शुक्लाफाँटामा वन्यजन्तुको आहारा पहिचान गरिँदै « Khabarhub

शुक्लाफाँटामा वन्यजन्तुको आहारा पहिचान गरिँदै


२० श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

दोधारा चाँदनी– महेन्द्रनगरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयले निकुञ्जभित्र रहेका वन्यजन्तुको आहारा पहिचान गर्न लागेको छ ।

निकुञ्जमा रहेको घाँसे मैदानमा वन्यजन्तुको आहारा पहिचानका लागि अध्ययन भइरहेको निकुञ्ज कार्यालयले जनाएको छ । निकुञ्जका सहायक संरक्षण अधिकृत मनोज ऐरले घाँसे मैदानमा ‘प्लट’ छुट्याएर अध्ययन भइरहेको जानकारी दिए । 

‘निकुञ्जको घाँसे मैदानमा खेतका गराजस्तै साना प्लट बनाएका छौँ, कुनै प्लटमा घाँस छ, कुनै प्लटमा घाँस काटिएको छ, कतै काटिएको घाँसमा आगो लगाएको छ’, सहायक संरक्षण अधिकृत ऐरले भने, ‘निकुञ्जको विशाल घाँसे मैदानमा साना प्लट बनाएर विभिन्न प्रविधिबाट घाँसे मैदानको परीक्षण भइरहेको छ ।’

वन्यजन्तुको आहारा र वासस्थान व्यवस्थापनका लागि उपयुक्त विधि पहिचान गर्न परीक्षण भइरहेको उनको भनाइ छ । घाँसे मैदानमा पाँच-पाँच मिटरका ४२ प्लट बनाइएका छन् । ती प्लटमा घाँसे मैदान व्यवस्थापनका लागि विभिन्न सात विधि प्रयोग गरिएको छ । ‘वन्यजन्तुले कस्तो खालको घाँस बढी रुचाउँछन् र बढी समयसम्म चर्छन्, हेरिरहेका छौँ’, उनले भने, ‘कुन वन्यजन्तुको आहारा के भनेर अध्ययन गरिराखेका छौँ ।’ उनका अनुसार वन्यजन्तुमा पनि मृग प्रजातिका बाह्रसिङ्गा र चित्तलको रुचिका विषयमा अध्ययन गरिन लागेको छ । 

तीन सय पाँच वर्गकिलोमिटर क्षेत्रफलमा रहेको निकुञ्जको घाँसे मैदान बाह्रसिङ्गाको प्रमुख चरन क्षेत्र र वासस्थान हो । निकुञ्ज कार्यालयले ५४ वर्ग किलोमिटर क्षेत्रफलमा रहेको घाँसे मैदान व्यवस्थापन गरिरहेको छ । घाँसे मैदान राम्ररी व्यवस्थित नहुँदा बाह्रसिङ्गाकै लागि समेत आहाराको अभाव हुने गरेको छ । 

घाँसको मुना बाह्रसिङ्गाको प्रमुख आहारा हो । घाँसे मैदानमा यही मुना चर्न ठूलो झुन्डमा बाह्रसिङ्गा देखिन्छन् । विभिन्न प्लटमा गरिएको अध्ययन र घाँसको पुनर्उत्पादनबारे हरेक १५-१५ दिनमा संकलित तथ्यांकको विश्लेषण भइरहेको निकुञ्जले जनाएको छ । 

राष्ट्रिय प्रकृति संरक्षण कोषको शुक्लाफाँटा संरक्षण कार्यक्रम प्रमुख लक्ष्मीराज जोशीले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा रहेका वन्यजन्तुको संरक्षणका लागि राष्ट्रिय प्रकृति संरक्षण कोषले विभिन्न कार्यक्रम गरिरहेको बताए । 

‘निकुञ्जमा रहेका वन्यजन्तुको संरक्षण र मानव वन्यजन्तुबीच हुने द्वन्द्व न्यूनीकरणका लागि काम गरिरहेका छौँ’, जोशीले भने, ‘पछिल्लो केही वर्षयता निकुञ्जमा चोरीसिकारी नियन्त्रण र वन्यजन्तुको आहारा बढेकाले यहाँ वन्यजन्तुको सङ्ख्या बढी रहेको छ ।’

प्रकाशित मिति : २० श्रावण २०८०, शनिबार  १ : ५४ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्