हराउँदै टीकापुर पार्कको आकर्षण « Khabarhub

हराउँदै टीकापुर पार्कको आकर्षण


२२ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

भजनी–  कैलालीको टीकापुरमा रहेको टीकापुर पार्क यस क्षेत्रको गौरव हो । यहीँ पार्कले टीकापुरलाई राष्ट्रियरूपमा चिनाएको छ । राजा महेन्द्रले स्वास्थ्यलाभ गर्नाका सार्थै यस क्षेत्रमा आएर राज्य सञ्चालन गरेको ठाउँलाई पार्कका रूपमा स्थापित गर्नमा स्व खड्गबहादुर सिंहको योगदान छ ।

वार्षिक एक लाखभन्दा बढी बाह्य तथा आन्तरिक पर्यटक अवलोकन तथा वनभोजका लागि टीकापुर पार्क आउने गरेका छन् । पार्क अवलोकन गर्न आउने पर्यटकबाट टीकापुर नगरपालिकाले वार्षिक ५० लाख रुपैयाँ भन्दा बढी राजस्व सङ्कलन गर्दै आएको छ ।

यतिबेला टीकापुर पार्क संरक्षणको अभावमा खण्डहर जस्तै बनेको छ । पहिला एक सय ४० प्रजातिका गुलाफमात्रै पाइने पार्कमा अहिले गुलाफको फूल देख्न मुस्किल हुन थालेको छ । बगैँचा निकै उजाड देखिन्छ । बनेका संरचना पनि मर्मतसम्भार नहुँदा जीर्ण भएका छन् । ‘केही वर्ष पहिले टीकापुर पार्कमा आउने मौका मिलेको थियो । त्यो बेलाको र अहिलेको पार्कको अवस्था निकै फेरिएको रहेछ ।’ धनगढीबाट पार्क घुम्न आएका बालकृष्ण ओझाले सरसफाइमा निकै लापरबाही देखिएको बताए ।

पार्कमा १३ कर्मचारी कार्यरत रहेका र  त्यसको नेतृत्व गर्ने जिम्मा एक नायब सुब्बा स्तरको कर्मचारीलाई दिइएको छ । आज काम गर्ने जनशक्ति र हिजो पार्कमा काम गर्ने जनशक्ति उहीँ नै हो । हिजोको भन्दा यतिबेला पार्कको स्थिति निकै कुरूप छ । कर्मचारी परिचालन गर्ने पार्कको नेतृत्व जागरूक नहुँदा कर्मचारीले काम गर्न छाडेको बुझ्न कठिन छैन । अहिले प्रधानमन्त्री रोजगार कार्यक्रमका १० कर्मचारी करिब डेढ महिनादेखि पार्कमा कार्यरत छन् । पार्कमा पुगेका पर्यटक पहिलाको जस्तो खुसी भएर फर्कने स्थिति नरहेको पार्कमा भेटिएका टीकापुरका नन्दसिंह विकले बताए ।

पार्कको वनभोजस्थलको हालत पनि उस्तै छ । वनभोजस्थलमा भएको सार्वजनिक शौचालयको ताला कहिल्यै खुल्दैन । पार्क स्थापना भएदेखि सञ्चालनमा रहेको एउटै पानी ट्याङ्कीले त्यो वनभोजस्थलमा पुगेका पर्यटकको प्यास मेटाइरहेको छ । खानेपानीको व्यवस्थापन अझै हुन सकेको छैन । ‘पार्क स्थापना भए देखिको सबै गतिविधि मैले नजिकबाट हेरेको छु । निकै सङ्घर्षका बाबजुद टीकापुर पार्क स्थापना भएको हो ।’ स्थानीय समाजसेवी नरबहादुर रावलले बताए, विगत केही वर्षदेखि पार्कको विकासका लागि कोही जागरूक देखिएका छैनन् । पार्कको अस्तित्वले टीकापुरको अस्तित्व जोगाएको कुरा बिर्सनु हुँदैन ।’

