छाला जुत्ता व्यवसाय सङ्कटमा परेपछि विदेश जाने तयारी « Khabarhub

छाला जुत्ता व्यवसाय सङ्कटमा परेपछि विदेश जाने तयारी


२३ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

टीकापुर – कैलालीको टीकापुरमा रहेका छाला जुत्ता पसलमा कारोबार सन्तोषजनक नभएपछि लामो समयदेखि व्यवसाय चलाएका पुरुषहरू विदेश ताक्न थालेका छन्। व्यवसायमा विगतभन्दा कारोबार घट्दै जान थालेपछि व्यवसायी विदेश जान थालेका हुन्। जुत्ता व्यवसायी चार जना अहिले विदेश गइसकेको उनीहरू बताउँछन्। अन्य छ जनासमेत विदेश जाने तयारीमा रहेको व्यवसायी तिलबहादुर सार्कीले बताए। यसरी जुत्ता निर्माण गर्ने व्यवसायी विदेश जान थालेपछि व्यवसाय भने महिलाले धान्न थालेका छन्।

छाला जुत्ता व्यवसायीले टीकापुरमा यो व्यवसाय थालेको कसैको तीन दशक पुग्न थाल्यो भने कोहीले दुई दशक बिताइसकेका छन्। यही पेसाबाट जीवन धानेकाहरू अहिले व्यवसाय नचलेपछि भन्ने दिक्क छन्। विगत २३ वर्षदेखि यही पेसा गरिरहेका तिलबहादुर व्यापार खासै नचलेपछि श्रीमतीलाई सीप सिकाएर विदेश जाने तयारीमा छन्। “लामो समयसम्म यो पेसा गरियो, विगतमा राम्रै चलेको थियो”, उनले भने, “अहिले पसल बन्द गरेर जान थालेको होइन, मैले जानेको सीप श्रीमतीलाई सिकाइरहेको छु। श्रीमतीले यो व्यवसाय धान्नेछिन्।”

केही वर्ष विदेशमा धन कमाइपछि पुनः यही पेसामा फर्कने योजनासहित तिलबहादुर विदेश जाने तयारीमा छन्। “मसहित छ जनाले विदेशका लागि कागजात बुझाएका छौँ। सबैले पसल श्रीमतीलाई सुम्पने तयारी गरेका छौँ”, उनी भन्छन्, “कोरोना महामारीपछि हाम्रो व्यवसाय धेरै धरापमा छ। तयारी जुत्ताले हाम्रो व्यापार खासै चलेको छैन।”

टीकापुरमा एक दर्जन बढी छाला जुत्ताका पसल छन्। यहाँ करिब ४० जनाले रोजगारी पाएका छन्। यहाँ छालाका जुत्ता हातैले बनाइन्छन्। लामो समयदेखि कच्चा पदार्थ किनेर आफैँले उत्पादन गरिने छाला जुत्ता टीकापुरको स्थानीय उत्पादित सामग्रीमा पर्दछन्। छाला जुत्ता पसलमा अहिले महिलाहरू पनि काम गरिरहेका देखिन्छन्। टीकापुरमा रहेका एक दर्जन पसलमध्ये सातवटा पसलमा महिला काम गरिरहेका हुन्छन्। महिला त्यहाँ कामदारका रूपमा नभइ कतिपयले आफैँ पसल सम्हालिरहेका छन् भने कतिपय श्रीमान्को सहयोगीका रूपमा काम गर्छन्।

सन्तोषी नेपालीका श्रीमान्ले लामो समयदेखि छाला जुत्ता पसल गरे। यहाँको कमाइमा चित्त नबुझेपछि जुत्ता बनाउने सीप श्रीमतीलाई सिकाएर उनी हाल विदेशमा छन्। अचेल पसल उनकी श्रीमती सन्तोषीले चलाइरहेकी छन्। सन्तोषीले जुत्ता, चप्पल आफैँ बनाउनेसमेत गरेकी छन्। “श्रीमान्बाट मैले सीप सिकेँ, यहाँको कमाइले पुग्दैन भन्दै उहाँ विदेश जानुभयो”, सन्तोषी भन्छिन्, “साँझ–बिहान घरको काम गर्छु। दिउँसो पसल आफैँले चलाएकी छु। जुत्ता बनाउन पनि सिकेकी छु। पसल चलेको छ।”

पूजा नेपालीले पनि लामो समयदेखि श्रीमान्सँगै सहयोगीका रूपमा काम गरिरहेकी छन्। उनले कामदार राख्नुभन्दा आफैँ काम गरौँ भनी यो सीप सिकेकी हुन्। पूजाका श्रीमान् मोहनलाल नेपालीलाई श्रीमती सहयोगी हुँदा सहज भएको छ। उनी नयाँ काम गर्छन्, उनकी श्रीमतीले पुरानो मर्मतको काम गर्छिन्। “मेरो श्रीमती पसलमा सघाउँदा मलाई कामदार राख्नुपरेको छैन। अब उनलाई यो काम राम्ररी सिकाएर म पनि विदेश जाने तयारीमा छु”, उनले भने।

जुत्ता पसलमा बालबालिकादेखि वृद्धवृद्धासम्मलाई हुने पाँचदेखि छ प्रकारका जुत्ता चप्पल पाइन्छन्। टीकापुरमा तयार हुने छालाका जुत्ता चप्पल अन्यभन्दा सस्तो र बलियो छन्। तर पनि बजार खासै नरहेको उनीहरूको गुनासो छ। टीकापुरमा उत्पादन भएका छालाका जुत्ता चप्पलको खपत यही हुन्छ। पछिल्लो समय आधुनिक जुत्ता चप्पल भित्रिँदा व्यवसाय खासै नचलेको उनीहरूको गुनासो छ।

प्रकाशित मिति : २३ माघ २०७९, सोमबार  ९ : ४६ बजे

टीकापुरमा भूमिपूजाको रौनक

टीकापुर– मगर जातिको संस्कृतिसँग जोडिएको भूमिदेवताको पूजा गर्ने भूमिपर्व सुरुआत

विश्वकप: न्युजिल्यान्ड र इरानको रोमाञ्चक भिडन्त, २-२ गोलको बराबरी

लस एन्जलस – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’ को

नेपालगञ्ज भन्सार : राजस्व सङ्कलनमा वृद्धि

बाँके– भारतबाट नेपाल भित्रिने सामानमा अनिवार्य भन्सार शुल्क लगाएपछि नेपालगञ्ज

अर्थसहित पाँचवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेको विभिन्न पाँचवटा समितिको बैठक आज

परराष्ट्रमन्त्री खनाल र चिनियाँ समकक्षी वाङबीच वार्ता: नेपाली भूमि चीनविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता

काठमाडौँ – चीनको चारदिने औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल