दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू | Khabarhub Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू


२३ बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : 6 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

आज दिनभर सत्ता गठबन्धनको बैठक सम्पन्न, प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता, भ्रष्टाचारको फाइल खोल्दा जस्तोसुकै दबाबको पनि सामना गरिने, आफूप्रति भ्रामक समाचार आएको भन्दै पूर्वगृहमन्त्री खाणको आपत्ति, वर्तमान पाँचदलीय गठबन्धनलाई निरन्तरता दिनुपर्ने, संघीय संसद्को बजेट अधिवेशन भोलिदेखि , बाजुरामा भूकम्पको अर्को धक्का महसुसलगायतका समाचारले प्रमुख स्थान पाए ।

यी हुन् आज दिनभरका मुख्य समाचारहरू:

सत्ता गठबन्धनको बैठक सम्पन्न

सत्ता गठबन्धनको बैठक सम्पन्न भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार साँझ सरकारमा सहभागी दलका नेताहरूको बैठक बसेको थियो।

सत्ता गठबन्धनको बैठकले भोलिदेखि चल्ने संघीय संसदको बैठक व्यवस्थित रुपमा कसरी अघि बढाउने भन्नेबारेमा कुराकानी भयो,’ बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले भने।

साथै, अहिले प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने कुनै संवैधानि व्यवस्था नभएको पाण्डेले बताए। ‘अहिले विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छैन,’ पाण्डेले भने।

शनिबारको बैठकमा भोलिबाट चल्ने संसद बैठकमा व्यवस्थित रूपमा प्रस्तुत हुने विषयमा छलफल भएको जनाइएको छ। सत्ता गठबन्धनको बैठकअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका थिए।

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच आज भेटवार्ता भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको भेटवार्तामा समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेसविज्ञ मनोहरि तिमिल्सिनाले जानकारी दिए। मुलुकको पछिल्लो समसामयिक विषयमा उनीहरूबीच छलफल भएको उनले बताए ।

नक्कली शरणार्थी प्रकरणमा पार्टीका उच्च नेता जोडिएपछि यसअघिको भेटमा एमाले अध्यक्ष ओलीले निर्दोष फस्न नहुने र दोषी उम्कन नहुने विषयमा प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराएको बताएका थिए ।

यसैबीच नेकपा एमाले अध्यक्ष  ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा अभियुक्त बचाउन खोजेको भन्दै आफूविरुद्ध हल्ला फैलाइएको बताएका छन् ।

सिंहदरवारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग १ घण्टा छलफल गरेका अध्यक्ष ओलीले नक्कली शरणार्थीबारे कुरा नभएको बताएपनि के विषयमा छलफल भयो भन्नेबारे बताउन चाहेनन् । उनले सञ्चारकर्मीको प्रश्नमा अभियुक्तलाई बचाउन खोजेको भन्दै आफ्ना विरुद्ध हल्ला फैलाइएको टिप्पणी गरे ।

शरणार्थी प्रकरणमा मुछिएका एमाले सचिव टोपबहादुर रायमाझी फरार रहेकोबारे अर्को प्रश्नमा ओलीले रायमाझी आफ्नो सम्पर्कमा नरहेको पनि प्रष्ट पारेका छन् ।

यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नक्कली शरणार्थी प्रकरणमा जोडिएका कोही कसैलाई पनि छुट नदिइने दृढता व्यक्त गरेका छन् । उनले कोही कसैको दबाबमा नपर्ने र दोषीलाई कारबाहीको दायरामा ल्याएरै छाडिने बताए ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज प्रधानमन्त्री दाहाल र नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीसँग छलफल भएको थियो । त्यसलगत्तै सिंहदरबारमा सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानीमा प्रधानमन्त्री दाहालले भने , ‘आज ओलीजीले अनुसन्धानबारे कन्सर्न राख्नुभयो ।’

एमाले अध्यक्ष ओलीले नक्कली शरणार्थी प्रकरणमा पार्टीका उच्च तहका नेताहरुमाथि भइरहेको अनुसन्धानका बारेमा चासो राखेको प्रधानमन्त्री दाहालले जानकारी दिए । उनले भने, ‘हामी कसैको दबाबमा पर्दैनौँ । कानुनअनुसार अनुसन्धान प्रक्रिया अघि बढ्छ, यो रोकिँदैन । हामी दृढताका साथ अघि बढ्छौँ ।’

प्रधानमन्त्री दाहालले ‘निर्दोष कोही नपरून्, दोषी कोही नछुटून्’ भन्ने मान्यतामा नै सरकार अगाडि बढिरहेको बताए ।

