विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


१८ कार्तिक २०८०, शनिबार  

पढ्न लाग्ने समय : 4 मिनेट


288
Shares
  • change font
  • change font
  • change font

आज कार्तिक १८,२०८० या अंग्रेजी क्यालेन्डर अनुसार नोभेम्बर ४, २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।

बङ्गलादेशमा आन्दोलनरत मजदुर र प्रहरीबीच झडप

बङ्गलादेशको राजधानी ढाकामा आन्दोलनरत मजदुर र प्रहरीबीच झडप भएको छ । मजदुरको ज्याला तीन गुणा बढाउन माग गर्दै सुरु भएको विरोध प्रदर्शनको अवज्ञा गर्दै कारखानाहरू पुनः सञ्चालनमा आएपछि शनिबार राजधानी ढाका नजिकै हडतालरत गार्मेन्ट मजदुर र प्रहरीबीच झडप भएको हो ।

बङ्गलादेशका करिब तीन हजार ५०० गार्मेन्ट कारखानाहरूले दक्षिण एसियाली देशको वार्षिक ५५ अर्ब अमेरिकी डलरको निर्यातको लगभग ८५ प्रतिशत हिस्सा ओगटेका छन् । बङ्गलादेशले लेभिज, जारा र एच एन्ड एमलगायत फेसन ब्राण्डमा विश्वभर तयारी पोशाक आपूर्ति गर्दछ । तर, यस क्षेत्रका ४० लाख कामदारमध्ये अधिकांशको अवस्था दयनीय छ ।

न्यून आयभउका कामदारमध्ये अधिकांश महिलाहरू छन् जसको मासिक ज्याला आठ हजार ३०० टाका (७५ अमेरिकी डलर) बाट सुरु हुन्छ । हडतालका कारण सबैभन्दा बढी प्रभावित क्षेत्रमा एक सातादेखि बन्द रहेका करिब ६०० व्यवसाय पुनः सञ्चालनमा आएको प्रहरीले जनाएको छ । तर राजधानी ढाकाको पश्चिममा रहेको औद्योगिक शहर आशुलियामा करिब १० हजार कामदारले आफ्ना सहकर्मीलाई सिफ्टमा फर्कन बाट रोक्ने प्रयास गरेपछि झडप भएको प्रहरीले जनाएको छ ।

आशुलियाका प्रहरी प्रमुख मोहम्मद सरोवर आलमले एएफपीसँग भने, “उनीहरूले अधिकारी र कारखानाहरूमाथि ढुङ्गा र इँटा प्रहार गरे र सडक अवरुद्ध गर्ने प्रयास गरे ।” “हामीले अश्रुग्यास प्रहार गरेर उनीहरूलाई तितरबितर पारेका छौँ”, उनले भने, “त्यहाँ र नजिकैको सावरमा एक हजार ५०० सुरक्षाकर्मी तैनाथ गरिएको छ ।”

स्थानीय प्रहरी प्रमुख सरवर आलमले ढाकाको उत्तरी क्षेत्रमा रहेको औद्योगिक क्षेत्र गाजीपुरमा एक सातासम्म चलेको हिंसात्मक प्रदर्शनपछि कामदारहरू आफ्नो सिफ्टमा फर्किएको बताए । उनले अहिले अवस्था शान्तिपूर्ण बनेको बताए । बङ्गलादेश गार्मेन्ट एण्ड इन्डस्ट्रियल वर्कर्स फेडेरेसनका अध्यक्ष कल्पोना अक्टेरले साताव्यापी विरोधप्रदर्शनका कारण ग्याप, वालमार्ट, एच एन्ड एम, जारा, इन्डिटेक्स, बेस्टसेलर, लेभिज, मार्क्स एन्ड स्पेन्सर, प्रिमार्क र एल्डीजस्ता विश्वका केही शीर्ष फेसन ब्रान्डको उत्पादन प्रभावित भएको बताएकी छिन् ।

प्रिमार्कका प्रवक्ताले डब्लिनस्थित फास्ट–फेसन रिटेलरले ‘आपूर्ति श्रृङ्खलामा कुनै व्यवधानको अनुभव नगरेको’ बताएका छन् । “हामी हाम्रा आपूर्तिकर्ताहरूसँग सम्पर्कमा छौं, जसमध्ये केहीले अस्थायी रूपमा आफ्नो कारखाना बन्द गरेका छन्,” प्रवक्ताले भने ।

म्यान्माको जातीय समूहद्वारा आक्रमण गरी थप चौकीमाथि कब्जा

म्यान्माको जुन्ता सरकारविरुद्ध मुलुकको उत्तरी क्षेत्रमा आफ्नो आक्रमणलाई तीव्रता दिएका त्यहाँका जातीय सशस्त्र समूहहरूले शनिबार केही चौकीमाथि कब्जा गरेको स्थानीय सञ्चारमाध्यमले बताएका छन् ।

