एकलकाँटे भएर काम छैन : माधव नेपाल | Khabarhub Khabarhub

एकलकाँटे भएर काम छैन : माधव नेपाल



काठमाडौं- पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल नेकपा एमाले (तत्कालीन माले) का संस्थापक नेता हुन् । उनले डेढ दशकभन्दा बढी नेकपा एमालेको प्रमुख भएर काम गरे । अहिले बुढेसकालमा उनी एमालेबाट विद्रोह गरेर बनेको नेकपा एकीकृत समाजवादीका अध्यक्ष छन् ।

जुन पार्टीमा नेता नेपालले आफ्नो जीवनको ऊर्जाशील समय खर्चिए, अहिले त्यही एमाले पार्टीका नेता–कार्यकर्ताबाट उनी अपहेलित र आलोचित छन् । एमालेका नेता कार्यकर्ताहरु माधव नेपालको नाम सुन्न रुचाउँदैनन् । शायद राजनीति यस्तै निर्मम हुने गर्दछ । नेकपा एमालेबाट विद्रोह गरेर नयाँ पार्टी बनाएपछि उनी एमाले अध्यक्ष केपी शर्मा ओलीको तारो बनेका छन् । यही भएर एमाले नेताहरुले एकीकृत समाजवादीका अन्य नेतालाई पार्टीमा तान्ने र माधव नेपाललाई एक्ल्याउने बताउँदै आएका छन् ।

काठमाडौंको शान्तिनगर छेउमा बागमती किनार नजिकै नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय छ । सोही कार्यालयमा अध्यक्ष नेपालसँग खबरहबले गरेको कुराकानी यहाँ प्रस्तुत छ । नेता नेपालसँग मुख्यतः प्रचण्ड नेतृत्वको सरकारको काम र नेकपा एमालेसँग पार्टी एकताको सम्भावनामा केन्द्रित रहेर कुराकानी गरिएको छ । त्योभन्दा पहिले ७१ वर्षे नेता नेपालको दैनिकी के कसरी चलिरहेको छ, यहाँबाट कुराको पोयो सुरु गरौं :

बिहान कति बजे उठ्नुहुन्छ ?
५ बजेपछि । 

बिहानै उठेर पहिलो काम ?
पहिले म मर्निङवाक गर्थें, पछि योगा गर्न थालें । ०३२ सालमा जेलमा हुँदा पनि योगा गर्थेंकोभिडका बेला नबिराई गरें । अहिले पनि सामान्यतया योगा गर्छु । त्यसपछि मान्छेहरू भेट्न आइपुग्नुभएको हुन्छ, नुहाइधुवाइ सकेर भेटघाट गर्छु ।

मानिसहरु बिहानै आउनुहुन्छ तपाईँलाई भेट्न ?

नियन्त्रण गर्न सकिँदैन । ८ बजेभन्दा पहिला नआउनुहोस् भन्ने चाहना रहन्छ तर चाहनाले मात्र के गर्नु । स्थिति पनि त्यही रहन्छ । बिहानको पत्रपत्रिका पनि पढ्न पनि भ्याइन्न । त्यसैले, राति पढ्ने लेख्ने गर्छु । 

राति कतिबजेसम्म पढ्नुहुन्छ ?
सामान्यत : ११ बजेसम्म । कहिलेकाहीँ १२ पनि बज्छ । 

खानाको सेड्युल के छ ?
खानाको कुरामा म विशेष ध्यान दिन्छु । ४५ वर्षसम्म टन्न खाए हुन्छ भन्ने पक्षमा थिएँ, ४५ नागेपछि खाना कम गरियो । ६० नाघेपछि खाना सकभर धेरै घटाउने र फलफूल लगायतका चिजमा ध्यान छ । म प्रायः घरको खानामा जोड दिन्छु । चिल्लो कम । माछा–मासु त्यति खान्नँ । पहिला माछा मासु खाँन्नथें

