के हो अहो ! अमृत त्यो सुरदेव पान ?
सच्चा कमाइ गरिखानु भनेर जान।
के हो ठूलो जगतमा ? पसिना विवेक
उद्देश्य के लिनु ? उडि छुनु चन्द्र एक।
यस्तैयस्तै सूक्तीहरू पढेर विद्यार्थीकाल बित्यो। निष्ठा, नैतिकता र इमान्दारिताको पाठ घोकेर जीवन यथा तथा चल्यो, यो देशमा, यो मातृभूमिमा र जीवन पनि यही माटोमै विसर्जन गर्न मन छ। तर, सम्भ्रान्त देशमा ओइरो लाग्ने र नयाँ नयाँ सपनाको लागि सबै कुरा बिर्सने र देशलाई नै दाउमा राख्नेहरूको कमी छैन यहाँ।
स्वदेशभित्र धेरै रत्नहरूको खोजी भएकै छैन। देशभक्ति गर्नेहरूको खोजी त भएकै छैन। केही समयअघि विभूषण र तक्माको बाढी आयो। कसैप्रति खासै चासो गएन तर भूटानी मानव अधिकारकर्मी नेता टेकनाथ रिजाललाई हाम्रो देशले ठूलै तक्मा भिडाउँदा अलिक खल्लो लागेको थियो। सायाद उनले केही राम्रो काम गरेका थिए होलान् र राज्यले उनलाई छान्यो होला।
चित्त नबुझाएर गर्नै पो के सकिन्थ्यो र ? बल्ल खुल्यो कुरो, भुटानी शरणार्थी प्रकरणमा उनी पनि समातिए छन्। सबैजसो गृह प्रशासन प्रहरी फन्दामा परेको बेला अब कुरो बुझ्न असहज भएन। हामी कुरा ठूला गर्छौ, काम भने हामी सिन्को भाँच्दैनौँ। हामीमा निष्ठा, नैतिकता, इमान्दारिताको नामोनिसान छैन।
माउनीति राजनीतिले समाजलाई कुरूप बनाएको छ। यहाँसम्म कि सरस्वतीको मन्दिर प्रज्ञा भवन समेत दलहरूको पुनर्मिलन केन्द्र बनेको छ। अदालत त बन्यो नै, कुन ठाउँ चैं दलको भर्ती केन्द्र बनेन ? दलले नै समाजलाई पथभ्रष्ट बनाएको छ, जर्जर बनाएको छ। इमानदार नेपाली, वीर गोर्खाली भनेर संसारमा प्रसिद्धि पाएका नेपालीहरूलाई अब संसारले हेर्ने दृष्टिकोणमै फरकपन आएको छ। देशको शिर झुकेको छ, सगरमाथाको उचाइ घटेको छ, सबैतिर लज्जाबोध भएको छ। केन्द्रीय गृह प्रशासन कठघरामा पुगेको छ।
इतिहासको गौरव चन्द्र शमशेरले नै मानव बेचविखन भनौँ दास प्रथा उन्मूलन त्यो पनि वि सं १९८१ तिरै गरे भनेर इतिहास पढेको हो। तर अझै बाँकी रहेछ, उन्मूलन भएको रहेनछ र श्री ३ हरूको शैली कार्यपालिका, व्यवस्थापिका अनि न्यायपालिका एकै क्षेत्रबाट निसृत भएकाले निरंकुश भनियो। तर त्यो निरंकुशता र केही दलहरूको पञ्जामा देश अहिले पनि रहि नै रहेको स्पष्ट छ। दशकैपिच्छे देशवासीलाई क्रान्तिमा होमियो तर छाडा राजनीतिबाहेक आर्थिक र सामाजिक मूल्य र मान्यतासहितको समाज रूपान्तरणका लागि गरिनुपर्ने क्रान्ति त बाँकी नै रहेछ।
एक तिहाइ जनता विदेश ठेलेर कमाइएको विप्रेषण रकमले चिल्ला गाडीको शयर, वार्षिक बजेटभन्दा बढी विदेशी ऋण र अर्बौँ रकम शिक्षाकै नाममा विदेशिने प्रणाली, विकासको नाममा असारे, डोजरे माटो छोप्ने विकास अनि ठेकेदार मोटाउने, कमिसन बुझाउने खेलमा रातोदिन तल्लीन विचौलियाहरूको रजगज छ देशमा, बेरुजुको पहाड छ।
