दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू | Khabarhub Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू


२२ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : 7 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

आज दिनभर नेपाल-भारत सीमा विवादबारे दुवैपक्ष बसेर छलफल गर्न आवश्यक, ‘भैंसी चढेर आएको’ शब्द रेकर्डबाट हटाइयो’, नेपालमा लगानी बढाउन उद्योग मन्त्री रिजालको आग्रह, राष्ट्रपतिद्वारा विभिन्न देशका आवासीय तथा गैरआवासीय नेपाली राजदूत नियुक्त, नागरिकता विधेयक पुनः संसद्‌मा ल्याउनु पर्ने एमाले अध्यक्ष ओलीकाे भनाई, ‘सफा हिमाल अभियान’ : ३५ हजार ७०० किलो फोहर संकलन, विश्वकप छनोट खेल्न सन्दीप आज दक्षिण अफ्रिका जाँदै लगायतका समाचारले प्रमुख स्थान पाए ।

नेपाल-भारत सीमा विवादबारे दुवैपक्ष बसेर छलफल गर्न आवश्यक

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल-भारत सीमा विवादका विषयमा दुवैपक्ष बसेर छलफल गर्नुपर्ने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा भारत भ्रमणका क्रममा भएका सम्झौता र नागरिकता विधेयक प्रमाणीकरणसम्बन्धमा सांसदहरूको जिज्ञासामा नेपाल र भारत दुवै पक्ष सँगै बसेर नक्सा राखेर छलफल गर्नुपर्ने उनले आवश्यकता औँल्याए ।

‘भारत भ्रमणका क्रममा कैयौँ विषयमा छलफल भएको छ, राष्ट्रिय हित र स्वाधीनताको विषयमा हामी चिन्तित छौँ’, प्रधानमन्त्री दाहालले भने, ‘नक्साका विषयमा पनि कुरा भएको छ, म धर्मनिरपेक्षतावादी हुँ, जनताको धार्मिक आस्थालाई अपमान हुने काम गर्नुहुँदैन, मेरो प्राथमिकता चाहिँ फोहर व्यवस्थापन थियो ।’

प्रधानमन्त्री दाहालले नागरिकता विधेयक दुवै सदनले पारित गरेर पठाएको हुनाले राष्ट्रपतिसमक्ष प्रमाणीकरणका लागि पठाएको बताए । नागरिकता विधेयक प्रमाणीकरण नहुँदा धेरै नागरिक नागरिकताविहीन भएका उनको भनाइ थियो ।

‘दुवै सदनले विधिसम्मत तरिकाले पठाएको विधेयक अर्को संसद्ले मान्दिन भन्न मिल्दैन’, प्रधानमन्त्री दाहालले भने, ‘सदनले दुई पटक प्रमाणीकरणका लागि पठाएको हो ।’ बैठकमा सांसद सूर्यबहादुर थापाले अघिल्लो सदनले पठाएको विधेयक वर्तमान सदनलाई जानकारी नदिइकन प्रमाणीकरण गर्नु कानुनी प्रक्रिया गलत भएको भन्दै संसद्को ध्यानाकर्षण गराएका थिए ।

सांसदहरू विश्वप्रकाश शर्मा र रघुजी पन्तले नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष वर्तमान राष्ट्रियसभा र प्रतिनिधिसभा अध्यक्षले प्रमाणित गरेर पठाउनुपर्ने सुझाव दिए ।

सांसदहरू गोकर्ण विष्ट, पद्म गिरी, प्रेम सुवाल, रघुजी पन्त, योगेशकुमार भट्टराई, राजेन्द्रप्रसाद लिङ्देन, ज्ञानेन्द्रबहादुर शाही, ठाकुर गैरे, शिशिर खनाल, रवि लामिछाने, जुलीकुमारी महतो, सुनिता बराल, बिजुला रायमाझीलगायतले पञ्चेश्वर बहुउद्देश्यीय आयोजना, सीमा सुरक्षा, नागरिकता विधेयक संसद्लाई छलेर प्रमाणीकरण गरेको आरोप लगाउँदै प्रश्न उठाएका थिए ।

