रुकुमका भूकम्पपीडितलाई सहयोग पुर्‍याउन स्थानीय सरकारको आह्वान | Khabarhub Khabarhub

रुकुमका भूकम्पपीडितलाई सहयोग पुर्‍याउन स्थानीय सरकारको आह्वान


१८ कार्तिक २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

रुकुम पश्चिम- गएराति गएको भूकम्पबाट अतिप्रभावित रुकुमका स्थानीय तहका प्रमुखले पीडितको उद्धार र राहत कार्यमा थप सहयोग पुर्‍याउन प्रदेश र सङ्घीय सरकारसँग आग्रह गरेका छन् । रुकुम पश्चिमका सानोभेरी गाउँपालिका, आठबिसकोट र चौरजहारी नगरपालिकाका प्रमुखले पहिलो चरणमा घाइतेको उद्धार र उपचार गरी तत्काल अत्यावश्यक राहत सामग्री उपलब्ध गराउने कार्य भइरहेको बताउँदै थप सहयोगका लागि प्रदेश र सङ्घसँग आग्रह गरेका हुन् ।

भूकम्प प्रभावित सानीभेरी गाउँपालिकामा हालसम्म १२ जनाको मृत्यु भएको गाउँपालिकाका अध्यक्ष कमला रोक्काले जानकारी दिइन् । उनका अनुसार मृतकमध्ये चार बालबालिका छन् । अध्यक्ष रोक्काले घाइतेको उद्धार र शव व्यवस्थापनलाई प्राथमिकता दिँदै त्यस कार्यमा खटिरहेको जानकारी दिइन् । उक्त गाउँपालिकाको वडा नं १ भूकम्पबाट बढी प्रभावित भएको छ भने पालिकाभित्रका अधिकांश घरमा क्षति पुगेकाले बस्न नमिल्ने अवस्थामा छन् ।

पालिकाका चार हजार घरधुरीमध्ये तीन हजार सातसयभन्दा बढी घरमा क्षति पुगेको अध्यक्ष रोक्काले बताइन् । उनले भनिन्, “तत्काल रात काट्नका लागि ओड्नी ओछ्याउनी कम भएकाले घरमा रहेको परालसमेत प्रयोग गर्नुपर्ने अवस्था छ । पीडितको राहत सहयोगका लागि पालिका पदाधिकारीलगायत सबै सदस्य लागि पर्नुभएको छ ।”

अध्यक्ष रोक्काका अनुसार पालिकाभित्र रहेका दुई अस्पतालमध्ये जिल्ला र आधारभूत अस्पतालमा घाइतेको उपचार भइरहेको छ । भूकम्पपीडितलाई तत्काल खाद्यान्न, त्रिपाललगायत ओड्नी ओछ्याउनीको आवश्यकता रहेको छ । दुर्गम क्षेत्र भएकाले कतिपयको उद्धार कार्य जारी छ ।

यस्तै, आठबिसकोट नगरपालिकाका प्रमुख रवि केसीले नगरपालिकाभित्र ४३ जनाको मृत्यु भएको जानकारी दिए । उनका अनुसार नगरपालिकामा एकै परिवारका पाँच जनासम्मको निधन भएको छ । भूकम्पबाट घाइते भएका ७० मध्ये चार जना स्थानीय अस्पतालमा उपचारपछि घर फर्किसकेका केसीले बताए । उनका अनुसार घाइतेको आधारभूत नगर अस्पतालमा उपचार भइरहेको छ । राहत उद्धार कार्यको जानकारी लिन प्रधानमन्त्री र प्रदेश प्रमुखलगायतका नेता तथा कार्यकर्ता त्यहाँ पुगेका थिए । उद्धारको काम दिउँसोसम्म चलिरहेको र शव परीक्षणको कार्य पनि भइरहेको नगरप्रमुख केसीले जानकारी दिए ।

भूकम्पबाट भएको मानवीय क्षतिको पाटोलाई प्राथमिकता दिएकाले पशुधनलगायत अरु क्षतिका विषयमा ध्यान पुर्‍याउन नसकिएको उनले बताए । नगरप्रमुख केसीले स्थानीय सरकार हुनुका नाताले उपलब्ध स्रोतसाधनका आधारमा यथासम्भव राहतका कार्यक्रम आवश्यकताअनुसार वितरण हुने बताए । साथै, राहत र पुर्नवास र क्षतिपूर्तिका लागि प्रदेश र केन्द्रीय सरकारसँग अपेक्षा गरिएको उनको भनाइ थियो ।

चौरजहारी नगरपालिकाका प्रमुख पुष्प बादीका अनुसार पालिकाभित्र २१ जना गम्भीर घाइते भएकामा दुई जनाको अवस्था गम्भीर रहेको छ । दुई महिलासहित तीन जनालाई थपउपचारका लागि जिल्ला बाहिर पठाइएको उनले बताए । स्थानीय तहमा उपलब्ध केही लत्ताकपडा र त्रिपाललगायतका राहतका सामग्री पीडितलाई वितरण गर्न लागिएको उनले जानकारी दिए ।

क्षतिको यकीन विवरण अझै आइनसकेकाले विवरण सङ्कलनको कार्य भइरहेको जनाउँदै नगर प्रमुख बादीले बिरामीको उद्धार र उपचारका लागि आफूहरु केन्द्रित भइरहेको बताए । पालिकाभित्रका कसैको पनि घर बस्न योग्य नरहेको उनको भनाइ थियो ।

प्रदेश र स्थानीय सरकारसँग बस्ती पुनःनिर्माणको अपेक्षा गरिएको बताउँदै नगर प्रमुख बादीले पहिलो चरणमा उद्धार र उपचार गरिएको, दोस्रो चरणमा जनप्रतिनिधिलाई परिचालन गरी राहत वितरण गरिने जानकारी दिए । उनका अनुसार सामूहिक रुपमा निश्चित ठाउँमा त्रिपाललगायतका सामग्री वितरण गरिनेछ ।

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार  ३ : ५२ बजे

उदयपुरको बेलका क्षेत्रमा सप्तकोशीको बाढी पस्यो, एक हजारबढी घर उच्च जोखिममा

उदयपुर– अविरल वर्षापछि जिल्लाको बेलका नगरपालिका–३ स्थित भाटेपुललगायत क्षेत्रमा सप्तकोशी

घाइतेको निःशुल्क उपचार गर्न सबै स्वास्थ्य संस्थालाई मन्त्रालयको निर्देशन

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै स्वास्थ्य संस्थालाई बाढी, पहिरो

अविकसित देशलाई सहयोग गर्न जी–७७ र चीनलाई परराष्ट्रमन्त्रीको आग्रह

काठमाडौं– परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले विश्वका अतिकम विकसित एवं

तीन जिल्लामा सेनाको हेलिकप्टर उद्धारमा प्रयोग

काठमाडौं– गृह मन्त्रालयले प्राकृतिक विपद्बाट प्रभावित तीन जिल्लामा नागरिकको खोज

वर्षाका कारण मेलम्चीको पानी आउने दिन अनिश्चित

काठमाडौं– मेलम्ची खानेपानी विकास समितिले दशैँअघि नै काठमाडौँ उपत्यकामा पुनः