भनियो र लेखियो सुशासन, तर भएछ कुशासन। पुर्खा यस्तो थियो हाम्रो कुनै बेला महीन्द्र मल्लले राजकाज गरे र जनताको भान्छामा चुलो जलेपछि धुरीबाट आउने धूवाँ देखेपछि आफू खाना खान्थे रे। कसैको घरबाट कुनै दिन धूवाँ निस्केन भने त्यो घरमा आज किन खाना बनेन, भोकै पर्लान् भनी राजाले आफ्ना मान्छे पठाई खोजी गर्थे रे। पछिल्लो समयमा पनि राजाहरूले भेष बदलेर कुनै योगी सन्यासीको रूप लिएर नेपाली गाउँहरूमा गई तिनको समस्या बुझ्थे रे। धेरै पछि पनि गाउँको सर्वाङ्गीण विकासका लागि गाउँफर्क राष्ट्रिय अभियान सञ्चालन भएकै हो।
अहिले गाउँमा बस्ने कोही भएन। सिंहदरबार गाउँ गएर गाउँलाई सिंहले चिथोरे झैँ चिथोरेको छ र तमाम गाउँलेहरू या त सहर पसे या खाडीमा। यहाँसम्म कि युरोप, अष्ट्रेलिया, अमेरिकाको सपना देखाउँदै कालोधन जम्मा गर्न गृह प्रशासन नै लागेको, गृहमन्त्री, गृहसचिव नै संलग्न भएको खबर यत्रतत्र छरपष्ट छ अहिले। सरकारी गाडी प्रयोग गरेर नक्कली धन्दा गर्दै नक्कली कागजात तयार गरेको र संविधानअनुसार नियृक्त भएका हज कमिटीका शमशेर मियाँदेखि डेढ दर्जन ठूला माछाहरू अहिले प्रहरीको फन्दामा रहेका देखिन्छन्।
नेतृत्वको दबाबका कारण तिनले पछि छुट्कारा पनि पाउलान् तर संसारको नजरमा देशको ठूलै बेइज्जत भएको छ। पैसाको लागि आफ्नो अस्मितालाई बाजी राख्न पनि मानिस पछि पर्ने रहेनछ। हामीले परिवर्तनको नाममा खराब बिरुवा रोप्यौँ त्यो वृक्ष अहिले झाँगिएको छ, फल परिणाम पनि दिन थालेको छ। नेताहरूको लहलहैमा लाग्दा परिणाम के आएको छ सबैलाई याद छ, देशमा चरम महँगी, चरम बेथिति, चरम व्यापार घाटा, चरम ऋणको भार, चरम खडेरी परेको निष्ठा र नैतिकता, सिस्नु रोपेर सर्स्यूं फलेन।
दुई चार जना कर्मचारी वा दुई चार जना नेताजीहरूलाई सरापेर वा कारबाही गरेर देश सुध्रिनेवाला छैन। देशमा अन्याय छ, अत्याचार छ, भ्रष्टाचार छ, कुशासन छ, कुरीति र कुप्रथा छ, कुण्ठा छ, क्रोध छ, वैमनस्यता छ, जताततै ईष्र्या छ, भ्रष्टहरूको तस्वीर हेर्नुपर्ने त्यो पनि सदाको लागि आम सञ्चारबाट।
दलहरूको हुकुमी शैली, बेरोजगार शैलीको महँगो शिक्षा, विपन्न नागरिकले स्वास्थ्य, उपचारबाट बञ्चित हुनुपर्ने अवस्था, प्राकृतिक हरियाली डाँडाहरू हुँदाहुँदै चरम ठेकेदारी शैलीका भ्यूटावर, अलिशान महल, सुरक्षा र उपचारमा अर्बौँ रकम नेताजीहरूमा लगानी, एक तिहाइ जनता विदेश ठेलेर कमाइएको विप्रेषण रकमले चिल्ला गाडीको शयर, वार्षिक बजेटभन्दा बढी विदेशी ऋण र अर्बौँ रकम शिक्षाकै नाममा विदेशिने प्रणाली, विकासको नाममा असारे, डोजरे माटो छोप्ने विकास अनि ठेकेदार मोटाउने, कमिसन बुझाउने खेलमा रातोदिन तल्लीन विचौलियाहरूको रजगज छ देशमा, बेरुजुको पहाड छ।
देश दिनपरदिन आत्मनिर्भरको सट्टा परनिर्भरतामा फसेको छ भने व्यापारीहरू राजनीतिमा प्रवेश गरेका छन्, उद्योगपति भन्नेहरू राजनीतिमा पसेका छन्, जग्गा दलाली गर्नेहरू शिक्षाक्षेत्रका हस्ती भनिनेहरू राजनीतिमै प्रवेश गरेका छन् र त देश सर्वत्र नाङ्गो भएको अवस्थामा छ अहिले।
चुरो समस्या नबुझी केही काम देखाउँदैमा देशमा परिवर्तन सम्भव छैन, समस्याको जड नै पहिले पत्ता लाउनुपर्छ।
उखु किसान फेरि माइतीघर मण्डला तताउने हुम्लीले चामल लिन बालुवाटार आउनुपर्ने, केन्द्रको राजनीतिमा भूकम्प जानासाथ देशैभरि परकम्प हुने संघीयता छ देशमा। अति खर्चिलो र सुविधा चाहिने गणतन्त्र पनि छ। बोल्न लेख्नबाहेक अरु सुविधा केही पाएका छैनन् जनताले। न किसानले मल बीउ पाए, न सिँचाइ सुविधा, न बजार वा यन्त्र उपकरण, न सहज कृषि ऋण। पाए केवल नगरपालिका, कर थोपर्ने जनतालाई उठीबास लगाउने।
गाँस, बास, कपासकै लागि खाडीमा धकेलिने बाध्यता र विवशता, पुर्खाहरू आश्रयस्थल नपाई तड्पिएको अवस्थामा छन्। आज कुनै छोरा साथ छैनन् या त खाडीमा भेडा चराउँदै छन् वा अन्त कतै, फर्किने सहज अवस्था छैन, फर्किए पनि बन्दी बाकसमा फर्कने धेरै छन्, पछिल्लो महँगो लोकतन्त्रले दिएको यो उपहार हो।
देशमा सुशासनको चाहना भए देशवासीबाट राज्य सञ्चालन गरिनुपर्छ। वित्त नीति आफ्नै हुनुपर्छ, शिक्षा नीति आफ्नै हुनुपर्छ, सबै नीतिहरू विदेशीले बनाइदिने हो भने देशको अवस्था यस्तै हुने हो भोलि पनि। चुरो समस्या नबुझी केही काम देखाउँदैमा देशमा परिवर्तन सम्भव छैन, समस्याको जड नै पहिले पत्ता लाउनुपर्छ।
विदेशीहरूको चलखेल हुन्जेल, नेतृत्वले पैसा र कमिसनको लोभ गरुन्जेल हुने यस्तै हो। विदेशी हस्तक्षेप किन बढ्दैछ, किन एमसीसी ? किन ठूला विमानस्थल, किन देशमा साना गाडीहरूले दुर्घटनारहित सेवा दिन सकेनन् ? कत्रो छ भूगोल हाम्रो चार लेनको जताततै बाटो किन नि ? के गुडाउने त्यो बाटोमा ? को उडाउने ठूला विमानस्थलबाट ? किन धर्म निरपेक्ष देश ? धर्म निरपेक्ष भएपछि मन्दिर मन्दिर किन धाउनु परेको, किन क्विन्टल सुन चढाउनु परेको ? देशमा संघीयता किन र कसले ल्याएको ? गणतन्त्र के का लागि हो ? अहिले ढुकुटी सकियो किन ? साढे तीन दशकसम्म आफैँ देशको साँचो लिने अनि सुशासन चाहियो, भ्रष्टाचार गर्नु भएन, कारबाही गर भन्दै तिनै व्यक्ति, समूह सडकमा आउनुको अर्थ के हो ? देशको आयस्रोतले यो महँगो राजनीति धान्न सक्छ ?