‘भैंसी चढेर आएको’ शब्द रेकर्डबाट हटाइयो’

प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसद शिशिर खनालले बोलेको ‘भैंसी चढेर आएको’ भन्ने शब्द रेकर्डबाट हटाइएको छ ।

प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सम्बोधनका क्रममा बोलिएको ‘भैंसी चढेर’ शब्द तथा अन्य सांसदहरुले बोलेको ‘प्रधानमन्त्री भैंसी चढेर आउनुभयो’ भन्ने शब्द हटाउन सभामुख देवराज घिमिरेले सचिवालयलाई निर्देशन दिएका थिए ।

संसद्मा प्रश्नोत्तर कार्यक्रमअनुसार रास्वपा सांसद खनालले प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणबाट आउँदा पोखरा विमानस्थलमा अवतरण गर्नुहोला भनेको त भैंसी चढेर आउनु परेको भनेपछि माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले नियमा आपत्ति जनाए । उनले अमर्यादित शब्द रेकर्डबाट हटाउन माग गरेका थिए ।

यसपछि एमालेसहितका सांसदहरू उठेर विरोध जनाए । यसपछि सत्तापक्ष र प्रतिपक्षी सांसदहरुले एकअर्काविरुद्ध हुटिङको शैलीमा प्रस्तुत भए ।

नेपालमा लगानी बढाउन उद्योग मन्त्री रिजालको आग्रह

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले उच्च प्रतिफल प्राप्त गर्ने क्षेत्रमा लगानी बढाउन इटाली सरकारसँग आग्रह गरेका छन् ।

इटालीका गैर-आवासीय राजदूत भिन्सेन्जो डि लुकाले आज गरेको शिष्टाचार भेटमा मन्त्री रिजालले सूचना प्रविधि, पूर्वाधार विकास, सेवा क्षेत्र, जलविद्युत्, कृषि क्षेत्रलगायतमा लगानी बढाउन र विविधिकरण गर्न आग्रह गरेका हुन् । इटालीबाट भित्रिएको प्रत्यक्ष विदेशी लगानीको प्रशंसा गर्दै उनले नेपालमा लगानी भित्र्याउन राजदूतले अधिकतम प्रयास गर्ने विश्वास व्यक्त गरे ।

भेटमा द्विपक्षीय सम्बन्ध, सहयोग तथा व्यापार र लगानीलगायत विषयमा छलफल भएको थियो । भेटमा मन्त्री रिजालले नेपाल र इटालीले विभिन्न विषयमा साझा धारणा राखेको र बहुपक्षीय फोरममा मिलेर काम गरेको स्मरण गर्दै आगामी दिनमा पनि यस्तो सम्बन्ध कायम रहने विश्वास व्यक्त गरे।

उनले भूकम्प तथा कोभिड-१९ महामारीका समयमा इटाली सरकारले गरेको सहयोगको सरहाना गरे । नेपाल अल्पविकसित राष्ट्रको स्थितिबाट स्तरोन्नति हुने चरणमा रहेको उल्लेख गर्दै मन्त्री रिजालले आगामी दिनमा इटाली सरकारले आफ्नो सहयोगको दायरा बढाउने विश्वास व्यक्त गरे।

भेटमा गैरआवासीय राजदूत लुकाले नेपालसँग इटालीको व्यापार बढेको उल्लेख गर्दै इटालीमा उत्पादन भएका नयाँ प्रविधिका मेसिन नेपालमा आपूर्ति गर्न सकिने बताए । नेपाल र इटालीबीच द्विपक्षीय सम्बन्धबाट ब्यापार लगानी वृद्धि गर्न सकिने उनले स्पष्ट पारे । इटाली सरकारले २०३० सालमा ‘रोम एक्स्पो’ आयोजना गर्न लागेको जानकारी दिँदै राजदूत लुकाले उक्त एक्स्पोमा नेपाली कला संस्कृति र पहिचानसहित नेपालको पनि सहभागिता रहने विश्वास व्यक्त गरे ।

