कवितामा जति शक्ति अरु साहित्यिक विधामा छैन « Khabarhub

कवितामा जति शक्ति अरु साहित्यिक विधामा छैन

‘अहिले धेरै सूक्ष्म रूपमा पहिचानवादी चेतना आएको छ’


२० आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : 5 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

समकालीन पुस्ताकी उल्लेख्य समीक्षक ज्ञानु अधिकारीको जन्म प्रेमनाथ अधिकारी र आमा पद्मा अधिकारीको कोखबाट २०३५ सालमा चितवनमा भएको हो। पद्मकन्या बहुमुखी क्याम्पसमा अध्यापन गरिरहेकी उनले अध्यापन र साहित्यसँगसँगै अगाडि बढाएकी छन्। साहित्यको विभिन्न विधामा कलम चलाए पनि उनको विशेष दखल समालोचनमा छ। साहित्यकार तथा समालोचक ज्ञानु अधिकारीसँग भगवती बस्नेतले गरेको कुराकानीको सम्पादित अंश:

तपाईंको साहित्यिक यात्रा कस्तो रहयो ?
साहित्यिक यात्रा सबै जनाको औपचारिक र अनौपचारिक हुन्छ। अनौपचारिक साहित्यिक यात्रा स्कुल पढ्दादेखि नै सुरु भएको थियो। त्यो डायरीको पानामा मात्र सीमित थियो। औपचारिक साहित्यिक यात्रा २०५५ सालमा मेरो पहिलो कविता प्रकाशित भएपछि सुरु भएको थियो। २०६४ सालमा ‘समलैंगिक चेतना’ भन्ने समालोचना प्रकाशित गरेपछि समालोचना यात्रा प्रारम्भ भएको हो।

तपाईं किन समालोचनामा बढी केन्द्रित हुनुभयो ?
आ–आफ्नो रुचिले काम गर्छ। म अरु विधा लेख्दालेख्दै समालोचनातर्फ आकर्षित भएँ। त्यो समालोचना भनेको सिर्जनाहरूको पनि पुनःसिर्जना हो। जस्तो एउटा कविले कविता देख्दा आफ्नै मनोविज्ञानमा, दर्शनमा डुबेर लेखेको हुन्छ। त्यो कवि डुबेको अनुभूतिहरुलाई पनि उसले ठम्याउन सक्नुपर्ने भयो। त्यो भित्र खेल्दा र त्यो कृतिभित्रका नयाँनयाँ कुराहरू निकाल्दा, त्यसलाई विभिन्न कोणबाट विश्लेषण गर्दा, त्योबाट कुराहरू ग्रहण गर्दा रमाइलो लाग्यो र त्योप्रति रुचि बढ्यो। समालोचना क्षेत्रमा महिलाहरू कम हुनुहुन्छ। मलाई यस्तो रुचि लाग्छ भने यही विधामा काम गरौँ भनेर यसतर्फ आकर्षण बढेको हो।

समालोचना यात्रा कहिलेबाट सुरु भयो ?
स्नातकोत्तर पढ्दा समालोचनाको एउटा पाठ्यक्रम नै पढ्नुपर्छ। त्यसमा पढ्दा हामीले धेरै पुरुष समालोचकको बारेमा पढ्नु पथ्र्यो। महिला समालोचकको नाम नै नहुने अवस्था थियो। त्यसैले मेरो यो क्षेत्रमा चासो बढेको हो।

नेपाली समालोचनाको इतिहास १९४८ बाट सुरु भएको ६० को दशकमा आइसक्दा पनि महिला समालोचकको नाम नै थिएन। खाली तीन जनाको नाम मात्र मैले सुन्थेँ। सुधा त्रिपाठी, गार्गी शर्मा र गोमा। मलाई महिला समालोचक नभएकै हुन् त भनेर अध्ययन गर्ने चासो बढ्यो। सिक्किम, दार्जिलिङ, सिलिगुडी, आसाममा पनि पुगेँ। त्यहाँका महिला समालोचकलाई प्रवेश गरेर मैले समारोचना तयार गरेँ। यसरी मैले खोज अनुसन्धान गर्दा ६० जनाको कृतिसहित नाम दिएकी छु। यसरी खोजेर महिला समालोचकले पनि समालोचना लेखेका छन् भनेर बाहिर नआएको रहेछ। यसरी महिला समालोचकलाई खोजेर बाहिर ल्याउँदा गर्व लाग्यो।

