काठमाडौँ– माथिल्लो मैलुङ खोलाको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।
आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले आज कार्यालय समयभित्र यस कम्पनीको आईपीओमा आवेदन दिन सक्नेछन् । यस कम्पनीले साउन ४ गतेदेखि आयोजना प्रभावित स्थानीयका लागि आईपीओ बिक्री खुला गरेको थियो।
कम्पनीले स्थानीयलाई जारी पुँजी १ अर्ब रुपैयाँको १० प्रतिशत अर्थात १० करोड रुपैयाँ बराबरको सेयर बिक्रीमा ल्याएको हो । यसले एकसय अंकित मूल्यमा १० लाख कित्ता सेयर स्थानीयलाई जारी गरेको हो । योमध्ये ५ लाख ७१ हजार ४३० कित्ता सेयर आयोजना अति प्रभावित क्षेत्र रसुवा जिल्लाको उत्तरगया गाउँपालिका वडा नम्बर १ का बासिन्दालाई छुट्याइएको छ ।
त्यस्तै, २ लाख ८५ हजार ७२० कित्ता सेयर आयोजना प्रभावित क्षेत्र रसुवा जिल्लाको उत्तरगया गाउँपालिकाकै वडा नं २, ३, ४ र ५ तथा नुवाकोट जिल्लाको किस्पाङ गाउँपालिका अन्तर्गतका वडा नम्बर ५ का स्थानीयका लागि निष्कासन खुला भएको छ ।
यी क्षेत्र बाहेक रसुवा जिल्लाका अन्य क्षेत्रका स्थानीय बासिन्दाका लागि पनि १ लाख ४२ हजार ८५० कित्ता सेयर जारी गरिएको छ ।
यसमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । क्रेडिट रेटिङ संस्था केयर रेटिङ नेपालले यस कम्पनीलाई वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउने ‘केयर एनपी डबल बी इस्यूअर रेटिङ’ प्रदान गरेको छ ।
स्थानीयले यस आयोजनाको आयोजना स्थल, सानिमा क्यापिटल, सानिमा बैंक र एनएमबी बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।
प्रतिक्रिया