वसन्तपुरको होली : प्रेमील अनि रङ्गीन « Khabarhub

वसन्तपुरको होली : प्रेमील अनि रङ्गीन


२२ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– हातहातमा रङ्गका पोका बोकेका एक प्रेमिल जोडी काठमाडौँको न्युरोडमा ‘वसन्तपुर’ गन्तव्य सोझ्याउँदै थिए । उपत्यकाको होली खेल्ने केन्द्रबिन्दु हो वसन्तपुर क्षेत्र । उपत्यकामा बस्ने होलीप्रेमीहरु एक पटक वसन्तपुर नपुगी चित्त बुझाउँदैनन् । आज साँझ अबेरसम्मै वसन्तपुर दरबार क्षेत्र होलीमय हुन्छ । ती एक प्रेमिल जोडी पनि आज बिहान मैतिदेवीस्थित आफ्नै कोठाबाट एकापसमा रङ्ग दलेर होलीको सुरुआत गरी न्युरोड आइपुगेका हुन् । साथीहरूबीच खुसी साट्दै र रङ्ग दल्दै निस्किए । न्युरोड आइपुग्दा पाँच प्रेमिल जोडीको एक समूह बन्यो । 

होलीका लागि भनेर तयार पारिएको निखर सेतो टिसर्ट र बजारको ‘फेसनेबल हाफ पाइन्ट’मा थरीथरीका रङ्गको स्पर्शले उनीहरूको शरीर र लगाएको कपडा नै सप्तरङ्गी बनेको थियो । अनुहार चिनिने गरी मात्रै रङ्ग दलिएको थिएन । सबैका हातहातमा रङ्गका पोका थिए । वसन्तपुरमा पुगेर फागु खेल्न धोको बाँकी नै थियो । भेटेका अन्य समूहले रङ्ग दल्दा उनीहरु पनि उक्त समूहलाई रङ्ग दलेर ‘ह्याप्पी होली’ भन्दै मच्चीमच्ची उमङ्ग साटासाट गर्थे । त्यो समूहकी एक कृपा शर्माले भनिन्, ‘यो प्रेमिल अनि रङ्गीन पर्व हो, होलीमा लगाइएको रङ्ग आफैँमा विशेष र स्मरणयोग्य हुने भएकाले यो बेला जोडिने सम्बन्ध अटुट बन्छ ।’ त्यही कारण होली पर्व मनाउन कहिल्यै नछुटाउने गरेको उनले बताइन् । 

उनको जस्तै अन्य युवा समूह आ-आफ्नै रङ्गीन संसारमा होली खेल्दै सडकभरि हिँडिरहेका काठमाडौँ चोकचोकमा यत्रतत्र थिए । अन्यत्रको भन्दा बढी मानिसको भीडभाड भने वसन्तपुरमै थियो । मध्य दिउँसो नै न्युरोडदेखि वसन्तपुरसम्मको सडकमा सवारी नै प्रभावित हुने गरी होली पारखीहरू भेला भइसकेका थिए । 

होली मनाउनेहरूको भीडले प्रहरीले त्यहाँको भित्री सडकमा यातायात आवागमन रोकेको थियो । प्रहरीले ठाउँठाउँमा सवारी साधन जाँच अभियानलाई पनि तीव्रता दिइरहेको थियो । तर सवारी साधन न्यून मात्रामा सञ्चालन भएकाले आज पैदल हिँड्नेको जमात बढी थियो । प्रहरी प्रवक्ता पोषराज पोखरेलले होलीमा हुनसक्ने सम्भावित दुर्घटना रोक्न बाक्लो प्रहरी परिचालन गरिएको बताए ।

काठमाडौँको वसन्तपुर मात्रै होइन, कलङ्की, बानेश्वर, कालीमाटी, सुन्धारा, नक्साललगायत उपत्यकाका हरेक क्षेत्रमा युवाहरु समूह बनाएरै होलीमा रमाइरहेका भेटिए । कतै गीत सङ्गीतमा झुमेका पाइए । 

होली सामाजिक एकता र भाइचारा विस्तार गर्ने र सुखदुःख साट्ने पर्व हो । सरकारले होलीमा सार्वजनिक बिदा दिएकाले पनि यसको महत्व विशेष रहेको कुरा स्पष्ट हुन्छ ।

 ‘नेपाली समाज पनि जातीय, भाषिक र सांस्कृतिकरूपमा होलीमा खेलिने रङ्गहरू जस्तै विविधतापूर्ण छ, यो विविधता हाम्रो पहिचान र शक्ति दुवै हो’, होली पर्वका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट जारी शुभकामना सन्देश र ‘नेपालका सबै भूभाग, सबै जाति, सबै समुदायका बीच उत्तिकै लोकप्रिय र साझा संस्कृतिका रूपमा स्थापित होली पर्वले सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यमा एकताबद्ध हुन थप प्रेरित गर्ने विश्वस छ’ भन्ने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट जारी शुभकामना सन्देशले पनि होली एउटा साझा संस्कृति हो र भाइचारा प्रवर्द्धनको महत्त्वपूर्ण कडी हो भन्न सकिन्छ । 