यो क्षेत्रमा चुनौती छ। यो भनेको धेरै समय दिनुपर्ने विधा हो। कविता लेख्दा निबन्ध लेख्दा स्रष्टा स्वतन्त्र हुन्छन्। तर समालोचकलाई त्यो छुट हुँदैन। उसले एउटा कुरा सोच्यो भने पनि त्यो कुरालाई प्रमाणित गर्न उसले अन्य पाँच वटा अरु किताब पढ्नुपर्छ। समालोचक पढ्ने कोठामा धेरै किताब हुन्छन्। एउटा हेर्यो, अर्को हेर्यो। एउटा लेखलेख्न ५० वटा किताब हेर्नुपर्ने हुन्छ। महिलाहरूलाई यो सबै गर्न एकदमै गाह्रो छ। किनकी त्यत्ति धेरै समय पाइँदैन। तीन घण्टासम्म एउटा विषयमा नडुबी कुनै नाम आउँदैन। त्यो समयमा उसलाई धेरै बाधा हुन्छ। त्यसैले महिला समालोचकलाई यो क्षेत्रमा धेरै चुनौती छ।

प्राध्यापन र लेखहरू लेख्न समयको कसरी व्यवस्थापन गर्नुहुन्छ ?
अहिले बिदामा नै बसेर अनुसन्धान गर्छु। दिउँसोमा धेरै काम हुने र परिवारलाई समय दिनुपर्ने भएकाले लेखनको काम रातको समयमा गर्छु। सामाजिक पारिवारिक सांस्कृतिक कामहरू हुन्छन्। सबै भन्दा पहिला परिवार, त्यसपछि काम र यो रुचिको कुरा भयो। त्यसैले मैले जति पनि कृति लेखे त्यो सबै रातको समयमा नै लेखेँ।

नारीवाद र नारीवादी समालोचनामा के फरक छ ?
नारी समालोचना र नारीवादी समालोचनामा अन्तर छ। नारी समालोचना भनेको कुनै समालोचना भित्र नारीको चरित्र वा नारी पात्रलाई यथार्थ वर्णन गर्यो भने त्यो नारी समालोचना हुन्छ। त्यो जसले पनि लेख्न सक्नुहुन्छ। तर नारीवादी समालोचना हुन त्यहाँ भित्र त्यो नारी सम्बन्धी नारीको हकहित अधिकार समाजमा उसको कुन अधिकार हनन भएको छ, के हुनुपर्थ्यो जस्ता कुरालाई त्यो सिद्धान्तमा आधारित भएर लेखियो भने त्यो नारीवादी समालोचना हुन्छ।

नेपाली नारी समालोचनाको विकास के कस्तो भएको पाउनु भएको छ ?
नारी समालोचनाको विकास खासगरी ६० को दशकबाट विकास भएको हो। नारी समालोचना राम्रो हुँदै गएको छ। तर नारी समालोचना पाँच प्रतिशत पनि आएको छैन। नारीनारी भन्ने होइन धेरै नारीको कुरा भन्ने जस्तो आरोप लाग्छ। जब कि पाँच प्रतिशत पनि आएको छैन। युगौँदेखि नलेखिएका कुराहरू धेरै हुन्छन्। लेख्न धेरै बाँकी छन्।

सिर्जनात्मकतामा महिलाको सक्रियतालाई कसरी हेर्नुभएको छ ?
महिलाहरूले शिक्षा नै धेरै पछि पाए। त्यो हेरेर महिलाले अहिले जे गरेका छन् त्यो धेरै राम्रो हो। महिलाले गरेको प्रयास उत्साहजनक देखिन्छ। महिला लेखनमा हाम्रो विषय महिला केन्द्रित मात्र भएको छ। पहिचान र अस्तित्वको कुरा आएका छन्। अरु विधा वा क्षेत्रमा पनि महिला लाग्नुपर्छ जस्तो लाग्छ।

कविताको शक्ति के रहेछ ?
कवितामा जति शक्ति मैले अरु साहित्यिक विधामा पाउँदिन। हामीले कुनै पनि विषयको चेतना पाउन उपन्यासमा ठुलो किताबको पानापाना पढ्नुपर्छ। निबन्ध पनि त्यस्तै त्यस्तै विधा हो। तर त्यो उपन्यासमा भनेको कुरा त कविताको एउटै वाक्यले पनि भनिदिन सक्छ। त्यो खुबी हुन्छ कवितामा। त्यसैले कविता भनेको चेतना हो। को मान्छेमा कति चेतना छ भन्ने कुरा उसको चेतना पढेपछि नै थाहा हुन्छ।
आख्यान भनेको चित्र हो। त्यो आख्यानकार बाँचेको समय उसले टेकेको समय र उसले भोगेको समाजको चित्र आख्यानमा हुन्छ। तर उसले त्यहाँबाट पाएको चेतना चाहिँ कवितामा हुन्छ। त्यसैले चेतना ग्रहण गर्ने हो भने कविता पढ्नुपर्छ। कविताको थोरै कुराले पनि चेतना जगाउनसक्छ। हरफहरफ स्मरण हुन्छ।

