आज असार २२, २०८० या अंग्रेजी क्यालेन्डर अनुसार जुलाई ७, २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।
रुसमा रहेको बारुद कारखानामा विष्फोट हुँदा छ जनाको मृत्यु
मध्य रुसको समारामा रहेको एउटा बारुद कारखानामा भएको विष्फोटमा परी छ जनाको मृत्यु भएको छ । घटनामा अन्य दुई जना घाइते भएका छन् । रुसी समाचार एजेन्सीहरूका अनुसार चपाएभास्क शहरको प्रमिश्तेञ्ज प्लान्टमा विस्फोट हुँदा आठ जना घाइते भएकामा छ जनाको मृत्यु भएको हो ।
रिया नोवोस्ती समाचार एजेन्सीले उपकरणको मर्मतसम्भारका क्रममा उक्त विष्फोट भएको जनाएको छ । एक सय १२ वर्ष पुरानो उक्त कारखाना तत्कालीन सोभियत सङ्घ र रुसका निम्ति अत्यावश्यक पर्ने विष्फोटक पदार्थ उत्पादन गर्ने मुख्य कारखाना हो ।
भूमि उत्खनन, ग्यास आपूर्ति र सडक निर्माणलगायत कार्यमा आवश्यक पर्ने औद्योगिक विष्फोटक पदार्थ बनाउने उक्त कारखानामा एक हजार तीन सय कामदार रहेका बताइएको छ ।
गुजरात उच्च अदालतले खारेज गर्यो काङ्ग्रेस नेता राहुल गान्धीको पुनरावेदन
गुजरात उच्च अदालतले काङ्ग्रेस नेता राहुल गान्धीको पुनरावेदन निवेदन खारेज गरेको छ ।
मोदी थर भएकाहरूको मानहानी हुनेगरी अभिव्यक्ति दिएको भन्ने आरोप लागेका नेता गान्धीलाई तल्लो अदालतले दोषी ठहर गर्दै दुई वर्ष जेल सजाय सुनाएपछि त्यसविरुद्ध उनले उच्च अदालतमा पुनरावेदन गरेका थिए ।
उच्च अदालतका न्यायाधीश हेमन्त एम प्रचकको इजलासले तल्लो अदालतले गरेको निर्णयलाई सदर गर्दै गान्धीको पुनरावेदन निवेदन खारेज गरिएको जनाएको छ । न्यायाधीश प्रचकले ‘ट्रायल कोर्टको फैसला उचित भएकाले तयसमा हस्तक्षेप गर्न आवश्यक नभएको’ बताएका छन् । नेता गान्धीविरुद्ध कम्तीमा १० वटा आपराधिक मुद्दा विचाराधीन छन् ।
ट्रायल कोर्टको फैसलासँगै नेता गान्धीको सांसद पद पनि खारेज भएको थियो ।
अमेरिका आजबाट रासायनिक हतियारमुक्त देश बन्दै
अमेरिका आजदेखि रासायनिक हतियारमुक्त राष्ट्र बन्ने भएको छ । न्यूयोर्क टाइम्सको रिपोर्ट अनुसार अमेरिकाले ७० वर्षदेखि राखेको रासायनिक हतियारको भण्डार हटाउने प्रक्रिया आजै पूरा भएपछि रासायनिक हतियारमुक्त राष्ट्र बन्न लागेको हो ।
रक्षा विभागले हतियार नष्ट गर्न ३ लाख करोड रुपैयाँ खर्च गर्नुपर्ने हुन्छ, जुन निर्धारित बजेटभन्दा २९०० प्रतिशत बढी हो । अमेरिकी राष्ट्रपति जो बाइडेनले गत महिना सेप्टेम्बरसम्म आफ्नो रासायनिक हतियार हटाउने घोषणा गरेका थिए।
न्यूयोर्क टाइम्सको रिपोर्टका अनुसार सन् १९७० को दशकमा सेनाले पुरानो जहाजमा रासायनिक हतियार लोड गरेर समुद्रमा डुबाउन चाहेको थियो। तर, जनताको विरोधपछि त्यसो हुन सकेन ।
त्यसपछि यी रासायनिक हतियारलाई भट्टीमा राखेर जलाउने प्रस्ताव गरिएको थियो । यो पनि स्वीकृत हुन सकेन ।