दिनभर हुने घटनाक्रम कसरी थाहा पाउनुहुन्छ ? फोन गरेर बुझ्नुहुन्छ कि सहयोगीले सुनाउँछन् ?
फोन नै धेरै आउँछ । फोनको जवाफ दिनसमेत भ्याइन्न । साथीहरूले पनि सुनाउनुहुन्छ । 

परिवारलाई समय नदिएको आरोप लाग्छ कि लाग्दैन ?
आउँछ । श्रीमती ६६ वर्षकी भइन् । कतिपय कुरा गर्न, जानकारी लिनसमेत भ्याइन्न । पार्टीको कामले व्यस्तता हुन्छ । समस्या छ । यो राजनीतिक दलको समस्या हो भनेर चित्त बुझाउँछु ।

छोराछोरी ?
छोरी डाक्टर छिन् । छोरा अष्ट्रेलियामा छ । इन्जिनियर हो । 

कहिले काहीँ श्रीमतीलाई घुमाउन लैजाने फुर्सद मिल्छ ?
जाऊँ भन्ने कुरा आउँछ । तर, एक दिन पनि घुम्न मात्र भनेर समय छुट्याउन सकेको छैन । अचानक अरु कामले गर्दा घुमिएको छ । एक्लै अध्ययन गर्ने, विभिन्न रिसोर्टमा गएर पढ्ने लेख्ने गरेको थिएँ तर, अहिले पाएको छैन । 

कस्ता किताब पढ्नुहुन्छ ?
मसँग जोडिएको विषय पढ्छु । समय मिले अरु पनि पढ्छु । प्रत्येक दिन किताब पढ्छु । कतै जाँदा पनि झोलामा किताब हुन्छ । 

कुनै रोग छ अहिलेसम्म?
खासै कुनै रोग छैन । सामान्यतया ग्यास्ट्रिक भएको मात्र हो । 

गीत कत्तिको सुन्नुहुन्छ ?
सुन्छु । समाजमा चेतना, जागरण र संस्कार हुर्काउने गीत मन पराउँछु ।

अब देशको कुरा गरौं–

प्रचण्डले नेतृत्व गरेको सरकारमा तपाईको दल नेकपा एकीकृत समाजवादी पनि सहभागी छ । सरकारप्रति जनतामा असन्तुष्टि बढेको छ । स्वतन्त्र मनले सरकारको कामबारे कसरी मूल्याङ्कन गर्नुहुन्छ ?
सरकारले आफ्नो काम कारबाहीमा सुधार गर्नुपर्छ । दुईवटा कुरामा ध्यान दिनुपर्छ । एक– यो मुलुक बनाउने सोचको विकास गर्नुपर्छ र योजना बनाउँदाखेर सबै पक्षलाई ध्यान दिनुपर्छ । एकलकाँटे भएर काम छैन । जहिले पनि सरकारसँग साधन स्रोतको कमी हुन्छ । साधन स्रोत परिचालन गर्दै योजना बनाएर कुन कामलाई उच्च प्राथमिकता दिने र कुन कामलाई गौण गर्ने यसको योजना गर्नुपर्छ । कामको गुणस्तरीयता र पारदर्शितामा ध्यान दिएर फलो गर्नुपर्छ । राम्रो गर्नेलाई पुरस्कृत र नराम्रो गर्नेलाई दण्डित गर्नुपर्छ । अहिले कामको गहिरो अध्ययन गर्ने परम्परा छैन ।

दोस्रो कुरा– यी सबै काम एकजना प्रधानमन्त्रीले मात्र गर्न सक्दैन । सबै मन्त्रीहरू र कर्मचारी प्रशासनले पनि यतातिर ध्यान दिएर लाग्नुपर्छ । हाम्रोमा एकजनाले मात्र गर्ने, अरू हेरेर बस्ने परम्परा भयो । जिम्मेवार व्यक्तिहरू र निकायले राम्रोसँग काम गरेको छ, छैन अनुगमन गर्नुपर्छ । यी कुराहरूमा कमजोरी भइरहेको छ । सच्चिएर सच्याएर लानुपर्छ ।

