विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


२२ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : 5 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

आज चैत २२, २०७९, अंग्रेजी क्यालेन्डर अनुसार अप्रिल ५, २०२३ । तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन्:

भारतमा मन्दिरकाे ट्याङ्कीमा डुबेर पाँच जनाको मृत्यु

भारतको दक्षिणी राज्य तामिलनाडुमा धार्मिक अनुष्ठान (स्नान) गर्ने क्रममा बुधबार एक मन्दिर नजिकैको सार्वजनिक ट्याङ्कीमा डुबेर पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

तमिलनाडुको राजधानी चेन्नईको नानगानल्लुर क्षेत्रमा रहेको धर्मलिङ्गेश्वर मन्दिर नजिकै उक्त घटना भएको हो ।

पङ्गुनी उथिराम (तमिल पर्व) उत्सवको एक भागको रूपमा भक्तजनहरू स्नानका लागि ट्याङ्कीमा भेला भएका थिए ।

चेन्नईका प्रहरी आयुक्त शंकर जिवाललाई उद्धृत गर्दै स्थानीय टेलिभिजन च्यानल एनडिटिभीले भनेको छ- ‘के गलत भयो वा धार्मिक स्थानमा नियमको पालना भयो कि भएन भनेर हामी अनुसन्धान गरिरहेका छौँ ।’

एक हप्ताभन्दा कम समयमा भारतको कुनै मन्दिर नजिकै भएको यो दोस्रो घातक घटना हो ।

गत साता मध्य प्रदेशको इन्दोर शहरमा एक मन्दिरभित्रको कुवाको छाना भत्किँदा ३६ जनाको मृत्यु भएको थियो भने एक दर्जनभन्दा बढी घाइते भएका थिए । हिन्दू धर्मावलम्बीको महान् पर्व रामनवमी मनाउन भक्तजनको भीड लागेको समय उक्त दुःखद घटना भएको थियो ।

राजा चार्ल्सकाे राज्याभिषेक मे ६ मा

राजा चार्ल्स तृतीयको आगामी मे ६ तारिखमा लण्डनकाे वेस्टमिनिष्टर गिर्जाघरमा राज्याभिषेक हुने भएको छ । सात दशकपछि देशमा राज्याभिषेकको तयारी द्रुत गतिमा भइरहेको छ । राज्याभिषेक समारोह तीन दिनसम्म मनाइने छ । वेस्टमिनिष्टर एबेमा विगत नौ सय वर्षदेखि राज्याभिषेक समारोह हुँदै आएका छन् ।

गत सेप्टेम्बरमा महारानी एलिजावेथ द्वितीयको निधन भएपछि राजसिंहासन सम्हालेका राजा चार्ल्सको राज्याभिषेकको निमन्त्रणापत्रमा ‘क्विन कन्सोर्ट’ पदवी पाएकी क्यामिलालाई रानीको दर्जा दिइएको छ । उनले पनि सोही समारोहमा रानी मेरीको मुकुट लगाउने छिन् । राजा जर्ज पाँचौँसँगै रानी मेरीले उक्त मुकुट सन् १९११ पहिरिएकी थिइन् । विश्व इतिहासमा ७० वर्ष राजसिंहासन सम्हाल्ने कीर्तिमान महारानी एलिजावेथका नाममा दर्ज भएको छ ।

वकिङघम राजप्रासादले आज सार्वजनिक गरेको निमन्त्रणासम्बन्धी एक विवरणअनुसार राज्याभिषेक समारोहमा दुई हजार पाहुनालाई आमन्त्रण गरिने छ । राजाप्रसादले आमन्त्रण हुने व्यक्तिको सूची जारी गरेको छैन । राजा चार्ल्सले राजमुकुट लगाउने समारोह उनकी आमाको सन् १९५३ मा भएको राज्याभिषेक समारोहभन्दा छोटो हुनेछ ।