हाल अमेरिकाले रासायनिक हतियार नष्ट गर्न रोबोटिक मेसिनको सहयोग लिएको छ । गोलाहरूमा राखिएका यी हतियारहरूलाई १५०० डिग्री फरेनहाइट तापक्रममा जलाइने छ ।
अमेरिकी सेनाले सन् १९१८ देखि युद्धमा घातक रासायनिक हतियार प्रयोग गरेको छैन। तर, भियतनाम युद्धका क्रममा उसले मानवका लागि खतरनाक मानिने एजेन्ट ओरेन्ज जस्ता रासायनिक हतियारको प्रयोग गरेका थियो ।
सन् १९८९ मा अमेरिका र सोभियत संघले आ–आफ्ना रासायनिक हतियारको भण्डार नष्ट गर्न सहमत भएका थिए तर तिनीहरूलाई नष्ट गर्न भने त्यति सजिलो छैन।
तिनीहरूलाई नष्ट गर्ने एक मात्र तरिका जलाउनु हो, जसले विषाक्त धुवाँ उत्सर्जन गर्दछ। यो धुवाँको प्रभावलाई सम्हाल्न निकै गाह्रो छ ।
सन् १९८६ मा अमेरिकाको उटाह राज्यमा ५६०० भेडा अचानक मरेका थिए । जुन ठाउँ रासायनिक हतियार परीक्षण स्थलको धेरै नजिक थियो।
अमेरिकी कांग्रेसको दबाब पछि सेनाले भिएक्स नामक रासायनिक हतियारको परीक्षण गरिरहेको स्वीकार गरेको थियो । उनीहरूसँग ८ राज्यमा रासायनिक हतियारको भण्डार रहेको थियो ।
दुर्घटना रोक्न राजमार्गमा तारबार गर्ने भारतीय योजना
भारतको सङ्घीय सरकारले गाईगोरुलाई सडक पार गर्न नदिन र घातक दुर्घटना हुन नदिन देशका राजमार्गहरूमा कडा तारबार लगाउने योजना बनाएको अधिकारीहरूले बिहीबार बताएका छन् ।
भारतका सङ्घीय सडक यातायात तथा राजमार्ग मन्त्री नितिन गडकरीले उक्त घोषणा गरेका हुन् ।
मन्त्रीका अनुसार १.२० मिटर अग्लो तारबार लगाइनेछ र यसलाई राष्ट्रिय राजमार्ग (एनएच) –३० को खण्ड २३ मा व्यापक समाधानको रूपमा स्थापित गरिनेछ ।
“बाँसको प्रयोग गरेर निर्माण गरिएको गाईवस्तुको तारबारले पूर्ण रूपमा प्रभावकारी र वातावरणमैत्री समाधान प्रदान गर्दछ,” गडकरीले भने ।
भारतमा अत्यधिक भार, सडकको खराब अवस्था र लापरबाहीका कारण सडक दुर्घटना हुने गरेको छ ।
भारतमा हरेक वर्ष करिब एक लाख ५० हजार मानिसको सडक दुर्घटनामा मृत्यु हुने गरेको अधिकारीहरूले बताएका छन् ।
भारत सरकारले सन् २०२४ सम्ममा सडक दुर्घटनाबाट हुने मृत्युदर ५० प्रतिशतले घटाउने लक्ष्य राखेको छ ।
‘हाइटीको राजनीतिक गतिरोध शीघ्र समाधान हुनुपर्छ’
संयुक्त राष्ट्रसङ्घ लागि चीनका स्थायी प्रतिनिधिले हाइटीको राजनीतिक गतिरोध शीघ्र समाधान गर्नुपर्नेमा जोड दिँदै त्यहाँका जनताले गरेका निर्णयहरूको पूर्ण सम्मान हुनुपर्ने बताएका छन् ।
स्थायी प्रतिनिधि झाङ जुनले सुरक्षा परिषद्को बैठकमा हाइटीको बिग्रँदै गएको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै त्यहाँ वैध, प्रभावकारी र जिम्मेवार सरकार बिना सङ्कट समाधान नहुने बताए । उनले कुनै पनि बाह्य प्रयासले समस्याको दिगो समाधान नहुने उल्लेख गर्दै हाइटीमा आधारभूत सुरक्षाको प्रत्याभूति अपरहार्य भएको बताए ।
