बुद्धको ज्ञान, आदर्श र शान्तिको मार्ग विश्वभरि नै अद्वितीय छ : प्रधानमन्त्री | Khabarhub Khabarhub

बुद्धको ज्ञान, आदर्श र शान्तिको मार्ग विश्वभरि नै अद्वितीय छ : प्रधानमन्त्री


२२ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 4 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गौतम बुद्धको ज्ञान, आदर्श र शान्तिको मार्ग विश्वभरि नै अद्वितीय रहेको बताएका छन् । 

२५६७औं बुद्धजयन्तीको अवसरमा शुक्रबार लुम्बिनीमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले २५६७ वर्षअघि नेपालको लुम्बिनीमा जन्मिएका बुद्धको ज्ञान, आदर्श र शान्तिको मार्ग विश्वभरि नै अद्वितीय रहेको बताएका हुन् । 

बुद्ध भौतिकवादी र द्वन्द्ववादी दुवै रहेका बताएका प्रधानमन्त्री प्रचण्डले  वर्गीय समाज र दुःखको सार्वभौम चरित्रको वस्तुगत धरातलमा उभिएर बुद्धले भिक्षु संघको परिकल्पना र अभ्यास दुबै गरेका बताए । 

दर्शनको क्षेत्रमा मात्र नभएर चिन्तन र समाज विज्ञानको क्षेत्रमा बुद्धको योगदान विश्वव्यापी रूपमा सर्वमान्य रहेको बताउँदै उनले   पूर्वीय दर्शन र सभ्यताको पछिल्लो युगमा बुद्ध सबैभन्दा प्रख्यात र मान्य व्यक्तित्व भएका धारणा राखे ।

पूर्णपाठ

२५६७ औं बुद्ध जयन्ती तथा लुम्बिनी दिवस २०८० समारोहका सभापतिज्यू,

स्वदेश तथा विदेशका संघ गण,

माननीय मन्त्रीज्यूहरू,

माननीय मुख्यमन्त्रीज्यू,

राज्यमन्त्रीज्यू,

सांसदज्यूहरू,

प्रदेश सरकारका मन्त्रीज्यूहरू,

प्रदेश सभाका सदस्यज्यूहरू

महामहिम राजदुतज्यूहरू,

सञ्चारकर्मी मित्रहरू,

उपस्थित आदरणीय महानुभावहरू ।

इशापूर्व ६२३ मा शाक्यमुनि बुद्धको जन्म लुम्बिनीको सुन्दर बगैँचामा भयो । नेपाली भूमिमा बुद्धको जन्म नेपाल र नेपालीका लागि गर्वको विषय हो । उहाँको जन्मले नेपाललाई विश्वमा चिनारी मात्रै नभई धार्मिक पर्यटनको माध्यमबाट असीमित सम्भावनासमेत उपलब्ध गराएको छ । संसारभरिका चार अर्बभन्दा बढी बौद्ध समुदायले जीवनमा एकपटक आउनैपर्ने पवित्रस्थलका रूपमा रहेको लुम्बिनीको सम्भाव्यता कति होला ? अन्दाज गर्न पनि गाह्रो छ । तर अनुमान मात्रै गर्दा पनि एकसाथ श्रद्धा र आनन्दको अनुभूति हुन्छ । प्रचुर सम्भावना हुदाँहुदै पनि ती सम्भावनालाई सदुपयोग गर्न नसक्नु हाम्रो कमजोरी हो । वर्तमान सरकारले यस तथ्यलाई ह्रदयङ्गम गरी कार्य अगाडि बढाउने छ ।

