विराटनगर – विराटनगर महानगरपालिकाले लागू गरेको पार्किङ निषेधित क्षेत्रलाई थप प्रभावकारी रूपमा कार्यान्वयन गर्ने भएको छ । महानगरपालिकामा आज महानगरप्रमुख नागेश कोइरालाको अध्यक्षता बसेको बैठकले स्थानीय प्रशासन, नेपाल प्रहरी, ट्राफिक प्रहरीसहित सरोकारवाला निकायसँगको समन्वयमा यसअघि कार्यान्वयनमा ल्याइएका सबै सडकलाई पार्किङ निषेधित क्षेत्र (नो पार्किङ) प्रभावकारी रूपमा कार्यान्वयन गर्ने निर्णय गरेको हो ।
बैठकले पार्किङलाई व्यवस्थित गर्दै संयुक्त बजार अनुगमनलाई सूक्ष्मरूपमा अघि बढाउने, राजस्व अभिवृद्धि अभियानलाई थप प्रभावकारी रूपमा सञ्चालन गर्नेलगायतका निर्णय गरेको छ ।
प्रदेश राजधानी मात्रै नभएर विराटनगर कोशी प्रदेशको एक मात्र महानगरपालिकालाई व्यवस्थित बनाउने दायित्व सबैको भएकाले महानगरले सुरु गरेको अभियानमा स्थानीय प्रशासनले सहयोग गर्ने मोरङका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले प्रतिबद्धता जनाए ।
“विराटनगरलाई व्यवस्थित बनाउने अभियानमा महानगरलाई प्रशासनका तर्फबाट पूर्ण साथ रहन्छ”, प्रजिअ भट्टराईले भने, “कुनै पनि काम गर्दा शतप्रतिशतलाई सन्तुष्ट बनाउन सकिँदैन ।” आइतबार बसेको महानगरको कार्यपालिका बैठकले यसअघि महानगरले कार्यान्वयनमा ल्याएको नो पार्किङलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।
व्यापार सुस्ताएको भन्दै केही दिनयता व्यापारीले आफ्ना सवारी साधन सडकमा राखेर नो पार्किङको अवज्ञा गर्दै आएका छन् । अवज्ञापछि सडकलाई नो पार्किङ बनाउने अभियानबाट पछि नहट्न भन्दै जनस्तरबाट महानगरपालिकामाथि चर्को दबाब आएको प्रमुख कोइरालाले भने । उनले भने, “नो पार्किङको निर्णयबाट पछि नहट्न भन्दै डेलिगेशन पनि आइरहेका छन्, हाम्रो अरु केही उद्देश्य होइन विराटनगरलाई सफा, सुन्दर र व्यवस्थित बनाउने हो । यसप्रति विराटनगरवासी धेरै नै चिन्तित भएको पाएको छु । यहाँहरूले सामाजिक सञ्जालमा पनि हेरिरहनु भएको होला ।”
प्रमुख कोइरालाले वैकल्पिक पार्किङलाई व्यवस्थित बनाउँदै लगिने, सवारी साधनको सुरक्षाका लागि वैकल्पिक पार्किङमा सीसी क्यामरा र बत्तीसमेत तत्कालै जडान गरिने उल्लेख गरे । उपप्रमुख शिल्पा निराला कार्कीले महानगरलाई व्यवस्थित बनाउने यसअघिका निर्णयबाट पछि हट्न नसकिने बताए ।
महानगरका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले पछिल्लो समय विराटनगर व्यवस्थित हुँदै गइरहेको भन्दै विराटनगरको व्यापार प्रवर्द्धनमा महानगर गम्भीर रहेको सुनाए।
बैठकमा यसअघि ट्राफिक प्रहरी र नगर प्रहरीले गर्दै आएको ट्राफिक व्यवस्थापनमा नेपाल प्रहरीले सहयोग गर्ने मोरङका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक दीपक पोखरेलले जानकारी दिए। कोशी प्रदेशका ट्राफिक प्रहरी प्रमुख श्यामकुमार महतोले ट्राफिक प्रहरीलाई स्रोतसाधनयुक्त बनाउनुपर्नेमा जोड दिए । विराटनगरको ट्राफिक व्यवस्थापनबाट आफू सन्तुष्ट भएको बताउँदै उनले भने, “विराटनगर प्रदेश राजधानी पनि हो । यहाँ भीआइपीको गतिविधि भइरहने स्थान पनि हो । हामीले अन्य स्थानमा जतिसुकै राम्रो ट्राफिक व्यवस्थापन गरे पनि प्रदेश राजधानीमा राम्रो गरेनौँ भने त्यसको सन्देश देशभरि जान्छ ।”
प्रतिक्रिया