भ्रष्टाचारको फाइल खोल्दा जस्तोसुकै दबाबको पनि सामना गरिन्छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ठूला-ठूला भ्रष्टाचारको फाइल खोल्दा जस्तोसुकै ठूलो घेराबन्दी र दबाबको सामना गर्ने बताएका छन् ।

शनिबार काठमाडौंमा नेपाल दलित मुक्ति मोर्चाको छैटौँ राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचारीको फाइल खोल्ने कामको अहिले सुरुवात मात्रै भएको भन्दै ठूला-ठूला भ्रष्टाचारको फाइल खोल्दा जस्तोसुकै ठूलो घेराबन्दी र दबाबको सामना गर्ने बताएका हुन् । उनले भ्रष्टाचारीको फाइल खोल्ने कामबाट आफू कुनै पनि हालतमा पछि नहट्ने स्पष्ट पारे ।

प्रधानमन्त्री प्रचण्डले यसअघि सरकारमा बसेकाहरू र भुटानी शरणार्थीहरूका रुपमा नेपालीहरूलाई बेच्नेले नै आफू र माओवादीप्रति निरन्तर प्रहार गरेको जिकिर गरे । उनले सामाजिक न्याय, सुशासन र समृद्धि आफ्नो सरकारको प्राथमिकतामा रहेको रहेको भन्दै सुशासन कायम गर्ने चुनौति निकै ठूलो रहेको धारणा राखे । लामो समय देखिएको गलत कार्यशैली र संस्थागत भ्रष्टाचार कारण मुलुकमा आर्थिक समस्या आएको भन्दै यसको समाधानका लागि सुशासन कायम गर्नै पर्ने उनले बताए ।

प्रचण्डले बिभिन्न आन्दोलनबाट प्राप्त उपलव्धता र परिवर्तन उल्टाउने कसरत अहिले पनि भइरहेको उल्लेख गरे । त्यस्तै प्रधानमन्त्री प्रचण्डले भूमि अधिकार दलितहरूको अधिकारसँग जोडिएको विषय भएकाले समय तोकेर नै केही समयभित्रै समाधान गर्ने प्रयास गर्ने पनि बताए । माओवादी अध्यक्ष समेत रहेका प्रचण्डले माओवादी क्रान्ति परै जितेर नभई सम्झौता र सहमति गरेर सरकारमा आएकाले विशेषाधिकारको लडाइ जारी रहेको र संविधान संशोधन गरेर दलित लगायत पछि परेकाहरूको अधिकार स्थापित गर्न आफू लागि परेको बताए ।

प्रचण्डले अहिले माओवादीलाई ३२ सिटे भनेर व्यङ्ग्य गर्ने गरेको भन्दै अर्को निर्वाचनमा बहुमत ल्याएर नेपाललाई कब्जा गर्ने उल्लेख गरे ।

आफूप्रति भ्रामक समाचार आएको भन्दै पूर्वगृहमन्त्री खाणको आपत्ति

नेपाली कांग्रेसका नेता एवम् पूर्व गृहमन्त्री बालकृष्ण खाणले विभिन्न सञ्चारमाध्यममा आफूबारे भ्रामक समाचार आएको भन्दै त्यस खण्डन गरेका छन्।

एक विज्ञप्ति जारी गर्दै खाणले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको र आफूमाथि भ्रामक समाचार आइरहेको भन्दै त्यसको खण्डन गरेका हुन्।

‘आधारहीन, तथ्यहीन र संलग्न हुँदै नभएका घटनामा संलग्न भएको भन्दै जाँदै नगएका स्थानमा भ्रमणमा गएको भन्ने समाचारले अन्यौल उत्पन्न हुने र व्यक्तिगत चरित्र हत्या हुने हुँदा त्यस्ता समाचार सम्प्रेषित नगर्ने अनुरोध गर्दछु’ उनले भनेका छन्।

वर्तमान पाँचदलीय गठबन्धनलाई निरन्तरता दिनुपर्छ : उपेन्द्र यादव
जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान पाँचदलीय गठबन्धनलाई निरन्तरता दिएर मुलुकलाई सुशासन र राजनीतिक स्थिरतातर्फ लैजानुपर्नेमा जोड दिएका छन् ।