तत्कालीन पाल्पाका गभर्नर जनरल खड्गशम्शेर र जर्मन पुरातत्त्वविद् एलियस फुहररले जंगलको बीचमा सन् १८९६ मा प्रस्तर स्तम्भ फेला पारे । उक्त स्तम्भको उत्खनन गर्दा स्तम्भमा शिलालेख देखियो । ब्राम्ही लीपि र पाली भाषामा उत्कीर्ण गरिएको उक्त शिलालेखको अनुवाद भएपछि उक्त स्तम्भ रहेको लुम्बिनी नै शाक्यमुनि बुद्धको जन्मस्थल भएको तथ्य पत्ता लाग्यो । लुम्विनी अशोक स्तम्भको शिलालेखको दोस्रो हरफको अंश – ‘हिद बुधेजाते शाक्यमुनिति’अर्थात् ‘यहाँ शाक्यमुनि बुद्धको जन्म भयो’ र चौंथो हरफको अंश ‘हिदे भगवान जातेति लुमिनी गामे’ अर्थात् ‘यस लुम्बिनी गाउँमा भगवानको जन्म भएकाले’ भन्ने वाक्यांशहरूबाट शाक्यमुनि बुद्धको जन्म लुम्बिनीमा भएको प्रमाणित हुन्छ । त्यति मात्रै होइन यस लुम्विनी स्तम्भले शाक्यमुनि बुद्ध केवल पौराणिक मात्र नभई ऐतिहासिक व्यक्तित्व हुनुहुन्थ्यो भन्नेसमेत प्रस्ट्याउँछ

सम्राट अशोकले ईशापूर्व २४९ मा शाक्यमुनि बुद्धको जन्मस्थल लुम्बिनी, क्रकुछन्द बुद्धको जन्मस्थल गोटीहवा र कनकमुनी बुद्धको जन्मस्थल निग्लिहवामा शिलालेखसहितको एक–एक वटा गरी जम्मा ३ वटा स्तम्भ स्थापना गर्नुभयो । ती स्तम्भका शिलालेख, चिनिँया तीर्थयात्रीहरूका यात्रा वृत्तान्त, पुरातात्विक उत्खनन समेतबाट नेपालको रूपन्देही र कपिलवस्तु जिल्लामा ३० किलोमिटरको दूरीभित्र ३ वटा बुद्धको जन्म भएको भन्ने तथ्य प्रमाणित भयो । साथै नवलपरासी जिल्लामा अवस्थित रामग्रामको स्तुपमा शाक्यमुनि बुद्धको अस्तुधातु संरक्षित रहनुले वृहत्तर लुम्विनीलाई बुद्धहरूको भूमि बनाएको छ । यस्तो तीर्थस्थल जहाँ एक घण्टाको यात्रावाट ३ वटा बुद्धको जन्मस्थल पुग्न सकिन्छ, संसारमा कहिँ पनि छैन । त्यसैले बृहत्तर लुम्बिनी क्षेत्र सर्वोत्कृष्ट बौद्ध तीर्थस्थल हो भन्दा अतिसयोक्ति हुँदैन । बर्तमान सरकार बृहत्तर लुम्बिनी क्षेत्रमा रहेका ऐतिहासिक सम्पदाहरूको संरक्षण गर्दे दिगो विकासका लागि बृहत्तर लुम्बिनी गुरुयोजनाको कार्य थालनी गर्न तत्पर छ ।

सम्पूर्ण मानव जातिको साझा धरोहर तथा विश्व सम्पदा पवित्र लुम्बिनीको द्रुत विकासका लागि सरकारले लुम्विनीलाई राष्ट्रिय गौरवको आयोजनामा सामेल गरी लुम्बिनी गुरुयोजनाको कार्य अगाडि बढाइरहेको छ । अन्तर्राष्ट्रिय दातृराष्ट्र तथा संघ संस्थाहरूको समेत सहयोग तथा सहभागितामा सरकारले कपिलवस्तु क्षेत्र, देवदह क्षेत्र तथा रामग्रामको पुरातात्विक उत्खनन्, संरक्षण, प्रवद्र्धन तथा विकास गरी स्थानीयबासीलाई विकासको प्रतिफल दिलाउन भगिरथ प्रयत्न गर्नेछ ।

नेपाल सरकारले २०६८ सालमा गठन गरेको बृहत्तर लुम्बिनी राष्ट्रिय निर्देशक समितिकोे अध्यक्षको हैसियतमा प्रतिनिधिमण्डलको नेतृत्व गर्दै म न्युयोर्क पुगेर संयुक्त राष्ट्रसंघका तत्कालिन महासचिव बान कि मुनसँग समेत बृहत्तर लुम्बिनी क्षेत्रको दिगो विकासका लागि छलफल गरेको स्मरण गर्दछु । सम्भावित विश्व सम्पदा सूचीमा सन् १९९६ देखि सूचीकृत प्राचीन कपिलवस्तुको राजधानी शहर तिलौराकोट क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचिकृत गर्ने प्रक्रियालाई राष्ट्रिय प्राथमिकतामा राखी प्राचीन स्मारक संरक्षण क्षेत्र घोषणा गरिसकिएको छ । यस सन्दर्भमा सरकारको प्रयत्न र अभियानमा सहयोग गर्न म स्थानीय तथा सरोकारवालाहरूलाई अपिल गर्दछु ।

