दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू | Khabarhub Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू


२१ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 7 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

आज दिनभर नवनियुक्त तीन मन्त्रीले लिए शपथ, संघीय संसद्‌मा दुई सचिव नियुक्त, गण्डकीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत, सन्दीपलाई ३ दिन हिरासतमा राख्न अनुमति, सेयर बजारमा दोहोरो अंकको वृद्धि लगायतका समाचारले प्रमुख स्थान पाए ।

नवनियुक्त तीन मन्त्रीले लिए शपथ

नवनियुक्त तीन मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत र युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले शपथ लिएका हुन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरुलाई शपथ गराएका हुन् ।

राष्ट्रपति पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सिफारिसमा उनीहरूलाई बुधबार मन्त्री पदमा नियुक्त गरेका हुन् । तीन जना नै कांग्रेसका तर्फबाट मन्त्री बनेका हुन् । कानुनमन्त्री बनेका धनराज गुरुङ नेपाली कांग्रेसका उपसभापतिसमेत हुन् भने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहन बस्नेत केन्द्रीय सदस्य हुन् ।

शपथ समारोहमा अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री दाहाल, सभामुख देवराज घिमिरे, कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, मन्त्रीहरू, संवैधानिक निकायका प्रमुख, सुरक्षा निकायका प्रमुख, उच्च सरकारी कर्मचारीलगायतको सहभागिता थियो ।

संघीय संसद्‌मा दुई सचिव नियुक्त

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्‌मा दुई सचिव नियुक्त गरेका छन् । सभामुख देवराज घिमिरेको सिफारिसमा प्रतिनिधिसभा सचिवमा पद्मप्रसाद पाण्डेय र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको सिफारिसमा राष्ट्रिय सभा सचिवमा सुरेन्द्र अर्याललाई नियुक्त गरिएको हो ।

सभामुख र अध्यक्षको सिफारिस अनुसार राष्ट्रपति पौडेलले पाण्डेय र अर्याललाई नियुक्त गरेको र दुवैलाई नियुक्त गरेको पत्र राष्ट्रपति कार्यालयबाट संघीय संसद् सचिवालयलाई प्राप्त भएको संसद्का महासचिव भारतराज गौतमले जानकारी दिए ।

पाण्डेय र अर्याललाई यही वैशाख १७ गते नियुक्ति सिफारिस गरिएको थियो । प्रतिनिधिसभा सचिव गोपालनाथ योगी र राष्ट्रिय सभा सचिव राजेन्द्र फुँयालको कार्यकाल वैशाख १५ मा सकिएको थियो ।

दुवैको कार्यकाल सकिएपछि सभामुख र अध्यक्षले नयाँ सचिव नियुक्ति लागि कार्यवाहक राष्ट्रपति यादवसमक्ष सिफारिस गरेका थिए ।

सभामुखले प्रतिनिधिसभा सचिव र राष्ट्रिय सभा अध्यक्षले राष्ट्रिय सभा सचिव राष्ट्रपतिसमक्ष सिफारिस गर्ने संवैधानिक व्यवस्था छ ।

गण्डकीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् ।

बिहीबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री पाण्डेले आफूलाई विश्वासको मत दिइयोस् भन्ने राखेको प्रस्तावको पक्षमा बहुमत मत परेको हो ।

प्रस्तावको पक्षमा ३५ मत पर्दा विपक्षमा २२ र तटस्थ २ मत परेको प्रदेशसभाका सभामुख कृष्णप्रसाद धितालले जानकारी दिए ।

प्रधानमन्त्रीसँगको भेटपछि ओली : निर्दोष फसाउन खोजिए सहदैनौँ

एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी सचिव टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको विषयलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् ।

सिंहदरवारमा प्रधानमन्त्री प्रचण्डलाई भेटेर उनले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौँ रुपैयाँ लिएको विषयमा रायमाझीको संलग्नताबारे चासो राखेका छन् ।