रफत सञ्चार क्लबले शनिबार भक्तपुरमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष यादवले दिनैपिच्छे सरकार परिवर्तन हुने हल्ला चलाए कसैको हित नहुने भन्दै पाँचदलीय गठबन्धनलाई निरन्तरता दिएर मुलुकलाई सुशासन र राजनीतिक स्थिरतातर्फ लैजानुपर्नेमा जोड दिएका हुन् । उनले मुलुकले अत्यन्तै आर्थिक संकट बेहोरिरहेकाले सरकारले आगामी बजेट शिक्षा, कृषि, स्वास्थ्य र पर्यटन क्षेत्रको उत्थानमा केन्द्रित गर्नुपर्ने सुझाव पनि दिए ।

अध्यक्ष यादवले राजनीतिक दलका नेताहरूप्रति वितृष्णा फैलाउने कार्यसँग आफू सदैव असहमत रहेकाले सरकारले जनतालाई परिवर्तनको अनुभूति हुने गरी नीति तथा कार्यक्रम ल्याउनुपर्ने बताए । उनले नेपाली नागरिकलाई विदेशी भुटानी बनाएर कमाउने प्रथा गर्ने गरेको आफूले पनि पहिलोपल्ट सुनेको र हाल सरकारले छानविन गरिरहेकाले यस्ता प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्ने धारणा व्यक्त गरे ।

यादवले कोशी प्रदेशमा नामकरणलाई लिएर चलिरहेको असन्तोषलाई गम्भीरतापूर्वक ध्यान दिएर समाधानमुखी सम्बोधन गर्नुपर्ने जिकिर गरे ।

तलबबाहेक सबै सुविधा कटौती गर्न सक्नुपर्छ : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देशको आर्थिक भार कम गर्न राष्ट्रपतिदेखि वडाध्यक्षसम्म सबैको तलबबाहेकका सबै सुविधा कटौती गर्नुपर्ने बताएका छन् । विशेषगरी स्वास्थ्योपचारका नाममा राष्ट्रको ढुकुटीबाट हुने खर्च रोक्न सकेमात्रै पनि देशमा बढ्दै गएको आर्थिक मन्दी कम गर्न सकिने थापाले बताएका छन् ।

नेपाल वितरक सङ्घको ११औँ वार्षिक साधारणसभालाई आज धादिङबेँसीमा सम्बोधन गर्दै महामन्त्री थापा भने , ‘म यो वर्ष कुनै पनि ठाउँमा कसैलाई पनि स्वास्थ्योपचारका नाममा एक रुपैयाँ पनि राष्ट्रको ढुकुटीबाट खर्च गर्दिनँ भनेर सबैले व्यवहारमा लागू गर्न सक्नुपर्छ ।’

‘सांसदले तलब पाउँछ, संसद् बैठक बसेको बेला सांसदहरूले बैठक भत्ता पाउँछ । त्यो ठूलो पैसा छैन । तर यो वर्ष अप्ठयारो परेको वर्ष भएकाले सांसदले हामी यसरी प्राप्त गरिरहेको सेवा सुविधा कटौती गर्छौँ भनेर लाग्यौँ भने बल्ल देशभित्रको आर्थिक व्यवस्थापन सहज बनाउन सहयोग पुग्नेछ’, उनले भने ।

आर्थिक हिसाबले देश अप्ठ्यारो परेको वर्ष भएकाले राष्ट्रपतिदेखि सांसद हुँदै वडाध्यक्षसम्म सबैले अन्य सुविधा कटौती गरेर देशको अप्ठ्यारो फुकाउनेतर्फ लाग्नुपर्ने उनको भनाइ छ । मुलुकको आर्थिक वृद्धिदर खुम्चिएकाले सरकारले अब ल्याउने बजेटमा पनि निर्मम भएर खर्च कटौती गर्न सक्नुपर्ने महामन्त्री थापाले बताए ।

मानव सेवाका कामलाई निरन्तरता दिन सरकार प्रतिबद्ध

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सहयोगापेक्षी सडक आश्रित मानवलाई अभिभावकत्व प्रदान गर्ने र आश्रय दिने मानव सेवाको अभियानलाई सफल पार्न सरकारका तर्फबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

काठमाडौँको नागार्जुन नगरपालिका(१ स्थित मानव सेवा आश्रमको अवलोकन गर्दै उपप्रधानमन्त्री श्रेष्ठले मानव सेवाका कामलाई निरन्तरताका साथ अगाडि बढाउन सरकारका तर्फबाट साथ रहने प्रतिबद्धता व्यक्त गरे। उनले आश्रमलाई जीवित राख्न, सञ्चालनमा ल्याइराख्न र सहयोगापेक्षी सडक आश्रित मानवमुक्त नेपाल बनाउने प्रक्रियालाई अगाडि बढाउन सरकारले सम्पूर्ण प्रयत्न गर्ने विश्वास दिलाएका छन् ।