राष्ट्रपतिद्वारा विभिन्न देशका आवासीय तथा गैरआवासीय नेपाली राजदूत नियुक्त

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधान बमोजिम विभिन्न देशका लागि आवासीय नेपाली राजदूत तथा गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गरेका छन् ।

राष्ट्रपति पौडेलले अष्ट्रेलियाका लागि कैलाशराज पोखरेल, ब्राजिलका लागि निर्मलराज काफ्ले र डेनमार्कका लागि प्रा. डा रामस्वार्थ रायलाई आज आवासीय राजदूत पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ ।

साथै उल्लेखित राजदूतहरू क्रमशः पोखरेललाई पपुवा न्युगिनी, काफ्लेलाई कोलम्बिया र रायलाई स्विडेनको गैरआवासीय राजदूत नियुक्त गरिएको विज्ञप्तिमा उल्लेख छ ।

नागरिकता विधेयक पुनः संसद्‌मा ल्याउनु पर्ने एमाले अध्यक्ष ओलीकाे भनाई

प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका नेता नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नागरिकता विधेयक फेरि संसद्मा ल्याउनुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उनले अघिल्लो संसदले पारित गरेको विधेयक मन्त्रिपरिषद्को अनुरोधमा अहिले राष्ट्रपतिले प्रमाणीकरण गर्नु विधिसम्मत नभएको र त्यसलाई पुनः संसद्‌मा ल्याउनुपर्ने आफ्नो पार्टीको धारणा रहेको उनको भनाई थियो ।

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को हालै सम्पन्न भारत भ्रमण सफल हुन नसकेको टिप्पणी पनि गरे। उनले प्रधानमन्त्रीको भारत भ्रमण फितलो प्रदर्शन भएको आरोप पनि लगाए ।

भारतसँगको द्विपक्षीय वार्तामा बस्दा नेपालको परराष्ट्र मन्त्रालयको प्रतिनिधित्व नदेखिएको तथा महत्वपूर्ण वार्ताका समयमा समेत मन्त्री, सचिव, शिष्टाचार महापाल पनि बैठकस्थलमा नदेखिने गरेकाले भारतको औपचारिक भ्रमण फितलो हुन पुगेको उनले आरोप थियो ।

पूर्वप्रधानमन्त्री नेता ओलीले असंलग्न परराष्ट्र नीतिलाई नेपालले बिर्सन नहुने सुझाव पनि दिए । बंगलादेश र भारतले जमिन लेनदेन गरेर सीमा समस्या समाधान नभएको दृष्टान्त पेश गर्दै नेता ओलीले जमिन दिएर बंगलादेश मोडेलमा सीमा समस्या हल गर्न खोजिएको भन्ने चर्चा बजारमा सुनिएकाले यस्तो कुरा सोच्न पनि नसकिने उनले बताए ।

यस्तै उच्चस्तरीय भ्रमणका समयमा आफ्ना छिमेकीसँग आफ्नो जमिन मिचिएकोदेखि लिएर आफूलाई परेका सबै अप्ठ्याराहरूलाई राख्नुपर्ने उनको सुझाव थियो । नेता ओलीले नेपाली भूमि लिपुलेक, लिम्पियाधुराको सीमाको नक्सा दुवै सदनबाट सर्वसम्मतले पारित भएको र ब्रिटिश संसद्‌मा रहेको प्रमाणले पनि यसको पुष्टि गर्ने बताए ।

‍जिल्ला निर्वाचन कार्यालय खारेजीको प्रस्तावप्रति निर्वाचन आयोगको ध्यानाकर्षण

संघीय संसद्मा प्रस्तुत आगामी आर्थिक वर्ष २०८०-८१ को बजेटमा जिल्ला निर्वाचन कार्यालयलाई खारेज गरी जिल्ला प्रशासन कार्यालयअन्तर्गत निर्वाचन एकाइ रहने प्रस्तावप्रति निर्वाचन आयोगले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

अर्थमन्त्री डा. प्रकाशशरण महतबाट यही जेठ १५ गते प्रस्तुत बजेटमा आएको उक्त प्रस्ताव पूर्व परामर्श र तयारीबिना आएको भन्दै आयोगले आपत्ती जनाएको छ । उक्त प्रस्तावले संवैधानिक स्वायत्तता र स्वतन्त्रतामाथि प्रहार गरेको भन्दै आयोगले आज सरकारको ध्यानाकर्षण गराएको हो ।