सरकार फेरबदल भइरहँदा पनि काम नभएको हो कि ?
नीति एउटै हो । यसले केही असर होला तर नीतिमा निरन्तरता हुनुपर्छ । कुनै पनि काम गर्न समय चाहिन्छ । साधन स्रोतको दुरुपयोग हुनुभएन । सरकार परिवर्तन त विकसित देशमा पनि हुन्छ । नीतिको निरन्तरताको पाटो त्यहाँ हुन्छ । दोष दिएर उम्कन पाइन्न ।

यस्ता विषयमा प्रधानमन्त्रीले तपाईँहरूसँग छलफल-संवाद गर्नुहुन्न ?
कतिपय कुराहरूमा गर्नुहुन्छ, कतिपय कुरामा हुन सकेको छैन । जसरी परामर्शको तरिका अपनाउनुपर्ने हो, त्यो तरिकाले भएको छैन । हामीले यसैका लागि पटक–पटक भनेका छौँ, प्रधानमन्त्रीले हुन्छ भन्नुभएको छ । चार दलका नेतालाई बोलाएर एक-पटक छलफल पनि गर्नुभएको थियो । यतिले पुग्दैन, वर्कसप सेमिनारको आयोजना गरेर विज्ञलाई पनि बोलाउँ भनेको छु । खास–खास समयमा खास खास नेतासँग कुरा गर्छु भन्ने भएको छ । 

खास–खास नेताहरूचाहिँ को–को हो ?
खास–खास नेता भनेको सत्तामा साझेदारी गरिरहेका नेताहरू हुन् । प्रधानमन्त्रीले अन्य विपक्षी नेताहरूसँग पनि छलफल गर्नुपर्छ र सल्लाह सुझाव लिनुपर्छ भनेर मैले बेला–बेलामा भन्ने गरेको छु । 

पछिल्लो समय भएको भुटानी शरणार्थी प्रकरणमा बालकृष्ण खाँण लगायतलाई पक्राउ गर्ने विषयमा सत्तामा रहेका दलबीच छलफल भयो कि भएन ?
यो बारेमा भएन । यस्ता कुरामा छलफल गरेको छैन । गल्ती कसैले गरेको छ भने त्यसलाई राज्यले बचाउने कुरा हुँदैन, राज्य सञ्चालन गर्ने कुरामा छलफल हुन्छ । भ्रष्टाचार निवारण गर्ने, कामको गति तीव्र बनाउने कुरामा छलफल हुनुपर्छ भन्ने कुरा छ । 

कहिलेकाहीँ शक्ति कमजोर भएकै हिसाबले प्रधानमन्त्रीले गर्ने छलफल र संवादमा ठूला दललाई मात्र बोलाउने, एकीकृत समाजवादीलाई नबोलाउने पनि भएको छ कि ?
प्रधानमन्त्रीले नभनौँ, अरू कसै–कसैले हामीलाई इग्नोर गर्न खोजेका थिए । बेलाबखतमा खोज्छन् । तर, हाम्रो महत्व बुझेपछि हाम्रो पछि लाग्न खोजेका छन् । शक्ति नभए पनि व्यक्तित्व र अनुभव ठूलो कुरा हो ।

यहाँहरूले आफ्नै सरकारलाई खबरदारी गर्न ज्ञापन पत्र पनि बुझाउनुभएको थियो । त्यो अहिले कहाँ पुग्यो ?
पत्र बुझाएपछि बसेर छलफल भयो । तर, समय अपुग भयो । दुई पार्टीको टिम बसेर छलफल भयो । पछि चार पार्टी बसेर पनि छलफल भयो । अब विज्ञ र संसदमा रहेका सबै दलहरुबीच छलफल हुन्छ । प्रधानमन्त्रीले पनि त्यसको तयारी गर्दै हुनुहुन्छ । मैले भनेको भन्यै छु, समय मिलाउनुहोस् । समय व्यवस्थापनमा ध्यान दिनु भनेको छु ।

एकपटक बाम एकताको ठुलै हल्ला चल्यो । अहिले कांग्रेसलाई पाखा लगाएर राष्ट्रिय स्वतन्त्र पार्टीसहित सरकारमा मिल्ने हल्ला पनि गाइँगुइँ चलिरहेको छ । गठबन्धन फेरिने सम्भावना कत्तिको छ ?