पूर्वीय सभ्यताको आलोकको रूपका आधुनिक विकासका उपलब्धिले मानवीय विवेक र चिन्तन धारा ध्वस्तप्रायः भइसकेको आजको समयमा अहिंसावादी बौद्ध दर्शनको सान्दर्भिकता अझ बढ्दै गएको छ । संसारका प्रायः सबै धर्म–संस्कृतिले जीवन र जगत्को सारतत्व मनन गरेर उज्यालो पक्षको अनुसरण गर्न प्रेरित गर्छन् । दार्शनिक दृष्टिले यस दर्शनको सबैभन्दा महत्वपूर्ण विषय प्रतीत्य–समुत्पाद हो । यसको शाब्दिक अर्थ हो, सापेक्ष कारणतावाद अर्थात् कुनै एक वस्तुको उपस्थितिमा अर्को वस्तुको उत्पत्ति हुनु । शून्यता र भविता अर्थात् केही नहुनुको भावार्थमा केही हुनु भन्ने आयामको गहनतालाई प्रतीत्य–समुत्पादले बुझाउँछ ।

अस्तित्व सत्ताको स्वरूप अस्ति वा नास्ति अर्थात् भए वा नभए, छ वा छैन, दुवै छ वा दुवै छैन भन्ने भावको चतुष्कोटी सिद्धान्तलाई वस्तुको यथार्थ स्वभाव हो भनी बौद्ध माध्यमिक दर्शनका प्रणेता आचार्य नागार्जुनले परिभाषित गरेका छन् । अनात्मा र अनित्यलाई स्वीकार गर्ने वैभाषिक र सौत्रान्तिक सिद्धान्तले वस्तुको परिवर्तित गुणलाई स्वीकार गर्छ । बलिरहेको दीपशिखाको अनन्त ज्योति र प्रवाहमय नदीको अनन्त धाराको परिवर्तित अस्तित्वको लक्षणार्थमा विज्ञान सत्ताको क्षणिकतालाई बोध गराउने भएकाले प्रतीत्य–समुत्पादलाई अनित्यवाद र क्षणिकवाद पनि भनिन्छ । अस्तित्वको अनित्यतालाई प्रतीत्य–समुत्पादबाट प्रमाणित गर्न सकिन्छ । वस्तुको स्वभाव क्षण, प्रतिक्षण परिवर्तन भइरहने भएकाले नै अनित्यवादलाई क्षणिकवाद भनिएको हो । दार्शनिक दृष्टिले प्रतीत्य–समुत्पादभित्र ३ दाशर्निक पक्ष छन्, अनीश्वरवाद, अनित्यवाद र क्षणिकवाद ।

पूर्वीय समाज र दर्शनको विकास प्रक्रिया विश्व मानचित्रमा नै अग्रणी मानिँदै आइएको छ । पूर्वीय सभ्यता, दर्शन र चिन्तन परम्पराका दृष्टिले हामी वैशवशाली र गौरवशाली दुबै छौँ । किराँत दर्शन, बुद्ध दर्शन, षड्दर्शन लगायतका नेपाली दर्शनहरूमा भौतिकवादी चेत, गतिको नियम, नैतिक शिक्षा र जीवन मूल्यका अनगिन्ती आयामहरू छन् । तिनीहरूको वैज्ञानिक खोज एवं अनुसन्धानका आधारमा नेपाली दर्शनको संरक्षण, प्रवर्धन एवं विकासका निम्ति नेपाली बौद्धिक समुदायले विशेष पहल लिन आवश्यक छ । हाम्रो आफ्नो मौलिक दर्शन र चिन्तन परम्परालाई नजरअन्दाज गरेर हाम्रो दर्शन, सभ्यता र समृद्धिको यात्रामा सफलता प्राप्त गर्न पनि सकिँदैन । ज्ञान र दर्शनको कुनै राष्ट्रिय सीमा हुँदैन, मानवजातिले विश्वभरि आर्जन गरेका ज्ञान र अनुभवहरू हामी सबैका साझा सम्पत्ति र गौरवसमेत हुन्, यद्यपि हामीले हाम्रो विशिष्टता र मौलिकताको सम्वर्धन र विकास गरेर मात्र ज्ञानविज्ञानको क्षेत्रमा नयाँ पहल लिन सक्छौँ ।