नेपालको संविधानको धारा २४६ को उपधारा ९१० मा आयोगले निर्वाचन प्रयोजनका लागि मतदाताको नामावली तयार गर्ने व्यवस्थाबमोजिम मतदाता दर्ता, बाह्य मतदाता दर्ता तथा नामावली अद्यावधिकलगायत कार्य जिल्ला निर्वाचन कार्यालयबाट हुँदै आएको छ ।

निर्वाचन आयोग ऐन, २०७३ को दफा ३४ ले निर्वाचनमा मतदाता नामावली संकलन गर्ने, अद्यावधिक गर्ने, मतदान गर्ने प्रक्रिया र मतदाताको मताधिकार सम्बन्धमा मतदातालाई जानकारी गराउन आवश्यकता अनुसार मतदाता जागरण कार्यक्रम सञ्चालन गर्ने जिम्मेवारी आयोगलाई तोकिएकामा ती सम्पूर्ण कार्य ७० जिल्ला निर्वाचन कार्यालय र सात प्रदेश निर्वाचन कार्यालयबाट सम्पादन हुँदै आएको छ ।

नेपाल सरकार (मन्त्रिपरिषद्) को २०७७ माघ २६ गतेको निर्णयानुसार स्वीकृत भएको निर्वाचन आयोगको नयाँ संगठन संरचना र दरबन्दी विवरण अनुसार सात प्रदेशमा प्रदेश निर्वाचन कार्यालय र ७० जिल्लामा जिल्ला निर्वाचन कार्यालय सञ्चालनमा रही यी कार्यालयमा हाल पाँच सय ५३ जनशक्ति कार्यरत छन् ।

हाल १९ जिल्लामा निर्वाचनको आफ्नै कार्यालय भवन र आठ जिल्लामा भोगाधिकार प्राप्त सरकारी भवन गरी २७ जिल्लामा आयोगको सरकारी भवन छन् । तीन जिल्लामा निर्वाचन कार्यालयको भवन निर्माण भइरहेको छ, भने १२ जिल्लामा भवन निर्माणका लागि आयोगको आफ्नै जग्गा रहेको र सबै जिल्ला निर्वाचन कार्यालयमा चार पाङ्ग्रे सवारीसाधन रहेको आयोगले जनाएको छ ।

यस्तै सबै जिल्ला निर्वाचन कार्यालयमा हालसम्म निर्वाचनमा प्रयोग भएका र पुनः प्रयोग हुने निर्वाचन सामग्री भण्डारण गरी राखिएको छ । यी कार्यालयका लागि वार्षिक ३० करोड २१ लाख बजेट खर्च हुँदै आएको छ ।

बजेटको उक्त प्रस्तावबारे आज आयोगको कान्तिपथस्थित कार्यालयमा उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, आयोगका प्रमुख निर्वाचन आयुक्त, आयुक्त र दुवै निकायका सचिवसहित उच्चाधिकारीबीच छलफल भएको छ ।

छलफलमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जिल्ला प्रशासन कार्यालयको मौजुदा कार्यसम्पादन र कार्यबोझले गर्दा सेवा प्रवाह प्रभावकारी हुन नसकेको अनुभूति भइरहेको सन्दर्भमा आयोगको सम्पूर्ण कार्यको दायित्व जिल्ला प्रशासन कार्यालयमार्फत गराउनुपर्दा यसले थप अस्तव्यस्तता निम्त्याउने बताए। यसले निर्वाचन व्यवस्थापनको कार्य प्रभावित हुनसक्ने उनको भनाइ थियो ।