यो हल्ला मेरो कानमा आएको छैन । यो सम्भव पनि छैन । वर्तमान गठबन्धन ५ वर्षसम्म टिक्छ । 

बाम एकता नि ?
हामी त चाहान्छौं नि देशभरका लोकतान्त्रिक शक्तिहरू मिलुन् । आपसमा नफुटुन् । सबैमा सद्बुद्धि होस् । हामीले भन्दै आएका छौँ । तर, यथार्थ कुरा हामी अहिले आफ्नो शक्ति बलियो बनाउने कुरामा लागेका छौँ । र, गठबन्धन छोड्न सक्दैनौँ । कांग्रेसले हामीलाई हरेक संकटमा साथ दिएको छ । धोका दिएर जान सकिन्न । 

तर यहाँकै पार्टीका कतिपय नेताहरू एमालेसँग एकताको पक्षमा देखिनुभएको चर्चा छ नि ? यसमा एकताको बाधक चाहिँ माधव नेपाल हुनुभयो भन्ने पनि छ । खास कुरो के हो ?

यो हल्ला मात्र हो । हाम्रो पार्टीको जे निर्णय छ, त्यसमा पार्टीका मान्छेहरू चल्ने हो । पार्टीको संयोजक म भएको नाताले त्यसलाई हामीले अगाडि बढाइरहेका छौँ । आफ्नो पार्टीलाई बलियो बनाउन मेची-महाकाली यात्रा पनि गरेका छौँ । अभियानमा भण्डै १० हजार मान्छेलाई पार्टीमा प्रवेश गराएका छौँ । सबै ठाउँका जनतासँग सल्लाह गरेका छौँ । सबै हामी सल्लाहमा अगाडि बढेका छौँ । यदि पार्टीको निर्णयमा कसैको चित्त बुझेको छैन भने त्यो अलग कुरा हो । यो पार्टी राम्रो भन्दै छोडेर आएका पनि छन् । दुईचार जना पार्टी छोडेर जान पनि सक्छन् । यो उहिलेकै परम्परा हो । यसमा टाउको दुखाएर बस्ने फुर्सद कसैलाई छैन । 

एमालेसँग एकताका लागि यहाँको पार्टीले कतिसम्म ढोका खुल्ला गरेको हो ?
हाम्रोतर्फबाट सबै सकारात्मक शक्तिहरूसँग हातेमालो गर्न तयार छौँ । तर, हाम्रो चाहानाले मात्र हुँदैन । सबैभन्दा पहिले विचार मिल्नुपर्छ । अनि अरू सबै मिलेर जाने हो । परिस्थिति परिपक्व भएको छैन । अहिले एकताको गीत गाएर कुनै तुक छैन । पहिले माओवादी र एमालेले एकता गरेकै हो नि के भो परिणाम ? परिपक्व भएको र सबै पक्षमा ध्यान पुर्‍याएको देखिएन । आज मन लाग्यो, एकताको घोषणा गरेको छ । भोलि मन लाग्यो, फेरि विभाजन गर्ने, यो पाराले हुँदैन । ०३२ सालमा कोअर्डिनेसन केन्द्र बनाएदेखि नै हामीले पार्टी एकताका धेरै परिणामहरू भोगेका छौँ । ०३५ सालमा नेकपा माले बनाएपछि र ०४७ सालमा एमाले बनाएपछि हामीले धेरै कुरा भोगेका छौँ । खेलाँची ठान्नुहुँदैन । चिन्ता लिनु पनि हुँदैन । ठीक लक्ष र उद्देश्य लिएर अगाडि बढ्ने हो । 

