दाङमा माघीको रौनक बढ्यो « Khabarhub

दाङमा माघीको रौनक बढ्यो


२३ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

दाङ – थारुहरुको पर्व माघी नजिकिँदै गर्दा जिल्लामा माघीको चहलपहल बढेको छ। विशेष गरी यहाँका थारु बस्तीमा यतिखेर माघीको रौनकता बढेको हो। थारु बस्तीमा माघीको तयारीमा सो समुदायका महिला व्यस्त देखिन्छन्। अहिले जिल्लाका गाउँदेखि सहर बजारमा माघी महोत्सव तथा माघी विशेष कार्यक्रम सञ्चालन भइरहेका छन्। थारु संस्कृति झल्कने नृत्य तथा उनीहरुले खाने परिकार राखी माघी महोत्सवको आयोजना भइरहेका छन्।

यसैबीच सदरमुकाम घोराहीमा शुक्रबारदेखि माघी महोत्सव सुरु भएको छ। थारु कल्याणकारी सभा दाङले गरेको दुईदिने महोत्सवको उद्घाटन अघि घोराहीमा थारु लोकसंस्कृति झल्किने वेशभूषामा सजिएर र्‍याली निकालिएको थियो। सो र्‍यालीले घोराही बजार परिक्रमा गरेको थियो। ‘हमार देश हमार भाषा, सम्पत्ति हो सक्कुजन्हक खासा माघक शुभकामना बा’ भन्ने प्ले कार्ड बोकेका थारु युवायुवती र्‍यालीमा देखिन्थे। महोत्सवको उद्घाटन लुम्बिनी प्रदेशका पर्यटन ग्रामीण विकासमन्त्री डिल्लीबहादुर चौधरीले गरे। आयोजक संस्थाका संयोजक माधव चौधरीले महोत्सव अवधिमा मघौटा छोक्रा नृत्य, थारु भाषाका पुस्तक, थारु समुदायको परम्परागत हस्तकला, काष्ठकला, राखिएको जानकारी दिए।

त्यस्तै सो समुदायले खाने परिकार, चामलको रोटी, ढिक्री, घोङ्घी, माछा, गङ्गटालगायतका परिकारसमेत बिक्री वितरणका लागि राखिएको छ।

तुलसीपुरमा पनि माघी मिलनको कार्यक्रम राख्ने तयारी गरिरहेको तुलसीपुर उपमहानगरपालिका–६ का ४५ वर्षीय मैतु चौधरीले बताए। उनले माघ २५ गतेदेखि माघी विशेष कार्यक्रम राख्ने गरी तयारी गरेको बताए।

शुक्रबार तुलसीपुर उपमहानगरपालिकाका विभिन्न वडाका थारु बस्तीमा पुग्दा माघीको तयारी तीव्र पारिएको देखिन्थ्यो। युवतीहरु माघीमा खाने रोटी तथा ढिक्रीको लागि पिठो तयारीमा व्यस्त देखिन्थे भने पुरुष माघीका लागि मासुको जोहो गर्ने तर्खरमा रहेका भेटिन्थे। घरआँगन सरसफाइ, रङरोगन तथा लिपपोत गरी चिटिक्क देखिन्थे। त्यस्तै माघीमा प्रयोग गरिने भाँडाकुँडा सबै सफा गरिएकासमेत देखिन्थे। यो दृश्य तुलसीपुर उपमहानगरपालिका–६ रजौराको थारु बस्तीमा देखिएको हो।

माघीको रौनक अहिले रजौराको थारु गाउँमा मात्र होइन दाङका अधिकांश थारु बस्ती सबैमा बढेको छ। केही महिला भने माघीको लागि आवश्यक पर्ने माछा मार्नेलगायतका काममा व्यस्त छन्। माघी आउनु अगाडि नै चाडको तयारीका काममा व्यस्त हुने तुलसीपुर उपमहानगरपालिका–६ रजौराका ६५ वर्षीया देशनी चौधरीले बताइन्।

उनले भनिन्, “आफूहरुको संस्कृतिअनुसार सुँगुर मार्ने काम माघी आउन एक दिन बाँकी हुँदा गरिन्छ भने माछा मार्नेदेखि लिएर रोटी पकाउनेलगायतका अन्य तयारी दुई हप्ता अगाडिबाट नै सुरु गरिन्छ।”

