विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


२० भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

आज भदौ २० २०८० या अंग्रेजी क्यालेन्डर अनुसार सेप्टेम्बर ६ २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।

उत्तर कोरियाले रुसलाई हतियार आपूर्ति गरे ‘मूल्य चुकाउनुपर्ने’ अमेरिकाको चेतावनी

उत्तर कोरियाले रुसलाई हतियार आपूर्ति गरेमा उसले त्यसको ‘मूल्य’ चुकाउनुपर्ने एक जना अमेरिकी अधिकारीले बताएका छन् । उत्तर कोरिया र रुसबीच हतियार आपूर्तिलाई लिएर सघन वार्ता सक्रिय रूपमा अगाडि बढिरहेको तथा उत्तर कोरियाली सर्वोच्च नेता किम जङ उन रुस भ्रमणमा जाने विवरण सार्वजनिक भइरहेका बेला वासिङ्टनको यस्तो टिप्पणी आएको हो ।

यदि उत्तर कोरियाले युक्रेनविरुद्ध युद्ध लड्न रुसलाई हतियार प्रदान गरेमा उसले त्यसको मूल्य चुकाउनुपर्ने अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले एक ब्रिफिङमा बताए ।

उत्तर कोरियाली नेता किम राष्ट्रपति भ्लादिमिर पुटिनसँग हतियार वार्ता गर्न यसै महिना रुसको भ्रमण गर्ने योजनामा रहेको बताउँदै सल्लाहकार सुलिभानले दुवै नेताबीच कहिले भेटवार्ता हुन्छ भन्नेबारेमा केही खुलाएनन् । उनले नेताद्वयबीच रुसमा भेटवार्ता हुने जानकारी अमेरिकासँग रहेको दाबी गरे ।

गत जुलाईमा रुसी रक्षामन्त्री सर्गेई शोइगुको उत्तर कोरियाको भ्रमणपछि नेता किम रुस भ्रमण निस्कन लागेका हुन् । प्योङयाङका तर्फबाट हतियार सम्झौता गर्न उनी रुस भ्रमणमा जान लागेको अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता एड्रियन वाट्सनलाई उद्धृत गर्दै केबल न्युज नेटवर्कले जनाएको छ ।

शक्ति राष्ट्रका विवादले आसियान शिखर सम्मेलन छायाँमा

शक्ति राष्ट्रका विवादका कारण दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको सङ्गठन आसियानको शिखर सम्मेलन छायाँमा परेको छ । इन्डोनेसियाको राजधानी जकार्तामा जारी शिखर सम्मेलन र सोही क्रममा आयोजना हुने शक्तिराष्ट्रबीच हुने विभिन्न उच्चस्तरीय बैठक आर्थिक विकासका मुलमुद्दाभन्दा राजनीतिक विषयका कारण छायाँमा परेको हो ।

अमेरिकी, चिनियाँ र जापानी अधिकारीहरूसँग आज हुने भेटमा ठूला शक्ति प्रतिद्वन्द्वीले दक्षिण चीन सागरको विषयलाई लिएर चीन र अमेरिकालगायत देशबीचको तनाव, युक्रेन युद्ध तथा उत्तर कोरियाली क्षेप्यास्त्र विकास कार्यक्रमजस्ता क्षेत्रीय मुद्दा छलफलको एजेण्डामा छन् ।

दश सदस्यीय आसियानले चीन, जापान, दक्षिण कोरिया, संयुक्त राज्य अमेरिका र क्यानडासँग छुट्टाछुट्टै शिखर सम्मेलन गर्दैछ । सम्मेलनमा राष्ट्रपति जो बाइडेनको स्थानमा अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस सहभागी भएको छ भने राष्ट्रपति सी चिनफिङको सट्टा चिनियाँ प्रधानमन्त्री ली छ्याङ भाग लिँदै छन् ।

“हामी भिन्नताहरूलाई पन्छाएर साझा आधार खोज्छौंँ, हामी दुवैले शान्तिको लागि अथक प्रयास गरिरहेका छौं । जबसम्म हामी सही बाटोमा हिँड्छौं, जस्तोसुकै आँधीबेहरी आए पनि चीन–आसियान सहयोग सधैंजस्तै सुदृढ हुनेछ… सबै बाधाविरुद्ध एकताबद्ध भएर उभिनेछ,” चिनियाँ प्रधानमन्त्री लीले आसियान–चीन शिखर सम्मेलनको उद्घाटन मन्तव्य व्यक्त गर्दै भने ।