उसोभए ०८४ को चुनावसम्मै यही गठबन्धन रहन्छ ?
पहिला हामी हाम्रो पार्टी एकताबद्ध बनाउन चाहान्छौं । कोही एकतावद्ध हुन आए त्यसबारे गहन छलफल गरेर निर्णय गर्छौं । आज आउन पाएको छैन, पद नमिलेर भोलि हिँड्यो भने के गर्नु ? पार्टीमा आउने तर पद पाइनँ भनेर जाने गर्दा समस्या हुन्छ । ०८४ सालसम्म यही गठबन्धन अगाडि जान्छ । 

पछिल्लो समय एमाले अध्यक्ष केपी ओलीसँग भेटवार्ताको बाटो खुलेको छ कि छैन ?
यसको आवश्यकता उहाँले पनि गर्नु भएको छैन, मैले पनि गरेको छैन । सन्चो–बिसन्चो पनि सोधिएको छैन । बिसन्चो भए पो सोध्नु । 

राजावादी शक्ति बढिरहेको र आफ्नो पार्टीको कमजोर भएको देख्दा एमालेसँग मिल्ने भित्री चाहना हुन्छ कि हुँदैन ? यस्तो कुरा एकाध मनमा उब्जिन्छ ?
उब्जिन्छ । र, म प्रधानमन्त्रीज्यूलाई पनि भन्छु । देश सम्हाल्ने जिम्मेवारी तपाईँको छ । तपाईँले विभिन्न पार्टीका नेताहरूसँग छलफल गर्नु, बोलाउनु भन्छु । हामी प्रमुख शक्ति नभएको हुनाले हामीले आउ मिलौं भन्ने अवस्था छैन । मैले भन्ने गरेको छु– एमालेसँग मात्र नभएर अरूसँग पनि संवाद गरौँ । । 

आफूले लामो समयसम्म बनाएको, हुर्काएको र नेताहरू उत्पादन गरेको पार्टी एमालेलाई यहाँले कत्तिको मिस गर्नुहुन्छ ?
मिस गरेर मात्र केही हुन्न रहेछ । परिस्थिति जुन ढंगले अगाडि बढेको छ, त्यस पछाडिका कारणहरू खोजेर चित्त बुझाउँछु । मलाई कम्युनिस्ट आन्दोलनको माया लाग्छ । लोकतान्त्रिक आन्दोलन र परिवर्तनको माया लाग्छ । 

एमाले अध्यक्ष ओलीले एमालेसँग समाहित हुन आउ, बाटो खुल्ला छ भन्नुभयो । यहाँहरू पनि ढोका खुल्ला छ भन्नुहुन्छ । योबेला कम्युनिस्टहरू मिल्नुपर्ने होइन ?
उहाँहरू पनि मिल्न आउनुहुन्छ भने हाम्रो पार्टीको ढोका खुल्ला छ । हाम्रो आफ्नो पार्टी छ । भूमिका छ । यो पार्टीले नेपालको राष्ट्रिय राजनीतिमा महत्त्वपूर्ण भूमिका खेलेको छ । र खेल्दै आएको छ । यसले राजनीतिको कोर्स नै परिवर्तन गरेको छ । यो खुबी हामीमा छ । क्षमता छ । ओलीजीका बारेमा धेरै भन्नुपर्ने केही छैन । उहाँको अभिव्यक्ति र सोचाइले गर्दा यो सबै भएको हो । त्यो पार्टीमा भएका साथीहरू पछुताउनुभएको छ । हामीलाई भन्नुहुन्छ– के गर्नु अपमानित हुनुपरेको छ ।

यहाँहरू भन्नुहुन्छ हामीले ढोका खुल्ला गरेका छौँ । एमाले भन्छ बाटो खुल्ला छ । यहाँहरूलाई मिलाउने मध्यस्थकर्ताको अभाव भएको हो ?

