पूर्वीनाकामा थपिँदै ‘सिसी क्यामेरा’ | Khabarhub Khabarhub

पूर्वीनाकामा थपिँदै ‘सिसी क्यामेरा’


२४ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

झापा– पूर्वीनाका काँकडभिट्टामा चार वर्षअघि जडान गरिएका ‘सिसी क्यामेरा’ बिग्रिएपछि नयाँ थप्न सुरु गरिएको छ । भारतसँग सीमा जोडिएको र भुटान तथा बङ्गलादेशबाट नजिक रहेको कारण मेचीनगर–६ स्थित काँकडभिट्टा सुरक्षाका दृष्टिले संवेदनशील क्षेत्र मानिन्छ ।

सहरका सबै सिसी क्यामेरा काम नलाग्ने भएपछि मेची सामुदायिक सेवा केन्द्र र इलाका प्रहरी कार्यालयको पहलमा स्थानीय जनसहभागिता जुटाएर यसै साता बजार र मुख्य चोकमा २६ वटा नयाँ सिसी क्यामेरा जडान गरिएको इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक भारतीले बताए।

सीमानाकामा आवश्यक निगरानी र अपराध न्यूनीकरणका लागि सिसी क्यामेरा अतिआवश्यक रहेको र बजार क्षेत्रमा अझै अपर्याप्त भएको उनको भनाइ छ । मेची भन्सार कार्यालय र इप्रका कार्यालय अगाडि जडान गरिएका १६ वटा क्यामेरा भने पहिल्यैदेखि चालु अवस्थामा छन् ।

पूर्वीनाका काँकडभिट्टामा चार वर्षअघि मेचीनगर नगरपालिकाको सहयोग र मेची सामुदायिक सेवा केन्द्रको सहकार्यमा रु १८ लाखको लागतमा २३ वटा सिसी क्यामेरा बजारको महत्वपूर्ण स्थानमा जडान गरिएका थिए । ती सबै क्यामेरा एक वर्षअघि नै कि त बिग्रिए, कि त तस्करले फुटाइदिए ।

‘पूर्वीनाका अत्यन्त महत्वपूर्ण र संवेदनशील भएका कारण यहाँ हरेक गौडा–गौडामा सिसी क्यामेराको आवश्यकता छ’, उनले भने, ‘पहिलेका सबै बिग्रिइसकेका रहेछन् । सीमातिरका १६ वटा चलिरहेका थिए । भर्खरै २६  क्यामेरा बजारमा जडान गरिएको छ । यतिले पुग्दैन ।’

अहिले जडान गरिएका सबै सिसी क्यामेराको कन्ट्रोलरुम प्रहरी कार्यालयमै रहेको छ । काँकडभिट्टा क्षेत्रमा अपर्याप्त भएका कारण संघीय सरकारसँग थप बजेट मागेर सहरमा सिसी क्यामेराको जालो बिछ्याउने मेची सामुदायिक सेवा केन्द्रको योजना छ ।

प्रहरी नायब उपरीक्षक भारतीले हरेक टोलका विकास समितिहरूले आफ्नै पहलमा सिसी क्यामेरा जडान गर्नसके र बैंक तथा वित्तीय संस्थाले बजार र सडकमा सार्वजनिक सिसी क्यामेरा राख्न अग्रसरता देखाउने हो भने सहरमा अपराध न्यूनीकरण, नियन्त्रण र अपराधीको पहिचानमा सहजता हुने बताए । 

मेचीनगरको अन्य सहरमा पनि पर्याप्त मात्रामा सिसी क्यामेरा जडान गरिएका छैनन् । मेचीनगरको वडा नं ६ मा रहेको काँकडभिट्टा पूर्वीनाका हो भने वडा नं १० को धुलाबारी, वडा नं ७ को इटाभट्टा र वडा नं १३ को चारआली पूर्वपश्चिम राजमार्गमा रहेका ठूला सहर हुन् । 

यी चारवटै सहरको अधिकांश स्थानमा कि त सिसी क्यामेरा जडान गरिएका छैनन् कि त जडान भइसकेका पनि बिग्रिइसकेको छन् ।

 दुई वर्षअघि धुलाबारी चोकमा स्थानीय नगरपालिका र बजार व्यवस्थापन समितिको सहकार्यमा सिसी क्यामेरा जडान गरिएका थिए । अहिले ती क्यामेरा थोत्रो बनेका छन् । धुलाबारी चोकमा रहेको प्रहरीको ट्राफिक बिटमा थन्क्याइएको कन्ट्रोलरुममा राखिएको टिभी स्क्रिनमा माकुराले जालो लगाएको छ ।

धुलाबारी, इटाभट्टा र चारआली बजार क्षेत्रमा नयाँ सिसी क्यामेरा जडानको पहल भइरहेको छ । मेचीनगरको वडा नं ९ र १० ले सिसी क्यामेरा जडानका लागि बजेट छुट्याएका छन् । तर जनसहभागिताको कुन अवधारणाबाट योजना अघि बढाउने भन्नेमा एकमत हुन नसक्दा वडाको बजेट खर्च भएको छैन ।

सहर र सडकमा जडान गरिएका सिसी क्यामेराको नियमित हेरचाह र मर्मतसम्भार नहुँदा समस्या भएको धुलाबारी बजार व्यवस्थापन समितिका अध्यक्ष रविन बस्नेतले बताए। नगरपालिका, वडा कार्यालय, वाणिज्य सङ्घहरू र बजार व्यवस्थापन समिति मिलेर सहरलाई प्रविधियुक्त सुरक्षित सहर बनाउन सकिने उनले बताए ।

उनले स्थानीय बैंक तथा वित्तीय संस्था र ठूला उद्योगीले आफ्ना लागि जडान गरिएका सिसी क्यामेरामध्ये केही थान सार्वजनिक हितका लागि सडकतिर लक्षित गराउनुपर्ने सुझाव दिएका छन् । ठूला बैंकले जडान गरेका सिसी क्यामेरा आफ्नो निजी ढोका र कोठाभित्र मात्र सीमित तुल्याउने गरेका उनको दाबी छ । 

पूर्वीनाका अन्तर्राष्ट्रिय सुरक्षाका दृष्टिले समेत संवेदनशील भएकाले राज्यले सडक, बजार र सीमावर्ती चोकमा शक्तिशाली सिसी क्यामेरा जडान गर्ने कार्यलाई प्राथमिकतामा राख्नुपर्ने देखिएको छ ।


प्रकाशित मिति : २४ बैशाख २०८०, आइतबार  ८ : ५८ बजे

दिल्लीलाई हराउँदै आरसिबी प्लेअफ दौडमा

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८१ साल वैशाख ३१ गते सोमबार तदनुसार

आज २०८१ साल वैशाख ३१ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख ३१ गते सोमबार तदनुसार

दुई एआइजी र दुई डिआइजीलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौं – नेपाल प्रहरीका दुई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) र

लप्चिका स्थानीयवासीलाई गाउँमै पुगेर सीमा पास वितरण

दोलखा – दोलखा र चीनको सीमानामा पर्ने लप्चि नाकाका स्थानीयवासीलाई