प्रधानमन्त्री प्रचण्डलाई भेटेर बाहिरिने क्रममा सञ्चारकर्मीसँग अध्यक्ष ओलीले निर्दोष फसाउन खोजिए आफूहरूले नसहने चेतावनी दिए । साथै उनले दोषीलाई भने कारबाही हुनुपर्ने बताए । निर्दोष पर्न नहुने र दोषीलाई उम्काउन नहुने भन्दै ओलीले भने, ‘दोषी उम्काउने हाम्रो प्रयास होइन, तर निर्दोष फसाउन खोजियो भने हामी सहन्नौँ ।’

यसबारे आफूहरूले पनि अध्ययन गरिरहेको जानकारी दिएका ओलीले भने, ‘यो तानिएको हो कि तनाएको हो, यसको हामीले अध्ययन गर्दै छौँ । निर्दोष पर्न हुँदैन, दोषी उम्किनु हुँदैन । दोषी उम्काउने हाम्रो प्रयास होइन । निर्दोष फसाउन खोजियो भने हामी सहँदैनौँ ।

चेक जसले काट्यो, उसैसँग रहेको जस्ता कुरा छ । एउटा सांसद, पटक पटक मन्त्री भएको, उपप्रधानमन्त्री भइसकेको, पार्टीको नेता, षड्यन्त्रपूर्ण ढंगले बाटोमा हिँड्दाहिँड्दै समाउनु पर्ने रहस्यपूर्ण छ । भागेर र उम्केर जानेखालको मान्छे होइन ।

नक्कली शरणार्थी प्रकरण : अझै १०-११ जना पक्राउ पर्न सक्ने

प्रहरीले नक्कली शरणार्थी प्रकरणमा थप १०-११ जना व्यक्तिलाई पक्राउ गर्नुपर्ने प्रारम्भिक अवस्था देखिएको जनाएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दान बहादुर कार्कीले नक्कली शरणार्थी प्रकरणमा हालसम्म ८ जना व्यक्ति पक्राउ परिसकेको भन्दै थप १०-११ जना व्यक्तिलाई पक्राउ गर्नुपर्ने प्रारम्भिक अवस्था रहेको बताए । सुरुमा ठगीबाट सुरु भएको उक्त मुद्दा संगठीत अपराधमा परिणत गरेर ४० दिन यता अनुसन्धान भइरहेको उनले बताए ।

कार्कीले सय भन्दा बढि व्यक्तिबाट २० वटा जाहेरी परेको र अनुसन्धान अघि बढिरहेको जानकारी दिए । उनले पक्राउ परेका व्यक्तिहरुबारेमा जानकारी दिने गरेको भन्दै बिभिन्न सञ्चारमाध्यममा अन्य पक्राउ परेको भनी आएको समाचारमा सत्यता नरहेको धारणा राखे ।

नक्कली शरणार्थी प्रकरणमा प्रहरीले सचिव टेकनारायण पाण्डे, इन्द्रजित राइ, सन्दीप रायमाझी लगायतलाई पक्राउ गरि अनुसन्धान गरिरहेको छ ।

सन्दीपलाई ३ दिन हिरासतमा राख्न अनुमति

पूर्वमन्त्री तथा एमाले सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई तीन दिन न्यायिक हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति प्राप्त भएको छ ।

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन करोडौँ रुपैयाँ असुल गरेको आरोपमा पक्राउ परेका सन्दीपलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौँले बिहीबार प्रहरीलाई अनुमति दिएको हो ।

बुटवलमा बुधबार पक्राउ परेका उनलाई बिहीबार काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको हो । उनलाई बिहीबार नै बुटवलबाट काठमाडौं ल्याइएको थियो ।
सोही घटनामा पूर्वमन्त्री रायमाझीविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ ।

‘रास्वपालाई सरकारमा ल्याउँदा राम्रो हुन्छ’

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले रास्वपालाई सरकारमा ल्याउँदा राम्रो हुने बताएका छन् ।

अध्यक्ष नेपालले प्रधानमन्त्री र कांग्रेस सभापतिले राय माग्दा रास्वपालाई सरकारमा ल्याउँदा राम्रो हुने बताएको सुनाए । बिहीबार कैलालीमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो जानकारी दिएका हुन् ।