संयुक्त राष्ट्रसङ्घका अनुसार यसै साता चीनको सीमा नजिक शान राज्यको ठूलो हिस्सामा लडाइँ बढेको छ । लडाइँका कारण २३ हजारभन्दा बढी मानिस आफ्नो घर छाड्न बाध्य भएका छन् ।

म्यान्मा नेसनल डेमोक्रेटिक अलायन्स आर्मी (एमएनडिएए), ता’आङ नेसनल लिबरेसन आर्मी (टिएनएलए) र अराकान आर्मी (एए) ले आफूहरूले दर्जनौँ चौकी र चार सहर कब्जा गर्नुका साथै चीन जाने महत्वपूर्ण व्यापारिक मार्ग अवरुद्ध पारेको बताएका छन् ।

टिएनएलएका लडाकूहरूले शनिबार उत्तरी शान राज्यको सबैभन्दा ठूलो सहर तथा सेनाको पूर्वी कमान्डको घर लासियो नजिकै सैन्य समर्थक मिलिसियाले नियन्त्रण लिएको दुई चौकीलाई कब्जामा लिएको स्थानीय अखबारले बताएका छन् ।

टिएनएलएले नम्हकममा करिब चार घन्टाको दुरीमा अग्रता कायम गरेको छ । “हामीले आज बिहान चार चौकी कब्जामा लियौँ, दुई वटा लासियो र अरु दुई वटा नम्हकमका थिए”, टिएनएलएका एक सदस्यले एएफपीलाई भने ।

एमएनडिएएले उसले पूर्वमा तीन सैन्य चौकी कब्जामा लिएको बताएको छ । जुन्ताले शनिबार भएको झडपका विषयमा कुनै प्रतिक्रिया दिएको छैन तर बिहीबार एक प्रवक्ताले सहयोगी जातीय सशस्त्र समूहहरूले शान राज्यका थुप्रै सरहमाथि कब्जा गरेको भन्ने दाबी ‘प्रचार’ का रूपमा मात्र भएको भन्दै अस्वीकार गरेका थिए ।

छिमेकी कचिन राज्यमा रहेको अर्को जातीय सशस्त्र समूह कचिन इन्डिपेन्डेन्स (केआइए) आफ्नो सेनामा भएको आक्रमणमा सामेल भएको र त्यसको प्रतिकार गर्ने जुन्ताले शनिबार बताएको छ । जुन्ताले चिनियाँ सीमामा केआइएको मुख्यालय रहेको सुदूर सहर लाइजामाथि गोलाबारी गरेको बताएको छ । जुन्ता प्रमुख मिन आङ ह्लाइङले यसै साता सशस्त्र समूहविरुद्ध सेनाले जवाफी कारवाही सुरु गर्ने वाचा गरेका थिए ।

गाजाको युएन स्कुलमा भएको इजराइली आक्रमणमा १५ को मृत्यु

शनिबार इजरायललले संयुक्त राष्ट्रसङ्घको एक स्कुलमा आक्रमणमा १५ जनाको ज्यान गएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार उक्त स्कूलमा हजारौँ विस्थापित प्यालेस्टिनीहरूले आश्रय लिइरहेका थिए ।

“आज बिहान इजरायलद्वारा अल–फखुरा स्कुलमा गरिएका नरसंहारमा १५ जना सहिद र ७० जना घाइते भएका छन्”, मन्त्रालयलका प्रवक्ता असरफ अल–कद्रले पत्रकार सम्मेलनमा भने । मन्त्रालयले यसअघि १२ जना मारिएको र ५४ जना घाइते भएको बताएको थियो ।

इजरायलका तर्फबाट तत्काल उक्त आक्रमणबारे कुनै प्रतिक्रिया आएको छैन र एएफपीले पनि स्वतन्त्ररूपमा मृतकहरूको सङ्ख्या पुष्टि गर्न सकेको छैन ।

प्यालेस्टिनी शरणार्थीहरूलाई सहयोग गर्ने संयुक्त राष्ट्रसङ्घीय सहायता एजेन्सी युनआरडब्लुएको तर्फबाट पनि तत्काल कुनै प्रतिक्रिया आएको छैन । बिहीबार गाजापट्टीमा युद्धबाट विस्थापित भएका मानिस बस्ने आफ्ना चारवटा स्कुल बमबारीले क्षतिग्रस्त भएको युनआरडब्लुएले बताएको थियो ।

पाकिस्तानमा सैन्य कारवाहीमा तीन सैनिक र दुई विद्रोही लडाकूको मृत्यु

पाकिस्तानको उत्तर पश्चिम खैबर पख्तुनख्वा प्रान्तमा भएको सैन्य कावरबाहीमा तीन पाकिस्तानी सैनिक तथा दुई विद्रोही लडाकूको मृत्यु भएको सेनाले जनाएको छ ।

पाकिस्तानी सेनाको जनसम्पर्क तथा सञ्चार शाखाले शुक्रबार राति अलग –अलग तीन स्थानहरूमा विद्रोही लडाकूसँग झडप भएको विज्ञप्तिमार्फत उल्लेख गरेको छ ।

