जोगप्रसाद : ज्ञानगंगाका पुजारी | Khabarhub Khabarhub

जोगप्रसाद : ज्ञानगंगाका पुजारी



उनले घरजम गरेनन् । खुट्टामा जुत्ता लगाउँदैनन् । कछाड बेरेपछि पहिरनको काम तमाम । नून, प्याज, लसुनजस्ता तामसी पदार्थ लटपट नभएको एक छाक ‘चोखो प्रसाद’ खान्छन । यिनको हकमा हिउँद बर्खा, उकाली ओराली, सुखदुख समान छन् । मानौं जीवित अवस्थामै मोक्ष पाएका छन् । यसो भन्दैमा जोगी सन्यासी जस्तो फिरंगी पनि होइनन् । न त अर्ती छाँटेर कथित भक्त जम्मा गर्ने शहरका अखडा सञ्चालक नै हुन् । न उमर्को लाग्ने गरी सामाजिक सञ्जालमा बत्तिएर आकास पाताल जोड्ने सम्मोहनले नै तानेको छ । बरु आफू जन्मिएको धरामा सौम्य, शान्त र निश्चल भएर प्रज्ञा र चैतन्यको अखण्ड दियो बालिरहेका ती सत्पात्रको नाम हो– जोगप्रसाद पाण्डे ।

जीवन के हो ? सम्भवत : यो धेरै सोधिने तर चित्तबुझ्दो उत्तर नआउने दार्शनिक प्रश्न हो । तर, सत्य नजिक रहेको सन्दर्भ के हो भने जन्मँदा मानिससँग सास हुन्छ नाम हुँदैन, मर्दा नाम हुन्छ तर सास हुँदैन । हो, यही दुई अवस्था बीचको यात्रा नै जीवन हो भनेर मान्ने धेरै छन । यो यात्रामा मानिसले छोडेर जाने स्मरण नै हो ।

सत्कर्म र कुकर्मको पत्रैपत्रको जगमा मानिसको कीर्ति बन्ने हो । कुकर्म र सुकर्मअनुसार ब्याज असुल हुने हो । जोगप्रसादजस्ता महाज्ञानी पनि अहिले त्यही पथमा छन । पत्र खोज्दाखोज्दै प्याज सकिएजस्तै रनभूल्लमा जीवन नसकियोस भनेर नै यस्ता पात्रहरु कर्मको ध्यानमा लागेका छन् । कर्मको दियोमा तेल थप्नुलाई नित्य धर्म बनाएका छन् । हावाको झोंकाले बत्ती निभाउला भन्ने किञ्चित चिन्ता उनमा छैन ।

स्याङ्जाको कालिगण्डकी गाउँपालिकास्थित बिर्घा गाउँमा एउटा मातृभूमि पुस्तकालय छ । त्यही पुस्तकालयमा जगको ढुंगादेखि गजूरको निर्माणसम्म जोगप्रसादको पसिना खर्च भएको छ । होचा कदका उनी उमेरले ६५ नाघे । तर, बिहान, दिउँसो, बेलुका जुन समयमा पनि यी पात्र ज्ञानमन्दिरमा हाजिर छन् ।

मातृभूमि पुस्तकालयमा झाडु बढारुदेखि नयाँ पुस्तासँग प्रविधिमा हेलिने यिनी रातबिहान दौंतरीसँग हारमोनियम बजाएर भजनमा रौसिन्छन । परत्र र वरत्रको बाटो जोड्ने सेतू कर्मलाई बनाएका छन । घरमा जानुस गोठाला, खेताला, भैंसीको कुँडो पकाउनेदेखि चुल्हो चौकोसम्म धानेका छन् । यसबाहेक हरेक सामाजिक र धार्मिक काममा उपस्थिति दोस्रो भएको रेकर्ड छैन ।

कुपात्रहरु तोरी हातमा लिएर प्वाल खोजिरहन्छन् । तर जोगप्रसाद कर्मभित्र कर्म खोज्छन । प्राप्तिका लागि नभएर दिनु अनि दिइरहनुलाई आफ्नो निजी विश्वविद्यालय बनाएका छन, जोगप्रसादले । सरकार कहाँ छ ? कसले कति भ्रष्टाचार गर्‍यो ? कुन पार्टी सत्तामा पुग्यो, कुन ओरालो लाग्यो ? यी प्रश्नसँग जोगप्रसादको कुनै साइनो छैन । यस वर्ष पुस्तकालय दिवसका दिन सरकारले सम्झिएर पुरस्कारका लागि निम्तो दियो, त्यसैका खातिर चालीस वर्षपछि काठमाडौं टेके । तर, चार दिनको बसाईँ पनि उनका लागि कष्टकर बन्यो । अर्थशास्त्र बुझ्दैनन् । यद्यपि सबै नेपालीको चुल्हो सस्तो होस, स्वास्थ्य र शिक्षा सबैको सरल र सहज पहुँचमा होस भन्ने कामना जोगप्रसादको छ ।