‘राष्ट्रिय स्वतन्त्र पार्टीलाई पहिले पनि सरकारमा ल्याउने विषयमा सहमति भइसकेको थियो, अब गठबन्धनमा छलफल गरी यसबारे टुङ्गो लगाइनेछ’, उनले भने ।

रवि लामिछाने गृहमन्त्रालयकै जिम्मेवारीमा फर्के पनि राहदानी दुरुपयोग विषयमा भने प्रभाव पार्न नमिल्ने उनको भनाइ छ ।

उनले विश्वमा देखिएको आर्थिक मन्दीको प्रभाव नेपालमा पनि देखिएकाले देशको अर्थतन्त्रमा सुधार गर्नुपर्ने बताए । सरकारले अनावश्यक खर्च कटौती गरी जनजीविकासँग प्रत्यक्ष जोडिएका विषयमा काम गर्नुपर्ने बताए ।

अध्यक्ष नेपालले वर्तमान गठबन्धन लामो सयमसम्म टिक्ने दाबी गरे।

परराष्ट्रमन्त्री साउद बेलायत प्रस्थान

परराष्ट्रमन्त्री एनपी साउद संयुक्त अधिराज्य बेलायतका राजा चाल्र्स तृतीयको राज्याभिषेकमा सहभागी हुन आज बिहान त्यसतर्फ प्रस्थान गरेका छन्।

लण्डनमा रहँदा मन्त्री साउदले वेस्टमिन्स्टर एब्बेमा हुने राज्याभिषेक समारोहमा र बकिङ्घम दरबारमा हुने स्वागत समारोहमा सहभागी हुनुहुने मन्त्रालयले जनाएको हो ।

सो अवसरमा उहाँ अन्य औपचारिक कार्यक्रम पनि सहभागी हुनेछन्। परराष्ट्रमन्त्री साउद यही वैशाख २६ गते स्वदेश फर्कने तालिका छ ।

शरणार्थी प्रकरणमा ठगी गर्ने कोही नछुटुन् : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउनेहरुलाई कानुनी कारबाही गर्नुपर्ने बताएका छन् ।

यस प्रकरणमा जोडिएकाहरू धमाधम पक्राउ परिरहेका बेला थापाले सामाजिक सञ्जाजमार्फत यस्तो धारणा राखेका हुन् । उनले ‘यो घटना होइन प्रवृत्ति हो।’ भनेका छन्।

पूर्व गृहमन्त्रीहरु, गृह सचिव, अख्तियार प्रमुखलगायत प्रहरीको अनुसन्धानको दायरमा परे पछि थापाले ‘ठगि गिरोहको भिआइपी जालो’ उजागर हुँदै जानु गृह प्रशासनको प्रयास प्रशंसनीय भएको बताएका हुन्।

‘अझै गहिरोसँग अनुसन्धान होस्।कोही नछुटुन्। संलग्न जोसुकै,जुनसुकै ओहदा र शक्तिको होस्,कानुन भन्दा माथि कोही हुँदैन’, उनले लेखेका छन्।

नक्कली भुटानी शरणार्थी बनाएर लैजाने ठगि प्रकरणको अनुसन्धानका क्रममा ‘ठगि गिरोहको भिआइपी जालो’उजागर हुँदै गएको छ। यो प्रकरणमा गृह प्रशासनको प्रयास प्रशंसनीय छ। यो घटना होइन प्रवृत्ति हो।अझै गहिरोसँग अनुसन्धान होस्।कोही नछुटुन्। संलग्न जोसुकै,जुनसुकै ओहदा र शक्तिको होस्,कानुन भन्दा माथि कोही हुँदैन ।

समाजमा अपराधको मोडल फेरिँदै छ : प्रहरी महानिरीक्षक कुँवर

नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) वसन्त कुँवरले समाज विकाससँगै अपराधको मोडल पनि फेरिँदै गएको बताएका छन् । उनले प्रविधिको प्रयोगबाट गरिने अपराध आजको मुख्य चुनौती रहेको बताए ।

