रुकुम- रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले भूकम्प प्रभावित वडामा राहत सामग्री वितरणलाई तीव्र गति दिएको छ । पालिकाको वडा नं १, २ र ४ का भूकम्पपीडितलाई राहत वितरणमा तीव्रता दिएको हो ।
हालसम्म प्रभावित तीनवटा वडामा एक सय ४३ त्रिपाल, म्याट दुई सय, कम्बल दुई सय २५, डोरी दुई सय रोल, चामल आठ सय ७५ किलो बाँडिएको सानीभेरी गाउँपालिका प्रवक्ता पहलसिङ घर्तीले जानकारी दिए । त्यस्तै, एक क्विन्टल दाल, एक सय ५० लिटर तेल, नुन ८२ किलो, चिउरा ६ बोरा, बिस्कुट २८ पेटी र चाउचाउ एक सय ११ पेटी राहतका रुपमा पीडितलाई वितरण गरिएको प्रवक्ता घर्तीले जानकारी दिए ।
हालसम्म सानीभेरी गाउँपालिकालाई विभिन्न ११ सङ्घसंस्था तथा व्यक्तिले सहयोग गरेको गाउँपालिकाले जनाएको छ । सहयोग आउने क्रम जारी रहेको र पीडितलाई राहत वितरणको काम पनि चलिरहेको प्रवक्ता घर्तीले जानकारी दिए ।
सानीभेरीमा गत शुक्रबार गएको भूकम्पमा १२ जनाको मृत्यु हुनाका साथै भौतिक संरचनामा पनि ठूलो क्षति पुर्याएको छ ।