विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


२० मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

आज मंसिर २०, २०८० या अंग्रेजी क्यालेन्डर अनुसार डिसेम्बर ६, २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।

चीनले ल्यायो नयाँ पुस्ताको सुपर कम्प्युटर
चीनले बुधबार नयाँ पुस्ताको सुपर कम्युटिङ प्रणाली ‘तिहान्ये जिङ्गी’ ल्याएको छ । यसमा कम्प्युटिङ पावरदेखि भण्डारणसम्मका धेरै क्षेत्रमा थप क्षमता समावेश छन् ।

राष्ट्रिय सुपर कम्प्युटिङ सेन्टरले दक्षिण चीनको गुआङ्डोङ प्रान्तको राजधानी ग्वाङ्जाउमा सुपर कम्प्युटरको अनावरण गरेको हो । सेन्टरका निर्देशक लू युटाङका अनुसार नयाँ कम्प्युटरले सिपियु, कम्प्युटिङ, नेटवर्क, स्टोरेज र एप्लिकेसनजस्ता क्षमतामा विश्वको सबैभन्दा तीव्र सुपर कम्प्युटरहरू मध्येको एक तियान्हे–२ लाई पछाडि पारेको छ ।

सेन्टरका अनुसार तियान्हे जिङ्गीको सञ्चालनले उच्च प्रदर्शन कम्प्युटिङ, कृत्रिम बौद्धिकता ९एआई०, ठूलो मोडेल प्रशिक्षण र ठूलो डेटा विश्लेषणको क्षेत्रमा बढ्दो कम्प्युटिङ मागहरूलाई पूरा गर्ने अपेक्षा गरिएको छ ।

इजरायल आक्रमणबाट गाजामा मारिनेको संख्या १६ हजार नजिक
गाजामाथि इजरायलले गरेको आक्रमणमा मारिनेको संख्या १६ हजार नजिक पुगेको छ ।

इजरायली आक्रमणबाट अहिलेसम्म गाजामा मारिनेको संख्या १५ हजार ९०० पुगेको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ । मारिनेहरू मध्ये २५० भन्दा बढी स्वास्थ्यकर्मी थिए रहेको स्वास्थ्यमन्त्री माई अल काइलाले बताए ।

यसअघि गाजाको स्वास्थ्य मन्त्रालयका प्रमुखले घेरामा परेको कमल अड्वान अस्पताल भित्रबाट बोल्दै चिकित्सकहरूले खतराको बाबजुद पनि बिरामीहरूलाई नछाड्ने र उपचारमा दिनरात खटिने बताए ।

फिलिपिन्समा बस दुर्घटना हुँदा १७ को मृत्यु

मध्य फिलिपिन्सको पहाडमा यात्रुवाहक बस सडकको मोडबाट चिप्लिएर खस्दा १७ जनाको मृत्यु र ११ जना घाइते भएको भएका छन् ।

मंगलबार दिउँसो एन्टिक प्रान्तको ह्यामटिक नगरपालिकामा गुडिरहेको बस दुर्घटनामा परेको प्रान्तीय विपत् एजेन्सीका प्रमुख रोडरिक ट्रेनले बताएका छन् । उनले सडकको त्यो भागलाई ‘सम्भावित दुर्घटना स्थल’ भन्दै अस्पतालमा सात जनाको अवस्था चिन्ताजनक र अन्य चारको अवस्था सामान्य रहेको जानकारी दिएका छन् ।

मृत्यु हुनेमध्ये एक केन्याली रहेको र अर्का केन्याली गम्भीर घाइते भएको जनाइएको छ । प्रान्तीय गभर्नर रोडोरा काडियोका अनुसार बसमा चार केन्यालीसहित अधिकांश एन्टिकका बासिन्दा थिए । यद्यपि पछि प्रहरीले बसमा दुई जनामात्र केन्याली रहेको पुष्टि गरेको छ । एउटा शवको सनाखत हुन सकेको छैन ।

‘म त्यो स्थानलाई ‘हत्यारा मोड’ भन्छु, यो पहिला नै त्यहाँ खसेको दोस्रो सेरेस बस थियो’, बस कम्पनीको नाम उल्लेख गर्दै काडियोले भने, ‘यति धेरै सङ्ख्यामा मृत्यु भएकाले त्यो सडकलाई त्याग्नुपर्छ र सो क्षेत्रलाई सुरक्षित बनाउनका लागि अर्को सडक बनाउनुपर्छ ।’ उनका अनुसार घना जङ्गलको खाडल करिब ३० मिटर गहिरो थियो ।

ट्रेनका अनुसार बस अग्लो स्थानबाट खस्दा ठूलो मात्रामा क्षति भएको हो । ‘प्रत्यक्षदर्शीहरूका अनुसार यान्त्रिक गडबडीका कारण बस दुर्घटना भएको हो, सम्भवतः ब्रेक फेल भएर चालकले नियन्त्रण गुमाएको हुनसक्छ’, उनले भने ।