इलाका प्रहरी कार्यलय बुटवलको नवनिर्मित भवनको आज उद्घाटन कार्यक्रममा उनले प्रविधिले सृजना गरेको आपराधिक चुनौतीको नियन्त्रण सामना गर्न नेपाल प्रहरी पनि सोहीअनुसार अग्रसर भएर काम गरिरहेको बताए।

आइजिपी कुँवरले प्रहरी सीमान्तकृत र निम्नवर्गीय नागरिकको साथी बनेर काम गर्ने गरी अगाडि बढिरहेको बताए। ‘नेपाल प्रहरीले जनताको विश्वास जित्ने गरी काम गर्नुपर्छ । त्यसका लागि प्रहरी सङ्गठन प्रतिबद्ध छ’, उनले भने, ‘जनताको जीउधनकै रक्षा र मानव अधिकारको संरक्षण गर्दै सर्वसाधारण नागरिकको जनजीवनलाई सरल, सहज र सुरक्षित गराउने दायित्व पूरा गर्न हामी प्रतिबद्ध छौँ ।’

उनले देशैभरका प्रहरी कार्यालयमा नागरिक सहायता कक्षलाई व्यवस्थित बनाउने उल्लेख गर्दै स्थानीय सरकारको समन्वयमा लागु औषध नियन्त्रणको विशेष कार्यक्रम चलाइने बताए । उनले प्रहरीको कार्यदक्षता वृद्धिका लागि भौतिक पूर्वाधारको सम्पन्नतामा पनि ध्यान दिइएको बताए ।

सो अवसरमा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले व्यावसायिक क्षेत्रको संरक्षण, दुर्व्यसन न्यूनीकरण र अनुचित दबाब दिने कामको नियन्त्रणमा प्रहरीको सहयोग जरुरी रहेको बताए । कार्यक्रममा प्रहरी नायब महानिरीक्षक (डिआइजी) उमेशराज जोशीले लुम्बिनी प्रदेशको शान्ति सुरक्षा र अपराध नियन्त्रणमा नेपाल प्रहरीले अग्रपङ्क्तिमा रहेर काम गरिरहेको बताए ।

इलाका प्रहरी कार्यालय बुटवलको परिसरमा सङ्घीय सरकारमार्फत प्राप्त रु दुई करोड ४१ लाख २० हजारको लागतमा नागरिक सहायता कक्ष र मेस निर्माण भएको छ भने लुम्बिनी प्रदेश सरकारबाट प्राप्त तीन करोड १९ लाख १३ हजारमा प्रहरी ब्यारेक र कार्यालय प्रमुखको निवास निर्माण भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए ।

ए डिभिजन लिग : मछिन्द्रद्वारा संकटा पराजित

राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा साविक विजेता मछिन्द्र फुटबल क्लबले संकटा क्लबलाई पराजित गरेको छ । बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मछिन्द्रले संकटा क्लबलाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।

खेलको चौंथो मिनेटमा देवेन्द्र तामाङले गोल गर्दै मछिन्द्रलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यस्तै ६९ औँ मिनेटमा आफिज ओलावालेले गोल गर्दा मछिन्द्र २–० ले अघि रह्यो । खेलको ७८ औँ मिनेटमा जुनियर एनकेनगुएले गोल गर्दै संकटालाई २–१ को स्थितिमा ल्याए तर ८९ औँ मिनेटमा विमल घर्ती मगरले गोल गर्दै मछिन्द्रलाई ३–१ को जित दिलाए । जितसंगै मछिन्द्रले १४ खेलमा २१ अंक जोडेको छ । संकटाको १४ खेलमा १६ अंक रहेको छ ।