आफ्नो घरको आँगनमा बसेर दुनाटपरी बनाउँदै गर्नुभएकी ४५ वर्षीया कृष्णी चौधरीले भनिन्, “माघीका लागि आवश्यक पर्ने दुनाटपरी बनाउँदै गरेकी छु। माघीमा घरका सबै परिवार नातेदार र पाहुना धेरै जम्मा हुने भएकाले आवश्यक परिकार बनाउन लागेकी हुँ।” तुलसीपुर उपमहानरपालिका–६ को रजौरा बस्ती वडा नं १२ को कपडादेबिमा मात्र होइन यहाँका अन्य थारु बस्तीमा पनि माघीको रौनक बढ्दै गएको छ।

तुलसीपुर उपमहानगरपालिका–८ चन्द्रगञ्जकी ६० वर्षीया मनराखी चौधरी पनि माघीका लागि दुनाटपरी बनाउनमै व्यस्त छन्। आफ्ना बुहारीहरुसँगै बसेर दुनाटपरी बनाउनमै व्यस्त रहेकी मनराखीले माघीमा विभिन्न प्रकारका खानेकुरा खानको लागि सालका पातको दुनाटपरी बनाउन लागेको बताइन्।

त्यसैगरी तुलसीपुर उपमहानगरपालिका–१२ उरहरी की २८ वर्षीया पूर्णिमा चौधरीले माघी नजिकिँदै गरेकाले तयारीमा लागेको बताइन्। उनले भनिन, “माघीमा घरमा धेरै पाहुना आउनुहुन्छ। अचार धेरै चाहिने भएकाले अहिले नै मुलाको अचार बनाउन लागेको छु।” उनले एक महिना अगाडिदेखि नै पात तथा दाउराका लागि वनमा जाने गरेको भए पनि माघीमा आवश्यक पर्ने अन्य परिकार बनाउन भने आफूले आजदेखि सुरु गर्ने बताइन्।

पुस मसान्तमा घरघरमा सुँगुरको मासु, ढिक्री (पिठोको एक परिकार), माछालगायतको परिकार बनाएर जाँड, रक्सीको साथ खानपिन गरेर रातभर नाचगानका साथ रमाइलो गर्नेप्रचलन छ। यतिबेला सखियै हो, माघीक पिली गुरी जाँर भन्ने गीत सबैको मुखमा झुण्डिएको हुन्छ।

माघीमा नाचिने विशेष मघौटा नाच अघिपछि पनि लोकप्रिय छ। माघे सङ्क्रान्तिको दिन बिहान सबै जना नजिकैको खोला, नदी, तलाउ तथा पोखरीमा गई नुहाउन जाने चलन छ। नुहाइसकेपछि घरमा आई दाल, चामल, नुन छोएर आफ्ना छोरी चेलीलाई टीका लगाइदिने चलन छ। थारुले माघीलाई पर्वको रुपमा मात्र होइन यसलाई नयाँ वर्षको रुपमा पनि मनाउने प्रचलन रहेको छ।

उनीहरुले वर्षभरि गरिने कामको योजना पनि बनाउने चलन छ। गाउँको अगुवादेखि चौकीदारसम्म चुन्ने, वर्षभरिका कामको लागि कस्लाई के जिम्मेवारी दिने पनि यसै बेलामा नै गर्ने गर्दछन्। घर छोडेर रोगजारीका लागि जिल्ला बाहिर बस्दै आएका थारु माघी मनाउनका लागि आफ्नै घरमा आउने गर्दछन् भने यो चाडलाई उनीहरुले एक हप्तासम्म मनाउने गर्दछन्।

प्रकाशित मिति : २३ पुस २०७९, शनिबार  १२ : २५ बजे

धार्मिक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको ‘महादेव थान’

भोजपुर– भोजपुरको हतुवागढी गाउँपालिका–१ स्थित कावा खोलाको किनारमा रहेको ऐतिहासिक

कांग्रेस सहमहामन्त्रीमा खतिवडा र सिवाकोटी अगाडि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत सहमहामन्त्री (खुला २) पदका

विश्वकप लिग- २ : आज नेपाल र ओमान खेल्दै

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखलामा आज नेपालले ओमानसँग प्रतिस्पर्धा

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

गायिका एलिना र मेलिनाबीच मनमुटाव : एउटै फेसन व्यवसायका पूर्वसहयोगी अब प्रतिस्पर्धी

कुनै समय एउटै व्यवसायमा सहकार्य गरेका गायिका एलिना चौहान र