लमजुङ – लमजुङ सेवा समिति हङकङले सामाजिक सेवामा ६५ लाख बढी खर्च गरेको छ ।
रोजगारीको सिलसिलामा हङकङमा बस्दै आएका लमजुङीहरुको संस्था लमजुङ सेवा समिति हङकङले स्थापना कालदेखि हालसम्म जिल्लाका विभिन्न सामाजिक कार्यमा ६५ लाख ५० हजार ७ सय ६९ रुपैयाँ खर्च गरेको हो ।
हङकङमा रहेको लमजुङे संगठित भई १९९८ मा स्थापना भएको सेवा समितिले गृह जिल्लामा तमू संग्रहालय भवन निर्माणदेखि, खेलकुद, शिक्षा, स्वास्थ्य, विपद् लगायतको क्षेत्रमा सहयोग गरेको छ ।
समितिले जिल्लामा स्थापना गरेको सम्पर्क समितिमार्फत सहयोग गर्दै आएको छ । समितिमार्फत सिधै ४० लाख ५ हजार रुपैयाँ र समितिले स्थापना गरेको अक्षयकोषबाट सम्पर्क समितिमार्फत २५ लाख ४५ हजार ७ सय ६९ रुपैयाँ सामाजिक कार्यमा खर्च गरेको लमजुङ सेवा समिति हङकङका अध्यक्ष श्यामकुमार गुरुङले बताए।
समितिले लमजुङको बेंसीसहरमा पत्रकार भेटघाट तथा अन्तरक्रिया गरी पछिल्लो ९ वर्षमा गरेको कामबारे जानकारी गराएको छ ।
समितिले २०७० मा १५ लाखबाट सुरु गरको अक्षयकोष हाल ४४ लाख पुगेको जनाएको छ । अक्षयकोषबाट प्राप्त व्याज सामाजिक सेवामा खर्च गर्दै आएको समितिले हालसम्म १ सय ८ जनालाई आर्थिक सहयोग मात्र १३ लाख ४२ हजार ५ सय रुपैयाँ प्रदान गरेको छ । जसमध्ये उपचारको लागि ८२ जना, आगलागी पीडित २ जना, १३ जनालाई छात्रवृत्तिमा सहयोग गरेको हो ।
२०७३ भदौ १७ गते खुदी स्रोत केन्द्र अन्तर्गत विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समितिका अध्यक्षलाई एक तालिम आयोजना गर्दा १ लाख १६ हजार ९ सय ९५ रुपैयाँ खर्च भएको थियो । त्यस्तै सम्पर्क समितिले विभिन्न समयमा १८ वटा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दा ५ लाख ८८ हजार ६८ रुपैयाँ सहयोग गरेको समितिले जनाएको छ ।
प्रतिक्रिया