महारानी एलिजावेथको राज्याभिषेक समारोह करिब तीन घण्टा चलेको थियो भने त्यसमा एक सय २९ राष्ट्रका आठ हजार दुई सय ५१ देश र क्षेत्रका प्रतिनिधिले भाग लिएका थिए । दुई हजार पाहुनाले भाग लिने राजा चार्ल्सको राज्याभिषेक करिब एक घण्टा चल्नेछ । राजप्रासादले रानी क्यामिला र राजा चाल्र्सको औपचारिक तस्बिर र निमन्त्रणापत्र पनि सार्वजनिक गरेको छ ।

बीबीसी लगायत विश्वका प्रमुख विद्युतीय सञ्चारमाध्यमबाट प्रत्यक्ष प्रसारण हुने राज्याभिषेक समारोह स्वयम् उपस्थित भएर हेर्न संसारभरका देशबाट राजनेता, राष्ट्र तथा सरकार प्रमुख, राजा रानी एवम् राजपरिवारका सदस्य, विश्वका विभिन्न देशका प्रतिष्ठित व्यक्ति उपस्थित हुनेछन् ।

यसैबीच, मोनाकोका राजकुमार अल्बर्ट, जापानका राजकुमार फुमिहितो र उनकी भार्या किकोलगायत केही विदेशी राजपरिवारले समारोहमा उपस्थित हुने जनाएका छन् । अमेरिकाको प्रतिनिधित्व प्रथम महिला जिल बाइडेनले गर्ने भएकी छिन् ।

विविध सांस्कृतिक कार्यक्रमका साथ धूमधामका साथ मनाइने राज्याभिषेक समारोहमा एक दिन अर्थात् मे आठमा बेलायतभर सार्वजनिक बिदा दिने छ ।

फ्रान्सका राष्ट्रपति म्याक्रोँ चीन भ्रमणमा

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँ चीन पुगेका छन् । तीनदिने राजकीय भ्रमणका लागि उनी चीन पुगेका हुन् ।

उनले शान्ति स्थापना गर्न चीनले प्रमुख भूमिका निर्वाह गर्नसक्ने बताएका छन् । चीन पुगेपछि दिएको पहिलो सार्वजनिक अभिव्यक्तिमा उनले शान्ति स्थापनाका लागि चीनले प्रमुख भूमिका खेल्नसक्ने बताएका हुन् ।

राजधानी बेइजिङमा आयोजित फ्रान्सेली नागरिकहरूसँगको अन्तरक्रियामा राष्ट्रपति म्याक्रोँले शान्ति र स्थायित्वको साझा जिम्मेवारीका निम्ति फ्रान्स सदैव तत्पर रहेको बताए ।

युरोपेली मुलुकले चीनसँगको व्यापारिक सम्बन्धलाई सुदृढ गर्नुपर्नेमा जोड दिँदै फ्रान्सेली राष्ट्रपतिले उनीहरू आर्थिक रूपमा चीनबाट अलग नहुने विचार व्यक्त गरे । उनले फ्रान्सको प्रमुख व्यापारिक साझेदार चीनसँगको व्यावसायिक सम्बन्धलाई निरन्तरता दिन आफू प्रतिबद्ध रहेको बताए ।

बुधबार चीन पुगेका राष्ट्रपति म्याक्रोँले आफ्ना चिनियाँ समकक्षी सी जिन्पिङसँग ग्रेट हल अफ द पिपलमा हुने भेटवार्तामा युक्रेनमा जारी युद्ध, युद्ध समाधानका निम्ति शान्तिको मार्ग पहिल्याउने तथा द्विपक्षीय सम्बन्धलाई घनिष्ठ बनाउनेबारे छलफल गर्ने फ्रान्सेली राष्ट्रपतिको कार्यालयका एक अधिकारीले पत्रकारहरूलाई बताएका छन् ।