संघीय संसद्को बजेट अधिवेशन भोलिदेखि सुरु हुने
संघीय संसद्को बजेट अधिवेशन भोलिदेखि सुरु हुने भएको छ । संसद्का दुवै सदनको बैठक आइतबार अपराह्न ४ बजे बस्ने गरी बोलाइएको हो ।

राष्ट्रियसभाको १४औं अधिवेशनको पहिलो बैठक बस्न लागेको हो । प्रतिनिधिसभाको भने यो दोस्रो अधिवेशनको पहिलो बैठक हो । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बैठक बस्नेछ ।

संसद्को यो अधिवेशनबाट सरकारका नीति तथा कार्यक्रम र नयाँ बजेट पारितलगायत कार्य गरिनेछ । आइतबारको बैठकका लागि विभिन्न कार्यसूची तय गरिएको छ । प्रतिनिधिसभा बैठकको सुरुआतमा सभामुख देवराज घिमिरेले राष्ट्रपति रामचन्द्र पौडेलबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनेछन् ।

सभामुखले नै राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्री पदमा नियुक्तिसम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाउनेछन् । त्यसपछि सभामुखले सभामुखको अनुपस्थितमा बैठकको अध्यक्षता गर्न सदस्यहरूको मनोनयन गर्ने सम्भावित कार्यसूची छ ।

यस्तै, कानुन, न्याय संसदीय मामिलामन्त्री धनराज गुरुङले ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८०’ पेस गर्नेछन् ।

अर्थमन्त्री डा। प्रकाशशरण महतले ‘आ.व. २०८०-०८१ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा ९कर प्रस्तावबाहेक०माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

बाजुरामा भूकम्पको अर्को धक्का महसुस

बाजुरामा फेरि भूकम्पको धक्का महसुस गरिएको छ ।

शनिबार दिउँसो १ बजेर ४२ मिनेटमा बाजुराको बिच्छ्या आसपास केन्द्रबिन्दु भएर ३.७ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार यसअघि गएको बिहीबार दिउँसो १ बजेर १७ मिनेटमा बाजुराकै सिमीकोट आसपास केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो ।

त्यसअघि, यही वैशाख १८ गते सोमबार दिउँसो २ बजेर ३५ मिनेटमा हुम्लाको लाली आसपास केन्द्रबिन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको थियो ।

सरकारी छाप तथा दस्तखत किर्ते गरेको आरोपमा पत्रकार भण्डारी पक्राउ

सुरक्षान्युज डट कम नामक अनलाइन पोर्टलका सञ्चालक पत्रकार मदन भण्डारी पक्राउ परेका छन् । पोखराबाट आएका भण्डारीलाई सरकारी छाप तथा दस्तखत किर्ते गरेको आरोपमा पक्राउ गरिएको हो ।

भण्डारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलबाट पक्राउ गरीएको काठमाडौं प्रहरी परिसरले जनाएको छ।

भण्डारीविरुद्ध परेको जाहेरीपछि अदालतबाट अनुमति लिएर अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

अहिले भण्डारीलाई परिसरको हिरासतमा राखिएको छ ।

थप ७६ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घन्टामा ७६ जना कोभिड-१९ बाट सङ्क्रमित भएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीर अधिकारीका अनुसार एक हजार छ सय तीन जनाको नमूना परीक्षण गर्दा ७६ जनामा सङ्क्रमण देखिएको हो । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या एक सय ३७ रहेको छ । संस्थागत आइसोलेसनमा २४ र सघन उपचार कक्षमा १२ जना रहेका छन् ।

यस्तै, मन्त्रालयले खोप लगाउन छुटेका पाँच वर्षमुनिका सबै बालबालिकाका लागि आइतबार नियमित खोप दिइने जानकारी दिएको छ ।

देशभरका सबै सरकारी स्वास्थ्य संस्थाबाट राष्ट्रिय खोप तालिकाअनुसार १५ महिनाभित्रमा लगाउनुपर्ने नियमित खोप छुटेका पाँच वर्षमुनिका सबै बालबालिकालाई खोप लगाउने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : २३ बैशाख २०८०, शनिबार  ८ : ५९ बजे

संसदको गतिरोधबारे प्रधानमन्त्रीले कांग्रेससँग छलफल गर्दै

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदको गतिरोधबारे नेपाली कांग्रेसका नेताहरुसँग

सिजनको अन्तिम खेलमा मुम्बई पराजित : १८ रनको जितले लखनउ प्लेअफ पुग्न असफल

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

बागमतिसहित तीन प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल जेठ ५ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल जेठ ५ गते शनिबार तदनुसार