कवितालाई पछाडि पारिएको छ। यसको कारण के होला ?
कथाहरूमा वर्णन हुन्छ। त्यसले मान्छेहरूलाई तान्दै लान्छ। कवितामा पाठक भित्र पनि संवेदना हुनुपर्छ। त्यो भाव ग्रहण गर्ने चेतना हुनुपर्छ। पाठकमा चेतना छैन। उसले खाली चित्र खोज्छ। धेरै चेतनशील भयो भने कविता मिठो हुन्छ।

पछिल्लो समय तपाईंको ‘समकालीन नेपाली कवितामा पहिचानको स्वर’ पुस्तक सार्वजनिक भएको छ। यो पुस्तकबारे बताइदिनु हुन्छ कि ?
मैले कविताको अध्ययन गरिरहेकी छु। गणतन्त्र घोषणापछि नेपाली समाजमा एक प्रकारको जागरण र चेतना आएको देखिन्छ। त्यो नेपाली समकालीन कवितामा पनि प्रस्ट रूपमा झल्किएको देखिन्छ।

मलाई कविता अध्यायन गर्दा अहिले कविताको मूल धार भनेको नै पहिचान हो। मान्छेलाई अहिले अस्तित्व चेतना र पहिचान चाहिएको छ। जब मान्छेलाई पहिचान अस्तित्वको चेतना हुन्छ उसले अरु विषय नै देख्दैन। त्यसैले पछिल्लो समय लेखेको कविता हेर्दा हरेक व्यक्ति समुदाय जातजाति हरेक क्षेत्रमा मान्छेहरुले पहिचान खोजेका छन्। त्यही भएर मैले त्यसको अध्ययन गरेर पाँच सय वटा कृतिहरू पढेर त्यहाँ कविहरूले कस्तो पहिचान गर्नु भएको छ भनेर खोजेकी छु। धेरै सूक्ष्म रूपमा पहिचानवादी चेतना आएको छ। एउटा मधेसमा बस्ने मधेसी, हिमालमा बस्ने हिमालीले खोई मेरो पहिचान भन्ने प्रश्न आएको छ। त्यो कवितामा विषय बनाएर मैले लेखेको हुँ।

यो पढ्दा पाठकले के पाउनेछन् ?
यो एउटा चेतना जगाउने पुस्तक हो। अहिलेको मान्छेले खान नपाएर छटपटाएको छैन। त्यो भन्दा ठुलो म पनि केही हुँ। मेरो पनि अस्तित्व हुन्छ र मलाई पनि ठाउँ चाहियो भन्ने आवाज मुखरित भएको छ।

तपाईंको साहित्यिक विषय प्राध्यापनको अनुभव कस्तो छ ?
मैले एसएलसी दिएदेखि पढाउन थालेकी हुँ। मैले सानो कक्षादेखि मास्टर्ससम्म नेपाली पढाउँदै आएँ। पढाउनु ठुलो सौभाग्य हो जस्तो लाग्छ। धेरै मान्छेहरू मैले पढाएँ भन्छन् तर वास्तवमा त्यहाँ आफैले पनि पढेको हुन्छ। त्यहाँ विभिन्न किसिमका विद्यार्थी आउँछन्। उनीहरूको सामाजिक मानसिकता फरकफरक हुन्छ। आर्थिक अवस्था फरक हुन्छ। त्यसले बनाएको सोच फरक हुन्छ। उनीहरूको सपना फरक हुन्छ। त्यो सबैसँग हामी जोडिन्छौँ। मेरो सपना छैन भने पनि ती विद्यार्थीले नै सपना भरी दिएका हुन्छन्। त्यसैले मलाई पढाउन पाउनु गर्वको विषय हो जस्तो लाग्छ।