पार्कभित्र दुई वटा विश्रामगृह छन् । वीरेन्द्र विश्रामगृह र महेन्द्र विश्रामगृह । वीरेन्द्र विश्रामगृहको मर्मत गरेको भए पनि महेन्द्र विश्रामगृहको अवस्था नाजुक छ । पार्कका इन्चार्ज अर्जुन कुँवरले पार्क कुरूप भएको कुरा स्वीकार गरेनन् । ‘हामीले सक्ने जति गर्ने हो । त्यो गरिरहेका छौँ । तपाईँले भनेजस्तै पार्क खण्डहर भएको छैन’, उनले भने, ‘पार्कमा जनशक्ति कम भएकै कारण काम हुन सकेको छैन । एक्लै चाहेर कति काम सम्भव होला र ?’ इन्चार्ज कुँवरले पार्कको विषयमा कर्मचारीलाई भन्दा जनप्रतिनिधिलाई प्रश्न गर्न पनि आग्रह गरे । निर्देशन दिएको काम आफूहरूले गर्ने भन्दै उनले कर्मचारीको काम गर्ने हो अन्य कुरा जनप्रतिनिधिलाई सोध्नु भने ।

नगरपालिकाका प्रमुख रामलाल डगौरा थारूले एक्लै नगरप्रमुखले चाहेर टीकापुर पार्कको सुन्दरता कायम गर्न नसकिने बताए । उनले पार्कको अस्तित्व जोगाउनका लागि सबै संयन्त्र सक्रिय हुनुपर्नेमा जोड दिए । ‘हामीले त्यहाँ गएर काम गर्ने होइन । त्यहाँ कर्मचारी परिचालन गरेर काम गर्ने हो ।’ नगरप्रमुख थारूले  भने, ‘तपाईँलाई थाहा छ, कर्मचारी परिचालन भएका छन् तर काम गर्दैनन् त म एक्लैले के गरूँ ?’ उनले कर्मचारीलाई पटक–पटक निर्देशन दिँदा पनि कामबाट सन्तुष्ट मिल्ने स्थिति नरहेको बताए।

त्यसैगरी पार्कको गौरवको रूपमा प्रवेशद्वार निर्माण पनि गरिएको छ । प्रवेशद्वार निर्माण भएर हस्तान्तरण भएको पनि एक वर्षभन्दा बढी समय भइसकेको छ । त्यस प्रवेशद्वारको दुई भागमा टिकट काउन्टर बनाइएको छ । जुन काउन्टर नयाँ वर्षको दुई दिन सञ्चालनमा आएर पुनः बन्द भएको छ । नयाँ टिकट काउन्टरबाट टिकट काट्ने व्यवस्था मिलाउन सकिए राजस्व चुहावटमा कमी आउने भए पनि त्यसको कार्यान्वयन हुन सकेको छैन । इन्चार्ज कुँवरले जनशक्ति नभएकै कारण नयाँ काउन्टर प्रयोगमा ल्याउन नसकिएको बताए । उनले जनशक्तिको व्यवस्थापन भए नयाँ काउन्टर सञ्चालनमा ल्याउन समस्या नभएको तर  अहिले नयाँ काउन्टरबाट टिकट वितरण गर्दा पार्क घुम्न आउने पर्यटक अलमलमा पर्ने बताए ।

स्थानीयस्तरमा पनि पार्कको विषयमा विभिन्न प्रश्न उठ्न थालेका छन् । अहिलेको नगरपालिकाको नयाँ नेतृत्वले स्थानीय तहको निर्वाचनमा टीकापुर पार्कलाई व्यवस्थित गर्दै निजी क्षेत्रलाई ठेक्कामा दिने कुरा पनि उठेको थियो । अहिले उक्त पार्कका लागि जनप्रतिनिधि पनि सम्पर्कविहीनजस्तै बनेको स्थानीयवासीको गुनासो थियो ।

प्रकाशित मिति : २२ बैशाख २०८०, शुक्रबार  २ : ४५ बजे

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर

बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै

बेथलेहेम– गाजामा लामो समयदेखि चलेको युद्धको पीडादायी छायाँबीच दुई वर्षभन्दा

त्रियुगा क्षेत्रमा जंगली हात्ती पस्दा १२ घरमा क्षति

गाईघाट– जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा हात्तीले १२ भन्दा बढी घरमा