राष्ट्रियसभा बैठक : बजेटबारे सांसदको मिश्रित प्रतिक्रिया | Khabarhub Khabarhub

राष्ट्रियसभा बैठक : बजेटबारे सांसदको मिश्रित प्रतिक्रिया


२४ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले आगामी आर्थिक वर्षको बजेटका बारे मिश्रित प्रतिक्रिया दिनुभएको छ । सत्तापक्षका सांसदहरुले सकारात्मक भएको भनिरहँदा विपक्षी दलका सांसदहरुले भने आलोचना गरेका छन् ।

सांसद जगप्रसाद शर्माले बजेट यथार्थ नजिक भएर आएको, पुँजीगत खर्च वृद्धि गर्नेलगायत छ वटा उद्देश्य रहेको र प्राथमिकता क्रम निर्धारण भएकाले सकारात्मक रहेको बताए। समस्याको वस्तुनिष्ठ पहिचान गर्दै राजस्व चुहावट नियन्त्रण गर्ने, काठ उत्पादन र निर्यात, जग्गा प्रशासनमा सुधार, वस्तुको आयात र निर्यातमा वृद्धि गर्ने, ठूला दुई छिमेकी देशसँगको सम्बन्ध सुधारलगायत विषयलाई विशेष ध्यान दिएको उल्लेख गर्दै उनले साधारण खर्चको नियन्त्रण गर्न लिइएका नीति महत्वपूर्ण रहेको बताए । 

बजेट खर्च गर्ने समयसीमा नै निर्धारण गरिएको बताउँदै उहाँले वित्तीय प्रणालीमा सुधार, कानुन, नियम र नियमावलीमा सुधार, बोझिलो रहेका २० वटा सरकारी संस्था खारेजी, बजेट कार्यान्वयनको सुनिश्चितता गरेकाले बजेट महत्वपूर्ण रहेको सांसद शर्माको भनाइ छ ।

आर्थिक क्रान्ति र समृद्धिको पाँचवटा आधार तयार पार्न खोजेको जानकारी दिँदै सांसद शर्माले बजेट कार्यान्वयनलाई मुलुकको सफलतासँग जोडेको, उत्पादन साथमा अनुदान हातमा जस्ता नारासमेत अगाडि सारेको, धरातल टेकेका कारण बजेट मुलुकको यथार्थसंगत रहेको स्पष्ट पारे ।

उनले संसद् विकास कोषका सम्बन्धमा गरिएको व्यवस्था गलत रहेको र त्यसले सांसदलाई वडा अध्यक्षको हैसियतमा पुर्‍याएकामा गुनासो गरे । शिक्षा र स्वास्थ्य क्षेत्रमा उल्लेख्य मात्रामा बजेट विनियोजन नभएका सांसद शर्माले अर्थमन्त्रीको ध्यानाकर्षण गराए  ।

सांसद इन्दुु कडरियाले आगामी आर्थिक वर्षको बजेट मुलुकको समस्या समाधान गर्नेतर्फ केन्द्रित नरहेको टिप्पणी गरिन्। उनले स्रोत बिनाको बजेटले उद्देश्य प्राप्त गर्न नसक्ने, अस्वाभाविक ठूलो बजेटले जनअपेक्षा पूरा गर्न नसक्ने धारणा राखिन् । 

सांसद रमेशजङ्ग रायमाझीले बजेटको प्रभावकारी कार्यान्वयनमा ध्यान दिन, राजस्व चुहावटमा लाग्न अनुरोध गर्दै बजेटलाई राम्रो निबन्ध भनेर गरिएको टिप्पणीप्रति आपत्ति प्रकट गरे । उनले अर्थमन्त्रीले मुलुकको आर्थिक विकासलाई केन्द्रमा राखेर बजेट ल्याइएकामा स्वागत गर्नुपर्ने र सकारात्मक भनेर टिप्पणी गर्नुपर्नेमा केवल विरोधका लागि विरोध गर्ने प्रवृत्ति पूर्णत गलत भएको बताए ।

सांसद डा विमला राई पौडेलले चालु आवमा राजस्व संकलनमा कमी आएको, पुँजीगत खर्चको अवस्था उस्तै रहेको, वैदेशिक अनुदानको अवस्था कमजोर रहेको, निर्यातसमेत घटेको बताउँदै मुलुक आर्थिक मन्दीको दिशामा केन्द्रित रहेको बताइन् । आगामी आर्थिक वर्षको बजेटले समयलाई समात्न नसकेको भन्दै यसले केही गर्न नसक्ने आरोप लगाइन्।

सांसद रामचन्द्र राईले आगामी आवको बजेटले दिगो विकासको गन्तव्य पहिल्याउन नसकेको, आर्थिक संकट समाधानको योजना नभएको, आकार र क्षेत्र ठूलो भएकाले यथार्थपरक नभएको आरोप लगाए । 

सांसद प्रकाश पन्थले सार्वजनिक खर्चलाई न्यूनीकरण गर्ने, पुँजीगत खर्च बढाउने, भ्रष्टाचार नियन्त्रण गर्ने, सुशासनको अभिवृद्धिका लागि सरकारले विशेष ध्यान दिनुपर्ने र कार्यान्वयन पक्षलाई प्रभावकारी बनाउनुपर्ने बताए ।

बजेट कार्यान्वयन प्रक्रिया असारभित्रै सुरु गर्ने विषय बजेटमा प्रभावकारी व्यवस्था गरिएको उल्लेख गर्दै सांसदले संघीयता कार्यान्वयन गर्नेतर्फ बजेट चुकेकामा सरकारको ध्यानाकर्षण गराए । सांसद उदयबहादुर बोहोराले बजेटले मुलुक समस्यामा रहेको स्पष्ट पारेकाले त्यसलाई समाधान गर्न लाग्नुपर्ने र दृष्टिकोणमा रहेको कमीकमजोरी सच्याउनुपर्ने बताउँदै कार्यान्वयनमा जोड दिनुपर्ने बताए ।

सांसद मोहम्मद खालिदले बजेटले समावेशी र समानुपातिक प्रणालीका विषयमा चुकेको बताए । उनले दुग्ध विकास बोर्ड खारेज गर्न नहुने उल्लेख गरे । सांसद शेखरकुमार सिंहले आगामी आर्थिक वर्षको बजेटले समयानुकूल विषयलाई समावेश गरेकामा सरकारलाई धन्यवाद दिँदै केही मानवीय त्रुटि देखिएकाले त्यसलाई सच्याउन आग्रह गरे । सांसद सिंहले बजेट कार्यान्वयनमा ध्यान दिन आग्रह गरे ।

प्रकाशित मिति : २४ जेठ २०८०, बुधबार  ३ : २० बजे

निर्माण उद्योगमैत्री कानुन निर्माण सरकारको प्राथमिकता : प्रधानमन्त्री 

हेटौंडा– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्माण उद्योगमैत्री कानुन निर्माण गरेर

सुपरहिटको ट्याग पाउँदै ‘महाजात्रा’ दोस्रो हप्तामा प्रवेश

काठमाडौं– प्रदीप भट्टराईको निर्देशन रहेको ‘महाजात्रा’ सुपरहिटको ट्याग पाउँदै दोस्रो

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने

हेटौंडा– बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले चैत १९ मा विश्वासको

दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति जुमालाई चुनाव लड्न प्रतिबन्ध

काठमाडौं– दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति ज्याकोब जुमालाई आगामी मे महिनामा

कोहलपुर-सुर्खेत प्रसारण लाइन : रूख कटान प्रक्रिया सुरु

काँक्रेविहार– कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने उद्देश्यले निर्माण कार्य थालिएको