षा गर्नुपर्नेमा जोड दिइन् ।

सञ्चारिका समूहकि पूर्वअध्यक्ष निर्मला शर्माले निर्णायक तहमा पत्रकार महिलालाई पुर्याउने, पत्रकारितामा महिलाको उपस्थित वृद्धि गर्ने र पेसागत सुरक्षामा ध्यान दिनुपर्ने बताइन् ।

सञ्चारिका समूहकि पूर्वअध्यक्ष नितु पण्डितले पत्रकार महिलालाई जुनसुकै अवस्थामा पनि पेसागत र व्यावसायिक सुरक्षा हुनुपर्नेमा जोड दिइन् । समारोहमा सञ्चारिका अग्रणी सम्मानद्वारा रिना गुरूङ र सूर्यकुमारी पन्त, समानता पुरस्कार सिर्जना खड्का ९ २० हजार रुपैयाँ०, उमासिंह पत्रकारिता पुरस्कार रिना थापा ९ १० हजार रुपैयाँ० र प्रोत्साहन पुरस्कार निशा श्रेष्ठ र ज्ञानु घिमिरेलाई ९१०र१० हजार रुपैयाँ० सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रदान गरिन् ।

पुरस्कृत व्यक्तित्व सिर्जना खड्काले पुरस्कारले आगामी दिनमा कलम चलाउनका लागि थप प्रोत्साहन गरेको महसुस भएको सुनाइन् ।

कांग्रेस चोकमा राखेको मादलजस्तो, जसले पायो त्यसले बजाउँदै हिँड्ने होइन : महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले तनहुँ १ मा सत्ता गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका गोविन्द भट्टराईको पक्षमा मतदान गर्न आग्रह गरेका छन् ।

उपनिर्वाचनमा मनोनय दर्ताअघि आयोजित सभालाई सम्बोधन गर्दै महामन्त्री थापाले घुम्दैघुम्दै आउने टुरिस्ट उम्मेदवारलाई नभइ तनहुँका मतदाताले तनहुँको माटोले चिनेको र तनहुँलाई चिनेको उम्मेदवारलाई विजयी गराउनुपर्ने धारणा राखे ।

सभामा उनले कांग्रेस चोकमा राखेको मादलजस्तो जसले पायो त्यसले बजाउँदै हिँड्ने नभई गठबन्धन दलहरूलाई साथसाथै लैजान सक्ने पार्टी भएको बताए ।

तनहुँ १ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति बनेसँगै आगामी १० वैशाखमा उपनिर्वाचन हुन लागेको हो । तनहुँ १ सहित चितवन २ र बारा २ मा पनि उपनिर्वाचन हुँदैछ ।

रविमाथि मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णयविरूद्ध सर्वोच्चमा रिट दर्ता, पेसी भोलि

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेमाथि राहदानी दुरुपयोगमा मुद्दा चलाउनुपर्ने मागसहितको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ ।

लामिछानेमाथि मुद्दा चलाउनु नपर्ने महान्यायाधिवक्ताको निर्णयविरुद्ध रिट दायर भएको हो । रिटमा राहदानी दुरुपयोगमा लामिछानेविरुद्ध मुद्दा चलाइनुपर्ने माग गरिएको छ ।

आइतबार युवराज पौडेल सफलले महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए । रिट निवेदनको अध्ययनपछि सोमबार सर्वोच्च प्रशासनले दर्ता गरेको हो । उक्त रिटमाथिको सुनुवाइका लागि मंगलबारका लागि पेसी तोकिएको छ ।

चितवन-२ मा रविको उम्मेदवारी दर्ता

राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेले चितवन(२ मा उम्मेदवारी दर्ता गरेका छन् ।

आगामी १० वैशाखमा हुन लागेको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि सोमबार लामिछानेले मनोनयन दर्ता गरेका हुन् ।

१० वैशाखमा चितवन(२, बारा(२ र तनहुँ(१ मा उपनिर्वाचन हुँदै छ । जसको सोमबार मनोनयनका लागि समय तोकिएको छ ।

राष्ट्र बैंकले २८ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्दै

नेपाल राष्ट्र बैंकले २८ अर्ब ५ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ। ट्रेजरी बिल २८ दिन, ९१ दिन, १८२ दिन र ३६४ दिनको लागि जारी गर्न लागेको हो। उक्त ट्रेजरी मंगलबार जारी हुनेछ भने आज दिउँसो ३ बजे यस ट्रेजरी बिलका लागि बोलकबोल हुनेछ।