त्यस्तै बिहीबार नै एन्फा कम्प्लेक्समा एपीएफ र एनआरटीले १–१ गोलको बराबरी खेल्दै अंक बाडेका छन् । खेलको ५७ औँ मिनेटमा लालनुनजामाले गोल गर्दै एनआरटीलाई अग्रता दिलाएका थिए । तर, खेलको इन्जुरी समयमा एडमा डोम्बियाले गोल गर्दै एपीएफलाई बराबरीमा ल्याए । यस बराबरीसँगै एपीएफले १४ खेलमा १९ अंक जोडेको छ । एनआरटीले १४ खेलमा १७ अंक जोडेको छ ।

राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा साविक विजेता मछिन्द्र फुटबल क्लबले संकटा क्लबलाई पराजित गरेको छ ।

बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मछिन्द्रले संकटा क्लबलाई ३–१ गोल अन्तरले पराजित गरेको हो । खेलको चौंथो मिनेटमा देवेन्द्र तामाङले गोल गर्दै मछिन्द्रलाई सुरुआती अग्रता दिलाएका थिए । त्यस्तै ६९ औँ मिनेटमा आफिज ओलावालेले गोल गर्दा मछिन्द्र २–० ले अघि रह्यो । खेलको ७८ औँ मिनेटमा जुनियर एनकेनगुएले गोल गर्दै संकटालाई २–१ को स्थितिमा ल्याए तर ८९ औँ मिनेटमा विमल घर्ती मगरले गोल गर्दै मछिन्द्रलाई ३–१ को जित दिलाए । जितसंगै मछिन्द्रले १४ खेलमा २१ अंक जोडेको छ । संकटाको १४ खेलमा १६ अंक रहेको छ ।

त्यस्तै बिहीबार नै एन्फा कम्प्लेक्समा एपीएफ र एनआरटीले १–१ गोलको बराबरी खेल्दै अंक बाडेका छन् । खेलको ५७ औँ मिनेटमा लालनुनजामाले गोल गर्दै एनआरटीलाई अग्रता दिलाएका थिए । तर, खेलको इन्जुरी समयमा एडमा डोम्बियाले गोल गर्दै एपीएफलाई बराबरीमा ल्याए । यस बराबरीसँगै एपीएफले १४ खेलमा १९ अंक जोडेको छ । एनआरटीले १४ खेलमा १७ अंक जोडेको छ ।

कोरोना र डेंगु सङ्क्रमणबाट एक जनाकाे मृत्यु

सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारार्थ भर्ना गरिएका कोरोना भाइरस र डेंगुबाट सङ्क्रमित एक युवकको उपचारका क्रममा गएराति मृत्यु भएको छ । अस्पतालको ‘भेन्टिलेटर’मा उपचाररत बैतडीका ३० वर्षीय युवकको बुधबार राति मृत्यु भएको अस्पतालका सूचना अधिकारी मेखराज उपाध्यायले जानकारी दिए ।

नशासम्बन्धी रोगको उपचार गराउन अस्पतालमा भर्ना गरिएका युवकको यही वैशाख १७ गते पीसीआर पद्धतिबाट नमुना जाँच गराउँदा कोरोना ‘पोजेटिभ’ देखिएको थियो । त्यसको दुई दिनपछि पुनः नमुना जाँच गराउँदा डेंगुसमेत सङ्क्रमण देखिएपछि थप उपचारका लागि युवकलाई भेन्टिलेटरमा राखिएको उनले बताए । युवकको अस्पतालमै गत चैत २५ गते नशासम्बन्धी समस्याको शल्यक्रिया गरिएको जनाइएको छ ।

यसअघि वैशाख ३ गते अस्पतालको सघन उपचार कक्षमा उपचाररत कोरोना सङ्क्रमित एक महिलाको मृत्यु भएको थियो । सुदूरपश्चिम प्रदेशमा गत चैत महिनादेखि कोरोना भाइरसको सङ्क्रमण पुनः बढ्न थालेको छ । सङ्क्रमण दर बढेसँगै रोगले हुने मृत्युदर पनि बढ् नसक्ने स्वास्थ्यकर्मीको भनाइ छ । भारतमा कोरोना सङ्क्रमण बढेसँगै नेपालमा पनि बढ्न थालेको हो ।