मानिसका मानवीय, पारिवारिक र सामाजिक पाटाहरु छ्न् । बौद्धिकता, संवेदनशीलता र जिम्मेवारीहरु छन् । पढ्नुपर्ने, जागिर खानुपर्ने, वैवाहिक जीवनमा प्रवेश, छोराछोरी पालनपोषणका अभिभाराहरु छन् । यी अलिकति परिवार, अलिकति समाज र धेरैजसो आफैँले निर्धारण गर्ने विषय हुन् । यसलाई स्वाभाविक मान्ने कि अस्वाभाविक, बोझ मान्ने कि रोज, भोग, प्रयोग कि मोज ? कसरी लिने भन्ने मूल प्रश्न हो । त्यसै पनि सिंगो स्याङ्जा शिक्षा र चेतनाका दृष्टिबाट अगाडि छ ।

बौद्धिक र सरकारी सेवामा ‘स्याङ्जाली’ कीर्तिमानी जीब्रो जीब्रोमा व्याप्त छ । जोगप्रसादलाई घरजम, सरकारी सेवा, आमोदप्रमोदको मोहले किन तानेन, बालब्रम्हचर्यको सोच कसरी पलायो ? ‘म केही समय भारत बसेँ । धार्मिक चरित्र भएकाले यस्ता अनुष्ठानमा सक्रिय भएँ । अध्यात्म दर्शनसँग साक्षात्कार हुने मौका मिल्यो । घरमा पनि पारिवारिक दायित्व आफैँले निभाउनुपर्ने अवस्था आयो । अझ भनौं अरुको रहर पुर्‍याउँदा आफ्ना रहर छेउ लागेको पत्तै भएन । स्वयं आफूलाई पनि सामाजिक र धार्मिक काममा सक्रिय हुँदा आनन्द आउन थाल्यो । त्यसपछि लाग्यो मलाई परमात्माले जुन कामका लागि सिर्जना गर्नुभयो, म त्यसैमा समर्पित हुनुपर्छ ।’

आफ्नो सामाजिक र धार्मिक उडानको बेलिविस्तार लगाउँदै पाण्डे थप्छन्– ‘मेरो रुचिको कार्यथलो पुस्कालय बन्यो । एउटा सानो कोठाबाट सुरु भएको पुस्तकालय यात्रा अहिले सुविधा सम्पन्न भवनमा अनुवाद भएको छ । मलाई पुस्तकालयको यो रुप देख्दा जप तप पूरा भएझैं लाग्छ । साँच्चै भन्ने हो भने मेरो जीवनको चारधाम भनेकै यही हो । बाँकी जीवन पुस्तकालयकै उन्नयनमा खर्च गर्ने धोको छ ।’

पुस्तकालयको श्रीवृद्धिका लागि जोगप्रसादले के गरे भन्दा पनि के गरेनन् भन्नु चाहिँ उचित हुन्छ । तीन दशकअघि गाउँको पुरानो घरको लथालिङ्ग कोठाबाट पुस्तकालय व्यवस्थापनको जिम्मेवारी लिए । पुस्तक चाँजोपाँजो मिलाउन कयौं रात गुन्द्रीमा सुतेर रात काटे । पुस्तकालयलाई सुम्पिएको समय कुनै आर्थिक लेनदेनसँग सम्बन्धित थिएन । आत्मशान्तिका लागि सेवामा लागेको बताउने जोगप्रसादको सङ्कल्प झन्झन् सतिसाल बन्दै गइरहेको छ ।

पुस्तकालयको आर्थिक स्रोत जुटाउन ५० को दशकमा पुस्तकालयले सार्वजनिक फोन चलाएको थियो । त्यो बेला दैनिक ५, ६ घण्टाको उकालो बाटो हिँडेर जोगप्रसाद ब्याट्री चार्ज गर्न र टावरमा आएको प्राविधिक समस्या हल गर्न गुल्मीको हिले र पाल्पा पुग्थे ।

पुस्तक अलावा पाठकहरुको रुचि विभिन्न दैनिक, साप्ताहिक र मासिक पत्रपत्रिकामा हुँदा दाता खोजेर पुस्तकालयलाई हराभरा पार्ने मात्र होइन, दैनिकजसो आउजाउमा ३ घण्टा लाग्ने मिर्मी बजारसम्म पुगेर पत्रिका काँधमा ल्याउन निर्वाह गरेको त्यो क्षण अहिले उनको स्मरणमा सिनेमाको रिलझैँ घुम्छ । साँच्चै भन्ने हो भने पुस्तकालयका लागि जहाँ आपत, त्यहाँ जोगप्रसाद भनेजस्तै भएको छ ।

