प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका क्रममा महत्त्वपूर्ण ७ बुँदामा सम्झौता भएको छ। त्यो सम्झौताले यो भ्रमण केही फलदायी उन्मुख भएको जस्तो भएको छ। तर सहमति र सम्झौतालाई मात्रै आधार मान्ने हो भने यो भन्दा अगाडिका जति पनि कुराहरू छन् ती पुरा हुन बाँकी नै छन्। अहिले भइरहेका सम्झौताले के कस्तो सन्देश प्रवाह गर्यो ? पटक पटक हुने भ्रमण र यो भ्रमणमा कस्तो फरक आयो ? यसै विषयमा आधारित रहेर अन्तर्राष्ट्रिय सम्बन्धका जानकार परराष्ट्रविद् डा. दिनेश भट्टराईसँग नयन सापकोटाले गरेको कुराकानीको सम्पादित अंश :
यहाँसँग लामो समय कूटनीतिक क्षेत्रमा काम गरेको अनुभव छ। अहिलेको प्रधानमन्त्रीको भ्रमणले दिएको सन्देश कस्तो लागेको छ ?
नेपाल भारत सर्वाधिक महत्त्वको सम्बन्ध हो। हाम्रो भूगोल नै नियति बनेर बसेको छ। हाम्रो खुला सिमाना छन्। जसकारण भारतसँग हामीले सुमधुर सम्बन्ध बनाउनुपर्छ।
उच्च स्तरीय भ्रमण दोहोरो नै छ। किनभने यताबाट जाने र उताबाट आउनेको भ्रमण विगतदेखि नै चलिआएको छ। सात बुँदामा सम्झौता हुनु भनेको राम्रो हो। तर विगतदेखि हामी सम्झौता गर्ने सही पनि गर्ने तर कार्यान्वयनको पक्षमा कमजोर देखिएका छौँ। हरेक कुरामा भाका मात्र फेर्ने काम भएको छ।
नेपाल भन्दा भारत ठुलो भएको कारणले यो सम्बन्धलाई अगाडि बढाउने पहल पनि भारतले नै गर्नुपर्छ। यो कुरामा हामी त खुला र स्पष्ट छौँ। हामी सहयोग गर्छौँ तर बाटो भारतले देखाउनु पर्छ।
पोहोर भारतका प्रधानमन्त्री नेपालमा आउनु भयो र लुम्बिनी गएर पावर क्षेत्रमा कुरा भएको थियो। त्यसैको फलोअप गरेर अहिले ४५० मेगावाट लिने र १० वर्षमा १० हजार मेगावाट बिजुली दिने भन्ने कुरा आएको छ। यो सकारात्मक विषय हो।
नेपाल भारत सम्बन्धमा हिट र सुपर हिटको अन्तरसम्बन्ध कसरी विश्लेषण गर्नु हुन्छ ?
उहाँले हिट भनेर संविधान सभालाई सम्बोधन गरेर भन्नुभयो। यसले कनेक्टिभिटीबाट आफ्नो प्रभाव देखाउन खोज्ने हो। त्यो सबैले गर्छन्। कनेक्टिभिटीमा अगाडि बढ्नु पनि राम्रो हो। किनभने अहिले रेलवे लाइनका कुराहरू पनि अगाडि बढेका छन्। नेपालका प्रधानमन्त्रीले सीमा सुरक्षाका समस्या र नेपाली लुटिएका कुरालाई पनि अगाडि लानुभएको छ।
हवाई मार्गका उपकरण प्रयोग गरेर अनुमति लिएको कुरामा त्यो रुटसँग सम्बन्धित भयो कि उपकरणसँग ?
त्यो उपकरणले रुटलाई हेर्ने भनेको होला। अझै त्यसमा आस्वस्त हुन कार्यान्वयनमा नै जानुपर्छ। बाहिर जाने अरु रुट पनि छन्। तर उताबाट आउन भारतको एयर स्पेस प्रयोग गर्नुपर्छ। यो समझदारीले उड्दा भारतको एयर स्पेस लिन पाउने भन्ने मैले बुझेको छु। अब त्यो कति समयसम्म हो र समझदारी हुँदा कसरी जाने हो त्यो सोच्नु पर्छ।
भारत भ्रमणमा जानु भन्दा अगाडि नागरिकता विधेयक प्रमाणीकरण गरेर जानुमा पनि शंका छ। यसमा केही शंका गर्ने ठाउँ छन् त ?
नागरिकता विधेयक हाम्रो आन्तरिक कुरा हो। नेपालको सीमाभित्र बस्नेले नागरिकता पाउनुपर्छ। हामीले राष्ट्रिय एकता मेलमिलाप बढाएर राष्ट्रवादलाई बलियो बनाउनुपर्छ। नत्र भारत विरोधी राष्ट्रवादले हामीलाई काहीँ पुर्याउदैन। बरु अरु कमजोर बनाइराखेको छ। यो संयोग पनि हुनसक्छ। तर हाम्रो खुला सीमा छ र भारतले पनि यस्ता कुरामा चासो देखाएको छ। भूगोल हाम्रो नियत हो। भारतसँग सम्बन्ध बढाउनुपर्छ। भारतले आर्थिक लगायत धेरै पक्षमा सहयोग गरेको छ।
अहिलेको समयमा हामी कूटनीतिक सम्बन्धमा कमजोर हुँदै गएका हौँ ?
हामी कमजोर छौँ। नेपाल कमजोर राष्ट्र हो। हाम्रो कूटनीतिक संयन्त्रलाई सबल सक्षम बनाउनुपर्ने हो त्यता ध्यान गएको छैन। हामीले केही महिना अगाडी एमसिसीको कुरा गर्याै तर खोइ परराष्ट्र मन्त्रालय ? विदेशी र कूटनीतिक सम्बन्धलाई बलियो बनाउन संयन्त्रलाई बलियो बनाउनुपर्छ। कुनै पनि कुरा विदेशी आयो भने परराष्ट्र मन्त्रालय जानुपर्छ। तर हाम्रोमा त्यो अभ्यास हुन सकेको छैन।
भारतमा भएको पुजा आजाको विषयलाई कूटनीति ठान्नु हुन्छ ?
सांस्कृतिक धार्मिक सम्बन्धमा जोड छ भन्ने यसले बुझाउँछ। यो कुराले हिन्दु राष्ट्रको सन्देश दिन खोजेको हुनसक्छ। केही दिन अगाडि अमेरिकी विदेश मन्त्रीले जारी गरेको रिपोर्टले नेपालका पार्टीहरूलाई चिनाएको छ। यी सबै कुरालाई बुझेर विवेक पुर्याएर काम गर्नुपर्छ।
प्रतिक्रिया