विपी राजमार्गको आकस्मिक सूचना प्रणाली आठ वर्षदेखि अलपत्र « Khabarhub

विपी राजमार्गको आकस्मिक सूचना प्रणाली आठ वर्षदेखि अलपत्र


२१ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सङ्घीय राजधानी काठमाडौँलाई पूर्वी तराईसँग जोड्ने छोटो दूरीका रूपमा रहेको विपी राजमार्गमा आकस्मिक सूचना प्रणाली (इआइएस) बोर्डमा आठ वर्षदेखि आवश्यक सूचना अद्यावधिक गरिएको छैन । गत वर्ष उक्त प्रणाली सञ्चालनार्थ अध्ययन गरिए पनि आवश्यक सूचना दिन नसकिएको सडक विभागले जनाएको छ ।

राजमार्गको धुलिखेल–सिन्धुली–बर्दिबास सडकखण्डमा तात्कालीक अवस्थाबारे जानकारी दिने उद्देश्यले काभ्रेपलाञ्चोकको धुलिखेल लगायतका सिन्धुलीको बर्दिबाससम्म पाँच स्थानमा डिजिटल सूचना बोर्ड राखिएको थियो । राजमार्ग प्रवेशस्थल धुलिखेलस्थित बोर्डमा समेत मौसमअनुसारको सूचना अद्यावधिक गर्न नसकेको विभागका इन्जिनियर कर्णसिं खत्रीले बताए । उनका अनुसार केही बोर्डमा मात्रै केही महिनादेखि सामान्य सूचनाबाहेक सडकको अवस्था, प्राकृतिक प्रकोप तथा दुर्घटनाबारे ‘डिस्प्ले’ गर्न नसकिएको हो ।

“इआइएस मर्मत र सञ्चालन निकै चुनौतीपूर्ण छ, जनशक्ति र आवश्यक बजेट नहुँदा सञ्चालन गर्न सकिएको छैन”, खत्रीले भने । उनका अनुसार सडक खण्डखण्डमा सूचना दिन विभागसँग त्यससम्बन्धी जनशक्ति नै छैन । इआइएस व्यवस्थित गरिएको सात वर्षपछि गत वर्ष सञ्चालनमा चासो राखेको विभागले उक्त राजमार्गको आकस्मिक सूचना प्रणाली प्रविधिलाई अझै पनि निरन्तरता दिन नसकेको जनाएको हो । हाल धुलिखेल र खुर्कोटको डिजिटल बोर्डमा ‘सवारी चलाउँदा सचेत रहनुस्’, ‘ट्राफिक नियमको पालना गरौँ’ जस्ता सामान्य सूचनाबाहेक डिस्प्ले भएका छैनन् ।

उक्त प्रविधिलाई पूर्णता दिई सञ्चालनमा ल्याउन विभागले गत वर्ष जाइका एक्सपोर्ट्स टिमलाई अध्ययन स्वीकृत दिएको थियो । उसको प्रतिवेदनपछि प्रणालीलाई निरन्तरता दिने योजना बनाइए पनि बजेट र जनशक्ति नहुँदा मर्मत गरी सञ्चालन गर्न नसकिएको खत्रीले बताए । विभागले सडक निर्माणकर्ता जाइकाले सडकसँगै उक्त प्राणालीको विकास गरेको तर केही समयपश्चात् उक्त प्रविधिलाई जनशक्ति अभाव तथा अन्य प्राविधिक समस्याका कारण निरन्तरता दिन नसकिएको जनाउँदै आएको छ ।

यो वर्ष पनि मनसुन निकै सक्रिय भइरहेको छ । यस्तो प्रणालीले राजमार्गको अवस्था तथा आकस्मिक घटनामा तत्काल उद्धार गर्न सकिने संयन्त्र निर्माण गर्न सकिने अपेक्षा गरिएको थियो । विपी राजमार्गलक्षित सङ्घीय राजधानी काठमाडौँबाट अरनिको राजमार्ग प्रवेशक्षेत्र कोटेश्वरमा समेत सूचना बोर्ड राखिएको छ । यस प्रणालीअन्तर्गत चारवटा केन्द्रमा स्थापना भएका ‘अटोमेटिक रेनफेल अब्जर्भेसन सिष्टम’ले निरन्तर रूपमा बर्सातको मापन गरेर सडक विभागस्थित डाटा सेन्टरमा सूचना पठाउँछ । यस्तो केन्द्र काठमाडौँ थापाथलीस्थित उपआयोजना कार्यालय, भक्तपुर र बर्दिबासस्थित सडक विभागका कार्यालयहरू र सिन्धुलीमा रहने व्यवस्था गरिएको आयोजनाले जनाएको थियो ।

