काठमाडौँ – विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूको संरक्षण तथा व्यवस्थापनका लागि स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिले चालु आर्थिक वर्ष २०८३/८४ का लागि पाँच करोड ४० लाख रुपैयाँको बजेट स्वीकृत गरेको छ।
महासमितिले स्वीकृत गरेको बजेटमध्ये ३९ प्रतिशत रकम स्वयम्भू तथा आसपासका क्षेत्रको पूर्वाधार विकास र संरक्षणमा तथा ६१ प्रतिशत प्रशासनिक खर्चका लागि छुट्याइएको छ। उक्त बजेट गत आर्थिक वर्षको तुलनामा २५ लाख रुपैयाँले बढी हो।
महासमिति अध्यक्ष भिक्षु धर्ममूर्तिले स्वयम्भू महाचैत्य र त्यससँग सम्बन्धित संरचनाको जीर्णोद्धार तथा मौलिक स्वरूप संरक्षणलाई प्राथमिकता दिइने जानकारी दिए।
महासमितिले स्वयम्भू आउने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटक र धर्मावलम्बीलाई सम्पदाको ऐतिहासिक महत्त्वबारे जानकारी दिने, नियमित पूजा सञ्चालन गर्ने तथा धार्मिक वनको संरक्षण गर्दै बिरुवा रोप्ने कामसमेत गर्दै आएको छ।
त्यसैगरी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, काठमाडौं महानगरपालिकालगायत निकायसँग समन्वय र सहकार्य गरी सम्पदाको मर्मतसम्भार तथा संरक्षणका साथै जात्रा, पर्व, धार्मिक महोत्सव र मेला सञ्चालन तथा व्यवस्थापनका काम गर्दै आएको महासमितिले जनाएको छ।














प्रतिक्रिया