प्रमुख आयुक्त थपलियाले आयोगले सरकारको कार्यकारी संयन्त्रमार्फत काम गर्ने गराउने कार्यले बालिग मताधिकार र आवधिक निर्वाचनमार्फत जनताको प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणालीलाई संस्थागत गर्न क्रमशः अवरोध सिर्जना हुँदै जाने स्पष्ट गरे। उनले जिल्लास्थित निर्वाचन कार्यालय खारेजीको प्रस्तावले आयोगको संरचरना र कार्यशैली एकात्मक शासन प्रणालीको अवधारणा अनुसारको हुन जाने हुँदा संघीय लोकतान्त्रिक शासन प्रणाली अनुसार तीन तहको आवधिक निर्वाचनका लागि नियमित कार्यसम्पादन हुन नसक्ने जनाए ।

‘सफा हिमाल अभियान’ : ३५ हजार ७०० किलो फोहर संकलन

यस वर्षको ‘सफा हिमाल अभियान’ मा ३५ हजार सात सय किलो फोहर संकलन भएको छ । नेपाली सेनाको अगुवाइमा चैतको अन्तिम सातादेखि ५५ दिनसम्म सगरमाथा, ल्होत्से, अन्नपूर्ण र बरुञ्चे हिमालमा अभियान सञ्चालन भएको थियो ।

प्रधानसेनापति प्रभुराम शर्माले सैनिक मुख्यालय जंगी अड्डामा आज आयोजित समापन समारोहमा ती हिमाल सफाइ अभियानका टोली प्रमुख र सहयोगी शेर्पालाई कदरपत्र प्रदान गरे । उक्त सफाइ टोलीमा संलग्न पूर्वा शेर्पा र आङ्कामी शेर्पाको भने हिमाल आरोहणपछि फर्कने क्रममा निधन भएको थियो ।

प्रधानसेनापति शर्माले सो अवसरमा उनीहरूका प्रतिनिधिलाई कदरपत्र प्रदान गर्दै दुवैका सन्ततिलाई १२ कक्षासम्म पढाइका लागि लाग्ने सम्पूर्ण खर्च सेनाले व्यहोर्ने घोषणा गरे । वातावरण दिवसका अवसरमा आयोजित उक्त कार्यक्रममा हिमाल आरोहणका क्रममा ज्यान गुमाउनेको आत्माको चिरशान्तिको कामना गर्दै लामा गुरुले शान्ति पाठ गरे।

कार्यक्रममा प्रधानसेनापति शर्माले विकट र प्रतिकूल अवस्थामा पनि फोहर संकलन र आरोहणको साहसिक कार्य पूरा गरेको भनी अभियानमा संलग्न सबैमा धन्यवाद ज्ञापन गरे। उनले भने, ‘अभियान प्रकृति र पर्यावरण जोगाउने कार्यसँग जोडिएको छ, प्रकृति संरक्षणको विषय तत्काल लाभ नदेखिए पनि भावी पुस्ताका लागि ठूलो सम्पत्ति हुनेछ, आफूले गरेको फोहर आफैँले व्यवस्थापन गर्ने कार्यलाई कडाइका साथ लागू गर्नुपर्छ ।’

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीले मानिसको जीवन पद्धतिसँग जोडिएको तथा प्रकृतिको दिगोपन र पर्यावरण जोगाउनुपर्छ भन्ने उद्देश्य रहेको अभियानलाई निरन्तरता दिन आवश्यक रहेको बताए ।

नेपाली सेना राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षण निर्देशनालय प्रमुख सुन्दरकुमार पाण्डेले हिमालको स्वच्छता कायम गर्ने उद्देश्यले सञ्चालन भएको अभियानमा सरकारी तथा गैरसरकारी संस्थाबाट महत्त्वपूर्ण साथ सहयोग प्राप्त भएको बताएका छन् । हिमाल सफाइ कार्य जटिल र साहसिक भएको जनाउँदै उनले हिमाललाई वातावनुकूलित तुल्याउने पहिलो शर्त रहेको बताए ।

विश्वकप छनोट खेल्न सन्दीप आज दक्षिण अफ्रिका जाँदै

नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने आज अफ्रिका जाँदैछन् । आईसीसी विश्वकप एकदिवसीय छनोटको अभ्यास खेलका लागि उनी दक्षिण अफ्रिका जान लागेका हुन् ।