आसियानको वर्तमान अध्यक्ष इन्डोनेसियाले यस वर्ष भारतको अध्यक्षतामा आगमी शनिबार र आइतबार भारतको राजधानी नयाँदिल्लीमा हुने युरोपेली सङ्घसहित १९ विशाल अर्थतन्त्र भएका राष्ट्रहरूको अन्तरसरकारी सङ्गठन जी २० को शिखर सम्मेलनको पूर्वसन्ध्यामा प्रधानमन्त्री मोदीको इन्डोनेसिया भ्रमण हुन लागेको हो ।

इन्डोनेसिया जी २० को एक हिस्सा हो किनभने गत वर्ष उक्त देश जी २० को अध्यक्ष थियो । बिहीबार हुने आसियान–भारत शिखर सम्मेलनमा भारत र दक्षिण पूर्वएशियाली राष्ट्रहरूबीचको सम्बन्धलाई बृहत् रणनीतिक साझेदारीमा रुपान्तरण गर्ने प्रयास हुने भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

क्षेत्रीय आर्थिक वृद्धिमा केन्द्रित आसियान शिखर सम्मेलनको उद्घाटन गर्दै इन्डोनेसियाका राष्ट्रपतिले आसियानलाई एकताबद्ध रहन र कुनै पनि शक्तिका पछाडि नलाग्न आग्रह गरेका थिए । आसियानका अध्यक्ष रहेका उनले सदस्य मुलकमा एकअर्काको अहित हुने तथा आफ्नो भूमिलाई प्रतिद्वन्द्वीको अखाडा नबनाउन आग्रह गर्दै स्थिर, समृद्ध एवं शान्त आसियान निर्माणमा योगदान गर्न अह्वान गरेका थिए ।

ब्रुनाई, कम्बोडिया, इन्डोनेसिया, लाओस, मलेसिया, म्यान्मार, फिलिपिन्स, सिङ्गापुर, थाइल्याण्ड र भियतनाम सदस्य रहेको आसियान शिखर बैठकमा म्यान्मार सङ्कटलाई लिएर चिन्ता व्यक्त भएको थियो । सम्मेलनका क्रममा आसियान नेताहरूले सन् २०२१ मा प्रजातन्त्रवादी नेत्री आङ सान सुचीको सरकारलाई सैन्य विद्रोहबाट अपदस्थ गरेपछि दैनिक रुपमा भइरहेका घातक हिंसाविरुद्ध एकजुट भएर आवाज उठाउन आह्वान गरेका थिए । साथै उनीहरूले दक्षिण चीन सागरमा चीनको बलमिच्च्याइँ नियन्त्रण गर्नुपर्नेमा जोड दिएका छन् ।

जापानी प्रधानमन्त्रीमाथि पाइप बम प्रहार गर्नेविरुद्ध ज्यान मार्ने उद्योगको अभियोग

जापानका प्रधानमन्त्री फुमियो किसिदामाथि पाइप बम प्रहार गरेका युवकविरुद्ध ज्यान मार्ने उद्योग गरेको अभियोग लगाएको छ । यद्यपि उनलाई कुनै हानी भएको थिएन । आक्रमणकारीलाई तत्काल पक्राउ गरिएको थियो ।

गत वैशाखमा पश्चिमी जापानमा आयोजित एक चुनावी सभामा प्रधानमन्त्रीमाथि विष्फोटक पदार्थयुक्त उपकरणले आक्रमण गरेका २४ वर्षीय रियुजी किमुराविरुद्ध हत्या अभियोग लगाइएको उक्त मुद्दा हेरिरहेको अदालतका प्रवक्ताले बताएकी छन् ।

पूर्वप्रधानमन्त्री शिन्जो आबेको हत्या भएको एक वर्ष पनि नपुग्दै प्रधानमन्त्री किसिदामाथि आक्रमण भएको थियो ।

वाकायामा जिल्ला अदालतका प्रवक्ताले एएफपी किमुरालाई हत्या अभियोग लगाइएको बुधबार बताइन् ।

आक्रमणपछि प्रहरीले खोजी गर्दा किमुराको घरमा बारूद, पाइपलगायत उपकरण फेला परेका थिए ।

सार्वजनिक प्रसारण संस्था एनएचकेका अनुसार किमुरा आफ्नो गिरफ्तारी पछि मौन छन् । हत्या आरोप लगाइनुअघि करिब तीन महिनासम्म किमुराको मनोवैज्ञानिक परीक्षण गरिएको थियो । यसअघि किमुराले निर्वाचनमा भाग लिने देशको न्यूनतम उमेरप्रति असन्तुष्टि जनाउँदै सरकारविरुद्ध मुद्दा दायर गरेका थिए ।

भारतको चन्द्रयान–३ मिसन पूरा, प्रज्ञान रोभर ‘स्लिपिङ मोड’मा

चन्द्रयान अभियान–३ अन्तर्गत काम गरिरहेको रोभरले आफ्नो असाइनमेन्ट (काम) पूरा गरेको छ । रोभर अहिले स्लीपिङ मोडमा गएको छ ।

