तीन पटक म्याद थप्दासमेत भएन कालोपत्र « Khabarhub

तीन पटक म्याद थप्दासमेत भएन कालोपत्र


१९ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

गलकोट– ठेक्का सम्झौताअनुरूप काम गरेको भए बागलुङको कुँडुले चोकदेखि मालिका हुँदै पञ्चकोटसम्मको १४ किलोमिटर कालोपत्र भइसकेको हुन्थ्यो । विसं २०७६ असोज २८ गते दुई वर्षभित्र सो क्षेत्रीय रिङ्गरोड सडक कालोपत्र सक्नेगरी ठेक्का सम्झौता भएको थियो । तर सम्झौता भएपछि तीन पटक म्याद थप्दासमेत सकिएको छैन । 

अहिले उक्त सडकमा पूर्वाधारको काम सकेर ग्राभेल गरिएपछि यात्रुलाई धुलोले सास्ती बनाएको छ । उक्त सडकमा १० महिनायता काम ठप्प छ । तीनपटकसम्म म्याद थप्दासमेत सडक कालोपत्र नहुँदा यहाँका स्थानीय आक्रोशित भएको बागलुङ नगरपालिका-५ का वडा अध्यक्ष हरिप्रसाद शर्माले बताएका छन् । 

अध्यक्ष शर्माले दुई वर्षदेखि कालोपत्रका लागि आवश्यक ग्राभेल छरेर छोडेको सडकमा कालोपत्र नहुँदा समस्या भएको बताए । ‘कुडुँलेदेखि मालिका हुँदै पञ्चकोट पुग्ने रिङ्गरोड सडक कालोपत्र भए धेरैलाई सहज हुनेथियो, तर सडकको काम दुई वर्षदेखि अघि बढ्न सकेको छैन, निर्माण व्यवसायीलाई सम्पर्कमा ल्याउने काम भइरहेको छ,’ शर्माले भने, ‘ढिलै भए पनि कालोपत्र भइदिए शालग्राम सङ्ग्रहालय र पञ्चकोटमा आउने पर्यटकलाई समेत सहज हुनेथियो ।’

गण्डकी प्रदेश सरकारअन्तर्गत पूर्वाधार विकास कार्यालय बागलुङमार्फत रु ३१ करोड लागतमा १४ किमी सडक कालोपत्र गर्न थालिएको भए पनि ठेकेदार कम्पनीले समयमै काम गर्न नसक्दा सडक अलपत्र जस्तै बनेको छ । 

ग्राभेल बिच्छ्याएको सडकमा खाल्टा पर्ने, धुलो उड्ने र सवारीसाधन दुर्घटनामा पर्ने जोखिमसमेत भइरहेको छ । दुई वर्षमा सकिने ठेक्का चार वर्ष बित्दासमेत ७६ प्रतिशतमात्र भौतिक प्रगति भएको छ । अन्तिम पटकलाई आगामी चैत मसान्तसम्म म्याद थपेर निर्माण व्यवसायीलाई काममा बोलाइएको पूर्वाधार विकास कार्यालय बागलुङले जनाएको छ । 

कोरोनाका कारण सरकारले म्याद थप गर्न निर्देशन दिएपछि मात्रै निर्माण कम्पनीलाई म्याद थपिएको हो । क्षेत्रीय सडकका रुपमा रहेको बागलुङ नगरपालिका–४ कुडुले चोकदेखि काठेखोला गाउँपालिका जाने सडकमा कालोपत्रका लागि पूर्वाधारको काम तत्कालीन समयमा धमाधम भए पनि दुई वर्षदेखि कालोपत्र नभएर काम ठप्प भएपछि सडक झनै बिग्रिएको छ । ठाउँ–ठाउँमा पहिरो खसेर झनै समस्या बनाएको छ ।  

कुडुँले चोकदेखि–मालिका–पञ्चकोट हुँदै तितौरे काठेखोला गाउँपालिकाको सिमानासम्म जाने १४ किलोमिटर सडक पहिलो चरणमा कालोपत्र गर्नका लागि तत्कालीन गण्डकी प्रदेशसभा सदस्य इन्द्रलाल सापकोटामार्फत बजेट विनियोजन भएको थियो । 

उक्त सडक स्तरोन्नतिसँगै कालोपत्र गर्न लागिएको भए पनि समयमै तीनपटक म्याद थप्दासमेत नसकिएको हो । गण्डकी प्रदेशको ‘एक निर्वाचन क्षेत्र, एक रणनीतिक सडक आयोजना’ अन्तर्गत बागलुङ क्षेत्र नं १ को प्रदेशसभा ‘ख’ मा पर्ने बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकालाई समेट्ने गरी क्षेत्रीय चक्रपथका रुपमा यो सडकलाई विकास गर्ने योजनाअनुरूप स्तरोन्नतिसँगै कालोपत्र गर्ने काम थालिएको थियो । 

प्रकाशित मिति : १९ मंसिर २०८०, मंगलबार  २ : ११ बजे

एन्फाका कोषाध्यक्ष र लेखा प्रमुख पक्राउ

काठमाडौं – नेपाल प्रहरीले खेलमा मिलेमतो, अनियमितता र ठगी गरेको

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली संयुक्त राष्ट्रसङ्घ

लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित २६ जनालाई

पाँचथरका ६० वटै वडामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन

पाँचथर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पाँचथरका ६० वटै वडामा

कांग्रेसको वडा अधिवेशन : ७३ जिल्लाका ६ हजार १३२ वडामा निर्वाचन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत देशभर जारी वडा