युक्रेन युद्धलाई लिएर अमेरिकाबाट प्रायः प्रतिध्वनित हुने टकराव र मुठभेड भन्दा कूटनीतिक प्रयास र समाधानका बेग्लै प्रस्ताव राष्ट्रपति म्याक्रोँले अघि सार्ने उनले बताएका छन् । युरोपसँगको चीनको व्यापार सम्बन्धको संरक्षण, प्रवर्द्धन एवम् सन्तुलन, एशिया–प्रशान्त क्षेत्रमा फ्रान्सेली हितको रक्षालाई केन्द्रमा राखेर समकक्षी सीसँग राष्ट्रपतिले विचार विमर्श गर्ने उनले बताएका छन् ।

बेइजिङ भ्रमणको पूर्वसन्ध्यामा फ्रान्सेली राष्ट्रपतिले आफ्ना अमेरिकी समकक्षी जो बाइडेनसँग आफ्नो चीन भ्रमणलगायत द्विपक्षीय चासोका विषयमा टेलिफोनवार्ता गरेको अमेरिकी राष्ट्रपतिको कार्यालयले जनाएको छ । बेइजिङ भ्रमणको पूर्वसन्ध्यामा फ्रान्सेली राष्ट्रपतिले आफ्ना अमेरिकी समकक्षी जो बाइडेनसँग आफ्नो चीन भ्रमणलगायत द्विपक्षीय चासोका विषयमा टेलिफोनवार्ता गरेका थिए ।

युक्रेन युद्धको अन्त्य तथा त्यहाँ दिगो शान्ति स्थापना गराउन चिनियाँ संलग्नता आवश्यक भएकामा दुवै देशका नेताले जोड दिएका फ्रान्सेली राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

पूर्वराष्ट्रपति ट्रम्पविरुद्ध ३४ गम्भीर अपराधका अभियोग

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध अश्लील चलचित्रकी नायिकसँगको यौनसम्बन्ध दबाउन भारी रकम भुक्तानी गरेको, झुटा व्यावसायिक विवरण तयार पारेकोलगायत ३४ वटा गम्भीर अपराधका अभियोग लगाइएको छ ।

न्युयोर्कको एक अदालतले सन् २०१६ मा भएका ती घटनालाई लिएर मंगलबार पूर्वराष्ट्रपति ट्रम्पविरुद्ध ती अभियोग लगाएको हो । अदालतमा उपस्थित उनले ती अभियोगहरूमा आफू दोषी नरहेको दाबी गरेका छन् ।

सन् २०१६ को राष्ट्रपतीय निर्वाचनअघि अश्लील चलचित्रकी नायिका स्टोर्मी डेनियल्ससँग यौन सम्पर्क गरेको र त्यसलाई दबाउन राष्ट्रपतिका प्रत्याशी ट्रम्पले उनलाई एक लाख ३० हजार अमेरिकी डलर दिएको अभियोग लगाइएको छ । डेनियल्सले आफूसँग सन् २००६ मा ट्रम्पले यौन सम्बन्ध कायम गरेको र त्यसलाई गोप्य राख्न रकम दिएको दाबी गरेकी छन् ।

उनको औँठा छापमात्र लिइएको थियो । कानून व्यवसायीले विश्व प्रख्यात उनको अनुहारको तस्बिर लिन आवश्यक नभएको बताएका थिए । अभियोजकहरूले पनि उनको तस्बिर नलिई ट्रम्पलाई अदालतमा प्रस्तुत गरेका थिए । उनलाई हतकडी पनि लगाइएको थिएन । अदालतमा उनी आफ्ना कानून व्यवसायीहरूसँगै बसेका थिए । अदालतमा उनी शान्त तर गम्भीर देखिन्थे । करिब एक घण्टाको सुनुवाईपछि उनी अदालतबाट बाहिरिएका थिए ।