सो प्रणालीअन्तर्गत डाटा सेन्टरमा निरन्तर आउने प्रकोपका विवरणहरू जिपिआरएस मोडेममार्फत मोबाइल, वेबसाइट र सडक सूचना बोर्डमा आफैँ अपडेट हुन्छ । यी विवरणहरू एलइडी डिस्प्लेयुक्त बोर्डहरूमा नेपाली र अङ्गे्रजी दुवै भाषामा उपलब्ध हुने डिजाइन गरिएको थियो । चौबिसै घण्टा विवरण अपडेटमा लोडसेडिङले समस्या हुनसक्ने जनाउँदै सबै केन्द्रमा सौर्यशक्ति (सोलार) मार्फत विद्युत् आपूर्ति हुने व्यवस्थासमेत मिलाइएको छ ।

अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको धुलिखेलबाट दायाँतर्फ विपी राजमार्ग सुरु हुन्छ । यस्तै राजमर्गामा वर्षा, बाढी–पहिराजस्ता प्राकृतिक प्रकोप तथा सडक दुर्घटनाबारे तत्काल मोबाइल, वेबसाइटमा जानकारी आउने व्यवस्था मिलाइने योजना बनाइएको थियो । यही जानकारी राजमार्गको वेबसाइट तथा कोटेश्वर, धुलिखेल, खुर्कोट, सिन्धुली र बर्दिबासमा रहेको डिजिटल सूचना बोर्डमा समेत हेर्न सकिने प्रविधि जडान गर्ने आयोजनाको लक्ष्य थियो ।

राजमार्गको अवस्थाबारे मोबाइल तथा वेबसाइटमा जानकारी लिनसक्ने गरी आठ वर्षअघि उक्त प्रविधि जडान गर्न सडकखण्डको विभिन्न स्थानमा सूचना प्रविधिका भौतिक पूर्वाधारलगाययत संरचना निर्माण तथा व्यवस्थापन गरिएको हो । यस्तै वेबसाइट र सडकमा रहेका इलेक्ट्रिकल बोर्डका सूचना हेरेर पनि यात्रा तय गर्न सकिने योजनासमेत बनाइएको थियो । त्यसबेला राजमार्ग सञ्चालन तथा मर्मत–सम्भारका लागि स्थापित उपआयोजनाले यस्तो प्रणालीको विकास गरेको थियो ।

विभागका अनुसार एन्ड्रोइडमा आधारित मोबाइल एप्लिकेसनसहित वेबसाइट र इआइएसलाई इन्जिनियररिङ सफ्टवेयर कम्पनीले ‘प्रणाली’समेत तयार पारिसकेको थियो । हाल राजधानीबाट पूर्वी तराईसँग जोड्ने छोटो दूरीको रूपमा सो राजमार्ग रहेको छ । काभ्रेपलाञ्चोकको धुलिखेलबाट विसं २०५४ देखि बनेपा–सिन्धुली बर्दिबास एक सय ६० किलोमिटर सडक विस्तार गरिएको थियो । सो मार्गलाई नेपालकै नमूना बनाउन यस्तो प्रणालीको विकास गरिएको आयोजनाले जनाएको छ ।

प्रकाशित मिति : २१ श्रावण २०८०, आइतबार  ८ : १४ बजे

विश्वकप ट्रफी टुर नेपालमा गर्दै आईसीसी

काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले विश्वकप अघिको ट्रफी

वन्यजन्तु पीडित किसानलाई ३८ लाख बढी राहत उपलब्ध

बागलुङ– वन्यजन्तु पीडित किसानलाई ढोरपाटन सिकार आरक्षले पछिल्लो तीन वर्षमा

एमाले महाधिवेशन: बिहान ८ बजेदेखि मतगणना

काठमाडौं – नेकपा (एमाले)को नयाँ नेतृत्वका लागि भएको मतदानको मतगणना

तनहुँमा सुन्तला उत्पादन तथा बिक्रीको विवरण सङ्कलन गरिँदै

तनहुँ– तनहुँस्थित कृषि विकास कार्यालयले जिल्लाभित्र उत्पादित सुन्तलाको विवरण सङ्कलन

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

काठमाडौं – नेकपा (एमाले)को नयाँ नेतृत्वका लागि भएको मतदान सम्पन्न