को हुन् कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री थापा ? « Khabarhub

को हुन् कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री थापा ?


२१ असार २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापा कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।

विसं २०३२ ताका काठमाडौँको शङ्करदेव क्याम्पसबाट नेपाल विद्यार्थी सङ्घको एकाइबाट राजनीतिक जीवन सुरु गरेका थापा नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा कोशी प्रदेशको सभापति पदमा निर्वाचित भएका हुन् ।

विसं २०३६ को जनमत सङ्ग्रहमा निरङ्कुश पञ्चायती व्यवस्थाविरुद्ध बहुदलीय व्यवस्था स्थापनाका लागि प्रचार अभियानमा सक्रिय थापा त्यसताका बिपी कोइरालाको सुरक्षा दस्तामा समेत रहेका थिए ।

अर्जुनधारा नगरपालिका–७ निवासी बुबा हेमबहादुर थापा र आमा डम्बरकुमारी थापाको एक्लो छोराका रूपमा विसं २०१४ मङ्सिर १५ गते जन्मनेका नवनियुक्त मुख्यमन्त्री थापाले २०४६ सालमा पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका थिए ।

विद्यार्थी जीवनबाट पार्टीको सङ्गठनतर्फ प्रवेश गर्ने क्रममा उनीले नेपाली काङ्ग्रेस अर्जुनधारा गाउँ विकास समितिको सचिव÷सभापतिको एक–एक कार्यकाल जिम्मेवारी सम्हालेका थिए । त्यसपछि झापा निर्वाचन क्षेत्र नं २ को क्षेत्रीय सभापति, जिल्ला सचिव, जिल्ला उपसभापति र दुई कार्यकाल जिल्ला सभापतिको जिम्मेवारी कुशलतापूर्वक सम्हालेका थापाले दुईपटक प्रतिनिधिसभा सदस्यको टिकट पाए । हरेक चुनावमा नेपाली कांगे्रसको भारी मत बढाउन सफल रहे पनि जितको परिणाम भने हात पर्न सकेन ।

नेपाली कांग्रेसको १३औँ महाधिवेशनपछि नेपाली कांग्रेस झापाको राजनीतिमा पूर्वको अवधारणा अघि सारेर जिल्लाव्यापी राजनीतिक प्रशिक्षण अभियान सञ्चालन गर्ने कार्यक्रमका परिकल्पनाकार थापा एक विकासवादी, व्यावहारिक राजनीतिक योजनाकार पनि हुन् ।

पाँच ‘व’ को नीतिअन्तर्गत विचारमा कांग्रेस, व्यवहारमा कांग्रेस, व्यवसायमा कांग्रेस, विकासमा कांग्रेस र विपद्मा कांग्रेसको नीतिलाई साथसाथै लगिएन भने राजनीति जटिल र कठिन हुने ठम्याइसहित थापाकै अगुवाइमा जिल्लाव्यापी प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएका थिए ।

साथमा नेपाली कांगे्रसको सिद्धान्त, नीति, विचार, कार्यक्रम, इतिहास र विधानका विषयमा समेत थापाकै अगुवाइमा प्रशिक्षण कार्यक्रम चलाइए । विसं २०६१ माघ १९ मा तत्कालीन राजा ज्ञानेन्द्रले शाही ‘कू’ मार्फत सम्पूर्ण सत्ता हातमा लिएपछि प्रजातन्त्र अपहरण गर्ने राजाको कार्यको कडारूपमा विरोध जनाउँदै आन्दोलन सञ्चालन गर्दा उनलाई तत्कालीन शाही नेपाली सेनाको मातहतमा रहेको युनिफाइड कमाण्डले पक्राउ गरेर झापा चारआलीस्थित सैनिक ब्यारेकको बङ्करमा कठोर र अमानवीय क्रूर यातना दिएर सैन्य हिरासतमा राखेको थियो ।

वाणिज्य शास्त्रमा स्नातक गरेका थापाले एक स्पष्टवादी, निडर, कार्यकर्ताको पीरमर्का बुझ्न र सहयोग गर्न सक्ने, कार्यकर्तालाई माया र न्याय गर्न सक्ने विवेकशील नेताको छवि निर्माण गरेका छन् ।

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला कम्युनिष्टको लालकिल्लामा कार्यकर्ताको सुरक्षा गर्दै पार्टी सङ्गठनलाई विस्तार गर्न थापाले कठोर मेहनत गरेका छन् ।

प्रजातान्त्रिक आन्दोलन र सङ्गठन विस्तारका क्रममा सङ्घर्षको मैदानबाट खारिएर आफूलाई राजनीतिमा अब्बल साबित गरेका थापा राजनीतिलाई राष्ट्रहित र जनताको सेवामा समर्पित गर्नुपर्छ भन्ने मान्यतामा अडिग रहँदै आएका छन् ।

नेपाली कांग्रेसभित्र सबै जाति, भाषाभाषी र समुदायको उपस्थिति, सम्मान र सुरक्षामा विशेष चासो राख्नुहुने थापा नेविसङ्घ एकाइ हुँदै कांग्रेस पार्टीको तल्लो एकाइ समितिबाट नेतृत्व विकास गर्दै राष्ट्रिय राजनीतिको वर्तमान अवस्थामा आफूलाई उभ्याउन सफल लोकतन्त्रका पहरेदार सिपाहीका रूपमा चर्चित छन् ।

कोशी प्रदेशसभाको दोस्रो निर्वाचनमा नेपाली कांग्रेस संसदीय दलको नेतामा निर्वाचित भएपछि उनी प्रदेशसभाको छैठौँ बैठकसम्म र तेस्रो अधिवेशनको पहिलो बैठकसम्म आफ्ना धारणा, विचार र सिद्धान्तमा अडिग रही अत्यन्त प्रभावशाली ढङ्गले सदनमा प्रस्तुत भएका थिए ।

प्रकाशित मिति : २१ असार २०८०, बिहीबार  ७ : १४ बजे

आजका समाचार : कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग, मनाइयो इद, मौसममा सुधार हुँदै र अमेरिकाले इरानमाथिको दबाब घटाउने

पूर्वसभापति देउवा सिंगापुरबाट हङकङ प्रस्थाननेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर

उराँव समुदायले मनाए सरहुल पर्व

इनरुवा (सुनसरी)- सदरमुकाम इनरुवासहित सुनसरी जिल्लाका विभिन्न स्थानमा बसोबास गर्दै

राजकुमारका सिर्जनामा ‘सहअस्तित्व’को खोजी

काठमाडौं– एकसट्ठिऔँ अन्तरराष्ट्रिय जातीय तथा रङ्गभेद उन्मूलन दिवसका अवसरमा आज

भियतनाम निर्वाचन : गैरकम्युनिस्ट पार्टीका १८ सांसद निर्वाचित

हनोई- भियतनामको ५०० सदस्यीय संसदमा गैर–कम्युनिस्ट पार्टीका १८ सदस्यहरू निर्वाचित

सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबैलाई मुख्यालय झिकाइयो

काठमाडौँ- कैलालीको खक्रौलास्थित सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्मका