राष्ट्रिय क्रिकेट टोली गत मंगलबार नै त्यसतर्फ गइसकेको छ । बलात्कार आरोपमा सर्वोच्च अदालतमा पेशी रहेका कारण लामिछाने टोलीसँग जान पाएका थिएनन् । तर, पेशी असार २९ गतेसम्मलाई सरेपछि उनी आज प्रशिक्षक मोन्टी देशाइसँगै दक्षिण अफ्रिका जाने भएका हुन् ।

लामिछानेका कानुन व्यवसायीले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगितालाई मध्यनजर गर्दै लामो समयका लागि तारिख तोकिनु पर्ने भन्दै निवेदन दिएपछि अदालतले असार २९ को तारिख दिएको हो ।

नेपालले जेठ २५ गते स्कटल्यान्ड र जेठ २७ गते नेदरल्याण्ड्ससँग अभ्यास खेल खेल्नेछ । अभ्यास खेलपछि नेपाली टोली जिम्बावे जानेछ ।

जिम्बावेमा विश्वकप छनोट खेल्नुअघि नेपालले जेठ ३० गते युएई र जेठ ३२ गते ओमानसँग वार्मअप खेल खेल्नेछ ।

वातावरण दिवस विभिन्न कार्यक्रम गरी मनाइयो

नेपालमा यस वर्ष प्लाष्टिकजन्य प्रदूषण निर्मूल पारौँ, वातावरणमैत्री विकल्पको उपयोग गरौँ भन्ने नाराका साथ वातावरण दिवस मनाइएको छ ।

संयुक्त राष्ट्रसङ्घको महासभाले गरेको घोषणा तथा संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रमको अग्रसरतामा सन् १९७३ देखि प्रत्येक वर्ष जुन ५ का दिन विश्वभर विश्व वातावरण दिवस मनाइन्छ । वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभाग पनि काठमाडौंमा विषेश कार्यक्रमको आयोजना गरेको थियो ।

कार्यक्रममा वन तथा वातावरणमन्त्री विरेन्द्र प्रसाद महतोले औपचारिक कार्यक्रम मात्रै गरेर वातावरणको रक्षा गर्न नसकिने बताए । उनले अहिले पनि नेपालमा वातावरण प्रदुषण गर्ने सवारी साधनहरू आयात भइरहेको भन्दै यसलाई रोक्न नीतिगत व्यवस्था गर्नुपर्ने धारणा राखे । साथै उनले वातावरण जोगाउनका लागि सर्वसाधारणमा जनचेतना आवश्यक रहेको उल्लेख गरे ।

संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमको आह्वानमा सन् १९७४ देखि हरेक वर्ष जुन ५ तारिकका दिन विश्व वातावरण दिवस मनाइदै आइरहेको छ । प्लास्टिक प्रदूषण रोकथाम गर्न भन्दै नेपालले २०७२ सालदेखि नै ४० माइक्रोन भन्दा पातला प्लाष्टिकको प्रयोगमा रोक लगाएपनि यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन ।

प्रकाशित मिति : २२ जेठ २०८०, सोमबार  ९ : ०० बजे

महोत्तरीमा एक युवतीको शव भेटियो

महोत्तरी – महोत्तरीको बर्दिवास-५ स्थित टुटेश्वर मन्दिर नजिकै एक युवतीको

चार लाख प्यालेस्टिनी उत्तरी गाजामा फसेको युएनआरडब्लुएको भनाई

गाजा– उत्तरी गाजा पट्टीमा कम्तिमा चार लाख मानिस फसेको निकट

पाकिस्तानविरुद्धको इङल्याण्डका रुट र ब्रुकको शतक

काठमाडौं– पाकिस्तानविरुद्धको जारी पहिलो टेस्टमा इङल्याण्डका जो रुट र ह्यारी

उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगका पदाधिकारीलाई नियुक्ति पत्र प्रदान

काठमाडौं– उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उच्चस्तरीय आर्थिक क्षेत्र सुधार

विपदबाट क्षतिग्रस्त संरचना निर्माणमा दुई अर्ब ८८ करोड लाग्ने

काठमाडौं– यही असोज ११ र १२ गतेको अविरल वर्षासँगै आएको