समाचार

पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्नुपर्छ : मुख्यमन्त्री अधिकारी

By खबरहब

February 05, 2023

कास्की – गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्नुपर्ने बताएका छन् ।

अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय पोखरा–१७ को २०औँ वार्षिकोत्सवको आज उद्घाटन गर्दै उनले प्राकृतिक सौन्दर्य एवं विभिन्न पर्यटकीय गन्तव्यका आधारमा पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न प्रदेश सरकारले पहल गर्ने बताए ।

पोखरा काठमाडौँपछि अत्यधिक सङ्ख्यामा पर्यटक आउने गरेको भन्दै उनले गण्डकी प्रदेशको समृद्धिको आधार पर्यटक भएको बताए। आरोहणको इतिहास रच्ने अन्नपूर्ण हिमालको काखमा अवस्थित पोखराको महत्त्वपूर्ण गन्तव्यका रूपमा रहेको पर्वतीय सङ्ग्रहालयको समग्र विकासमा प्रदेश सरकारका तर्पmबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै उहाँले यसको विकासमा सबैको साथ र सहयोग रहने विश्वास व्यक्त गरे ।

सङ्ग्रहालय सभ्यताको पहिचान भएको उल्लेख गर्दै मुख्यमन्त्री अधिकारीले हिमाल र हिमालीका गतिविधिबारे एउटै छानामुनि अध्ययन अवलोकन गर्न सकिने पर्वतीय सङ्ग्रहालयले सहासिक पर्यटक प्रवर्द्धन महत्त्वपूर्ण भूमिका खेल्दै आएको बताए ।