श्रीलंका किन टाट पल्टियो, सरकारी संस्थानले तेल बिक्री गर्दा परल मोल भन्दा दोब्बर किन गर्छ ? किन नेपालीहरूले धारामा पानी पाउँदैनन् ? किन मेलम्ची तुरुन्तै सुक्छ ? किन फोहोरमा पनि राजनीति हुन्छ ? संरचनामा किन समन्वय छैन ? सेवा किन महँगो भयो ? प्रदूषणमा पनि अब्बल किन ? र देशको सरकार नै मानव बेचबिखनमा किन नि ?
५ वर्षपछि आउने चुनावलाई अहिलेदेखि नै जनतालाई प्रयोग गर्ने कहिले ग्रासरुट भन्ने कहिले छोराछोरी अभियान भन्ने बरु यस्तो जनशक्तिलाई कृषि, उद्योग धन्दामा प्रयोग गरे राम्रो हुन्थ्यो नि।
उपप्रधानमन्त्री नै कारबाहीमा पर्छन् भने प्रधानमन्त्री चाहिँ चोखै होलान् त ? अघिपछि देशको समस्या आउँदा पानी बाराबार गर्ने शीर्ष नेताजीहरू किन अहिले बाक्लो भेटघाटमा ? अप्रत्याशित भएन र ? ठूला यसअघिका काण्डहरू कहाँ गए ? अहिलेको पनि यतिकै सेलाउँछ किन नभन्ने ? के अहिलेको केस आफैँले खोजी गरेको होला र ?
एउटा प्रसंगः गान्धीले धोती, चप्पल लगाउँथे। उनका आफन्तले इज्जतअनुसार अलि महँगो जुत्ता लगाउन भनेछन्, उनले मानेनन्। ४० पैसाको चप्पल लगाउने उनलाई ४० कि मि परबाट रु २ जाने जुत्ता किनेर ल्याइएछ र प्रयोग गर्न भनिएछ। गान्धीले त्यसलाई अस्वीकार गर्दै जुत्ता फिर्ता लग्न भनेछन्। फिर्ता लग्दा दोब्बर गाडी भाडा तिर्दा खरिदमूल्य नै जान्छ, त्यसो नगरौँ भन्दा बसमा लाग्ने भाडा म तिरौँला तर यो जुत्ता मलाई महँगो भयो फिर्ता गर भनेपछि जुत्ता फिर्ता गरिएछ। हाम्रोमा पनि कृष्णप्रसादले छाता र सुराहीमा जीवन बिताएको देखेकै हो।
अमेरिकी राष्ट्रपतिको रेस्टुराँमा चिया चमेना प्लाष्टिकको कुर्सी र छोरी पढाउन जागिर खाएको, डेनमार्ककी प्रधानमन्त्री साइकलमा कार्यालय आउजाउ गरेको पनि देखिएकै हो, नेदरल्याण्ड्समा साइकलको संख्या कति छ ? यहाँ प्राडो र पजेरो किन, आडैमा हेलिप्याड, हेलिकप्टरमा चुनावी शैली, निर्लज्ज नकच्चरो शैली। चीनका राष्ट्रपति किसानको खेतबारीमा पुग्ने, साबेल बेल्चा चलाएको पनि देखियो, सिंगापुर बनाइदिने ली क्वान यू, मलेसियाका महाथिरले किन सम्झन्छन् मानिसहरू ?
पाइयो ढुकुटी भनेर दुई हातले खाने हाम्रा राजनीतिकर्मीहरूको घैँटामा घाम कहिले लाग्छ त ? आम नेपालीको जीवनस्तर के छ नहेरी बेखबर खर्च गराउनेलाई के भन्ने ? चुनाव धेरै महँगो भयो, यस्तो प्रणाली जनताले धान्न सक्दैनन्।
५ वर्षपछि आउने चुनावलाई अहिलेदेखि नै जनतालाई प्रयोग गर्ने कहिले ग्रासरुट भन्ने कहिले छोराछोरी अभियान भन्ने बरु यस्तो जनशक्तिलाई कृषि, उद्योग धन्दामा प्रयोग गरे राम्रो हुन्थ्यो नि।
प्रतिक्रिया