२०७२ सालको भूकम्पले जीर्ण अवस्थामा पुगेको पुस्तकालय भवनदेखि कोभिड महामारीले जनजीवन अस्तव्यस्त रहँदा जोगप्रसादले पाठकलाई पुस्तकालय तान्ने मेसो मिलाइरहे । अझ गाउँका दिवंगत सदस्यका परिवारका सदस्यलाई विश्वासमा लिएर अक्षयकोष स्थापना गर्ने कामको अभिभारा उनैले सम्पन्न गरे । अहिले त्यो कर्मले अघोषित संस्कृतिकै रुप धारण गरेको छ ।

जोगप्रसादहरुले जीवनलाई फूलजस्तो हलुङ्गो र आकर्षक बनाउन सुझाएका छन् । यदि हामीले बाध्यताको जीवन बाँच्छौं भने हाम्रो शारीरिक, मानसिक, बौद्धिक र आत्मिक क्षमता क्षयीकरण हुन्छ । अरुचिपूर्ण जीवनको गुढ बाँच्दैनौ–बाँचिदिन्छौं, हाँस्दैनौं– हाँसिदिन्छौं, खाँदैनौं– खाँइदिन्छौं, गर्दैनौं– गरिदिन्छौं, लाउँदैनौं– लगाइदिन्छौं, भोग्दैनौं– भोगिदिन्छौं । यी सबै बाध्यताले ल्याउने रंगहरु हुन ।

जोगप्रसादले आजसम्म कुनै ओखती खानुपरेको छैन । कसैप्रतिको डाहले निद्रा बिथोलिएको सम्झना छैन । सबैमा समभाव देख्छन । वसुधैव कुटुम्बकम् उनको जमिन हो । जीवनको सूत्र के त ? जोगप्रसादको जीवन नाप्ने तराजुले भन्छ– ‘सबैको जीवन यात्रा असत्यबाट सत्य, अन्धकारबाट प्रकाश, असफलताबाट सफलता, अंशबाट पूर्णता र मृत्युबाट अमरतातर्फको नै हो र हुनुपर्छ । तर, गर्नु पर्ने मूल कुरा हो– नियमपूर्वक अभ्यास, सकारात्मक सोच, पूर्ण विश्वास, मेहनत र संघर्ष ।’

जोगप्रसादजस्ता निस्कपट पात्रकै कारण समाजभित्र प्राण छ । भविष्यप्रति मानिसको केही हदसम्म आशाको त्यान्द्रो मरेको छैन । विन्स्टन चर्चिलको सफलताको तीन सुत्र– हरेस नखाउ, हरेस नखाउ र हरेस नखाउले बाँच्नको लागि जोड दिएजस्तै जोगप्रसाद पात्र आशाका ओखती हुन् । समाजका अक्सिजन हुन् । अस्ताउँदाहरुका लौरो हुन् । उदाउँदाहरुको आशा हुन् । मानव कल्याणको कसीमा सागरभित्रका पूज्य शालिग्राम हुन् । कालिगण्डकीको जलभित्र पत्थर शालिग्राम प्राप्य छ भने धरामा जोगप्रसादले त्यो धर्म धानिरहेका छन् । यो बीउ जगाउनु बाँकीको दायित्व हो । कामना गरौं– खरानीभित्र यस्ता झिल्काहरु सुरक्षित भइरहुन् । आगो ननिभ्नु भनेको सत्यको विरासत धानिनु पनि त हो ।

प्रकाशित मिति : १७ मंसिर २०८०, आइतबार  ४ : ५२ बजे

बैसट्ठी फिल्म प्रदर्शनमा आउँदा एक अर्ब ८५ करोडको कारोबार

काठमाडौं – सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको ‘सेन्ट्रल म्यानेज्मेन्ट

एमालेले आज झापामा जागरण सभा गर्दै, अध्यक्ष ओलीले सम्बोधन गर्ने

झापा– नेकपा एमालेले आज झापाको दमकमा जागरण सभा गर्ने भएको

किसानलाई पचास प्रतिशत अनुदानमा कृषि उपकरण

तनहुँ- तनहुँको शुक्लागण्डकी नगरपालिकाले किसानलाई ५० प्रतिशत अनुदानमा मिनी टेलर

चारदेशीय टी–२० आई सिरिज : नेपाल र हङकङ भिड्दै

काठमाडौं– हङकङमा जारी चारदेशीय टी–२० आई सिरिजअन्तरगत नेपालले शनिबार घरेलु

मुस्ताङको घरपझोङ स्वास्थ्य शिविरमा ३५३ जना लाभान्वित

मुस्ताङ-  मुस्ताङमा गरिएको निःशुल्क स्वास्थ्य परीक्षणमा तीन सय ५३ जना