किन रोए किम जोङ उन ?
उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन निकै कठोर शासक मानिन्छन् । तानाशाही शासन चलाइरहेका किमको अन्तर्राष्ट्रिय छवि पनि कठोर र निर्दयी नेताको रुपमा रहेको छ ।

उत्तर कोरियामा मानव अधिकारको अवस्था पनि दयनीय रहेको छ भने त्यहाँ स–सानो अपराध वा गल्तीका लागि पनि कठोर दण्ड दिइन्छ । केही वर्षअघि किममाथि मलेसियाको विमानस्थलमा आफ्नै सौतेनी दाजुको हत्या गराएको आरोप लागेको थियो ।

यति कठोर र निर्दयी नेता किम जोङ उन सार्वजनिक कार्यक्रममा आँशु खसालेको बिरलै देख्न पाइन्छ । सन् २०११ मा आफ्ना पिता किम जोङ इलको निधन भएका बखत उनी डाँको छाडेर रोएका थिए ।

उनी फेरि एक पटक भावुक बनेका छन् । हालै देशका महिलाहरुलाई सम्बोधन गर्दा उनले आफूलाई सम्हाल्न सकेनन् । राजधानी प्योङयाङमा आयोजित आमाहरुको पाचौँ सम्मेलनलाई सम्बोधन गर्दै उनले महिलाहरुलाई धेरैभन्दा धेरै बच्चा जन्माउन आग्रह गरे ।

देशमा जन्मदर घट्दै गइरहेको भन्दै उनले महिलाहरुलाई सकेसम्म धेरै बच्चा जन्माउन र बच्चाहरुलाई कम्युनिष्ट सिद्धान्त सिकाएर हुर्काउन आग्रह गरे । यति भन्दै गर्दा उनी निकै भावुक देखिन्थे ।

‘घट्दो जन्मदरलाई रोक्न र बच्चालाई राम्रोसँग हुर्काउनु हाम्रो पारिवारिक दायित्व हो ।’ यति भन्दै गर्दा उनले आफूलाई रोक्न सकेनन् । र, रुमालले आँशु पुछे ।

एक तथ्यांकअनुसार उत्तर कोरियाको जन्मदर लगातार घट्दो क्रममा छ । सन् २०१४ मा उत्तर कोरियाको जन्मदर १ दशमलब ८८ रहेकोमा सन् २०२२ सम्म आइपुग्दा यो घटेर १ दशमलब ७९ मा झरेको छ ।

चिनियाँ र अमेरिकी शीर्ष कूटनीतिज्ञबीच इजराइल-हमास युद्धबारे छलफल
चीन र अमेरिकाले आफ्ना शीर्ष कूटनीतिज्ञहरूले बुधबार फोनमार्फत इजराइल–हमास युद्धबारे छलफल गरेको र युद्धलाई कम गर्ने आवश्यकतामा सहमत भएको बताएका छन् ।

अमेरिकी विदेश मन्त्रालयका अनुसार विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले युद्ध फैलिनबाट रोक्नका लागि काम गर्ने सबै पक्षको अनिवार्यतालाई दोहोर्याए । मन्त्रालयका प्रवक्ता म्याथ्यु मिलरका अनुसार ब्लिङ्कनले लाल सागरमा इरान समर्थित हुथी विद्रोहीहरूको हालैको हमलाबारे पनि कुरा उठाएका छन् । विदेशमन्त्री ब्लिंकनले उक्त हमलालाई सामुद्रिक सुरक्षा र अन्तर्राष्ट्रिय कानूनका लागि अस्वीकार्य खतरा हो भने । उक्त कानूनको पालना सबै मुलुकले गर्नुपर्ने दायित्व भएको उनको भनाइ थियो ।

बेइजिङका अनुसार विदेशमन्त्री वाङ यीले इजराइल र हमासबीचको युद्धका सम्बन्धमा ‘सर्वोच्च प्राथमिकता गोली हानाहानलाई रोक्नु र युद्धलाई चाँडोभन्दा चाँडो समाप्त गर्नु रहेका’ मा जोड दिनुभयो । विदेश मन्त्रालयका अनुसार वाङले भने, ‘प्रमुख मुलुकहरूले निष्पक्षता र न्यायको पालना गर्नुपर्छ, वस्तुनिष्ठता र निष्पक्षतालाई कायम राख्नुपर्छ, शान्ति र तर्कसङ्गतता देखाउनु पर्छ र स्थितिलाई शान्त बनाउन तथा ठूलो मात्रामा मानवीय विपत्तिलाई रोक्नका लागि हरसम्भव प्रयास गर्नुपर्छ ।’