खास गरी सीमा नाका हुँदै भारतबाट भित्रिने अधिकांश नागरिकमा कोरोना भाइरसको सङ्क्रमण देखिने गरेको छ । कोरोना बढ्दै गए पनि तोकिएको स्वास्थ्य सुरक्षाका मापदण्ड पालनामा सर्वसाधारणबाट भइरहेको लापरबाहीले रोगको सङ्क्रमण थप बढ् नसक्ने स्वास्थ्यकर्मीको भनाइ छ । कोरोना भाइरसको समस्या देखिएयता बीचमा झन्डै एक वर्षसम्म सुदूरपश्चिममा यो रोगका कारण हुने मृत्यु दर शून्य थियो ।

सङ्क्रमण पुनः बढ्न थालेपछि कोरोना भाइरस विरुद्धको बुस्टर डोज (खोपको मात्रा) स्वास्थ्य संस्थामार्फत लगाउन थालिएको छ ।

सेयर बजारमा दोहोरो अंकको वृद्धि

चालु साताको अन्तिम कारोबार दिन सेयर बजार दोहोरो अंकले वृद्धि भएको छ । बिहीबार नेप्से परिसूचक १२.७३ अंक बढेर १८६९.७३ विन्दुमा पुगेको छ ।

बिहीबार २५ लाख ३३ हजार ७१४ कित्ता सेयर किनबेच हुँदा ७३ करोड २६ लाख ८९ हजार ८११ रुपैयाँ बराबरको भएको छ ।

यस सेन्सेटिभ इण्डेक्स २.०७ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.७७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६७ अंक बढेको छ ।

बिहीबार १६२ कम्पनीको मूल्य बढ्दा ५० वटा कम्पनीको ओरालो लागेको छ भने ६ वटा स्थिर रहेका छन् ।

१३ वटै उपसमूहको परिसूचक उकालो लागेको छ ।

सुनको मूल्यको नयाँ कीर्तिमान, कति पुग्यो ?

सुनको मूल्यले बिहीबार नयाँ कीर्तिमान राखेको छ । बुधबारको तुलनामा बिहीबार तोलामा १ हजार २०० रुपैयाँ बढेर रेकर्ड ब्रेक गरेको हो।

यससँगै छापावाला सुनको मूल्य १ लाख ११ हजार ८०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ११ हजार २५० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार यो हालसम्मकै उच्च हो । यसअघि गत २२ चैतमा सुन प्रतितोला १ लाख ११ हजार रुपैयाँ पुगेको थियो ।

बुधबार छापावाला सुन प्रतितोला १ लाख १० हजार ६०० रुपैयाँ र तेजाबी सुनको मूल्य एक लाख १० हजार ५० रुपैयाँमा किनबेच भएको थियो ।

चाँदीको मूल्य प्रतितोला १ हजार ४४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति : २१ बैशाख २०८०, बिहीबार  ८ : ५९ बजे

१७७ जना महानगरबासीका लागि लोकसेवा तयारी कक्षा सुरु

काठमाडौं– काठमाडौँ महानगरपालिकाले महानगरबासीका लागि लोकसेवा तयारी कक्षा सुरु गरेको

पुजार सार्की : बुबाको जवानीको ‘लुक्स’का आर्यन

काठमाडौं– ‘लभर बोई’को परिचय बनाएका एक समय महँगा स्टार आर्यन

कांग्रेसले समय मागेपछि कार्यदलको बैठक स्थगित

काठमाडौं- सहकारी ठगी प्रकरणलाई लिएर संसदीय छानबिन समिति गठनका लागि

युवतीलाई ‘आँखा झिम्क्याएको’ निहुँमा ट्राफिक प्रहरी जवानको हत्या

काठमाडौं : ट्राफिक प्रहरी प्रभाग दरबारमार्गमा कार्यरत प्रहरी जवान युवराज

रुसले युक्रेनमा आक्रमण बढाउन सक्ने जेलेन्स्कीको आकलन

काठमाडौं– युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्की रुसले युक्रेनको उत्तरपूर्वी क्षेत्रमा आक्रमण