केन्द्रीय बैंकका अनुसार २८ दिनको लागि ४ अर्बको ट्रेजरी बिल जारी गर्ने र उक्त ट्रेजरी २०८० वैशाख १९ गते परिपक्व हुने छ। ९१ दिनको लागि पनि ७ अर्ब ७५ करोड रुपैयाँको ट्रेजरी जारी गर्न लागेको हो। यो ट्रेजरी २०८० असार १९ गते परिपक्व हुनेछ।

उक्त ट्रेजरी बिल १८२ दिनका लागि ५३ करोड रुपैयाँका ट्रेजरी बिल जारी गर्ने र २०८० असोज १६ गते परिपक्व हुनेछ। यसैगरी ३६४ दिन अर्थात् एक वर्षको लागि ११ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्ने र यो ट्रेजरी २०८० चैत २० गते परिपक्व हुने बैंकले जानाएको छ।

व्यक्तिको हकमा ट्रेजरी बिलको प्रमाणपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पनि पाइनेछ। सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्नेछन्। बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँट हुने गर्दछ।

विश्वका नेपाली प्रतिभा काठमाडौँमा, गायन र नृत्यका अडिसन सुरु

‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’मा प्रतिस्पर्धा गर्न संसारभरबाट छानिएका नेपाली कलाकार काठमाडौँ आइपुगेका छन्।

इन्ट्रा–नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाको आयोजनामा काठमाडौँमा सुरु ‘साइटलेस अडिसन’मा भाग लिन विभिन्न महादेशका ५० भन्दा बढी देशबाट पहिलो चरणमा छानिएका नेपाली प्रतिभा काठमाडौँ आइपुगेका हुन्।

फाउण्डेसनका अनुसार गायनतर्फको साइटलेस अडिसन आइतबारदेखि सुरु भएको छ। गायनतर्फ एक सय ४० र नृत्यतर्फ एक सय २० नेपाली प्रतिभा फिल्ड अडिसनबाट छनोटमा परेका थिए। यीमध्ये अधिकांश प्रतिभा काठमाडौँ आइपुगेको फाउण्डेसनले जनाएको छ।

अमेरिका र क्यानडाको फिल्ड अडिसन अमेरिका, युरोपको बेल्जियम, मध्यपूर्वको दुवइ, पूर्वी एशियाको बैंकक, अष्ट्रेलियाको सिड्नी र भारतको सिलिगुडीमा अन्तर्राष्ट्रिय फिल्ड अडिसन सम्पन्न भएका थिए भने नेपालका बुटवल, नेपालगञ्ज, दमक र काठमाडौँमा फिल्ड अडिसन भई प्रतिभा छनोट गरिएका थिए।

गायनतर्फ अमेरिका र क्यानडाबाट १५, युरोपबाट पाँच, अष्ट्रेलियाबाट सात, पूर्वी एशियाको थाइल्याण्ड, फिजी, म्यानमारलगायतबाट आठ, मध्यपूर्वका खाडी मुलुकबाट सात, भारतबाट ३३ जना तथा नेपालका नेपालगञ्जबाट सात, बुटवलबाट नौ, दमकबाट २१ र काठमाडौँबाट २८ जना प्रतिभा साइटलेस अडिसनका लागि काठमाडौँ आइपुगेका छन्।

झण्डै यतिकै सङ्ख्यामा नृत्यका प्रतिभा पनि ती देशबाट काठमाडौँ आएका छन्। उनीहरुलाई काठमाडौँका विभिन्न होटलमा राखिएको फाउण्डेसनले जनाएको छ। संसारभरका विभिन्न देश पुगेर त्यहाँका नेपाली प्रतिभालाई पहिचान गरी नेपाली गीत र नृत्यको प्रतिस्पर्धामार्फत उत्कृष्ट प्रतिभाको छनोट गर्ने मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स कार्यक्रमले नेपालीभाषी समुदायलाई आफ्नै संस्कृतिको एक सूत्रमा बाँध्ने प्रयास गरेको फाउण्डेसनका अध्यक्ष डिल्ली अधिकारीले जानकारी दिए।

नेपाली मूलका भुटानी अमेरिकन युवा व्यवसायीले नेपाली भाषा र संस्कृतिको संरक्षण एवं प्रवद्र्धन गर्ने उद्देश्यले स्थापना गरेको फाउण्डेसनले ‘मेरो भ्वाइस युनिभर्स’का लागि प्रख्यात गायक दीप श्रेष्ठलाई निर्णायक नियुक्त गरेको छ। श्रेष्ठसँगै सङ्गीतकार सुरेश अधिकारी, गायक शिव परियार, पुष्पन प्रधान र गायिका अन्जु पन्त र सुजाता बर्मा निर्णायक छन्।