शाखाले प्रान्तको डेरा इस्माइल खान जिल्लाको रोरी क्षेत्रमा गरिएको कारबाहीको क्रममा एक विद्रोही लडाकू मारिएको तथा अन्य दूई घाइते भएको बताएको छ ।

मारिएका विद्रोही लडाकू प्रतिबन्धित तेहरिक –ए– तालिबानसँग सम्बन्धित रहेको तथा उनीहरूले यस क्षेत्रमा उच्च ओहोदाका व्यक्तिमाथि आक्रमण गर्ने योजना बनाएको शाखाले जनाएको छ । त्यस्तै, डेरा इस्माइल खान जिल्लाको कुलाची क्षेत्रमा विस्पोटक पदार्थ विस्पोट हुँदा एक सिपाहीको घटनास्थलमा नै  मृत्यु भएको छ  ।

शाखाका अनुसार अर्काे कारबाहीमा प्रान्तको लक्की मारवत जिल्लामा विद्रोही लडाकूहरूसँगको गोलाबारीमा दुई सैनिक र एक विद्रोही लडाकूको मृत्यु भएको छ ।

औषधि कारखानामा आगलागी हुँदा सात जनाको मृत्यु

भारतको पश्चिमी राज्य महाराष्ट्रको एक औषधि कारखानामा भएको भीषण आगलागीमा परी कम्तीमा सात जनाको मृत्यु हुनुका साथै अन्य सात जना घाइते भएका अधिकारीहरूले शनिबार जानकारी दिएका छन् । आगलागीमा परी कैयौँ व्यक्ति हराइरहेको बताइएको छ ।

महाराष्ट्रको राजधानी मुम्बईबाट करिब १७७ किलोमिटर दक्षिणमा पर्ने रायगढ जिल्लामा रहेको महाराष्ट्र औद्योगिक विकास निगम (एमआईडीसी) महाडमा रहेको ब्लु जेट हेल्थकेयर कारखानामा शुक्रबार विस्फोट भएपछि आगलागी भएको थियो ।

यस घटनापछि अधिकारीहरूले अग्नि नियन्त्रक विभागका अधिकारीहरू र राष्ट्रिय प्रकोप प्रतिक्रिया बल (एनडीआरएफ) का कर्मचारीहरूलाई उद्धार कार्यका लागि घटनास्थलमा पठाएका थिए ।

“आज बिहानसम्म सात जनाको शव निकालिएको छ”, एक अधिकारीले भने, “घाइते भएका सात जनालाई अस्पताल भर्ना गरिएको छ । यसबाहेक बेपत्ताको खोजी कार्य जारी छ ।” अधिकारीका अनुसार विस्फोटको समयमा औषधि कारखानामा करिब दुई दर्जन मानिस उपस्थित थिए । घटनाको सम्बन्धमा अनुसन्धान शुरू भइसकेको प्रहरीले जनाएको छ ।

अमेरिकी चीन नीति प्रमुखद्वारा बेइजिङका उच्च अधिकारीसँग भेटवार्ता

चीन नीतिबारे अमेरिकाका उच्च अधिकारीले बेइजिङमा चिनियाँ सीमा प्रमुखसँग ‘रचनात्मक र स्पष्ट’ वार्ता गरेको अमेरिकी विदेश मन्त्रालयले शुक्रबार जनाएको छ ।

अमेरिकी विदेश विभागका चीन संयोजक तथा चीन र ताइवानका लागि उपसहायक मन्त्री मार्क बी ल्याम्बर्टले शुक्रबार सीमा तथा महासागर मामिलाका लागि चिनियाँ महानिर्देशक होङ लियाङसँग भेटवार्ता गरेका हुन् ।

“दुवै पक्षले दक्षिण चीन सागर र पूर्वी चीन सागरको अवस्थालगायत विभिन्न सामुद्रिक विषयमा ठोस, रचनात्मक र स्पष्ट छलफल गरेका छन्,” अमेरिकी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

दक्षिण चीन सागरमा बेइजिङको खतरनाक र गैरकानुनी गतिविधिप्रति अमेरिकाले चिन्ता व्यक्त गरेको छ, जसमा गत महिना चीनले दोस्रो थोमस शोलमा फिलिपिन्सको पुनः आपूर्ति मिसनमा ‘अवरोध’ गरेको र ‘अक्टोबर २४ मा अमेरिकी जहाजलाई असुरक्षित रूपमा रोकेको’ उल्लेख छ ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन र राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभान र चीनका विदेशमन्त्री वाङ यीबीच वासिङ्टनमा भएको वार्तापछि यो बैठक भएको हो ।

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार  ८ : १३ बजे

बागमतीसहित यी प्रदेशमा ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

महिला एसिया कप : आइतबार भारत र श्रीलंकाको फाइनल भिडन्त

काठमाडौं – एसिसी महिला एसिया कप क्रिकेटको फाइनलमा भारत र

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार