विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


१९ असार २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

आज असार १९, २०८० या अंग्रेजी क्यालेन्डर अनुसार जुलाई ४, २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।

मलेसियामा मृत्युदण्डको सजाय हट्यो

मलेसियामा गम्भीर अपराधका घटनामा दिइँदै आएको मृत्युदण्डको सजाय हटाउने निर्णय आजबाट कार्यान्वयनमा आएको छ ।

पछिल्लो निर्णयअनुसार अब गम्भीर अपराधमा दोषी ठहर हुनेहरूलाई ४० वर्षसम्मको जेल सजाय हुने बताइएको छ ।

यद्यपि असाधारण घटनाहरूमा मृत्युदण्डको आदेश दिन सक्ने न्यायाधीशहरूले स्वविवेकीय अधिकार कायमै राखिएको छ।

गत अप्रिलमा मलेसियाको संसद्ले देशको कानुनमा अनिवार्य मृत्युदण्डको सजाय हटाउने पक्षमा मतदान गरेको थियो।

संसद्‌ले पारित गरेको व्यवस्था कार्यान्वयनमा आएसँगै हत्या र आतङ्कवादसहित ११ प्रकारका गम्भीर अपराधमा दिइने अनिवार्य मृत्युदण्डको सजाय हट्नेछ।

अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्था एमनेस्टी इन्टरनेशनलका अनुसार मलेसियामा मृत्युदण्डको सजाय तोकिएकाको सङ्ख्या झन्डै एकहजार ३ सय रहेको छ । मलेसियाले ३० वर्षको अवधिमा १३ सयभन्दा बढीलाई मृत्युदण्ड दिइसकेको छ ।

अमेरिकामा अन्धाधुन्ध गोली चल्दा चारजनाको मृत्यु

अमेरिकामा अन्धाधुन्ध गोली चल्दा चारजनाको मृत्यु भएको छ । पेन्सिलभेनिया प्रान्तको फिलाडेल्फियास्थित फ्रेजियर स्ट्रिटको १८०० ब्लकमा एक आक्रमणकारीले अन्धाधुन्ध गोली चलाउँदा चारजनाको मृत्यु भएको हो । गोली लागेर चार जना घाइते भएका छन् ।

प्रत्यक्षदर्शीका अनुसार बुलेटप्रुफ ज्याकेट लगाएका एक व्यक्तिले अन्धाधुन्ध गोली चलाएका थिए । आक्रमणकारीलाई हिरासतमा लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ । प्रहरीले आक्रमणकारीको पहिचान खुलाउन चाहेको छैन ।

घटनापछि प्रहरीले तत्कालै स्थानीयवासीलाई घर बाहिर ननिस्किन आग्रह गर्दै हतियारधारी व्यक्तिलाई नियन्त्रणमा लिएको थियो ।

तालिबानद्वारा (ब्युटीपार्लरमा प्रतिबन्ध

तालिबानले काबुल र देशका अन्य प्रान्तहरूमा महिलाको सौन्दर्य सैलुन (ब्युटीपार्लर) मा प्रतिबन्ध लगाएको छ ।

तालिवान मन्त्रालयका प्रवक्ता मोहम्मद अकिफ महजारले टोलो न्युजलाई यसबारे जानकारी दिएका हुन् ।

तालिवानको मन्त्रालयले काबुल नगरपालिकालाई तालिवान नेताको नयाँ आदेश कार्यान्वयन गर्न र महिला सौन्दर्य सैलुनहरूको लाइसेन्स रद्द गर्न पनि निर्देशन दिएको छ।

यो प्रतिबन्ध पछि एक मेकअप आर्टिस्टले भनिन्, ‘परिवारका पुरुषको जागिर छ भने हामी घरबाट बाहिर निस्कने छैनौँ। हामी के गर्न सक्छौँ ? हामी भोकै बस्ने, के गर्ने ? तपाई हामीलाई मार्न चाहनुहुन्छ ?’

इस्लामिक इमिरेट्सले केटीहरू र महिलाहरूलाई स्कूल, विश्वविद्यालय र गैरसरकारी संस्थाहरूमा काम गर्नका साथै पार्क, सिनेमा घर र अन्य मनोरञ्जन क्षेत्रहरू जस्ता सार्वजनिक क्षेत्रहरूमा जान प्रतिबन्ध लगाएको छ।

इजरायली हवाइ हमलामा ८ जना प्यालेस्टिनी मारिए

इजरायलले गरेको हवाइ हमलामा ८ जना प्यालेस्टिनी मारिएका छन् ।

इजरायली वायुसेनाले प्यालेस्टाइनको कब्जामा रहेको वेस्ट बैंक क्षेत्रको जेनिन सहरमा हवाई आक्रमण गर्दा ८ जना मारिएका हुन् ।

आक्रमणपछि इजरायली स्थल सेना पनि अपरेशनमा सामेल भएको थियो। यस क्रममा २० प्यालेस्टाइनी पक्राउ परेका थिए ।

यसैबीच, प्यालेस्टाइनको आतङ्कवादी सङ्गठनले इजरायललाई ध्वस्त बनाउने धम्की दिएको छ ।

प्यालेस्टाइनमा रहेका हमासका लडाकुहरूले केही दिन देखि इजरायलमा आक्रमण गरिरहेका थिए। यस क्रममा रकेटसँगै मोर्टार र बन्दुकको प्रयोग भएको थियो । यसपछि सोमबार बिहान इजरायली वायुसेनाले जेनिनमा हवाई आक्रमण गरेको हो ।

वेस्ट बैंक क्षेत्रमा विगत केही दिन यता तनाव बढ्दै गइरहेको छ । इजरायली सेनाले यो क्षेत्रमा केही दिनदेखि आक्रमण बढाउँदै गइरहेको छ तर यो आक्रमणलाई उनीहरूले आतङ्कवादविरुद्धको गतिविधि भनेका छन् ।

यस अंग्रेजी वर्षको सुरुवातदेखि इजरायली सेनाको आक्रमणमा २९ जना प्यालेस्टिनीहरू मारिएका छन् ।

इजरायलको लागि खतरा बढ्दै जाँदा यो अपरेशन जारी रहने जनाइएको छ ।

टर्किए र इजिप्टद्वारा सामान्य कूटनीतिक सम्बन्ध पुनर्स्थापित गर्न राजदूत नियुक्त

टर्किए र इजिप्टले सामान्य कूटनीतिक सम्बन्ध पुनर्स्थापित गर्न राजदूत नियुक्त गरेका छन् । टर्किएले कायरोमा सालिह मुटलु सेनलाई राजदूत नियुक्त गरेको छ भने इजिप्टले अङ्कारामा अम्र इल्हामामीलाई नियुक्त गरेको छ ।

दुई देशका विदेश मन्त्रालयहरूले मङ्गलबार संयुक्त विज्ञप्ति जारी गर्दै यसबारे जनाकारी दिएका छन् ।

यो कदमले दुई देश बीचको सम्बन्धलाई सामान्य बनाउँदै जनताको हितमा थप सुमधुर बनाउँदै अगाडि बढ्ने अपेक्षा गरिएको छ । इजिप्टका पूर्वराष्ट्रपति मोहम्मद मोर्सीलाई सन् २०१३ जुलाईमा अपदस्थ गरेर उनको टर्किए समर्थित मुस्लिम ब्रदरहुड समूहलाई गैरकानूनी घोषित गरेपछि इजिप्टसँग टर्कीएको सम्बन्धमा चिसोपन आएको थियो ।

गत मे २९ मा इजिप्टका राष्ट्रपति अब्देलफताह अल–सिसी र टर्किएका राष्ट्रपति रेसेप तैयप एर्दोगानबीचको कूटनीतिक सम्बन्धलाई पुनः स्थापना गर्ने सहमति भएको थियो ।

पाकिस्तानमा नक्कली प्रहरी मुठभेडका घटना बढ्दै

पाकिस्तानमा नक्कली प्रहरी मुठभेडका घटना बढेकामा नागरिक समाजले चिन्ता व्यक्त गरेको छ । दैनिक समाचारपत्र डनका अनुसार नक्कली मुठभेडका घटना देशमा सामान्य बन्दै गएका छन् ।

कराँची निवासी काशिफ प्रहरीको नक्कली मुठभेडको शिकार भएका थिए । त्यसपछि उनी धरौटीमा रिहा भई गृहनगर फर्किएका छन् । हिरासतमा हुँदा प्रहरीसँगको ‘इनकाउन्टर’ मा गोली लागेर घाइते भएका कासिफको एउटा खुट्टा काट्नुपरेको थियो ।