हामी बृहत् बाम एकताको पक्षमा छौँ । यसकै उपज समाजवादी मोर्चा हो । यो समाजवादी मोर्चा बनाउने सिलसिलामा नै हामीले माओवादी, जनता समाजवादी र विप्लवको पार्टीसँग मिलेर अगाडि बढिरहेका छौँ । यो एउटा एकता हो । यो एकतामा नेकपा एमाले आउन चाहान्छ भने स्वागत छ । 

यता पनि स्वागत गर्ने, उता पनि स्वागत गर्ने मात्र चलिरहेको छ । ठोस कुरा आएका छैनन् । यहाँहरूबीच वार्ता गराउने नेताको खडेरी देखियो हैन ?
जहाँ सम्भावना छैन, त्यहाँ कोसिस गर्नु बेकार छ । अहिले एमाले नेत्तत्वसँग छलफल गर्ने कुनै सम्भावना छैन । एमालेको चरम हस्तक्षेपमा परेका भीम रावलजीसँग पनि मेरो कुराकानी भइरहेको छ । उहाँ सकारात्मक हुनुहुन्छ । तर, बसेर मसिनो गरी कम्युनिस्ट आन्दोलनका बारेमा छलफल भएको छैन । 

मुलुकको अर्थतन्त्र बिग्रिएको कुरा सर्वविदितै छ । युवामा चरम निराशा छ । वैदेशिक रोजगारमा जानेहरु उत्तिकै बढेका छन् । देशमा बुढापाका र केटाकेटी मात्र हुने अवस्था भइसक्यो । सरकारले यतातिर किन ध्यान दिँदैन ? यसबारे राजनीतिक दहहरू पनि किन चुप छन् ?
यसबारे मैले सरकारलाई सिङ्गो नीति एकपटक रिभ्यु गरौँ भनेको छु । के गर्दा रोजगारी सिर्जना हुन्छ, राष्ट्रिय उत्पादन बढाउन के गर्ने, निर्यात रोकेर आयात कसरी बढाउने ? यसबारेमा छलफल गरौँ भनेको भनेकै छु ।

यहाँ त विदेश भ्रमणमा गइरहनु हुन्छ । नेपालभन्दा पछाडि पहिचान भएका देशहरूको विकाश कहाँ कहाँ पुगेको छ । तर नेपाल भने उही शिक्षा, स्वास्थ्य, सडक, खानेपानीका समस्यामै अल्झिरहेको छ ।जनताका न्यूनतम आवश्यकता पनि कतिपय ठाउँमा पूरा भएका छैनन् । आफ्नै देशभित्र घुम्न भारत सरकारको अनुमति लिनुपर्ने बाध्यता छ । राजनीतिक दलले जनताका माग चाहिँ कहिले पूरा गर्लान् ?

नेपालले साधन स्रोतको उचित उपयोग गर्न सकेको छैन । आवश्यकता र प्राथमिकता निर्धारण भएको छैन । एउटै खोलामा कतै १५ वटा पुलहरु छन्, कतै पुल नै छैन । योजनाको छनोट गर्ने कुरा र प्राथमिकता निर्धारण गर्ने कुरामा चुकेका छौँ । राष्ट्रिय बजेट कहाँ कहाँ भड्किरहेको छ, के भयो, कता भयो भनेर निगरानी गर्ने व्यक्तिको कमी छ । विज्ञको सल्लाह लिने काम कमै मात्र भएको छ । नेपालको अर्थतन्त्र रहेको हाइड्रोपावर र पर्यटन प्रवर्द्धन गर्ने योग्य जनशक्ति छैन । उद्योगधन्दा र कलाकारखानाको विकासमा ध्यान छैन । पर्यावरणलाई जोगाउने कुरामा चुकेका छौँ । हरित अर्थतन्त्र बचाउन पहल छैन । कहाँ के खेर गएको छ, त्यसको पहिचान भएको छैन । विद्युत् सोचेजति खपत भएको छैन । यी सबै गर्नलाई मानव संशोधनको पनि परिचालन हुन सकेन । व्यवसाय प्रवर्द्धन गर्ने कुरामा जोड छैन । कतिखेर कहाँ पैसाको लगानी गर्ने कतिखेर लगानी नगर्ने ध्यान पुगेको छैन । 

