म्याग्दीको जंगलमा भेटियो ‘रेडपाण्डा’ | Khabarhub Khabarhub

म्याग्दीको जंगलमा भेटियो ‘रेडपाण्डा’


१८ आश्विन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


270
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीमा पहिलोपटक विश्वमै दुर्लभ मानिने जंगली जनावर रेडपाण्डा (हाब्रे) भेटिएको छ । 

धौलागिरि गाउँपालिका–लुलाङको जलजलास्थित जंगलमा रेडपाण्डा भेटिएको हो । च्याउ संकलन गर्न गएका स्थानीय सुवास थापाले जलजलाको जंगलमा रेडपाण्डाको जिल्लामै पहिलोपटक दृष्य खिचेका हुन् । डिभिजन वन कार्यालय म्याग्दीका प्रमुख मनोज रानाभाटले जलजलाको जंगलमा रेडपाण्डा भेटिएको जानकारी दिए। उनले भने, ‘हामीलाई लुलाङको जलजलास्थित जङ्गलमा रेडपाण्डाको वासस्थान थियो भन्ने पहिला पनि जानकारी आएको थियो, भौतिक रुपमा देखिएपछि पुष्टि भयो,  रेडपाण्डा संरक्षणको कार्यक्रम , चोरी शिकारी  नियन्त्रण , जनचेतनाको वृद्धिले रेडपाण्डा देखिएको हो ।’ 

म्याग्दीमा यसअघि दुर्लभ वन्यजन्तु रेडपाण्डाको देखिएको थिएन । रेडपाण्डाको वासस्थानसम्बन्धी अनुसन्धान गर्दै आएका बद्री बरालले म्याग्दीको भूगोलमा पहिलो पटक रेडपाण्डा भेटिएको जानकारी दिए। 

‘हामीले सात वर्षअघि सर्वेक्षण र अनुसन्धानको क्रममा जलजला नजिकैको मरेनी क्षेत्रमा रेडपाण्डाको दिसा भेटाएको आधारमा म्याग्दीमा यसको वासस्थान रहेको पुष्टि भएको थियो’, उनले भने, ‘सुुवास थापाले जललला क्षेत्रको जङ्गलमा खिचेको दृष्यले यस क्षेत्रमा रेडपाण्डाको बसोबास रहेको हाम्रो अनुसन्धानको प्रतिवेदनलाई थप पुष्ट्याइँ गरेको गरेको छ ।’

लजालु स्वभाव रहेको रेडपाण्डाले पैदल यात्रामा रहेका सर्वसाधारणलाई देखेर रमाइरहेको करिब दुई मिनेट नौ सेकेण्डको भिडियोमा देखिन्छ । विसं २०७३ मा विश्व वन्यजन्तु कोषको सहयोग तथा हरियो वन कार्यक्रमको आर्थिक सहयोगमार्फत रेडपाण्डा नेटवर्क र हिमाली संरक्षण मञ्चले खोजी अभियान सञ्चालन गरेको थियो ।

अनुसन्धानकर्ता बद्री बरालले लुलाङको मरेनी सामुदायिक वन, ढोरपाटन सिकार आरक्षको जलजला, गुर्जा र मुदीको जंगलमा हलुका रातो, सेतो र कालो रङको रेडपाण्डाको वासस्थान फेला पारे पनि प्रत्यक्ष देखेका थिएनन् । 

रेडपाण्डाका वासस्थान पहिचान गरेपछि तत्कालीन समयमा जिल्ला वन कार्यालय तथा स्थानीयवासीसँगको सहकार्यमा गुर्जा र लुलाङका विद्यार्थी, समुदायलाई समेत सचेतनामूलक कार्यक्रमसहित रेडपाण्डाको महत्वका बारेमा जानकारी गराइएको थियो ।

रातका समयमा रूखको टोड्कामा बास लिने र दिउँसोको लागि रूखका हाँगा बसी आराम गर्ने, भोक लागेको बेला निगालोको टुसालगायत झारपात खान भुइँमा झर्ने रेडपाण्डाको महत्वका बारेमा जानकारी पाएपछि चोरी निकासी कम भए पनि देखिएका थिएनन् ।