मौर्य वंशका चक्रवर्ती राजा अशोक युद्धबाट शान्तिको मार्ग अनुशरण गर्दा जीवनको उत्तरार्धमा बुद्धका अनुयायी भएको प्रसङ्ग हाम्रो सन्दर्भमा विशेष स्मरणीय छ । नेपाली समाजको आमूल परिवर्तनको आकांक्षासहित सुरू गरिएको महान् जनयुद्ध संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनासहित शान्तिप्रक्रियामा रूपान्तरण हुनु, क्रान्तिको नेतृत्व गरेको पार्टी र त्यसको नेतृत्वले विस्तृत शान्ति सम्झौतामार्फत् क्रान्ति र शान्तिलाई एकअर्काको परिपुरकका रूपमा व्यवहारसिद्ध गर्नु तथा राजनीतिक, आर्थिक, सामाजिक रूपान्तरणको सफल नेतृत्व गर्नुले बुद्धका शिक्षाहरूबाट हामी प्रभावित मात्र होइन, हाम्रो विशिष्टता र मौलिकतामा देश र जनताको सार्वभौम हितका निम्ति अनुशरणसमेत गरिरहेका छौँ भन्न सकिन्छ । तर, यसलाई जसरी विश्लेषण र संश्लेषण गरेर विश्वशान्तिका निम्ति स्वामित्व लिनुपथ्र्यो, त्यसमा कतै हामी चुकिरहेका त छैनौँ भन्ने अनुभूत हुन्छ । यसतर्फ ध्यान दिन म बौद्धिक समुदायलाई अपील पनि गर्दछु ।

अन्त्यमा २५६७ औं बुद्ध जयन्ती एवं लुम्बिनी दिवस २०८० सफल पार्न मन, वचन र कर्मले सहयोग गर्ने सम्पूर्ण स्वदेशी तथा विदेशी महानुभावहरूलाई हार्दिक आभार प्रकट गर्दै स्वदेशी तथा मित्र राष्ट्रहरूका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूलाई सुःख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दै विदा हुन्छु, धन्यवाद ।

 

प्रकाशित मिति : २२ बैशाख २०८०, शुक्रबार  १२ : ४० बजे

त्रिभुवन विमानस्थल क्षेत्रमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही हुने

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई आवागमन हुने तथा आसपासको क्षेत्रमा

श्रीलंकामा दिसानायकेले राष्ट्रपतिको शपथ लिँदै गर्दा नेपाल छिरेका राजापाक्षे लुम्बिनी पुगे

काठमाडौं- कोलम्बोमा नवनिर्वाचित वामपन्थी रास्ट्रपति अनुरा कुमारा दिसानायकेले शपथ लिँदै

जेलेन्स्कीलाई भेटेपछि ट्रम्पले भने- युक्रेनमा रूसको युद्ध समाप्त गर्ने समय आयो

काठमाडौं– दोस्रो कार्यकालका लागि अमेरिकी राष्ट्रपतिको दौडमा रहेकाडोनाल्ड ट्रम्पले शुक्रबार

त्रिशुलीमा फसेका थप एउटा टिप्पर र दुई स्काभेटर बाढीले बगायो

काठमाडौं – त्रिशुली नदीमा आएको बाढीले सुपर त्रिशुली जलविद्युत योजनाका

प्रधानमन्त्रीले राष्ट्रसंघमा उठाए जलवायु परिवर्तन, गरिबी र युद्धदेखि गौतम बुद्धसम्मका कुरा

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको ७९ औँ महासभामार्फत