हिंसात्मक गतिविधि अविलम्ब अन्त्य गर्न उनले सम्बद्ध पक्षलाई आह्वान पनि गरे । सामूहिक हिंसाको वृद्धिलाई रोक्न र सबैभन्दा आधारभूत सुरक्षा र सुरक्षाको ग्यारेन्टी गर्ने पूर्ण सुरक्षाको वातावरण सृजना गर्नु तथा आधारभूत मानवीय आवश्कताको आपूर्तिमा अवरोध हुन नहुने बताउँदै राजदूत झाङले राजनीतिक सङ्क्रमणको अन्त्यका निम्ति आवश्यक प्रक्रियालाई तत्काल अगाडि बढाउनुपर्ने सुझाव दिए ।
हतियारको तस्करी रोक्न तथा हाइटीका गिरोहहरूलाई तिनको पहुँचबाट विमुख बनाउन अन्तरराष्ट्रिय सुमदायले गम्भीर हुनुपर्नेमा चिनियाँ राजदूतले जोड दिए । कुनै पनि बाह्य सहयोग योजना हाइटी जनताको इच्छा र सहमतिमा आधारित हुनुपर्ने बताए ।
हाइटीमा दीर्घकालीन शान्ति, स्थायित्व र दिगो विकास हासिल गर्ने अन्तरराष्ट्रिय समुदायको प्रयासमा चीनको साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।
बङ्गलादेशको राहत शिविरमा भएको झडपमा छ जना रोहिङ्ग्या शरणार्थीको मृत्यु
बङ्गलादेशको राहत शिविरमा भएको झडपमा छ जना रोहिङ्ग्या शरणार्थीको मृत्यु भएको छ ।
अन्तर्राष्ट्रिय फौजदारी अदालतका अभियोजक बयान लिन उक्त बस्तीमा पुगेको केही घण्टापछि भएको झडपमा परी मृत्यु भएको प्रहरीले शुक्रबार जनाएको छ ।
बङ्गलादेशमा रोहिङ्ग्या अल्पसङ्ख्यक समुदायका करिब १० लाख सदस्य छन् । उनीहरूमध्ये अधिकांश सन् २०१७ मा छिमेकी देश म्यानमामा भएको सैन्य कारबाहीबाट भागेका हुन् ।
‘अराकान रोहिङ्ग्या साल्भेसन आर्मी एआरएसए’ र ‘रोहिङ्ग्या सोलिडारिटी अर्गनाइजेसन आरएसओ’ बीच शिविरमा सञ्चालित दुई प्रतिद्वन्द्वी विद्रोही समूहबीच भएको घातक भिडन्तको शृङ्खलामा यो साताको हिंसा पछिल्लो घटना हो ।
शरणार्थी शिविरको सुरक्षा हेर्ने सशस्त्र प्रहरी बटालियनका प्रवक्ता फारुक अहमदले एएफपीलाई दिएको जानकारीअनुसार शुक्रबार बिहान सबेरै भएको सशस्त्र झडप गोली हानाहानमा पाँच जनाको मृत्यु भएको छ ।
“गोली हानाहानमा मारिएका पाँचै जना कमाण्डरसहित एआरएसएका सदस्य हुन्,” उनले भने ।
झडपपछि शिविरमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
अहमदका अनुसार शरणार्थी समुदायका नेता इबादुल्लाहको एआरएसए सदस्यहरूको हातबाट हत्या भएको केही घण्टापछि हिंसा भएको हो ।
स्थानीय दैनिक प्रोथोम आलोका अनुसार २७ वर्षीय इबादुल्लाहले सन् २०१७ मा म्यान्मारमा भएको दमनका प्रत्यक्षदर्शीको बयान लिन बिहीबार शिविर पुगेका आइसिसीका अभियोजक करिम एए खानलाई भेट्न शरणार्थीलाई भेला गरिरहेका थिए ।
एआरएसएले हत्याको बारेमा तत्काल कुनै टिप्पणी गरेको छैन, तर यसका सदस्यहरूले आफ्नो अधिकारलाई चुनौती दिने रोहिङ्ग्या नेताहरूलाई लक्षित गरेको आरोप लगाइएको छ ।
प्रतिक्रिया