त्यसैगरी नृत्यतर्फ मिथिला शर्मा, शङ्कर विसी, नायक दिलीप रायमाझी, नायिका केकी अधिकारी र प्रियङ्का कार्की, नरमान राई निर्णायकका रुपमा अनुबन्धित भएका छन्। फिल्ड अडिसनबाट छानिएर आएका प्रतिस्पर्धीबाट आइतबारदेखि सुरु भएको साइटलेस अडिसनले ५० जनाको छनोट गर्ने जानकारी अध्यक्ष अधिकारीले बताए।

गायक श्रेष्ठसहितका गायन र नृत्यका निर्णायकलाई नियुक्ति गर्ने कार्यक्रममा अध्यक्ष अधिकारीले संसारभरका नेपाली प्रतिभालाई पहिचान गरी पितृभूमि नेपालमा ल्याएर प्रतिस्पर्धाको अवसर दिन पाएकोमा गर्वको अनुभूति भएको बताए। उनले निर्णायकबाट निष्पक्षरुपमा निर्णय हुनेमा आफू विश्वस्त रहेको बताए।

नेपाली सांस्कृतिक एकता कायम गर्नसके आफ्नो पुर्खाको देशसँग विदेशमा बस्ने नेपालीलाई पुस्तौँपुस्तासम्म जोड्न सकिने र यसले आफ्नो पहिचानमा गर्व गर्न सकिने वातावरण बन्दै जाने विश्वास पनि अध्यक्ष अधिकारीले बताए। काठमाडौँमा आयोजित एक समारोहमा वरिष्ठ गायक दीप श्रेष्ठ तथा फाउण्डेसनका नेपाल अध्यक्ष दिलीप रायमाझीले निर्णायकलाई अनुबन्ध गर्ने सम्झौतामा हस्ताक्षर गरेका थिए। यस कार्यक्रमका प्रस्तोतामा अभिनेत्री रिमा विश्वकर्मा, कलाकार सन्दीप क्षेत्री, सञ्चारकर्मी नरेश भट्टराई र सुनिता गुरुङ छन्।

गायन र नृत्य प्रतियोगितामा छानिएकामध्ये प्रथम हुनेले जनही रु एक करोड, दोस्रो हुनेले रु ३० लाख र तृतीय हुनेले रु २० लाख पुरस्कार प्राप्त गर्ने छन्। त्यस्तै सामूहिक नृत्यमा पनि अलग्गै पुरस्कारको व्यवस्था रहेको छ।

प्रतिभाको छनोट निष्पक्षरुपमा होस् भनेर यो अडिसनमा निर्णायकले प्रतिस्पर्धीलाई देख्न नपाउने र प्रतिस्पर्धीले पनि छनोटमा नपरेसम्म निर्णायकलाई देख्न नसक्ने गरी डिजाइन गरिएको छ। प्रतिस्पर्धाका मेरो भ्वाइस युनिभर्स कार्यक्रम नेपाल टेलिभिजन राष्ट्रिय प्रसारणबाट र मेरो डान्स युनिभर्स एनटिभी प्लसबाट प्रत्यक्ष प्रसारण गरिने आयोजक संस्थाले जनाएको छ।

थप ७६ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभरगरिएको ३ सय ४५ पिसिआर परिक्षणका क्रममा ४९ जना र ८ सय ६ एन्टीजेन परिक्षणका क्रममा २७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोरोनाका कारण गत २४ घण्टामा १६ जना निको भएका छन् । २ सय २७ जना सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

 

प्रकाशित मिति : २० चैत्र २०७९, सोमबार  ८ : ५९ बजे

जेन–जी आन्दोलनपछि कैलालीमा क्षतिको विवरण सङ्कलन गरिँदै

कैलाली– यही भदौ २४ गते ‘जेन-जी’ प्रदर्शनका क्रममा आगजनी र

वर्तमान परिस्थितिमा सम्हालिएर अघि बढ्नुको विकल्प छैन : कांग्रेस नेता शाही

काठमाडौं– नेपाली कांग्रेसका युवा नेता भुपेन्द्र जंग शाहीले मुलुकको पछिल्लो

एमालेले तत्काल ओलीको विकल्प नखोज्ने, आन्दोलनमा पनि नजाने

काठमाडौँ- सम्भवत: विश्वकै छोटो आन्दोलनमार्फत् सत्ताबाट अप्रत्यासित बहिर्गमनमा परेको नेकपा

अवरुद्ध बेनी–जोमसोम सडक खुल्यो

म्याग्दी– बेनी–जोमसोम–कोरला सडकमा आज बिहानदेखि यातायात पुनः सञ्चालनमा आएको छ

‘भोजपुरे खुकुरी’को माग उच्च : बनाउने कालीगढको चरम अभाव

भोजपुर– परम्परागत खुकुरी बनाउने कालीगढ पेसाप्रति नयाँ पुस्ताको रुचि घट्दै