अदालतबाट बाहिरिनेबित्तिकै ट्रम्प फ्लोरिडा फर्किएका छन् । अदालतबाट बाहिरिँदा उनका समर्थकहरूले उनीमाथि लगाइएका अभियोग र मुद्दा देशको अपमान भएको टिप्पणी गरेका थिए । आफूमाथिको मुद्दा राजनीतिक रूपमा प्रेरित भएको भन्दै उनले न्यायाधीश र अभियोजकहरूको पनि आलोचना गरे । बिना प्रमाण आफूमाथि दोष लगाइएको दाबी पनि उनले गरे। ‘अमेरिकामा यस्तो हुनसक्छ भन्ने मैले कहिल्यै कल्पना पनि गरेको थिइनँ । आगामी राष्ट्रपतीय चुनावलाई प्रभावित पार्न यो झुटा मुद्दा लगाइएको हो । यो तत्काल खारेज हुनुपर्छ,’ उनले भने ।

न्यायाधीश जुआन मर्चनले उनीमाथि कुनै आदेश जारी नगरे पनि दुवै पक्षलाई संयमित भएर शिष्ट भाषामा ध्यान आग्रह गरे । उनले आफूमाथि लगाइएको मुद्दाविरुद्धको आगामी अगष्टसम्ममा प्रस्ताव पेश गर्नुपर्नेछ । अदालतको अर्को सुनुवाइ डिसेम्बरमा हुनेछ ।

पूर्वराष्ट्रपति ट्रम्पमाथि अरू मुद्दा पनि लाग्न सक्ने सम्भावना छ । उनीमाथि जर्जिया राज्यमा सन् २०२० को राष्ट्रपतीय निर्वाचनको नतिजामा हस्तक्षेपको प्रयास गरेको तथा अमेरिकी कंग्रेसमा जनवरी ६ मा दङ्गा गराएको सम्बन्धमा पनि अनुसन्धान भइरहेको छ । साथै उनको फ्लोरिडास्थित घरमा फेला परेका गोप्य दस्तावेजलाई लिएर पनि थप मुद्दा लाग्न सक्ने बताइएको छ ।

केदारनाथ मन्दिर वैशाख १२ देखि खुल्ने

आगामी वैशाख १२ गतेदेखि केदारनाथ धाम भक्तजनका लागि खुला गरिने भएको छ ।

उत्तराखण्ड राज्यको पर्यटन विभागका अनुसार तीर्थयात्रीको सुविधालाई दृष्टिगत गरी भारतीय रेलवे र पर्यटन निगमलाई अनलाइन बुकिङको अनुमति दिइएको छ ।

उत्तराखण्ड पर्यटन विकास परिषद्ले गत महिनाको प्रारम्भमा नै आगामी चारधाम तीर्थयात्राका लागि छ लाख ३४ हजार भक्तजन दर्ता भइसकेका जनाएको छ । सरकारी अधिकारीहरूले हिँडेर वा हेलिकप्टरबाट पनि केदारनाथ मन्दिरको यात्रा गर्न सकिने बताएका छन् ।

परिषद्का अनुसार केदारनाथ यात्राका लागि दुई लाख ४१ हजार र बद्रीनाथका निम्ति दुई लाख एक हजार, यमनोत्री जान ९५ हजार एक सय सात जना र गङ्गोत्रीको यात्राका निम्ति ९६ हजार चार सय ४९ जनाले आवश्यक प्रक्रिया पूरा गरेका छन् ।

उत्तरखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले तीर्थयात्रीको स्वास्थ्यलाई उच्च प्राथमिकता दिँदै विभिन्न स्थानमा स्वास्थ्यकर्मीको टोली खटाइने बताएका छन् । यात्रा मार्गका ठाउँ ठाउँमा भक्तहरूको स्वास्थ्य परीक्षण गरिने उनले बताएका छन् ।

यसैबीच, रुद्रप्रयाग जिल्ला प्रशासनले चारधाम यात्रामा आउने श्रद्धालुको सुविधाका निम्ति विभिन्न शिविर स्थापनालगायत आवश्यक तयारी गरिरहेको छ । उत्तराखण्डको चारधाम यात्रा भारतको सबैभन्दा लोकप्रिय हिन्दु तीर्थस्थल मानिन्छ ।