नेपाली पढ्ने मान्छेहरूले कत्तिको रुचि लिएर पढेको पाउनु हुन्छ ?
एसएलसीसम्म नेपाली अनिवार्य छ। त्यसपछि हामीमा अरु कै भाषा ठुलो र राम्रो भने जस्तो हुन्छ। त्यसैले अभिभावक पनि नेपाली पढ्नुपर्छ भन्ने र विद्यार्थीहरु पनि नेपाली पढ्नुपर्छ भन्ने एकदमै कम हुन्छन्। धेरै त म कमजोर छु र नेपाली लिएर पढ्दा पास हुन्छु भनेर आउनु हुन्छ। नेपालीमा पढ्न आउँदा नेपाली विषय यो हो भनेर हामीले चेतना दिए पछि जागरूक हुन्छन्। त्यसको लागि हामी शिक्षकको पनि ठुलो भूमिका हुन्छ। हामी पढाउन मात्र नगएर हामी हाम्रो देश बनाउन, समाज पढाउनको लागि विद्यार्थीहरुलाई उत्प्रेरणा गर्न जाने हो।

पढाउन र सिर्जना गर्न कुन सजिलो भयो ?
उस्तै हो। पढाउनु पनि एक प्रकारले सिर्जना गर्नु नै हो। पाठ्यक्रममा भएका केही कुराबाहेक मैले सिर्जनामा डुबेर नै पढाउँछु। पढाउनु चाहिँ नितान्त स्वतन्त्र हुँदैन। सामूहिक आवाज हुन्छ भने सिर्जनामा चाहिँ नितान्त एक्लो भएर आफ्ना अनुभूतिहरु पोख्न पाएको हुन्छु। दुबैमा छुट्टाछुट्टै रमाइलो छ।

फर्किएर हेर्दा के गरेँ र के गर्न बाँकी छ जस्तो लाग्छ ?
ठुलो सपना बोकेर हिडेँको होइन। सकेसम्म राम्रो गर्छु जस्तो लाग्छ। गरेको काममा कुनै पनि पछुतो छैन। यो गरिन। त्यो चाहिँ गर्न पाएको भए हुन्थ्यो भन्ने छैन। समालोचना विधामा नै म केही गर्न चाहन्छु। अरु विधामा धेरै स्रष्टाहरू अगाडि जानुभएको छ। यो समालोचना विधामा कम स्रष्टाहरू हुनुहुन्छ। त्यसले गर्दा मेरो यसमा रुचि छ। म जहिले पनि पुस्तक पसलमा गएर पनि समालोचना मन पराउँछु। म अझै पनि समालोचनामा नै केही गर्न चाहन्छु ।

जीवन के रहेछ ?
जीवन भनेको संघर्ष हो। मान्छे जन्मिसकेपछि उसले केही न केही कर्म गर्नुपर्छ। कर्म गर्ने कुरामा उसले संघर्ष गर्नुपर्छ। जीवनबाट धेरै नकारात्मक पनि हुनु हुँदैन। किनभने यो पृथ्वी, हावा, पानी सबैको साझा हो। आफूले कति लिन सकिन्छ आफूमा भर पर्ने हो। अहिलेका युवाले देशलाई समाजलाई र परिवारलाई गाली गरेको देखिन्छ। त्यस्तो होइन। गर्ने आफैले हो। गर्दै गएपछि ठाउँमा पुगिन्छ। (एभिन्युजसँगको सहकार्यमा तयार अन्तवार्ता)

प्रकाशित मिति : २० आश्विन २०८०, शनिबार  ७ : ०२ बजे

मनसुनसँगै देशैभर सरुवा रोगको जोखिम: सतर्क रहन चिकित्सकको सल्लाह

काठमाडौँ – गर्मी तथा मनसुन सुरु भएसँगै देशभर विभिन्न सरुवा

घोडेपानी–पुनहिलमा पर्यटकीय पूर्वाधार विस्तार

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको प्रमुख पर्यटकीयस्थल घोडेपानी–पुनहिलमा पर्यटकीय

कपिलवस्तुमा बस दुर्घटना: चालकसहित २२ घाइते

कपिलवस्तु – कपिलवस्तुको महाराजगन्ज नगरपालिका–२ गैडहवास्थित हुलाकी सडकखण्डमा यात्रुवाहक बस

विश्वकप फुटबल : पहिलो हाफमा नेदरल्याण्ड्स र मोरक्को गोलरहित बराबरीमा

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ को नकआउट चरण अन्तर्गतको खेलमा

गोरखामा अफ्रिकन स्वाइन फिभरबाट २५० सुँगुर र बङ्गुर मरे

गोरखा– अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० भन्दा बढी सुँगुर र