गुर्जा र लुलाङको जङ्गलमा रहेका रेडपाण्डाको गणना नभए पनि प्रशस्तै रहेको अनुमान गरिएको छ । विश्व वन्यजन्तु कोषको सहयोगमा हरियो वन कार्यक्रम र रेडपाण्डा नेटवर्कले धौलागिरि गाउँपालिकाको गुर्जा, लुलाङ र मुदीमा हाब्रेको वासस्थानको विषयमा अध्ययन भएको थियो ।  

धौलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले रेडपाण्डाको संरक्षणमा पालिकास्तरबाटै सचेतनामूलक अभियान सञ्चालन गरिने बताए । ‘रेडपाण्डा जोगाउन समुदायलाई नै थप सक्रिय बनाउँछौँ’, उनले भने, ‘रेडपाण्डाको अनुसन्धानका लागि गन्तव्य बनाउने अवसर पनि हो ।’

रेडपान्डा जोगाउन वडास्तरमा संरक्षण समिति गठन, जनचेतनामूलक कार्यक्रम, वासस्थान आसपासका क्षेत्रमा आवतजावतमा समेत निगरानी आवश्यक रहेको डिभिजन वन कार्यालय म्याग्दीले जनाएको छ ।

रेडपाण्डाका लागि आवश्यक आहारा निगालो तथा पालिङ्गोटोट्का परेका रुख गूर्जा र लुलाङको जंगलमा पर्याप्त छ । समुद्री सतहबाट दुई हजारदेखि चार हजार ८०० मिटरको उचाइमा बसोबास गर्ने रेडपाण्डालाई सरकारले संकटापन्न वन्यजन्तुको सूचीमा राखेको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अन्तर्गत रेडपाण्डालाई संरक्षितको सूचीमा राखिएको हो । रेडपाण्डा संरक्षण गर्न नेपाल सरकारले सन् २०१९ देखि २०२३ सम्म रेडपाण्डालाई पर्यटनसँगै जोडेर विशेष संरक्षण गर्ने नीति लिएको छ ।

रेडपाण्डाको चोरी सिकारमा संलग्नलाई रु पाँचलाखदेखि रु दशलाख जरिवाना , पाँचदेखि पन्ध्र वर्ष कैद वा दुवै सजाय हुने कानुनी व्यवस्था छ । रेडपाण्डाको सङ्ख्या नेपालमा पाँच सयदेखि एक हजार वटा रहेको अनुमान गरिए पनि दुई सय ३७ वटाको मात्र यकिन भएको छ । 

विश्वमा नेपाल, चीन, भारत, भुटान र म्यानमारमा मात्र रेडपाण्डाको वासस्थान छ । नेपालमा एलुरेन्स फ्युजन्स जातको रेडपाण्डा रहेको छ । नेपालको २४  जिल्लामा रेडपान्डा पाइने रेडपान्डा नेटवर्कले जनाएको छ । 

प्रकाशित मिति : १८ आश्विन २०८०, बिहीबार  १ : ०८ बजे

आगलागी पीडितलाई राहत वितरण

कञ्चनपुर- कञ्चनपुर जिल्लाको शुक्लाफाँटा नगरपालिका–७ जुडाकाका आगलागी पीडित जयदेव ठगुन्नासहित

राष्ट्र बैंकको मौद्रिक नीति समीक्षा : सवारी साधनको जोखिम भार घट्यो

काठमाडौं– नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष ०८०-८१ को मौद्रिक नीतिको

घरजग्गा खरिदमा राष्ट्र बैंक लचिलो, आम्दानीको ७० प्रतिशतसम्म ऋण भुक्तानी सीमा

काठमाडौं- नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो

कांग्रेसले समय मागेपछि सुरु हुन सकेन प्रतिनिधि सभा बैठक

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले केही समय माग गरेपछि

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।  नेपाल