काशिफकी आमा जरिनाका अनुसार जे नहुनु पर्ने थियो त्यही भयो अर्थात् प्रहरीको नक्कली मुठभेडको शिकार बनेको आफ्नो छोराले खुट्टा गुमायो । प्रहरीले अनाहकमा काशिफलाई प्रहरी चौकीभित्रै खुट्टामा दुई पटक गोली हानेको थियो ।

समाचारपत्र डनले आज सार्वजनिक गरेको समाचारअनुसार प्रहरी चौकीमा काशिफको जस्तै नियति अन्य छ जनाले भोग्नुपरेको थियो । उनीहरूको अहिले लियाकत विश्वविद्यालय अस्पतालमा उपचार भइरहेको छ ।

जाली मुठभेडमा ‘हाफ फ्राई र फुल फ्राई’ को क्रूर शासन चलेको छ । उच्च अधिकारीले हाफ फ्राईको आदेश दिए ‘खुट्टा भाँच्ने’ र फुल फ्राइ गर्न निर्देशन दिए ज्यान नै लिने गरिन्छ ।

चेचेन्यामा रुसी पत्रकारमाथि साङ्घातिक हमला

खोज पत्रकारकारिताका निम्ति ख्याति कमाएकी एक जना रुसी पत्रकारमाथि चेचन्यामा साङ्घातिक आक्रमण भएको छ । चेचन्या भ्रमणमा रहेका उनीमाथि सशस्त्र आक्रमणकारीहरूले नराम्ररी कुटपिट गरेपछि अस्पताल भर्ना हुनुपरेको मानव अधिकार समूह मेमोरियलले जनाएको छ ।

“एलेना मिलाशिनाको औंला भाँचिएको छ र उनी बेलाबेलामा बेहोस हुन्छिन् । उनको शरीरभर चोट लागेको छ । उनका उपकरण खोसेर तोडफोड गरिएको छ ” समूहले सामाजिक सञ्जालमा भनेको छ ।

मिलासिना र वकिल अलेक्जेन्डर नेमोभ एयरपोर्टबाट आफ्नो गन्तव्यतर्फ गइरहेका बेला आक्रमण भएको हो । मिलाशिना काम गर्ने रूसको शीर्ष स्वतन्त्र प्रकाशन नोभाया गजेटाले घटनाको पुष्टि गर्दै उनी र वकिल नेमोभ चेचन राजधानी ग्रोज्नीको अस्पतालमा रहेका बताएको छ ।

नोभाया गजेटाले चेचेन शक्तिशाली रमजान कादिरोभको आलोचना गर्ने तीन जना निर्वासितका मानिसकी आमा जरेमा मुसाइभाको सजायको सुनुवाइमा भाग लिन उनी ग्रोज्नी गएको जनाएको छ ।

रुसको प्रसिद्ध समाचारपत्र नोभाया गजेटामा मिलाशिनाले चेचन्यामा भएका मानवअधिकार उल्लङ्घनका घटनाबारे वर्षौंदेखि समाचार एवम् टिप्पणी छाप्दै आएकी थिइन् । उनलाई चेचेन नेतृत्वबाट ज्यान मार्ने धम्की पनि आएको थियो ।

प्रकाशित मिति : १९ असार २०८०, मंगलबार  ८ : ०४ बजे

चितवनमा अब पङ्खा चल्छ : रेणु दाहाल

चितवन – भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालले विद्युत पूर्वाधार संरचना

जसपा राई पक्षको मधेस प्रदेश संयोजकमा अशोक यादव  

काठमाडौं– जसपा अशोक राई पक्षको मधेस प्रदेश संयोजकमा अशोक यादव

देवनगर सबस्टेशन आजदेखि सञ्चालन

काठमाडौं– चितवनको देवनगर सबस्टेशन आजदेखि सञ्चालनमा आएको नेपाल विद्युत् प्राधिकरणले

मकवानपुरमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु, एक घाइते 

मकवानपुर– जिल्लाको बकैया गाउँपालिका–१२ चौतारास्थित कान्तिलोकपथमा आज बिहान सवारी दुर्घटना

हेटौँडा उपमहानगरद्वारा लक्ष्यको ८५ प्रतिशत राजस्व सङ्कलन

बाग्मती– मकवानपुरको हेटौँडा उपमहानगपालिकाले चालु आर्थिक वर्ष २०८०–८१ को १०