बजेट निर्माणमा पनि बिचौलियाको हात छ भन्छन् नि ? साँचो हो ?
हो । नेपालमा बजेट बनाउने बेलामा बिचौलियाहरू जुर्मुराएका हुन्छन् । उनीहरू नेपालमा आत्मनिर्भर अर्थतन्त्र विकासको हुन दिँदैनन् । बढी मुनाफा र कमिसनमै उनीहरूको ध्यान हुन्छ । यसरी कमिसन खाने र देश डुबाउन खोज्नेहरूको कमी छैन । 

बिचौलियाको पहिचान हुँदाहुँदै पनि सरकारले किन यस्तालाई रोक्न सक्दैन ? 
बिचौलियालाई उत्पादनसँग मतलब छैन, मुनाफासँग मतलब छ । देश, संस्था र जनतासँग मतलब छैन, व्यक्तिवाद, भ्रष्टाचार र पैसा कमाउने प्रवृत्ति छ । त्यहाँबाट मुक्त नभएसम्म गाह्रो छ ।
पैसाको धुँवा सवार भएपछि विकृति बढ्ने भो । राज्यको अनुगमन संयन्त्र सक्रिय भएन भने कन्ट्रोल गर्ने उपाय खोजेर राज्यले उचित एक्सन लिनुपर्छ । मुखले होइन, व्यवहारमा देखाउनुपर्छ । 

पछिल्लो समय देशमा राजावादी बढेका हुन् ? देश कता जाँदै छ त अब ?
राजावादीको कुनै चार्म छैन । यसकापछि कोही छैन । अहिलेको  व्यवस्थाविरुद्ध अरू कल्पना गर्न सकिन्न । जनताका छोराछोरी राष्ट्रपति, प्रधानमन्त्री हुने यो व्यवस्था भन्दा अन्य कुनै व्यवस्था आउनेवाला छैन । म भर्खरै मधेस प्रदेश गएको थिएँ । कुनै जनतामा राजाको आशा छैन ।

ब्याजबाट उम्कन पाइन्छ कि भनेर एक–दुईजना उफ्रिएका मात्र हुन् । समस्यामा परेका मान्छेहरूलाई अल्मल्याइएको छ । राजनीतिक परिवर्तनका लागि जनता तयार छैनन् । देश सकारात्मक दिशामा जानुपर्छ । देश गणतन्त्र भन्दा बाहिर जान सक्दैन । हामीले नै देश परिवर्तन गरेका छौँ । देशका लागि राम्रो चिन्तन र चिन्ता हुनुपर्छ ।

व्यवहारिक सक्रियता, क्रियाशीलता, सही व्यवहार, इमान्दारिता, दक्षता र परिवर्तनका लागि हुटहुटी हुनुपर्छ । अन्य प्रतिक्रियावादी शक्ति र राजावादी चरित्रका मानिसहरू बोलेर केही हुन्न ।

प्रकाशित मिति : २० मंसिर २०८०, बुधबार  ३ : ०४ बजे

अर्थतन्त्रको बिग्रँदो स्वास्थ्य र आर्थिक प्रजातन्त्र

म अर्थशास्त्री होइन । अर्थतन्त्रको सञ्चालक पनि होइन । मसँग

संसदको गतिरोधबारे प्रधानमन्त्री र सभामुखबीच छलफल

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेबीच भेटवार्ता

थाइल्यान्डमा उठेको मानव अधिकारको प्रश्न

राजसंस्थाको अपमान गरेको आरोपमा जेल चलान भएकी एक महिला लामो

आयआर्जनको माध्यम बन्दै मह सिकार

म्याग्दी– देशका भिरपहरामा गरिने महसिकार आयआर्जन र पर्यटन प्रवर्द्धनको माध्यमका

नेपाल–भारत समस्या कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्छ : परराष्ट्रमन्त्री

काठमाडौं– उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल र भारत घनिष्ठ