दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू | Khabarhub Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू


२० कार्तिक २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

आज दिनभर कोशीका मुख्यमन्त्री कार्कीलाई दिएको समर्थन एमालेले फिर्ता नलिने , अख्तियारद्वारा राजश्व हिनामिना गरेको अभियोगमा १० जनाविरुद्ध मुद्दा दायर , भाइटीकाको शुभ साइत १० बजेर ५१ मिनेट, भूकम्प प्रभावित क्षेत्रमा अत्यावश्यक वस्तुको सहज व्यवस्था मिलाउन संसदीय समितिको निर्देशन, भूकम्पपीडितलाई २५ लाख सहयोग गर्ने एकीकृत समाजवादीको निर्णय,एमडीएमएस प्रणाली आजदेखि पूर्ण कार्यान्वयनमा आउँदै, दर्ता नभएका मोबाइल नचल्नेलगायतका समाचारले प्रमुख स्थान पाए ।

कोशीका मुख्यमन्त्री कार्कीलाई दिएको समर्थन एमालेले फिर्ता नलिने

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीलाई दिएको समर्थन फिर्ता नलिने र विश्वासको मत कायमै राख्ने निर्णय गरेको छ ।

एमाले कोशी प्रदेश संसदीय दलको आज बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

भूकम्प प्रभावित क्षेत्रमा अत्यावश्यक वस्तुको सहज व्यवस्था मिलाउन संसदीय समितिको निर्देशन

प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ताहित समितिले जाजरकोट र रुकुम पश्चिमलगायत भूकम्प प्रभावित क्षेत्रमा औषधिसहित दैनिक उपभोग हुने अत्यावश्यक वस्तुको सहज व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ ।

समितिको आज बसेको बैठकले व्यक्ति र संस्थागत रुपमा प्राप्त राहत र सहयोग एकद्वार प्रणालीबाट वितरणको प्रभावकारी व्यवस्था मिलाउन पनि भनेको छ । समितिले भूकम्पपीडितका लागि तत्काल अस्थायी बसोबास, शुद्ध पिउने पानी, स्वच्छ र स्वस्थ्यकर खानेकुरा, औषधिलगायतका दैनिक अत्यावश्यक वस्तुको सहज व्यवस्था मिलाउन पनि सुझाव दिएको छ ।

भूकम्पपीडितलाई २५ लाख सहयोग गर्ने एकीकृत समाजवादीको निर्णय

नेकपा एकीकृत समाजवादी पार्टीले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितको उद्धार तथा राहतका लागि सरकारको राहत कोषमा २५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । केन्द्रीय कार्यालय आलोकनगरमा आज बसेको सचिवालयको बैठकले पार्टीका नेता तथा कार्यकर्ताबाट रकम सङ्कलन गरेर भूकम्पपीडितलाई सहयोग गर्ने पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

उनका अनुसार केन्द्रीय तथा प्रदेश सरकारका मन्त्री, सांसद, जनप्रतिनिधि एवं राजनीतिक नियुक्ति भएका व्यक्तिबाट १५ दिन बराबरको पारिश्रमिक पार्टीको राहत उपचार कोषमा जम्मा गर्नुपर्ने छ ।

अख्तियारद्वारा राजश्व हिनामिना गरेको अभियोगमा १० जनाविरुद्ध मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजश्व दुरुपयोग गरेको अभियोगमा मालपोत कार्यालय पर्साका अधिकृत हरिनारायण मिश्रसमेत १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

मालपोत कार्यालय पर्साको रजिष्ट्रेशन फाँटमा कार्यरत कर्मचारीको मिलेमतोमा जग्गा किनबेचका क्रममा विभिन्न लिखतबाट उठेको राजश्व नियमानुसार दाखिला नगरी हिनामिना गरेको अनुसन्धानबाट खुलेको आयोगको भनाइ छ । आयोगले मालपोत कार्यालय, पर्साका तत्कालीन मालपोत अधिकृत हरिनारायण मिश्रविरुद्ध रु दुई करोड नौ लाख ३१ हजार छ सय ४७ बिगो दावी गरेको छ ।

भाइटीकाको शुभ साइत १० बजेर ५१ मिनेट

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको शुभ साइत कात्तिक २९ गते बुधबार १० बजेर ५१ मिनेट रहेको जनाएको छ ।

भाइटीकाका दिन दिनभर दिदीबहिनीका हातबाट टीका लगाउन शुभ रहेपनि साइत खोज्नेका लागि १० बजेर ५१ मिनेटको साइत दिइएको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए ।

एमडीएमएस प्रणाली आजदेखि पूर्ण कार्यान्वयनमा आउँदै, दर्ता नभएका मोबाइल नचल्ने

नेपाल दूरसञ्चार प्राधिकरणले आजदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) प्रणाली पूर्ण रूपमा कार्यान्वयनमा ल्याउँदै छ ।

एमडीएमएस आजदेखि पूर्ण कार्यान्वयनमा आउने र प्रणालीमा दर्ता नभएका मोबाइलमा दूरसञ्चार सेवा बन्द गर्न शुरु गर्ने प्राधिकरणले जनाएको छ ।

 

प्रकाशित मिति : २० कार्तिक २०८०, सोमबार  ९ : ०० बजे

न कमाएको धन, न रमाएको मन

एउटा गाउँमा एकजना बुद्धिचालका प्रकाण्ड खेलाडी रहेछन् । उनको प्रसिद्धि

मौसम विज्ञान, भारत र अन्ना मुनी

जलवायु परिवर्तन चर्चामा रहनु धेरै अघि नै एक भारतीय महिला

एनएसएल फुटबल : आज पोखरा र काठमाडौँबीच प्रतिस्पर्धा हुँदै

काठमाडौँ– नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज पोखरा थण्डर्स र

जाजरकोट भूकम्प : नौ करोड बराबरको खाद्यान्न क्षति

जाजरकोट– जाजरकोट भूकम्पबाट नौ करोडभन्दा बढी मूल्यको खाद्यान्न नष्ट भएको

इंग्लिस प्रिमियर लिग : न्यूक्यासलमाथि टोटनह्यामको जित

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनह्याम विजयी भएको छ ।