यस्ता पर्वहरुले आम नेपाली बीचमा आपसी प्रेम, सद्भाव र आत्मीयता अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान  पुर्‍याउने  विश्वास गर्न सकिन्छ । बोटबिरुवाले पनि रङ्ग बदलेर उमङ्ग थपिदिने समयको सुरुआत होलीबाटै हुन्छ । होलीले वसन्त ऋतुकै प्रतिबिम्बित गरिदिन्छ । होली प्रेम र आकर्षणको उत्सव मात्रै होइन सत्य र निष्ठासँग पनि जोडिन्छ ।

होलीमा दलिने सप्तरङ्गी रङ्गले मानव जीवन सधैँ सप्तरङ्गी हुनुपर्छ भन्ने सन्देश पनि दिने न्युरोडमा भेटिएको एक बटुवा कृष्णहरि नेपालले बताए। उनले पछिल्ला समयमा होलीलाई हिलो छ्यापाछ्याप गर्ने, मदिरामा लट्ठिने र जथाभावी रुपमा सवारी चलाएर दुर्घटनाको कारक बन्ने गर्नु उपयुक्त नहुने तर होलीलाई उमङ्गकै रुपमा रङ्ग दलेर खुसी साटासाट गरेर मनाउनुपर्ने बताए ।

    होली पर्वमा रङ्ग मात्रै दलिँदैन गीत-सङ्गीत र नृत्य एक साथ पस्किने हुँदा उल्लास थपिदिन्छ । बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक तथा विविधतायुक्त नेपालमा मनाइने होलीलगायतका पर्वहरुले सामाजिक सद्भाव, सहिष्णुता र राष्ट्रिय एकता कायम गर्न महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ । त्यसैको एउटा द्योतक हो होली पर्व ।

होली पर्व हाम्रो मौलिक विशेषतायुक्त संस्कृति हो । फागुलाई आपसी खुसी र सद्भावको पर्वका रुपमा समेत लिइन्छ । पृथ्वीनारायण शाहले काठमाडौँ विजयी गरेपछि होलीको परम्परा सुरु भनेर पनि मान्ने गरिन्छ  । त्यही सम्झनामा नेवार समुदायले वसन्तपुरमा रङ्गीन चीर गाडेपछि होली सुरु भएको भनी मान्दै पनि आएका छन् । 

त्रेतायुगमा दैत्यराज हिरण्यकश्यपुले प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी र भक्त प्रह्लाद नजलेको कथासँग होली पर्व जोडिएको छ ।

अर्को कथा पनि होलीसँग जोडिएको छ । द्वापरयुगमा श्रीकृष्णलाई मार्न कंशले पठाएकी पुतनाले स्तनमा विष दलेर चुसाउन लाग्दा उनको प्रयास सफल हुन नसकि मारिइन् । त्यो बेला उनलाई जलाएर होली उत्सव गरिएकाले पर्वको सुरुआत भएको पनि मानिन्छ ।

होलीलाई असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको र दुराचारमाथि सदाचारको विजय भएको प्रतीकका रुपमा स्मरण गरिन्छ र त्यही अनुसार मनाइन्छ । त्यसैको रिस र द्वेष त्यागेर प्रेम र भाइचाराका साथ एकापसमा रङ्ग दलेर होली मनाउनु नै खास होली अर्थात् फागु हो । आज पहाड तथा हिमाली क्षेत्रमा र भोलि तराईमा होली पर्व मनाइन्छ । -रासस

 

प्रकाशित मिति : २२ फाल्गुन २०७९, सोमबार  ७ : ५७ बजे

ट्राफिक प्रहरीबाट एक सातामै एक करोड १८ लाख बढी राजस्व सङ्कलन

काठमाडौँ– काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले वैशाख २९ गतेदेखि आजसम्म गरी

चितवनका बजारमा याक चिज उपलब्ध

चितवन– चितवनका बजारमा याक चिज उपलब्ध हुन थालेको छ ।

बलिउडको कायाकल्प गरेर अस्ताएका कलाकार

भारतीय सिनेमा र सङ्गीत उद्योगले संसारभर करोडौँ दर्शकको मन जितेको

नुन पनि गुणस्तहीन ! आयोडिनविहीन नुन बिक्रीवितरण तत्काल रोक्न चिकित्सकको माग

झापा– चिकित्सक तथा जनस्वास्थ्यकर्मीले नेपालमा आयोडिनको कमीले हुने जनस्वास्थ्य समस्याको

विपक्षको आपत्तिबीच सुनुवाइ समितिको बैठक सकियो, १ बजे प्रस्तावित प्रधानन्यायाधीशसँग छलफल

काठमाडौँ – प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको सुनुवाइका लागि बसेको