इरानद्वारा युएई लागि राजदूत नियुक्त

इरानले संयुक्त अरब इमिरेट्स युएई लागि आफ्ना राजदूत नियुक्त गरेको छ । यससँगै विगत सात वर्षदेखि इरान र युएईबीच चिसिएको कूटनीतिक सम्बन्ध पुनः हार्दिकतातर्फ फर्किएको छ ।

इरानले मङ्गलबार युएईका लागि नयाँ राजदूत नियुक्त गरेको हो । इरानी विदेश मन्त्रालयको प्रवासी विभागमा महानिर्देशकका रूपमा काम गरेका रेजा अमेरीलाई युएईका निम्ति राजदूत नियुक्त गरिएको इरानी सञ्चारमाध्यमले जनाएका छन् । सन् २०१६ पछि इरानले युएईका लागि पहिलो राजदूत नियुक्त गरेको हो ।

साउदी अरबले एक जना प्रख्यात शिया धर्मगुरूलाई मृत्युदण्ड दिएपछि इरानी प्रदर्शनकारीले तेहरानस्थित साउदी दूतावासमा आक्रमण गरेका थिए । त्यसको विरोधमा साउदीले आफ्ना राजदूतलाई फिर्ता बोलाएर इरानसँगको सम्बन्ध तोडेको थियो । इरान र साउदीबीचको द्वन्द्वले खाडी क्षेत्रको स्थायित्व र सुरक्षालाई खतरामा पार्नाका साथै मध्यपूर्वमा द्वन्द्व बढाएको थियो ।

गत महिना चीनको मध्यस्थतामा साउदी अरब र इरानबीच कूटनीतिक सम्बन्ध पुनः स्थापना गर्नेसम्बन्धी सम्झौता भएको थियो । इरानसँग एक शताब्दीभन्दा लामो समयदेखि व्यापारिक सम्बन्ध रहेको युएईले तेहरानसँगको सम्बन्धलाई पुनः नवीकरण गरेको हो ।

यसैबीच, साउदी अरब र इरानका शीर्ष कूटनीतिज्ञहरूले भोलि बिहीबार बेइजिङमा वार्ता गर्ने भएका छन् । खाडी क्षेत्रका दुई प्रतिद्वन्द्वी मुलुकले चीनको सक्रियतामा हालै भएको सम्झौता कार्यान्वयन गर्ने नयाँ चरणका योजनाबारे छलफल गर्ने बताइएको छ ।

राजकुमार फैसल बिन फरहान अल साउद र उनका इरानी समकक्षी होसेन अमिर अबदुल्लाहियानबीच भोलि हुने भेटवार्ता सात वर्षपछिको पहिलो औपचारिक बैठक हुनेछ ।

प्रकाशित मिति : २२ चैत्र २०७९, बुधबार  ८ : ०० बजे

बुधबार नेपालभर सार्वजनिक बिदा

काठमाडौं – गृह मन्त्रालयले ‘जेनजी’ आन्दोलनका क्रममा ज्यान गुमाउनेहरूको सम्मानस्वरूप

कर तिर्ने समय एक महिना थप

काठमाडौं – सरकारले कर तिर्ने समय एक महिना थप गरेको

घटस्थापनादेखि असोज २२ सम्म सार्वजनिक यातायातलाई रुट परमिट खुला

काठमाडौं – घटस्थापनादेखि असोज २२ गतेसम्म सार्वजनिक सवारीसाधनलाई नेपालभर लागू

आजका समाचार : अन्तरिम सरकारमा ११ जनामात्रै मन्त्री, दलहरू पार्टी भवन बनाउने योजनामा र गाजामा इजरायली सेनाको व्यापक आक्रमण

कार्की सरकारमा ११ जनामात्रै मन्त्री हुनेअन्तरिम सरकारी प्रधानमन्त्री सुशीला कार्कीले

लुटिएका सामग्री फिर्ता नगरे कानुनी कारबाही गरिने

गण्डकी – ‘जेन-जी’ आन्दोलनका क्रममा पोखरा महानगरपालिका र मातहतका कार्यालयबाट