भारतीय रक्षा अनुसन्धान सङ्गठन ९इसरो० ले सोसल मिडिया प्लेटफर्म एक्स (ट्विटर) मा यसबारे जानकारी दिँदै भनेको छ, ‘चन्द्रयान–३ अन्तरिक्षयानको रोभर प्रज्ञान ‘स्लिप मोड’ मा गएको छ । तर यसको ब्याट्री चार्ज छ र रिसिभर अन छ ।’

इसरोले लेखेको छ, ‘आशा छ कि प्रज्ञान रोभर कुनै अन्य असाइमेन्टका लागि जागा हुनेछ । यो रोभर त्यहाँ भारतको चन्द्र राजदूतको रूपमा सधैँ रहिरहनेछ ।’

प्रज्ञान चन्द्रमाको सतहमा १०० मिटरसम्म हिँड्यो । यसले सल्फर, फलाम, अक्सिजन र अन्य तत्त्वहरूको उपस्थिति पुष्टि गरेको छ ।

चन्द्रयान–३ मिसनको सफलतासँगै भारत, अमेरिका र पूर्व सोभियत सङ्घसँगै चन्द्रमाको सतहमा अवतरण गरेका देशहरूको क्लबमा सामेल भएको छ ।तर, चन्द्रमाको दक्षिणी ध्रुवमा आफ्नो अन्तरिक्ष यान अवतरण गर्न सफल हुने पहिलो देश भारत हो । यसअघि रुसको चन्द्रमा मिसन दुर्घटनाग्रस्त भएको थियो ।

जलवायु परिवर्तनको मुद्दामा चीन र अमेरिकाबीच समान धारणा बन्ने दाबी

अमेरिकी जलवायु दूत जोन केरीले केन्यामा आयोजना हुने ऐतिहासिक शिखर सम्मेलनमा वासिङ्टन र बेइजिङले ग्लोबल वार्मिङविरुद्धको लडाइँमा ‘एकसाथ आउन सक्ने’ आशा व्यक्त गरेका छन् ।

“विश्वका दुई ठूला अर्थव्यवस्था र उत्सर्जक, चीन र संयुक्त राज्य अमेरिका, जलवायु परिवर्तनको मुद्दामा एकसाथ आउन सक्छौं,” केरीले पत्रकारहरूसँग भने ।

“यो द्विपक्षीय मुद्दा होइन विश्वव्यापी मुद्दा हो । जलवायु परिवर्तनको समस्या के हो र यसबाट पृथ्वीका लागि विश्वव्यापी खतरा छ भन्ने हामीले बुझेका छौँ । समस्याको पहिचान भएको छ । छिट्टै निराकरणका लागि वातावरण बन्नेछ ।”

अफ्रिका जलवायु शिखर सम्मेलनले यस वर्षको अन्त्यमा दुबईमा कोप २८ बैठक अघि १.४ अर्ब जनसङ्ख्या भएको महाद्वीपमा हरित विकासको लागि साझा दृष्टिकोण परिभाषित गर्ने लक्ष्यका साथ अफ्रिकी नेताहरूलाई समान धारणा बनाउने अवसर दिएको छ ।

अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीका प्रमुखले संयुक्त राज्य अमेरिका र चीनलाई आफ्ना मतभेदहरूलाई अलग राख्न र जलवायु परिवर्तनमा समान धारणा बनाउन दवाब दिएपछि केरीको टिप्पणी आएको हो ।

प्रकाशित मिति : २० भाद्र २०८०, बुधबार  ८ : १८ बजे

अदालतले पुनर्बहाली गरेसँगै राजुनाथ नगर प्रहरी कार्यालयमा 

काठमाडौं– आफुलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न उच्च अदालत पाटनले

मुख्य तीन दलका शीर्ष नेताको बैठक बस्दै

काठमाडौं– समसामयिक राजनीतिक विषयमा छलफल गर्न मुख्य तीन दलका शीर्ष

प्रि ओपन सेसन : नेप्सेमा करिब ३ अंकको गिरावट

काठमाडौं– साताको अन्तिम कारोबार दिन बिहीबार प्रि ओपन सेसनमा नेपाल

अधिकांश नागरिक सरकारको कामदेखि निराश

पोखरा – गण्डकी प्रदेशका नागरिक राजनीतिक नेतृत्व, सरकारको कार्यशैली र

ओली सरकारको ११ महिनामा बढ्यो सवा दुई खर्ब ऋण

काठमाडौं– केपी शर्मा ओली नेतृत्वको सरकारले चालु आर्थिक वर्षको ११