उनले दुई राज्य समाधानका लागि बेइजिङको आह्वानलाई दोहोर्याए । उनले प्यालेस्टिनको भविष्यसँग सम्बन्धित कुनै पनि व्यवस्थाले प्यालेस्टिनी जनताको इच्छालाई प्रतिबिम्बन गर्नुपर्ने बताए। ‘चीन यस दिशामा प्रयास गर्नका लागि सबै पक्षसँग मिलेर काम गर्न तयार छ’, उनले भने ।

गाजाका प्यालेस्टिनीहरू ‘व्यापक त्रास’ मा : संयुक्त राष्ट्रसङ्घ

संयुक्त राष्ट्रसङ्घका मानव अधिकार प्रमुखले गाजा पट्टीका प्यालेस्टिनीहरू ‘अत्यन्तै गम्भीर त्रास’ मा बाँचिरहेको बताउँदै इजरायल र हमासबीच तत्काल युद्धविराम गर्न आह्वान गरेका छन् ।

मानव अधिकार प्रमुख भोल्कर तुर्कले भने, ‘यस्तो ‘सर्वनाशकारी’ मानवीय परिस्थितिहरूमा, अपराध र अत्याचारहरू हुने उच्च जोखिम छ ।’

उनले बुधबार जेनेभामा भएको पत्रकार सम्मेलनमा भने, ‘गाजामा प्यालेस्टिनीहरू चरम र गहिरो त्रासमा बाँचिरहेका छन् । गाजाका नागरिकहरूमाथि इजरायलले निरन्तर बमबारी गरिरहेको छ र सामूहिक रूपमा दण्डित गरिएको छ । उनीहरू मृत्यु, घेराबन्दी, विनाश र खाद्यान्न, पानी, जीवनरक्षक चिकित्सा सामग्री र अन्य अत्यावश्यक वस्तुहरू जस्ता अति आवश्यक मानवीय आवश्यकताहरूबाट ठूलो मात्रामा बञ्चित छन् ।’

प्यालेस्टाइनी इलाकामा बसोबास गर्ने २२ लाख मानिसमध्ये १९ लाख विस्थापित भएको र उनीहरूलाई अस्वास्थ्यकर र अस्वस्थ परिस्थितिमा दक्षिणी गाजामा निरन्तर घट्दो र अत्यधिक भीडभाड हुने स्थानमा धकेलिएको उनले बताए ।

‘गाजा पट्टीमा हामीले देखेको विनाशकारी स्थिति पूर्णतया पूर्वानुमान योग्य र रोकथाम योग्य थियो । मेरा मानवतावादी सहकर्मीहरूले स्थितिलाई सर्वनाशकारी को रूपमा वर्णन गरेका छन् ।’

संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार उच्चायुक्तले भने, ‘यस्तो अवस्थामा ज्यादतीजन्य अपराधको जोखिम बढेको छ ।’ ‘तत्कालको कदमको रूपमा, म शत्रुताको तत्काल अन्त्य गर्न र सबै बन्धकहरूको रिहाईको लागि आह्वान गर्दछु ।’

तुर्कले कब्जा गरिएको पश्चिमी किनारामा मानव अधिकार सङ्कट पनि ‘अत्यन्त चिन्ताजनक’ रहेको बताउँदै इजरायली अधिकारीहरूलाई उल्लङ्घनका लागि ‘व्यापक दण्डहीनता’ अन्त्य गर्न तत्काल कदम चाल्न आह्वान गरे । 

गत अक्टोबर ७ मा हमासले गरेको आक्रमणमा एक हजार २०० जनाको मृत्यु हुनुका साथै गाजामा करिब २४० जनालाई बन्धक बनाइएको इजरायली अधिकारीहरूले बताएका छन् । हमासद्वारा सञ्चालित सरकारी सञ्चार माध्यमको पछिल्लो विवरणअनुसार गाजामा १६ हजार २४८ जनाको मृत्यु भएको छ, जसमा अधिकांश महिला र बालबालिका रहेका छन् ।

इजरायलले हमासलाई नष्ट गर्ने र १३८ जना बन्धकलाई रिहा गर्ने प्रतिबद्धता जनाएको छ ।

प्रकाशित मिति : २० मंसिर २०८०, बुधबार  ७ : ५९ बजे

चितवनमा ५१ जनामा डेङ्गु सङ्क्रमण

चितवन– चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । तीन

मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी

मनाङ– मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ

म्याग्दीको रुममा चारसय परिवारलाई खानेपानी

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–२ रुममा ‘एक घर, एक धारा’ सहितको

काठमाडौं उपत्यका : एकै दिन घुम्न सकिन्छ सात सम्पदा

काठमाडौं – खुला संग्रहालयको रुपमा विश्वसामु परिचित काठमाडौं उपत्यका जहाँ

तीन दशकपछि सडक कालोपत्र

तनहुँ– करिब तीन दशकअघि रेखाङ्कन गरिएको तनहुँको भानु नगरपालिकास्थित कालीमाटीदेखि